राजनीति

उदयपुर १ मा गठबन्धनका उम्मेदवार खड्का विजयी

डा. नारायण खड्का र मञ्जुकुमारी चौधरी।

उदयपुर १ बाट गठबन्धनका उम्मेदवार डा. नारायण खड्का विजयी भएका छन्। मंगलबार राति १०ः३० बजे सार्वजनिक परिणाम अनुसार खड्काले मञ्जुकुमारी चौधरीलाई २ हजार ३ सय ७९ मतान्तरले पराजित गरेका हुन्।  

बहालवाला परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खड्काले ३१ हजार २ सय ७० मत पाएका छन् भने एमाले पोलिटव्युरो सदस्य चौधरीले २८ हजार ८ सय ९१ मत पाएर पराजित भएकी छिन्। प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाको १ सय थान मतपत्र भेटिएपछि आईतबार बिहान १०ः०० बजेदेखि स्थगित गणना कार्य मंगलबार बिहानदेखि मात्र सुचारु भएर अन्तिम परिणाम सार्वजनिक भएको हो।  

अन्य उममेदवारहरु राप्रपाका घु्रव रायमाझीले ३ हजार ९ सय १५, नेपाल स्वतन्त्र पार्टीका उद्धव घिमिरेले ३ हजार ४ सय ४४ पाउँदा जसपाका गोपाल राईले १ हजार ९ सय ६ मत पाएका छन्। बिभिन्न दल र स्वतन्त्र गरी १६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेको चुनावमा अन्यले ५ सयभन्दा कम मात्र मत पाएका छन्। गनिएका ७६ हजार ४ सय ५१ मतमध्ये ४ हजार ९ सय ९६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

उदयपुरबाट ०५६ मा पहिलो पटक चुनावी मैदानमा उत्रिएर पराजय भोगेका खड्कालाई ०६४ यता भने पछाडि फर्कनु परेको छैन। यो विजयी उनको चौथो जित हो। ०६४ र ०७० को दुवै संविधानसभा चुनावमा नेकपा (माओबादी केन्द्र) का राजन किराती (बासु)लाई पराजित गरेर संसदीय यात्रा थालेका उनले ०७४ को चुनावमा पनि ५ सय ४७ मतान्तरले चौधरीलाई नै हराएका थिए।  

दुईवटा संविधानसभामा खड्कासँगै पराजित किराती भने यसपटकको चुनावमा गठबन्धनबाट प्रदेश १ (क) मा उम्मेदवार भई विजयी भएका छन्।  

 

क्याप्सनः उदयपुर १ बाट भर्खरै निर्वाचित परराष्ट्रमन्त्री डा. खड्का। तस्विरः महेश्वर

प्रकाशित: १४ मंसिर २०७९ ००:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App