राजनीति

तोसिमाले चुनावी प्रतिबद्धता नबिर्सिए पुग्छ

ललितपुर क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अनपेक्षित जित हात पारेकी छिन्। स्थापित दल र पटकपटक निर्वाचित वहालवाला मन्त्रीलाई समेत फराकिलो मतले पराजित गर्दै विजयी भएकी उनीमाथि मतदाताका ठूला अपेक्षा छैनन्। उनीहरू केवल तोसिमाले निर्वाचनमा गरेका प्रतिबद्धतालाई इमान्दारीपूर्वक कार्यान्वयन गरे पुग्ने उनीहरूको सुझाव र अपेक्षा छ।  

‘पहिलेपहिले वेकामेलाई भोट दिइयो केही काम लागेन केही पनि गरेनन्। निर्वाचनमा युवापुस्ता उठेका कारण नयाँ उम्मेदवारलाई भोट दिएर पठायौँ। अब केही हुन्छ भन्ने अपेक्षा छ,’ ललितपुर थसिखेलका प्रभाकर खड्काले भने। नयाँ उम्मेदवारले पुराना दलका उम्मेदवारले जस्तै गरेमा आफ्नो पनि उस्तै हालत हुने ठानेर पनि काम गर्ने खड्का बताउँछन्। ‘निर्वाचनमार्फत युवाहरू धेरै आएका छन्। उनीहरूले परम्परागत दल र उम्मेदवारले भन्दा धेरै गर्छन भन्ने अपेक्षा छ,’ उनले भने। खड्का पुराना दलबाट आशा र अपेक्षा सकिएकाले नर नयाँ उम्मेदवारलाई मत दिएको बताउँछन्।  

थसिखेलकै हरि रेग्मी पनि यस पटक आफूले नयाँ उम्मेदवारका रूपमा तोसिमालाई भोट दिएको र उनको जितले आशा जगाएको बताउँछन्। ‘यो पटक पुरानालाई पन्छ्याउन भनेर नयाँलाई भोट दिइयो,’ उनले भने। देशको अवस्था खस्किदै गएपछि नयाँ जोश सहित राजनीतिमा आएको र उनीहरूको देश परिवर्तनको सोचाइ समेत फरक रहेको उनी बताउँछन्।  

क्षेत्र नं. ३ का मतदाता रेम कुमार लिम्बु पनि यस पटक आफ्नो मत नयाँ उम्मेदवारमा गएको र युवाको जितले आफू उत्साहित भएको बताउँछन्। ‘केही परिवर्तन होला भनेर तोसिमालाई निर्वाचित बनाएर पठाएका छौँ। उनीहरूले केही नयाँ गर्छन भन्ने अपेक्षा छ,’ उनले भने। खड्का रेग्मी र लिम्बु नयाँ उम्मेदवार कार्कीसँग धेरै ठूलो अपेक्षा गरेका छैनन्। उनीहरू तीनै जनाको एउटै अपेक्षा ‘पुराना दलका उम्मेदवारले जस्तै जितेर गएपछि जनताको अपेक्षामाथि कुठाराघात नगरुन र आफूले निर्वाचनमा गरेका प्रतिबद्धताको इमान्दारीपूर्वक कार्यान्वयन गरुन्,’ भन्ने छ।

कार्कीकै निर्वाचन क्षेत्र नखिपोटका राधाकृष्ण मगर पनि यसपटक नयाँ दललाई नै भोट दिएर पठाएको बताउँछन्। पुराना दलले देश र जनताका पक्षमा काम नगरी आफ्ना व्यक्तिगत स्वार्थ पुरा गर्नेमा केन्द्रीत भएको भन्दै उनी नया दलका उम्मेदवारले त्यस्तो गर्न नहुने सुझाव दिन्छन्। ‘हामीले ठूलो भरोसा र विश्वाससहित नयाँ उम्मेदवार चुनेर पठाएका छौं। उनीहरूले पनि पुरानाले जस्तै गर्न थाले भने जनताले विश्वासका साथ दिएको भोट खेर जानेछ,’ उनले भने। उनी आफूले दिएको भोटलाई आफ्ना उम्मेदवारले दुरूपयोग नगरुन भन्ने चाहन्छन्। पुरानै प्रवृत्ति दोहोरिएमा पाँच वर्षपछि अहिलेका जनप्रतिनिधिको अवस्था पनि पुरानै दलका जस्तो हुने उनी बताउँछन्। उनी धमिरा जस्ता नेताका कारण देशको अवस्था जर्जर हुँदै गएको बताउँछन्। ‘पुराना दलहरूले जनतालाई अगाडिबाट सलाइन पानी दिए जस्तो गरेर पछाडिबाट रगत चुस्ने गरेका छन्।  

अब संसद्मा जाने निर्वाचित उम्मेदवारको सम्पत्ति विवरणको राख्नु पर्ने उनको गुनासो रहेको छ। अबको नयाँ उम्मेदवारलाई मौका दिएका छौं, ५ वर्षमा केही गरेर देखाउने अवसर छ,’ उनले भने। उनी राम्रो काम गर्नेहरू सधंै जनताको मन मुटुमा बस्ने बताउँछन्। 

प्रकाशित: १२ मंसिर २०७९ ०२:०५ सोमबार

डा. तोसिमा कार्की Election 2079