अन्य

कोरोना त्रास र वातावरण

मिनम पोखरेल

कक्षा – ९ ,  पाठशाला नेपाल फाउन्डेसन, काठमाडौं ।  

नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण राष्ट्र हो । यहाँ हरेक कुरामा विविधता पाइन्छ । हावा, पानी, बोटबिरुवा, पशुपन्छी, तथा मानव जातिमा पनि प्रकारहरू छन् । यसले तालाबन्दीका कारण रोकिएको “भिजिट नेपाल (२०२०)” अभियानमा ठुलो बाधा पुर्याएको छ । यस्तो राम्रो देश भ्रमण गर्न आउनै लागेका पर्यटकको सपना चकनाचुर भएको छ । पर्यटकद्वारा नेपालले यस वर्ष आफ्नो आर्थिक स्थिति मजबुत बनाउने र विकासको बाटामा हिँड्ने मात्र नभई दगुर्ने सपना” सफल हुन सकेको छैन ।

जहिल्यै अस्तव्यस्त सडक र गाडीहरूको आवाज, धुवाँ, धुलो गुन्जिने र उड्ने शहरमा अहिले शान्त वातावरण छाएको छ । चारैतिर सफा हावा र सफा आकाश हामीले देख्न सक्छौं । अरू बेला धुवाँ र धुलोले पूरै मुख नै ढाक्ने र सास पनि फेर्न नसकिने काठमाडौंका सडकहरू स्वास्थ्य हावामा सुनसान छन् ।

राजधानीमा मात्र हैन पूरै देशमा यस्तो वातावारणको महसुस गर्न सकिन्छ । कोरोना (कोभिड– १९) भाइरसले संसारभरि यस्तो आतङ्क गर्दा निकै क्षति र नराम्रा घटनाहरू त भए । तर,  वातावारणको शुद्धीकरण पनि भयो । कोरोनाले विश्वलाई निकै ठुलो शिक्षा दिन खोजेको छ ।

यस्तो समयमा म अनलाइन कक्षामा पढ्ने प्रयत्न गर्दै छु । अनलाइन कक्षाका लागि मेरा गुरुगुरुआमारूको एकातिर म मिहिनेत देखिरहेकी छु भने अर्कातिर बिजुली बत्ती र नेटले दिएको धोकाले राम्ररी पढ्न पनि सकिरहेकी छैन । आफ्ना शिक्षकहरूलाई कक्षाकोठामा देख्न र पढ्न नपाउँदा मलाई न्याँस्रो लागेको छ । अझै सधैं रमाइलो कुराकानी गर्दै हाँस्दैजिस्कँदै सँगै बसेर पढने साथीहरूको अनुहार मलाई कहिले देखूँझैँ भइरहेछ । 

बीचबीचमा आउने भूकम्पका पराकम्पनले मभित्र समेत पराकम्पन ल्याइदिएको छ । अझ भारतले नेपालको भूमि मिचेका टेलिभिजनका समाचारहरूले मेरो मथिङ्गल झनन्न बनाइरहेछन् । नेपालको नयाँ नक्शा हेरेर म दङ्ग छु । मैले ८ कक्षामा पढेको नेपालको नक्शा र अहिले बनेको नयाँ नक्शा हेर्दै सिरानीमुनि राखेर म निदाइरहेछु । हाम्रा गाउँ समाजमा धनीमानी ठुलाठालुले गरीबहरूलाई हेपेझैं भारतले नेपाललाई हेप्दो रहेछ भन्ने भावना मभित्र विकसित भइरहेछ ।  

प्रकृतिको यस्तो खेल अचम्मलाग्दो छ,  प्रदूषणको आतङ्कबाट बच्न र रोक्न अर्को रोग भित्रियो । हामीले यस घटनाबाट वातावरणको संरक्षण गरौं । त्यसैले हाम्रो रक्षा गर्छ भन्ने कुरा जान्नुपर्ने छ  । हाम्रो घर, आस्थालय र देवालय यहीं वातावरण हो । मानव धर्मप्रतिको रक्षा, त्यसको शुद्धीकरण र यसलाई प्रेम गर्नु  हो । हाम्रो एक राम्रो कदमले अरूलाई चेत र प्रेरणा मिलोस् भन्ने अपेक्षा राखी अब आफ्नो वरिपरि सरसफाइ र वृक्षारोपण गरौं ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०६:१२ सोमबार

जूनकीरी कोभिड १९ नयाँ नक्सा