अन्य

फरक बालापन

म ‘गरिमा’ । सानै उमेरदेखि दुःख र अभावमा हुर्केकी । सुख सयलमा बालापन बिताउने सायद मेरो भाग्यमा थिएन । न त आमाको न्यानो कोखमा लडीबुडी गर्दै पूरा बालापन बिताउन पाएँ, न त बाबाको ।  

कुरा १० वर्षअघिको हो । म कक्षा ४ मा पढ्दै थिएँ । मलाई आमाको काखबाट छुट्टिनुप¥यो । कारण थियो मेरो पढाइ । हाम्रो घर निकै एकान्त ठाउँमा थियो । स्कुल जानै दुई घण्टाको उकालो चढ्नुपर्ने । स्कुल थियो ५ कक्षासम्मको । दिदी र दाइले ५ कक्षासम्मको पढाइ सक्नुभयो । मसँग स्कुल जाने–आउने कोही भएन । जंगलको बाटो एक्लै जाने–आउने गर्न नसक्ने । मलाई स्कुलको हेडसरले निकै माया गर्नुहुन्थ्यो । उहाँको घरमा बसेर मैलै ४ कक्षाको पढाइ सक्काएँ । तर सधैंभरि अरूको घरमा बसेर पढ्न पनि त सम्भव थिएन । दिदी र दाइले पढेको स्कुल झन् टाढा थियो, म जान सकिनँ ।

हाम्रो दुई वटा घर थियो । एकातिर हजुरबुबा बाबाआमासहितको हाम्रो परिवार बस्ने त अर्कोतिर हजुरआमा मात्र । मलाई त्यहीँ हजुरआमासँग राखेर पढाउने निश्चय भयो परिवारको । म पनि खुसी थिए हजुरआमासँग छुट्टै बस्न पाउने भएँ भनेर । त्यहाँ स्कुल जान एक घण्टा मात्र हिँड्नुपर्छ भन्दा म झन् बढी खुसी भएकी थिएँ ।  

म ५ कक्षामा भर्ना हुन नयाँ स्कुल गएँ । न त शिक्षकहरू चिनेकी थिएँ, न त कोही मिल्ने साथी थिए । स्कुल गएको पहिलो दिन मनमा निकै डर थियो । शिक्षकहरूले नयाँ विद्यार्थी भनेर खुब वास्ता गर्थे मलाई । पहिलो दिन त मेरो घरतिरको एकजना दिदीलाई घर पु¥याइदिनु भनेर जिम्मा लगाइदिएका थिए । तर बिस्तारै घरनजिकका साथीहरूसँग परिचय गरेर उनीहरूसँगै स्कुल जाने–आउने गर्न थालें ।

मलाई लागेको थियो म हजुरआमासँग बस्दा पनि आमाको जस्तै माया पाउँछु भन्ने । त्यसैले त खुब फुर्केकी थिएँ म । आमासँग हँुदा जस्तै खेलेर र पढेर दिन बिताउँछु भन्ने लागेको थियो मलाई । तर मेरी हजुरआमाको मप्रतिको व्यवहार र आमाको व्यवहार बिल्कुल फरक थियो । उहाँले त मलाई काम गर्न राखेको केटीलाई जस्तै व्यवहार गर्न थाल्नुभयो ।

म भर्खर ११ वर्षमा प्रवेश गरेकी थिएँ । घरमा हुँदा मलाई भाइ हेर्नेबाहेक केही गर्नुपर्दैनथ्यो । मलाई काम गर्न पनि केही नआउने । जब म आमाको काखबाट छुट्टिएँ त्यही बेलाबाटै मेरा दुःखका दिन सुरु भइसकेका रहेछन् ।

मलाई हजुरआमादेखि एकदम डर लाग्न थाल्यो । मेरो पढाइ, मेरो बालापन सबै हराए । मेरो ध्यान पढाइतिर भन्दा पनि कामतिर जान थाल्यो । कहिले घाँस काट्ने त कहिले भान्सा सम्हाल्ने । बिहान उठेर पनि घरको सबै काम भ्याउनुपर्ने । अनि मात्र स्कुल । स्कुलबाट फर्केपछि पनि फेरि त्यही मेलो । एउटा काम बिगार्दा महाभारत सुन्नुपर्ने ।  

शनिबारको दिन सबै साथीहरू जम्मा भएर चउरमा खेल्न जान्थे तर मलाई घरको काम सम्हाल्न र सक्काउनमै ठिक्क हुन्थ्यो । हजुरआमाको अनुमतिबिना कतै निस्किन नपाइने । मत पिँजडामा राखिएको सुगा जस्तै भएँ । घरको कामदेखि लिएर बजारबाट सामान ल्याउने कामसम्म सबै मेरै हुन्थ्यो । अझ खेतीपाती स्याहार्ने समयमा त २/४ दिन स्कुल बिदा नै लिएर बस्नुपर्ने ।

म स्कुल बिदा भएको बेला मात्र आमालाई भेट्न जान पाउँथे । आमाले पनि सबै काम सम्हाल्नु पर्दा मलाई भेट्न आउन पाउनुहुन्थेन । फोन पनि थिएन कुरा गर्न । म अत्तासिन्थें, भेट्न मन लाग्दा पनि भेट्न जान नपाउँदा । जब आमा भएको ठाउँमा पुग्थें, मलाई हजुरआमा भएको ठाउँमा फर्केर पनि जान मन लाग्दैन थियो । आमा, दिदी, दाइसँग २/४ दिन बसेर फर्किहाल्नुपथ्र्यो ।

हजुरआमा मेरो बाबाको कान्छी आमा । सायद त्यसैले पनि होला मलाई सौतेनी आमाको व्यवहार देखाएको । म यही सम्झिन्थें र मन बुझाउँथें । तर उहाँको अगाडि मैले कहिल्यै आँसु देखाइनँ । देखाउन मन पनि लागेन मलाई । रुन्थें त एकान्तमा गएर । अरू साथीहरूका आमाबाबाले गरेको माया र व्यवहार देखेर मलाई आमाको याद निकै आउने गथ्र्यो । यही महसुस हुन्थ्यो कि म पनि आमासँगै बस्न पाएको भए यस्तै गरी माया पाउँथें, यसरी नै पढ्ने थिएँ  ।

मलाई हजुरबुबाले भने अधिक माया गर्नुहुन्थ्यो । हजुरआमाको व्यवहार सबै थाहा थियो उहाँलाई । तर पनि मेरो पढाइ र भविष्य सम्झेर होला मलाई आफूसँगै राख्ने आँट गर्नुभएन । हजुरबुबालाई मेरो र पढाइको निकै चिन्ता थियो । उहाँ मलाई तीन÷तीन महिनाको फरकमा भेट्न जानुहुन्थ्यो ।  

म कक्षा सातमा पढ्दै थिएँ । परीक्षा आउन एक महिना मात्र बाँकी थियो । एकदिन सर्पले डस्न खोज्दा म भाग्न खोजें, त्यही बेला म ढुंगामा लड्न पुगेछु । मलाई सर्पले त डसेन तर घुँडामा गहिरो चोट लाग्यो । नजिकै मेडिकल थियो तर पनि मेरी हजुरआमाले मलाई तत्काल मेडिकल लग्नु भएन । तीन दिनपछि जाँदा मेरो घाउमा टाँका लगाउन मिलेन । मेरो घाउ निको हुन निकै समय लाग्यो, त्यही कारण एक महिनासम्म स्कुल जान सकिनँ । मेरो ७ कक्षाको परीक्षा बिग्रियो ।

हजुरबुबा मलाई भेट्न आएको बेला मेरो स्कुल जानुभयो । म गणितमा पहिलेबाटै अलिक कमजोर थिएँ । फेरि परीक्षा पनि त्यही बेला नै बिगे्रको । सरले मेरो पढाइका बारेमा सबै भनिदिनुभएछ । हजुरबुबाले मलाई घरमा आएपछि निकै गाली गर्नुभयो । तर उहाँलाई थाहा थियो कामले गर्दा म पढ्नै पाउँदिन भन्ने । तर पनि हजुरबुबाले गरेको गाली मलाई हजुरआमाको जस्तो तीतो लागेन ।

मैले हजुरआमालाई जति नै आफ्नो ठाने पनि उहाँले मलाई कहिल्यै आफ्नो ठान्नुभएन । मैले उहाँको गाली नखाएको र नरोएको सायद दिन नै हुन्थेन होला । कहिले त रातिसम्म पनि गाली नै सुनेर बस्नुपर्ने । त्यो मेरो बाध्यता थियो । हजुरआमाको यस्तै व्यवहारले गर्दा हजुरबुबा पनि छुट्टिएर बस्नुभएको थियो । अंकल अन्टी छोराछोरी लिएर काठमाडौंतिर ।

हजुरआमाको नजरमा म जति नै नराम्रो भए पनि, उहाँले माया नगरे पनि छिमेकीले एकदम माया गर्थे मलाई । जस्तोसुकै दुःखमा पनि छिमेकीको माया र साथ पाएकी थिएँ । हजुरआमाको व्यवहारले म त्यहाँबाट निस्केर हिँड्न पनि सक्थें तर मेरो पढाइ र भविष्यलाई सम्झेर कहिल्यै त्यसो गरिनँ । जे–जे भए पनि सहेरै बसें ।

हजुरआमासँग बिताएका मेरा खुसीका दिन भन्ने बिरलै होलान् । मैले उहाँलाई जति नै खुसी बनाउन खोजे पनि कहिल्यै सकिनँ । हजुरआमाको गाली र पिटाइका कारण म आठ कक्षामा पढ्दा संसार नै छोड्छु भनेर निस्केकी थिएँ तर खै के कुराले छेक्यो मलाई । मैले आत्महत्या गर्न सकिनँ ।  

तीन वर्षसम्म सँगै बसेपछि मैले हजुरआमाको हरेक व्यवहारलाई औंल्याउन सक्ने भएकी थिएँ । घरको सबै काम र व्यवहार सम्हाल्न सक्ने भएकी थिएँ । हजुरआमाको गाली खाने त मेरो आदत बनिसकेको थियो । तर आठ कक्षाको पढाइपछि भने मलाई त्यहाँ बस्नै मन लागेन । हजुरबुबालाई भनें । तर हजुरबुबाले मेरो कुरै मान्नुभएन । उल्टै मलाई सम्झाउनुभयो । दुई वर्ष जसरी पनि त्यहीँ बसेर पढ्नुपर्छ भनेपछि मैले हुन्छ नै भनें ।

जब नौ कक्षाको पढाइ सुरु भयो मैले त्यहाँ बिताउनुपर्ने दुई वर्षका दिनहरू गन्दै बस्न थालें । त्यो दुई वर्ष भर्खरै बिते पनि हुने जस्तो लाग्थ्यो मलाई । म हजुरआमाको व्यवहारले आजित भइसकेकी थिएँ ।

सानैदेखि बन्धनमा बाँधिएर हो कि मलाई घुम्ने, डुल्ने र रमाउने बानी नै परेन । साथीहरू घुम्न जाँदा पनि म घरमै घरको काम गर्थें । जति उमेर बढ्दै गयो मलाई कामको भारीले उति नै च्याप्दै थियो । दसैंको बेला सबै घर म एक्लैले लिपपोत गरेर भ्याउनुपर्ने । अनि हजुरआमाले भनेअनुसार अरूको मेला पनि पुग्नुपर्ने ।

आठ कक्षादेखि आठ बजे स्कुल पुग्नुपर्ने थियो, ट्युसनका लागि । घरबाट सात बजे हिँड्नुपर्ने । बिहान उठेर खाना सबै तयार गर्नुपथ्यो मलाई । अनि अलिकति घाँस पनि काटिदिनुपर्ने । दुई वर्षसम्म बिहान उठेर खाना बनाउने अनि घाँस काटेर मात्र स्कुल जानुपर्ने मेरो दैनिकी बनेको थियो । बेलुका आएर खाना बनाउन र सबै काम सक्काउँदा करिब १० बज्ने भयो। पढ्ने समयको कुनै टुंगो थिएन मेरो । हजुरआमालाई मेरो पढाइभन्दा घरको काम र दाउरा घाँस नै प्यारो थियो ।  

हजुरआमा निकै चुरोट खाने । उहाँलाई दैनिक बीस रूपैयाँको चुरोट खान पैसा हुन्थ्यो तर मलाई कपी कलम किन्न कहिल्यै पैसा भएन । यसमा मलाई निकै नरमाइलो लाग्थ्यो । कहिलेकाहीँ आवश्यक परेर मागे पनि गाली गर्नुहुन्थ्यो । मेरो ट्युसन फिदेखि लिएर सबै खर्च हजुरबुबाले नै व्यहोर्नुहुन्थ्यो । साथीहरूले जस्तो क्यान्टिनमा खाजा खाने हैसियत थिएन ममा, मैले घरबाटै खाजा बनाएर लैजान्थें ।

हजुरआमाको व्यवहारले मलाई व्यावहारिक बनाउँदै लगेको थियो । एउटी नातिनीलाई होइन बुहारीलाई गरिने व्यवहार गरिएको थियो ममा । म बसेर नै सबै, सम्पत्ति सकिए जस्तै गर्नुहुन्थ्यो उहाँ । तँ गएपछि एक्लै बस्न पाउँछु, एक्लै रमाउँछु भन्दा चाहिँ साह्रै नरमाइलो लाग्थ्यो मलाई । तर पनि मैले उहाँसँग पाँच वर्ष बिताएरै छाडें । उहाँले गरेको व्यवहार जति नै क्रूर भए पनि मेरो मनोबल कहिल्यै गिरेन । जब एसइई नजिकिँदै थियो यो ठाउँमा बस्ने दिन सकिए भन्ने खुसी पनि नजिकिए जस्तै लाग्थ्यो मलाई ।

बुढ्यौलीपनाले छुँदा पनि हजुरआमा कहिल्यै परिवर्तन हुनुभएन । उहाँले यो मेरो सहारा हो भनेर कहिल्यै सोच्नुभएन । मेरा साथीहरूको तुलनामा मेरो बाल्यकाल बिल्कुल फरक थियो । साथीहरूको बालापन हाँसोमा बित्यो त मेरो आँसुमा । 

प्रकाशित: १ जेष्ठ २०७७ ०६:३१ बिहीबार

अक्षर कथा