– विद्या अनामिका ‘तिवारी’
घाम लाग्दा शीतल दिने एउटै छाता भए हुन्थ्यो,
पिरतीको हिसाब राख्ने एउटै खाता भए हुन्थ्यो।
मरी गए चितामाथि कसले के लान्छ र,
बाँचुञ्जेल हाम्रो घरको एउटै हाता भए हुन्थ्यो।
०००
कल्पनामा बित्छन् यसै मेरा हरेक रातहरू,
खोजिरहन्छ हृदयले तिम्रै मात्र साथहरू।
दुई हातको बरियोले कस प्रिय अँगालोमा,
सल्बलाउँदै उठून् छालमा जवानीका मातहरू।
०००
कहिलेकाहीँ यस्तो लाग्छ, जिन्दगी नै सस्तो लाग्छ,
माया पनि हाट बजारमा बिक्री हुन्छ जस्तो लाग्छ।
खरिद गर्ने तिमी भए बिक्री हुन तयार छु म,
किन–किन यो जिन्दगी तिमीबिना निस्तो लाग्छ।
०००
सम्बन्धको मूल्य हुन्न, बजार भाउ तोकिँदैन,
सामान जस्तो हुन्न, माया तराजुमा जोखिँदैन।
जब फुट्छन् भावनाका तालहरू हृदयमा
बगाएर लान्छ जीवन, बाँधबाँधी रोकिँदैन।
०००
यसै मन जलेको छ, तेल छर्कनु पर्दैन भो,
अबदेखि अधकल्चो माया गर्नु पर्दैन भो।
अचानोमा राखी मुटु मार हान्यौं खुकुरीले,
जीवनभरलाई घाउ दियौ, मलम भर्नु पर्दैन भो।
०००
न त गुलाब आफ्नो थियो, न त सुनाखरी थियो
न त वर्षात् आफ्नो थियो, न त बर्खे झरी थियो।
जे–जे दियो जिन्दगीले अपनाउँदै गएँ चुपचाप
बरु तिखो काँडा मैले हिँड्ने बाटो भरीभरी थियो।
०००
विश्वास गर्नु मलाई प्रिय, सम्हाल्छु हजुरलाई,
नजरबाट झार्दिन कहिले, अँगाल्छु हजुरलाई।
आँधीबेरी, ठूलो हुरी सुनामी नै आए पनि,
डुब्न दिन्न फेवातालमा निकाल्छु हजुरलाई।
०००
मिल्ने भए भगवानसँग बचपनको खुसी माग्थें
विधातासँग भाग्य अनि कर्म लेख्ने मसी माग्थें।
मै हुँ सूर्य उज्यालोले संसार ढाकी दिन्छु भन्ने,
मानिसको भित्री मनको तह जाँच्ने कसी माग्थें।
०००
कति धेरै माया गरें, ऊ अर्कैको मान्छे थियो,
ईश्वर मानी शरण परें, ऊ अर्कैको मान्छे थियो।
भावनामा लात्ती हान्यो, छातिमाथि कुल्चिएर,
आँखाबाट आफैं झरें, ऊ अर्कैको मान्छे थियो।
०००
जिन्दगी यो बाँकी रहे भेटौंला नि फेवातालमा,
मिठो धुन सारंगीको रेटौंला नि फेवातालमा।
पहिले मलाई पोखरा त आउन देऊ न प्रिय,
तिर्सना यो अधरको मेटौंला नि फेवातालमा।
०००
प्रकाशित: ११ श्रावण २०७६ ०६:१० शनिबार