अन्य

भुक्तानीको समस्यामा किसान र व्यवसायी

जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीले बिक्री भएको दूधको भुक्तानी नपाउँदा किसानलाई रकम भुक्तानी गर्न सकेका छैनन् । साउनयताको रू ८० करोड दुग्ध विकास संस्थान र निजी संस्थाहरूले भुक्तानी नदिँदा यहाँका दुग्ध उत्पादक सहकारी संस्था र किसान समस्यामा परेका हुन्। 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार साउनयता जिल्लामा रहेका एक सय १५ वटा दुग्ध उत्पादक सहकारीले रकम भुक्तानी पाउन नसकेका हुन् । जिल्लामा रहेका सहकारीहरूले रकम नपाएपछि दूध उत्पादन गर्ने किसानलाई  रकम भुक्तानी गर्न कठिन हुन थालेको उनले बताए।

'दूधको रकम भुक्तानीका लागि निजी संस्था र डिडिसीले एक महिनाको समय माग गरेका छन् । त्यतिबेलासम्म पनि रकम आउने नआउने निश्चित छैन,' उनले भने।

उनले सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि गत ९ गते एक महिनाभित्र रकम भुक्तानी गरिसक्ने सहमति भएको जानकारी दिए। भुक्तानी नपाए माघ १० गतेपछि आन्दोलनमा जाने तयारीमा सङ्घ रहेको उनले बताए।

अध्यक्ष बगालेका अनुसार डिडिसीले रू ३५ करोड र अन्य रकम निजी संस्थाहरूले भुक्तानी गर्नुपर्नेछ । दूधको रकम भुक्तानी नपाए पनि यहाँ उत्पादित दूध भने खपत भइरहेको उनले बताए।

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमा ५० प्रतिशत दूध जिल्लामा खपत हुने गरेको र ५० प्रतिशत दूध जिल्ला बाहिर जाने गरेको गरेको छ । यहाँको दूध काठमाडौँ, पोखरालगायत जिल्लामा जाने गरेको छ ।

जाडो समयमा दूध उत्पादनअनुसार खपत नहुँदा नियमित रूपमा पाउडर बनाएर राख्ने गरिएको उनले बताए। अहिले दैनिक ३० देखि ४० हजार लिटर दूध पाउडर उत्पादनका लागि जाने गरेको छ । गर्मी समयमा दही, बिस्कुटलगायत वस्तुमा प्रयोग गर्न सहज हुने र वर्षातको समयमा दूधको अभाव पूरा गर्न अहिले केही दूधको पाउडर बनाएर राख्ने गरिएको उनले बताए।

प्रकाशित: २४ पुस २०८१ २०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App