अन्य

खाना महोत्सवमा काठमाडौँकी उपमेयर डङ्गोलदेखि मानुषी यमीसम्म

सातादिनदेखि उदयपुरको सदरमुकाम गाइघाटमा जारी खाना महोत्सवमा सर्वसाधारणदेखि ‘सामाजिक सेलिब्रेटी’ हरूसमेत पुगेका छन्। पुस २ गतेदेखि गाईघाटमा सञ्चालन भइरहेको ‘तेस्रो खाना परिकार मेला तथा प्रदेशस्तरीय लाखेनाच महोत्सव ०८१’ मा दैनिक हजारौँको सहभागिता हुने गरेको आयोजकले जनाएको छ।  

झीगु नेवाः पुचः गाईघाटको आयोजनामा दैनिक विविध सांस्कृतिक कार्यक्रमसहित सञ्चालित महोत्सवको छैटौँ दिन काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल सहभागी भइन्। पुचःको निमन्त्रणामा आएकी उपप्रमुख डङ्गोलले खाना मेलाको अवलोकन गर्नुका साथै त्यहाँ राखिएका विभिन्न जातीय खाना परिकारको स्वाद चाखेकी थिइन्। अवलोकनपछि लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा डङ्गोलले यस्ताखाले कार्यक्रम र मेलाजात्राले समाजबाट लोप हुँदै गएका संस्कार, संस्कृति र जातीय परिकारको पुनरुत्थान, संरक्षण र संबद्र्धनमा सहयोग पुग्ने बताइन्।  

मेलामा आयोजित लाखे नाच प्रतियोगिताको प्रत्यक्ष अवलोकन गरेकी उपमेयर डङ्गोलले नेपाल विविध जातजाति, भाषाभाषी, संस्कार संस्कृतिको धनी देश भएको भन्दै यस्ता सांस्कृतिक प्रतियोगिताले पहिचान संरक्षण गर्ने बताइन्। मेला जात्राजस्ता कार्यक्रमले सामाजिक जमघट बढाउने र त्यसले अर्थतन्त्रमा पनि महत्वपूर्ण टेवा पुग्ने उपमेयर डङ्गोलको भनाइ थियो। मञ्चमा १२ मिनेट आफ्ना कुरा राखेकी उपमेयर डङ्गोलको कुराबाट आयोजकसँगै धेरै सहभागी उत्साहित भएको पुचःका सचिव गोपाल श्रेष्ठले बताए।  

आइतबार मेलाको अवलोकन गर्न मानुषी यमी भट्टराई पनि उपस्थित भएकी थिइन्। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई तथा पूर्वमन्त्री हिसिला यमी पुत्री मानुषीले पनि मेला प्रदर्शनीको अवलोकन गर्नुका साथै आयोजकहरूसँग भेटघाट गरिन्। उनले प्रदर्शनीमा राखिएका खानाका परिकार खाएर आयोजकसँग सद्भाव बाँडेको बताइएको छ। सचिव श्रेष्ठका अनुसार मेलाको चौथो दिन जेबी फाउन्डेसनका अध्यक्ष जगदिश वैद्यले पनि महोत्सवको अवलोकन गरिसकेका छन्। 

प्रकाशित: ८ पुस २०८१ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App