अन्य

डाक्टर पुजारी

अल्बर्ट आइन्स्टानले भनेका छन्, 'रिलिजन इज ल्याम्प विथआउट साइन्स एन्ड साइन्स इज ब्लाइन्ड विथआउट रिलिजन' अर्थात् अध्यात्मबिनाको विज्ञान अन्धो छ र विज्ञानबिनाको अध्यात्म लंगडो छ। यी दुई कुरा एकआपसमा अन्तर्सम्बन्धित छन्। विज्ञान र अध्यात्मको यस्तै अन्तर्सम्बन्ध देखिन्छ, भक्तपुर तलेजु मन्दिरका पुजारी प्रा. डा. शिद्धिवीर कर्माचार्यको जीवन शैलीमा।

उनको बिहान नित्य पूजाबाट सुरु हुन्छ। दिन विज्ञानको अध्ययन–अध्यापनमा बित्छ। साँझ आरतीमा रमाउँछ। भक्तपुरस्थित तलेजु मन्दिरका पुजारी प्रा.डा. शिद्धिवीर कर्माचार्यको जीवन आधुनिक विज्ञान र अध्यात्मको उत्कृष्ट संयोजन बनेको छ। अध्यात्म र विज्ञानको पांग्रामा उनको जीवनरथ अगाडि बढ्दै छ। उनी यो यात्रामा रमाएका छन्।

अध्यात्ममा रमाएको मन र विज्ञानमा बिताएको समय निकै रहरलाग्दो हुन्छ। विज्ञानले अध्यात्मसँग जोड्ने अनि अध्यात्मले हामीलाई वैज्ञानिक ढंगले सोच्न सहयोग पुर्‍याउने तलेजुका पुजारी प्रा. डा. शिद्धिवीर कर्माचार्यको बुझाइ छ।

'मलाई मेरो जीवनयात्रा निकै रमाइलो लागेको छ,' उनले भने, 'मैले अध्यात्म र विज्ञानलाई नजिबाट बुझ्ने अवसर पाएको छु।' विज्ञान र अध्यात्म एक अर्काका पूरक बताउँदै यी शत्रु हैन, मित्र रहेको उनी बताउँछन्। विज्ञानले अध्यात्मसँग जोड्ने अनि अध्यात्मले वैज्ञानिक ढंगले सोच्न सहयोग पुर्‍याउने उनको बुझाइ छ। 'प्रकृतिमा भएको भूक्षय रोक्न विज्ञानको सहारा लिनुपर्ने हुन्छ,' उनले उदाहरण सुनाए, 'विज्ञानले अध्यात्म जोगाउँछ, अध्यात्मले विज्ञान।'

विज्ञान र अध्यात्म दुवै सत्यको खोजीमा रहेको उनको बुझाइ छ। विज्ञानले प्रकृतिसँग प्रेम गर्न सिकाउने उनी बताउँछन्। दुवै मिले समाजको उथ्थान हुने उनको ठम्याइ छ। 'शारीरिक स्वास्थ्यका लागि विज्ञानको प्रयोग गरेजस्तै मनको शान्तिका लागि अध्यात्म महŒवपूर्ण रहने उनको बुझाइ छ। 'अध्यात्ममा रमाएको मन र विज्ञानमा बिताएको समय निकै रहर लाग्दो हुन्छ,' उनले भने, 'दुवैले हामीलाई सत्यको नजिक पुर्‍याउँछ।'

भक्तपुरका रैथाने उनी ०२२ सालमा एसएलसी उत्तीर्णपछि विज्ञान पढे। ०५५ देखि ०५९ सालसम्म त्रिचन्द्र कलेजको क्याम्पसप्रमुख समेत बने। सन् १९८९ मा वन विज्ञानमा पिचएडी गरेका उनी नामको अगाडि डा. लेख्छन्। झन्डै ४० वर्ष विज्ञानमा अध्यापन गराएका उनले ०७० मा सरकारी सेवाबाट निवृत्त भएपछि पनि आफ्नो ज्ञान बाँड्न रोकेनन्। अहिले उनी भक्तपुरको ख्वप कलेज, बागेश्वरी उच्चमाविमा वातावरण विज्ञानका विषयमा पढाउँदै छन्।

विज्ञानका यी शिक्षक पूजारी समेत रहेको थाहा पाएपछि जिज्ञासु विद्यार्थीले प्रश्न नसोध्ने कुरै भएन। 'सर भगवान् छ कि छैन?' विद्यार्थीले बारम्बार गर्ने यो प्रश्नलाई उनले सामान्य रुपमा लिन्छन्। मुस्कुराउँछन र जवाफ दिन्छन्।

भगवान के हो भन्नेबारे विद्यार्थीलाई बुझाउन उनी शक्तिको परिभाषा सोध्छन्। त्यसबारे चर्चा गर्छन्। विज्ञानको नेगेटिभ पोजेटिभ शक्तिलाई उनी अध्यात्मको शिवशक्ति र प्रकृति–पुरुषको तुलना गर्छन्। उनी पञ्चतŒवको वर्णन गर्छन्। उनी अक्सिजनलाई ओटु मात्र हैन, जीवनको एक अंग रहेको बुझाउँछन्। उनी अध्यात्म र विज्ञान एकै सिक्काका दुई पाटा रहेको बताउँछन्। 'नयाँ विद्यार्थीले चिनेलगत्तै सुरुमै सर भगवान छ कि छैनन भनेर सोध्छन,' उनले हाँस्दै भने, 'म उनीहरूलाई बिस्तारै सबै कुरा सम्झाउने प्रयास गर्छु।'

०१८ वैशाखबाट तलेजु भवानीको पूजा गर्दै आएका उनी ०३६ मा बुबाको निधनपछि कर्माचार्य समुदाय तर्फबाट तलेजुका नाइकेपुजारीका रुपमा चुनिएका हुन्। राजोपाध्याय, जोशीलगायत समुदायबाट पनि यहाँ पुजारी रहने चलन छ। नेवार समुदायका मुख्य पर्व बिस्केट दसैँ, पिचास चतुर्दशी, शिवरात्रि ग्रहण पर्व लगायत विभिन्न विशेष पूजासँगै अन्य पूजामा पनि उनी सहकर्मी पुजारीसँगै जुट्छन्।

उनका सन्तान पनि चिकित्सक छन्। छोरा र बुहारी दुवै डाक्टर छन्। उनीहरू पनि घरको नित्य पूजामा सहभागी हुन्छन् र आफ्नो कर्ममा जान्छन्। उनकी श्रीमती शिक्षिका हुन्। उनी खुसी छिन्। उनी मनमा अध्यात्म नभई जीवन खुसी नहुने सुनाउँछन्। विज्ञान र अध्यात्म एकै सिक्काका दुई पाटा रहेको उनी सबैलाई सुनाउँछन्। यसबारे उनले विभिन्न लेख पनि प्रकाशित गरेका छन्। तर उनी आफू अझै विद्यार्थी नै रहेको सुनाउँछन्। 'विज्ञान र अध्यात्मको बुझाइमा जिन्दगी अघि बढ्दै छ,' उनले भने, 'यिनका असंख्य आयाम जान्न बाँकी नै छ।'

अमूर्त देवीको जीवित वाहन

मठ–मन्दिरमा रहेका देवतासँगै उनीहरूको वाहनको मूर्ति हुने गर्छ। पशुपतिमा नन्दीको रुपमा साँढेको प्रतिमूर्ति देखिन्छ भने गणेश मन्दिरमा मुसा आकृतिको मूर्ति भेटिन्छ। तर भक्तपुरमा तलेजुको वाहन भने जीवित घोडा रहेको छ। मन्दिरको उत्तरतर्फ बाँधेर राखिएको सेतो रङको घोडालाई तलेजुको वाहनको रुपमा चिनिन्छ।

३६ वर्षदेखि भक्तपुरको तलेजुमा तलेजुको वाहनका रुपमा रहँदै आएको ४० वर्षको सेतो घोडाका ०७२ कात्तिक ८ गते मृत्यु भयो। त्यसपछि ०७३ असोज १५ गते नयाँ घोडा ल्याइएको छ। तलेजु भवानीको वाहनका रुपमा रहेको सेतो घोडालाई त्यतिबेला बाजागाजासहित नगर परिक्रमा गराई तलेजु मन्दिर भिœयाइएको यो घोडाको वर्षमा एकपटक जात्रा निस्कन्छ।

विजया दशमीको राति चन्›मासको गतिअनुसार तलेजु र नवदुर्गा भवानीसहित खड्गजात्रा (पायो जात्रा) गरेर सेतो घोडालाई भक्तपुर नगर परिक्रमा गराउने चलन छ। महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो वाहन सेतो घोडामा सिँगारिएर तलेजु भवानी खुसियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वास छ। संस्कृतविद् ओम धौभडेल तलुजलाई जीवित देवी समेत मानिने गरेकाले उनको वाहन पनि जीवित राखिएको तर्क राख्छन्। भक्तपुरमा रहेकी एकान्त कुमारीलाई जीवित देवी समेत मानिन्छ।

भक्तपुरमा तलेजु भवानी ल्याइएको पनि रोचक किंवदन्ती छ। इन्द्रको कुलदेवताका रुपमा रहेका शक्तिको प्रतीक तलेजुलाई मेघनाथले युद्धमा जितेर रावणलाई उपहार दिएको कथा छ। पछि रावणलाई रामले हराएपछि यो अयोध्यामा आएको भनाइ छ। यही क्रममा भगवान् रामका पछिल्ला पुस्ताले उक्त शक्तिलाई सरयु नदीमा छाडेको र त्यो सिम्रौनगढका राजाले भेटाएको मान्यता छ। सिम्रौनगढमा गयासुद्दिनको आक्रमणबाट बच्न त्यहाँका राजा भक्तपुरमा तलेजु भवानीसहित आएको बताइन्छ।

प्रकाशित: २२ माघ २०७३ ०५:५५ शनिबार

डाक्टर पुजारी