केही समय पहिला एउटा उद्देश्यसहितको यात्रा गर्ने अवसर मिल्यो। यात्राको उद्देश्य र विषयवस्तु हेर्दा र बुभ्दा मेरो पेसागत र अध्ययनसँग सम्बन्धित विषय भएकाले अलि कठिन परिस्थिति हुँदाहुँदै पनि त्यो यात्रा गर्न म राजी भएँ। योजनाबद्ध तरिकाले तोकिएको स्थलमा पुगेँ। जेठ महिनाको तराईको गर्मी सम्झँदा अहिले पनि शरीरमा काँडा उम्रन्छ। यात्राको पहिलो दिन हामी भौगोलिकरूपमा सुगम भए तापनि अन्य हिसाबले विकट ठाँउमा पुग्यौँ जुन ठाउँ वर्षातमा पुरै डुबानमा पर्छ। हाम्रो पहिलो दिनको यात्राको योजना थियो छाउपढी प्रथाग्रस्त क्षेत्रका महिला तथा किशोरीहरूको अवस्था बुझ्ने। अन्दाजी दिनको १२ बजेतिर हामी त्यो ठाउँमा पुग्यौँ। मानिस खाना खाएर रुखमुनि छहारीमा बसिरहेका थिए जो हाम्रा लागि अति उपयुक्त समय सावित भयो।
हामी ती मानिस भएको ठाउँमा पुग्यौँ। परिचय दियौँ। भ्रमणको उद्देश्य बतायौँ। कुराकानी गर्ने अनुमति माग्यौँ। हाम्रा कुरा सुनेपछि सबैजना मुखामुख गर्न थाले। महिला भने उठेर घरतिर गए। युवतीहरू अलि टाढा रुखको डिलमा आड लागेर कुरा सुन्ने भए। बाँकी रहे केही युवासहितका पुरुषमात्र। सुरुमा एक अलि उमेरको व्यक्तिलाई सोधेँ– हजुरको विचारमा महिला किन महिनावारी हुन्छन् होला? के यस्तो भगवानको कारणले हुन्छ हो? यतिमात्र के भनेकी थिएँ, उनले ते सारा कहानी सुनाउन थाले। लगभग १ घण्टा बितिसक्यो, रोकिँदैनन् त। एकचोटि छाउ भएकी छिमेकी महिलालाई छोइदिँदा उनी ६ महिना बिरामी भएर थला परे रे, कहिले भैँसी मर्यो रे, कहिले फल्दाफल्दैको आँपको रुखै सुक्यो रे...।
नजिकैका एकजना लगभग ३० वर्षे पुरुषले यो सबै कुरा ध्यान दिएर सुनिरहेका थिए, जो कामको सिलसिलामा भारतमा बस्थे र बिदामा घर आएका थिए। मैले उनलाई पनि छाउपढी प्रथाप्रति धारणा के छ भनेर सोधेँ। उनले यसलाई एक सामान्य शारीरिक प्रक्रिया भएको र महिलाको निश्चित उमेरमा सुरु भै निश्चित उमेरमा बन्द हुने बताए। अघिका वयस्क पुरुष ओठ लेब्र्याउँदै थिए। ती युवक आफूलाई यस्तो बेला महिलालाई दुव्र्यवहार गर्न नहुने थाहा पाए पनि समाजका कारण बाध्य भएको सुनाउँदै थिए। उनको गाउँमा ५ घरको साझा छाउगोठ छ। जुन अत्यधिक साँघुरो, स्वास्थ्य र सुरक्षाको दृष्टिकोणले जोखिम पनि छ। कहिलेकाहीँ त गाउँका धेरै महिला एकैपटक महिनावारी हुँदा सुत्न पनि पाउँदैनन्। रातभर बसेरै काट्छन्।
यी सबै सुनिरहँदा लाग्यो– म कुन संसारमा छु? उनी थप्दै गए– भारतमा यस्तो केही मतलवै छैन। उनकी श्रीमती भारतमा महिनावारी हुँदा कुनै तनाव हुन्न रे। जब नेपाल आउँछिन् उनलाई यही कारण धेरै तनाव हुन्छ। यही देखेर पनि कहिलेकाहीँ त ती युवालाई सधैँ भारतमै बसाइँ सर्नुपर्छ कि भन्ने लाग्दोरहेछ। उसै त दलित, त्यसमाथि महिला, अझै त्यसमाथि महिनावारी भएपछि त के चाहियो र? विभेदको शृंखला नै ओइरिने। ती युवाले कुरा बुझेका थिए तर पनि केही गर्न सक्ने अवस्थामा देखिएनन्।
यत्तिकैमा मेरो नजर अलि पर ठूलो रुखमा आड लागेर लुक्दै कुरा सुनिरहेकी १५ वर्षीया जति किशोरीतिर गयो। जो भर्खरै नुहाएर चिसो कपालमै थिइन्। मैले उनलाई बोलाएँ। तर आइनन्। बुझेको त महिनावारी भएकी रहिछन्। उनी भएतिरै पुगेँ। कुरा गर्न खोजेँ तर मान्दै मानिनन्। पानी पिउँछु लेऊ भनेँ। गाह्रो मानेर ‘मैले नल्का छुन हुँदैन’ भनिन्। थपिन्– ‘म आफैँलाई पनि प्यास लागेको छ तर के गर्नु ममी हुनुहुन्न।’ अनि मैले अरूसँग पानी मागेर उनलाई दिएँ। गर्मीमा कतिबेरदेखि तिर्खाले छट्पटिएकी थिइन् कुन्नि, नमजा लाग्यो।
निकै बेरपछि उनी केही बोल्न तयार भइन्। अनि मेरो थुप्रै जिज्ञासको छोटो छोटो उत्तर दिँदै भनिन्– ‘महिनावारी भएका बेला पानी छोयो भने, घरभित्र गयो भने देउता रिसाउँछन रे। देउता रिसाए भने राम्रो श्रीमान् पाइँदैन, छोराछोरी राम्रा हुँदैनन्, देउताले बिगारिदिन्छन् रे, त्यसैले हामी यी कुनै पनि काम गर्दैनौँ।’ ‘मैले महिनावारी राम्ररी बारेँ भने मेरो पोइली घर राम्रो हुन्छ रे, त्यही भएर छाउगोठमा बसेको’– यो कमलो बच्चाको मानसपटलमा यस्ता भ्रम भरेर उसलाई महिनावारी भएकै कारण गरेको त्यो विभेदपूर्ण व्यव्हारको जति भत्र्सना गर्दा पनि कमै हुन्छ।
फेरि सोधेँ– तिमी त कमसेकम ९ क्लास पढेकी मान्छे, महिनावारी भगवानको कारणले भएको होइन भनेर बुबा/आमालाई सम्झाउँदैनौ त? उनको उत्तर थियो– म भन्छु तर उहाँहरू मान्नुहुन्न। कहिलेकाहीँ त नदेखेको बेला सबै छोइदिउँ कि जस्तो पनि लाग्छ, तर फेरि पनि कतै देउता लागि पो हाल्छन् कि, रिसाइ पो हाल्छन् कि भन्ने डर पनि लाग्छ।
यी प्रत्यक्ष देखिएका घटना उल्लेख गर्नुको मुख्य उद्देश्य के हो भने हाम्रो यो गलत सामाजिकीकरण प्रक्रियाले युवा पिँढी मानसिकरूपमा बढी पीडित छन्। यस्ता हानिकारक सामाजिक मूल्य/मान्यता मान्ने कि नमान्ने भन्ने दोधारमा छन्। अझै पनि रुढिवादी परम्परा अंगाल्ने समाजको अगाडि आफू क्रान्तिकारी भएर प्रस्तुत हुन पनि नसक्ने र ती हानिकारक सामाजिक मूल्य/मान्यता आत्मसात गर्न पनि मन नलाग्ने दोबाटोमा अहिलेको युवा पुस्ता छ। हामी बाहिरबाट हेर्दा सोच्छौँ, अब त मानिस शिक्षित भए, उनीहरूका विचार परिवर्तन भैसकेका छन्, मानिसमा चेतनाको विकास भएको छ तर त्यो अवस्था कहीँ कतै होला, समग्रमा न छाउपढी प्रथा अन्त्य भएको छ, न त जातीय विभेद नै। न महिलामाथि हुने विभेद र हिंसा नै अन्त्य भएको छ। यो अन्त्य भएको भन्नु भ्रममात्र देखियो।
यही समाजमा सुनियो– शिक्षितहरूले झन् बढी विभेद गर्छन् रे आधुनिकरूपमा। शिक्षित र धनीहरूले माटोको छाउगोठ भत्काएर पक्की छाउगोठ बनाएका छन्। यही हो त छाउपढी प्रथा अन्त्य भएको? ‘जातीय विभेद अन्त्य भएको देखिनु कानुनको डरले मात्र हो, मनदेखि अन्त्य भएको छैन’ सोही गाउँका एकजना दलित अधिकारकर्मीले भनेका कुरा मननीय छ। उनका अनुसार अहिले जातीय विभेदको स्वरूप परिवर्तन भएको छ तर जातीय विभेद र छाउपढी प्रथा अन्त्य भने भएको छैन। योबाहेक दलित–दलितबीचको जातीय विभेद पनि यथावत रहेको ती दलित अधिकारकर्मीको भनाइ थियो।
यी यस्ता सामाजिक मूल्य र मान्यताले समाजमा नकारात्मक प्रभाव पारिरहेको छ जसको अन्त्य गर्नु हरेक सचेत नागरिकको कर्तव्य हो। परिवर्तनको सुरुवात आफूबाट गर्नुपर्छ किनकि बाहीर छाउपढी प्रथा बार्नुहुन्न, जातीय विभेद गर्नुहुन्न, लैंगिक विभेद गर्नुहुँदैन भन्ने तर आफूचाहिँ त्यस्ता कुप्रथा अंगाल्छ भने त्यो प्रभावकारी हुँदैन। त्यसैले जो जहाँ छौँ त्यहीँबाट विभेद र अन्यायविरुद्ध आवाज उठाउन सकेमात्र वास्तवमा समाजमा समानता आउन सक्छ नत्र भने देखावटीरूपमा गरेका वकालतले न परिवर्तन हुन्छ न त विकास किनकि विकासको बाधक नै विभेद हो।
प्रकाशित: १९ असार २०७९ ००:४४ आइतबार