विचार

समय प्रवाह: गणतन्त्र केका लागि ?

बादलको घुम्टोभित्र अन्नपूर्ण र माछापुच्छ्रे लुकामारी खेलिरहेका रुन्चे बिहानीमा म सम्झनाको गोरेटोमा कुदिरहेको छु। खोजिरहेको छु फेवातालमा शान्तिको सौन्दर्य जुन हाम्रा महाकविले सम्झेका थिए उनको ‘पोखरा’ कवितामा। 

अलि लामो यो कवितामा देवकोटाले अन्नपूर्ण, माछापुच्छ्रे  र फेवातालको कान्ति र शान्तिको अतुलनीय वर्णन गरेका छन्। एउटा हरफ सम्झेँ त्यसको–‘सम्झे ताराजटित जलमा शान्तिको कान्ति हेर।’ ‘पोखरा’ लेख्न पोखरा आउनुपर्ने कवि होइनन् देवकोटा। 

कहिल्यै बेलायतबाट बाहिर नगएका सेक्सपियरले भेनिस सहरको व्यापारी एन्टिनियोले महाजन साइलकसँग लिएको ऋण तिर्न नसकेको नाटक ‘मच्र्यान्ट अफ भेनिस’ करिब ५२५ वर्ष अगाडि लेखे जस्तै मैतीदेवीको आफ्नो भुइँ ओछ्यानमा दक्षिण फर्केको झ्यालअगाडि घुँडा धसेर उत्तरी ध्रुवमा देखेको वर्णन साथीलाई सुनाएको कुरा लेखिरहेका हुन्थे देवकोटा।

तर पनि देवकोटाचाहिँ पोखरा आएका थिए। लाग्छ, काठमाडौँबाट पोखरा हवाई उडान सुरु भएपछिको अवसर थियो त्यो। यहाँनिर बाल हृदयको मानसपटलमा रहेको एउटा स्वर अहिले झङ्कृत भएको छ मेरो पूज्य पिताजीको– ‘ज्यानबहादुरजी (ज्यानबहादुर प्रधान, हवाई विभागको तत्कालीन निर्देशक) र म पोखरा पुगेर पहिलो हवाई उडान सुरु गर्‍यौँ।’ कहाँ गए ती पोखराका सुन्तला जुन त्यतिबेला हामीले खाएका थियौँ ? 

पृथ्वीनारायण कलेजका एक संस्थापक त्रैलोक्यनाथ श्रेष्ठ जो पिताजीका मित्र थिए, उनले हवाईजहाजबाट आउँदा कहिलेकाहीँ ल्याइदिन्थे। सम्झना पोखराबाट अगाडि बढेर देवकोटाको ११३औँ जन्म जयन्तीमा पुगेको छ– आउँदो कात्तिक १८ गते वृहस्पतिबारको लक्ष्मी पूजाको दिन। उनीप्रतिको मेरो श्रद्धा अर्पण गर्न। र, म हृदयदेखि नै मेरो असीम आदरपूर्ण भाव व्यक्त गर्छु।

तर देवकोटाले देखेको फेवा छैन अहिले। उनी आउँदा फेवा ताल करिब २० हजार रोपनीमा फैलिएको थियो। अहिले अनुमानित ५ हजार रोपनीमा खुम्चाएर सब मिलेर फेवा खाएका छन् स्वनामधन्यहरूले। सेती पनि खाँदैछन्। यो हप्ता यसको विरोधमा तालको किनारामा कविता र गीतहरू गुन्जिए। अञ्जन बाबुले यो गीत गाएर प्रश्न गरेः

चौतारी पोखरी मिचेर

ढुङ्गो र माटै बेचेर

कहाँ जान्छौ मान्छे किचेर ?

सम्झनामा अझै कुदिरहेको छु म। अहिलेको होइन, सन् २०१९ डिसेम्बर ३१ तारिख मङ्गलबारको दिनको पोखरामा। हामी नयाँ वर्ष मनाउन पोखरामा थियौँ त्यतिबेला। साथमा थिए अमेरिकाबाट हामीलाई भेट्न आएका ज्वाइँ, छोरी, नाति र नातिनी। र, यहीँ रहेका सम्धी/सम्धिनी। त्यसै दिन जुन अहिले कोभिड–१९ को महामारी बनेको छ विश्वमा, त्यसको सुरु उहानमा भएको पहिलो जानकारी चीनले विश्व स्वास्थ्य सङ्घलाई दिएको थियो। 

यसको तीन महिनाअगाडिदेखि नै इटलीमा यो रोगको लक्षण देखा परिसकेको बताइन्छ। नेपालमा यसको १३ दिनपछि जनवरी १३ मा एउटा नेपालीले पहिलो पटक टेकु अस्पतालमा उपचार गराएर फर्केका थिए।

तर हाम्रा स्वघोषित कोभिडविज्ञ तत्कालीन प्रधानमन्त्री केपी ओलीले यसलाई हल्काफुल्कारूपमा लिएर ओठे जवाफको हुङ्कारले ढाकछोप गर्दै भने–‘आएको थियो गइसक्यो, छैन नेपालमा कोभिड।’ पर्यटन मन्त्रीको त कुरै भएन। आगोको चपेटामा परेको अस्ट्रेलियामा गए जस्तै उनी जहाँबाट कोभिड निस्क्यो त्यहीँ चीनमा नेपाल भ्रमण २०२० को विज्ञापन गर्न जानेमा थिए।

यही नै सरकारको स्तर रह्यो। यसरी करिब एक महिनाको अत्यन्त महत्वपूर्ण समय गफ गरेर सके। जब विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारी भनेर घोषण गर्‍यो तबमात्र सरकार ब्युँझेर लकडाउनमा उत्रियो। तर सोच, योजना केही भएन–अनुगमन, कन्ट्याक्ट ट्रेसिङ, नियन्त्रण र व्यवस्थापनको। न अक्सिजन, स्वास्थ्य सामग्री र खोपको जोगाड। 

यो उकुसमुकुस सहन नसक्दा टिचिङ अस्पतालका डाक्टर सुवास आचार्यले सरकारको पूर्वतयारीप्रति असन्तुष्टि प्रकट गर्दै भने– ‘कोरोना संक्रमण फैलियो भने कसरी काम गर्ने कार्य योजना नै छैन।’ तर ओलीले यो महामारीलाई समेत पैसा कमाउने अवसरमा प्रयोग गरे ओम्नीलाई उभ्याएर। स्वास्थ्य मन्त्री भानुभक्त त पात्रमात्र थिए। 

जब खसोखास भयो यो कुरा, तब भ्रष्टाचारबाट बच्न कोभिड–१९ को सामग्री खरिदलाई ओलीले ओम्नीबाट सेनामा पुर्‍याए। ७० दिनमा १० अरब चट भयो। हिसाब नै छैन। ओली भ्रष्टाचारको संरक्षक बने। संसदीय समितिले ठहर गरेको भ्रष्टाचारसमेत उनले दबाएका हुन्। 

भ्रष्टाचारबाट उन्मुक्ति लिन मन्त्रिपरिषद्बाट भ्रष्टाचारलाई पास गराएपछि नियमसम्मत हुने अर्थात् अख्तियारले हेर्न नपाउने नियम बनाएर उनले उन्मुक्ति लिए। यसरी ‘यती’ बाट पैसा खाने काम कानुन नै संशोधन गरेर सुरु गरेका ‘कानुनसम्मत भ्रष्टाचार’ लाई उनले यसरी ‘नीतिगत निर्णय’ को भ्रष्टाचार’ बनाए यो महामारीमा। करिब दुईतिहाइको सरकारको स्थायित्वले ल्याउने भनिएको ‘विकास र समृद्धि’ त हावा भरिएको रङ्गीचङ्गी बेलुनसरह उड्न थाल्यो गफको फोहोरा बनेर। र, राष्ट्र लुटको दारुण कथा बन्यो राजनीति। बालुवाटारमा स्विच थिचेको भरमा गरिएका शिलान्यास र उद्घाटन टोपीबाट खरायो झिक्ने चटक बने। 

केही क्षण जनतालाई दिग्भ्रमित पार्न र केही हदसम्म मनोरञ्जन प्रदान गर्न उपयोगी रहे। मुलुकको अर्थतन्त्र १९ औँ शताब्दीको उपनिवेशवादी शोषणको स्वरूपमा ढालिँदै लगियो। यस प्रयोजनको शासकीय आमोद–प्रमोद र शान–सौगतको र यस्तो राजनीति गर्न चाहिने पाँच वर्षे चुनाव रकम भ्रष्टाचार गरेर जोहो गर्ने नयाँ राजनीतिक संस्कारलाई बलियो पारियो।

गरिब नेपालीले विदेशमा रगत बगाएको रेमिटेन्सबाट धानिएको आयातप्रदत्त सरकारी आम्दानीले यसलाई अहिलेसम्म टेवा दिएको छ। समग्रमा, एकदम कमजोर बुनियादमा छ अहिले अर्थतन्त्र। सजिलोसँग बुझ्न मैले यसलाई ‘सुकुलगुन्डा अर्थतन्त्र’ भन्ने गरेको छु। 

केपी ओलीले हालै भनेछन्–गिनिज बुकको आधा भाग त हामीले गरेको कामले भरिन्छ। माधव नेपाललाई गाली गरेको भन्दा पनि तल्लो स्तरको यो प्रहसन भनौँ या आफैँलाई बेबकुफ बनाएर के भनेको ? बालुवाटारबाट बटन थिचेर गरेको बतासे शिलान्यास, कानुनसम्मत भ्रष्टाचार र नीतिगत निर्णयको लुट नै विकास हो ? यहाँनिर फेरि सम्झना आयो देवकोटाले भनेका कुरोको– स्वस्थ कल्पनाले मान्छे कवि बन्छ भने अस्वस्थ कल्पनाले पागल।  

एक व्यक्ति र उसको चट्टाबट्टाको राष्ट्र दोहनमा भएको हालीमुहालीबाट सुरु भएको अन्तरपार्टी विग्रह कोभिड–१९ को महामारी भन्दा खतरनाक कहर बनेर मुलुकको राजनीति क्षतविक्षत पार्‍यो। मुलुक हाँक्ने राजनीति सत्तालिप्साको अत्यन्त फोहोरी खेल बन्यो, लोभी पापीहरूको। 

कसले कसलाई कसरी स्थापित या विस्थापित गरेर सत्ताको लगाम समात्ने भन्नेमा मुलुकको समय नष्ट भयो। स्थापित या विस्थापित हुनेबीचको यो रिक्तता भर्न चुच्चे नक्सा, राम मन्दिर र मध्यरातको बालुवाटार डिलदेखि अध्यादेशीय शासन, नागरिकता बाँड्ने अध्यादेश, दुईपटकको संसद् विघटन, पुनस्र्थापन र देउवा सरकारको गठन र १०० दिनको हनिमुन सकिएको अवस्थामा आइपुग्दा मुलुकको बर्बादीमा झन् वृद्धि भएको छ।

सब भागबन्डा चाहने। गठबन्धनका प्रत्येक पार्टीमात्र होइन, पार्टीका सब ठूला नेताहरू अनवरत रगड झगडमा छन् भाग शान्तिका लागि। सबैलाई मन्त्री हुन चटारो छ। मन्त्री नपाए आत्महत्या गर्छु भन्ने पनि आए। र, विगतमा यसो भनेर पाए पनि राम कार्कीले। मन्त्री खान मरिमेट्ने कारण पैसा खाने अवसरका लागि हो। 

देउवा ‘खराब भएको र अब पनि खराबै रहने’ भन्नेहरूको जमात बढिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेरले गठबन्धनको ‘अदृश्य हिस्सा’ बनेर संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भाग खोजे। लौ जा शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको संवैधानिक व्यवस्था। गैरसांसद जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन सफल भएपश्चात् स्थिति झन् कहालीलाग्दो बनेको छ। ओलीले भनेझैँ के यो ‘सट्टापट्टाको सरकार’ हो ?

जहाँ विवेकको हत्या हुन्छ, त्यहाँ स्वविवेकको धेरै कुरा गरिन्छ। विवेकको अवसानपछि हमालको उदय भयो मन्त्री बनेर। करिब ४० घण्टापछि मन्त्रीबाट हट्दा उनले स्वविवेक प्रयोग गरेको झूट ओकले। ठिङ्ग उभ्याइयो बेइमानीको उत्सर्गमा। हटाइयो, जब बेइमानी प्रज्वलनशील बनेर रिमोट चलाएका हातहरू जल्ने भए। विचरा गजेन्द्र हमाल ! अरूको बेइमानीको तुहिएको उत्पादन बने। बिक्री हुनुअगाडि नै काम नलाग्ने वस्तुसरह बनाइए। उनको त के दोष र ? दोष कसको त ? प्रश्न यहाँनिरबाट उठिरहेको छ आजको नेपालमा।  

सम्पूर्णरूपबाट समुन्द्रमा डुबेको हिउँले बनेको पहाड जसलाई ‘आइसबर्ग’ भनिन्छ त्यसको टुप्पोमात्र हो यो प्रश्न। अर्थात् ‘टिप अफ द आइसबर्ग।’ न्यायको ‘खरिद बिक्री’ रोक्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको स्वविवेकीय पेसी तोक्ने अधिकार नियन्त्रण गर्नुपर्ने मागसहित मुलुकको न्याय कानुन क्षेत्र यतिखेर संगठितरूपमा आक्रोशित छ। 

चोलेन्द्रलाई गीताको पाप लाग्यो भन्ने आवाज सुनिन्छ। रञ्जन कोइरालाकी पत्नी हुन् गीता जसलाई उनले प्रेमिकाको निमित्त मारेर जेलमा सजाय काट्दै थिए। र, चोलेन्द्रशमशेरले छोडिदिए सजाय राफसाफ गरेर। काटेको दिनको गणनामा मिलान गरिदिए। हो, यो खतरनाक प्रवृत्तिले मुलुक निल्दै गरेको छ।  

व्यक्ति टिक्ने र टिकाउने आवेगले हाँकिएको अर्थराजनीतिमा व्यक्तिको चहलपहल, गतिविधि र व्यक्ति नै मुलुक बनेका छन्। सिस्टम सब भत्काउनेमात्र होइन, पोलेर खाइसके। अब डुब्न बाकी नै के छ र ? त्यसैले घाट लगेको अवस्थामा छ संविधान। के राजनीति ? के अर्थनीति ? सत्तामा पुग्न र टिक्न मालिक रिझाएर गरिने राजनीतिमा विदेशी मालिकहरूको एकअर्कोसँगको सम्बन्धको परिणति कस्तो हुन्छ त्यो पो निर्णायक भयो नेपालको राजनीतिमा। 

यो कुरा एमसिसीमा नियालेर हेरेमा प्रस्ट देखिन्छ। यस क्रममा राजनीतिक पुँजी ठानिने पार्टीहरू व्यक्तिपिच्छेको प्राइभेट लिमिटेड कम्पनी बनाउने होडबाजीले केन्द्र र प्रदेशको सरकारमात्र होइन, समग्र मुलुक नै अस्थिर बनेको छ। के नेपाल अन्ततः अन्तर्राष्ट्रिय द्वन्द्वको थलो बन्न लागेको हो ? हाम्रो परराष्ट्र मन्त्री आफ्नो मुलुकको मामिलामा विदेशीलाई नसोधी निर्णय गर्नुहुँदैन भन्छन्। यस क्रममा नेपाली जनतालाई प्रत्येक दिन सातौँ आसमानमा पुर्‍याइने एउटा अमूर्त वस्तुसरह पारिँदै लगिएको छ। कोभिड–१९ महामारी र राजनीतिक कहरको उकुसमुकुसबाट कुँजिएका हामी दम्पतीले केही मुक्ति खोज्यौँ। सम्झ्यौँ पोखरा। हाम्रो प्रिय नगरी। साइत जुर्‍यो ६४१ दिनपछि। र, यहाँ घुमिरहँदा र प्रकृतिसँगको सामीप्यमा रहँदा एउटा गजबको प्रश्न मनमा उठिरहेको छ। यो प्रश्न तारा निरौलाको फेसबुक पोस्ट पढेपछि उठेको हो। उनी लेख्छन्– ‘चाहे जुनसुकै राजनैतिक व्यवस्था होस् यदि त्यसले सामान्य जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्दैन भने त्यो अर्थहीन व्यवस्था हो।’ अर्को शब्दमा प्रस्ट पार्दा उठ्ने प्रश्न हो– के गणतन्त्र नै साध्य हो ?  

मलाई लाग्छ, यस्तो आवाज धेरै अव्यक्त छन्। केही मात्र मुखरित हुँदै आएका छन्। पूर्वराजा ज्ञानेन्द्रले ‘राजासहितको प्रजातन्त्र’ को माग गरे भनेर होइन। प्रजातन्त्रमा सबले माग्न पाउँछन्। उनले पनि मागे। त्यो अर्कै कथा हो। समग्रमा, गणतान्त्रिक नेपालमा क्रमशः यो आवाजचाहिँ घनिभूत हुँदै गइरहेको छ। 

आखिर किन ? यसको उत्तर खोज्ने जमर्को गर्दा अनायास मैले २०५८ सालका दुइटा कविता सम्झन पुगेको छु। कविताले लामो व्याख्यालाई एकदम छोटोमा अभिव्यक्त गरिदिन्छ। त्यसैले मैले कविताको सहारा लिएको हुँ। पहिलो कविताको शीर्षक हो– ‘संवाहक’, मधुपर्कमा छापिएको। दोस्रोको शीर्षक हो– ‘यहाँ कसैको मृत्यु भएको छ’, एकेडेमीको पत्रिका कवितामा छापिएको।  

पहिलो कविताका यी हरफः 

‘रोक्ने र फुक्ने शक्तिबीच

अनवरत द्वन्द्व हुन्छ  

पानी तात्न थालेपछि  

चिसो रहन चाहने शक्ति

त्यसरी नै प्रयत्न गर्दछ

जसरी तात्ने शक्तिले गर्दछ

जब तात्ने शक्ति बलियो हुन्छ

अनि पानी सुसाउँदछ

यसरी सुसाउनुपर्दछ पानीले पनि  

चिसो भएर बस्ने प्रयत्न विफल  भएपछि

विजय/पराजयको यो क्रमसँग अनुबन्धित भएर

परिवर्तनहरू जन्मिरहन्छन्

कहिले अन्त्य नहुने, कहिले नटुङ्गिने  

एउटा सुरुवात बोकेर  

किनकि विरोधको आभास नहुन  

समाजले सलबलाउन छोड्नु पर्दछ

अर्थात् स्थिर हुनु पर्दछ

जुन असम्भव छ’

दोस्रो कविताका यी हरफहरू:

’परिवर्तन आफैँमा संवाहक हुन सक्तैन

एउटा सपनाको प्रतिबिम्ब मात्र हुन सक्छ  

सपना जति सुन्दर हुन सक्छ

त्यसको प्रतिबिम्ब उत्तिकै खतरनाक पनि हुन सक्छ

किनकि मान्छे र सपनाबीचको अन्तरबाट

यदि प्रतिबिम्ब निस्केको छ भने  

त्यो सपनाको ठानिए पनि रिक्तताको हुन सक्छ’

विरोधाभासको उब्जनी खाएर मोटाएका ती जसले परिवर्तनको संवाहक बनेर अवतरण गरे या गराइए, अब तिनीहरूले जवाफ दिने बेला भएन र ! यो गणतन्त्र केका लागि ? जनतालाई भाषण खुवाउने समाजवादको थोत्रो गफ एकछिन पन्छ्याएर भन्नुपर्‍यो। 

मिथकीय विद्वान् बनेर गरिएका गफलाई एकछिन थाँती राखेरमात्र होइन, बचेको केही इमानदारी छ भने छातीमा हात राखेर भन्नुपर्‍यो– यो अन्तको दासत्वका लागि हो या उन्मुक्तिको ? यो अविकासको विकास होइन। लुटको विकास हो। भन्नुहोस्, कसरी वर्णन गर्नुहुन्छ तपाईँले घोकेर नजान्नेको अगाडि महाविद्वान् बनेर वर्णन गर्दै आएको रोजा लक्जम्बर्ग र बुखारिन भाषाको नयाँ युगको सुरुवात भनेर। यो भन्ने समय पनि नरहन सक्छ। अर्थराजनीतिक विश्लेषक

प्रकाशित: ८ कार्तिक २०७८ ०१:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App