विचार

कांग्रेस महाधिवेशनको वैधानिकता

आफ्नो चौधौँ महाधिवेशन मिति र कार्यतालिका पाँचौँ पटकसम्म रद्द गर्दै, बल्लतल्ल छैटौँ पटकमा नेपाली कांग्रेसले भदौ २३ गतेदेखि पार्टी महाधिवेशनको प्रक्रिया अघि बढाउने भएको छ। पार्टीको होस् वा भातृसंस्थाहरूको, अधिवेशन गर्न भनेपछि कांग्रेसको नेतृत्वलाई जीवन–मरणको सवाल आएजस्तो डर लाग्छ। 

महाधिवेशन गर्नुपर्ने वैधानिक म्याद घर्किएपछि महाधिवेशनको नयाँ तिथि र कार्यतालिका तोकिएकाले त्यो कति वैधानिक वा कानुनसम्मत होला, यसबारे बहस हुनु आवश्यक छ। संविधानको धारा २६९ को उपधारा ४ (ख) अनुसार पार्टीको वैधानिक अस्तित्व बचाउन विधानअनुसार चारवर्षे कार्यकालमा कांग्रेसले आफ्नै निर्णयद्वारा एक वर्ष कार्यकाल थप्न पाउने र थपिएको एक वर्षभित्रमा महाधिवेशन गर्न नसकेमा संविधानबमोजिम थप छ महिनाको आखिरी म्याद पाउने सुविधा पनि कांग्रेसले लिइसकेकाले भदौ २३ गते उसको वैधानिक अस्तित्वको सम्पूर्ण म्याद सकिएको मिति पर्छ।  कांग्रेस नेतृत्वले पार्टी महाधिवेशन गर्न नसकेको होइन, नचाहेको बुझिन्छ। 

एक पटक पार्टी फुटाइसकेकाको हातमा कांग्रेसको नेतृत्व परेको छ। २०६२ देखि विगत १६ वर्ष कांग्रेसका गतिविधि कम्युनिस्ट पार्टीको स्याटेलाइट जस्तो भएर वा उनीहरूको टाङ्मुनि छिर्ने निर्लज्जता प्रदर्शन गर्दै बितेको छ। पछिल्लो सत्ता समीकरणमा पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको रवैया त्यस्तै देखिएको छ। गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल, चन्द्र भण्डारीजस्ता पार्टीका नयाँ तथा उदीयमान एवं युवा पुस्तामा आत्मविश्वास, स्वाभिमान र जागरुकता छ भने नेतृत्वले मनपरी चलाइरहेको स्वेच्छाचारी र पार्टी हित विपरितका गतिविधिमा अंकुश वा लगाम लगाउने किसिमले सक्रियता देखाउनु जरुरी छ। 

यसैलाई उपयुक्त दाउ मानेर गणतन्त्रको अचानोमा कांग्रेसलाई बली चढाउने कम्युनिस्ट ब्यूहरचना जागृत रहेको देखा परिरहेको छ। खासगरी उदीयमान युवा नेताहरू, पार्टीका बौद्धिक समुदाय र जिम्मेवारीबोध भएका सचेत कार्यकर्ताका लागि यो जरुरी काम हो। नेपालका दुई ठूला राजनीतिक दलहरू कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का घरझगडा जनताले हेर्न नचाहे पनि सडकमा आइपुग्ने गरेका छन्। जिल्लामा गएर १५० किलोसम्मका माला लगाइमाग्ने शीर्ष नेताहरू सद्बुद्धि नभएर चोर बुद्धिले ग्रस्त भइरहेकामा सुधारचाहिँ कहिले ? यो अनिवार्य प्रश्नमा जवाफदेही हुनबाट नेताहरू उम्किन पाउँदैनन्।  

बाँस फेदबाट चिरिन्छ तर पार्टी टुप्पाबाट चिरिन्छ। आकृति बोक्रो हो भने प्रकृति त्यसको अन्तर्वस्तु हो। चरित्र ठीक–ठेगानमा छैन भने जति विशाल र भव्य जनमत पाए पनि केही हुन सक्दो रहेनछ। अन्य राजनीतिक व्यवस्थापन मिलाउन नसक्दा दुईतिहाइ बहुमत पाए पनि कम्युनिस्ट सरकार अभिशाप भएर ढल्यो। वर्तमान सत्ता समीकरण र राजनीतिक परिवर्तनका मुख्य व्यक्तित्व माधवकुमार नेपाल हुन् तर कांग्रेसको काँधमा अर्काको असफलतालाई सम्हाल्ने जिम्मेवारी आइलागेको छ। असफलताको सोही पदचिह्नमा हिँड्ने नियत प्रधानमन्त्री देउवाले देखाइसकेको उदाहरण पुनःस्थापित संसद्लाई करिब दुई महिनासम्म बेकाममा अल्झाएर हत्तपत्त संसद् अधिवेशन सकेपछि केपी ओलीकै शैलीमा अध्यादेश राज चलाउने नियतका साथ।  

कांग्रेसको आन्तरिक ‘संस्थापन’ वा ‘प्रतिपक्ष’ दुवै गुटको नेतृत्वले परिस्थितिबाट शिक्षा र चेतना लिन नसक्नु भयानक समस्या हो। जनपरिचालन हुने ठोस कार्यक्रम दिन नसक्नु, सरसल्लाह र सहमतिले काम गर्ने संस्कार तथा परम्परा मास्दै जानु, हचुवाको भरमा काम गर्ने परिपाटी बसाल्नु, कोठे झुण्डको अल्पबुद्धिको सिकार हुनु नै सभापति शेरबहादुर देउवाको विशेषता बन्न पुगेको छ जो ढलेको ओली–सरकारको धरोहर हो। पाँच वर्षयता उनले कांग्रेस र देशका लागि इतिहासले कदर गर्ने र भावी पुस्ता अनुगृहित हुने कुनै उपयोगी काम गर्न सकेनन्।  

२०७४ मा तीनै तहका निर्वाचनमा मतदाताले पार्टीको ‘रुख’ हेरेर भोट हाले तर नेतृत्वको ‘मुख’ देखेर विचलित भए। निर्वाचनमा पार्टीको पराजयबारे समीक्षा र निष्कर्ष बनाउने विषय सुन्नै नचाहने, तीव्र दबाब आएको ४ महिनापछि बल्लतल्ल छलफलसम्म चलाउने तर प्रतिवेदन लेख्नै नचाहने नेतृत्वको नियतबाटै मतदाताको असन्तुष्टि प्रतिविम्बित हुन्छ। जनताले नेपाली कांग्रेस पार्टी (संस्था) लाई रुचाएका छन्, टिकट किनेर उम्मेद्वार भएका सन्दिग्ध अनुहारलाई रुचाएनन्। स्वयं प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई आफ्नै जिल्ला डडेलधुरामा निर्वाचन जित्न हम्मेहम्मे परेको नबिर्सौँ। किनकि मतदाताको त्यस्तो मनस्थिति र समग्र परिस्थितिले धेरै कुरा बोलेको छ यद्यपि उनले यसबाट कुनै शिक्षा लिन नसकून्।  

२०६२–६३ पछिको कालखण्ड र भुक्तमानले के प्रमाणित गरिसक्यो भने कांग्रेस वा माओवादी मिश्रित एमालेको नयाँ अवतार नेकपा वा अन्य जो भनौँ, सबैसँग फत्फताउने कुरामात्र रहेछन् तर समाधानका सूत्र रहेनछन्। नारा रहेछन् तर निष्ठा रहेनछ। हेक्का राखौँ, नाराले निष्ठा प्रमाणित गर्दैन। बार्दलीबाट फलाक्न वा आँगनमा उभिएर भट्याउन त सबैले जानेका छन्। किनकि भनेर सुनाउन जो पनि खोज्छ तर गरेर देखाउने क्षमता कसैसँग रहेनछ। नारायणहिटी राजदरबारको प्रभुत्व वा दबदबा समाप्त भएको उत्सव त मनाइयो तर ‘दिल्ली दरबार’ को हालिमुहाली बढेकामा चिन्ताले छोएन।

व्यावहारिक दृष्टिकोणमा कांग्रेसको झगडा, ‘लोकतान्त्रिक गणतन्त्र’ का रित्ता ढ्वाङ्हरूको व्यर्थको रन्काइ र जसरी होस् आफू शक्तिशाली हुने अन्धो आकांक्षाबाट लक्षित छ। दुवै पक्ष जनता–प्रेमी कार्यकर्ता राख्न भन्दा नेता–प्रेमी ‘मन्थरा’ पाल्न रुचाउँछन्। त्यसमाथि चुनावमा कहिल्यै पनि ‘रुख’ मा भोट नदिएर ‘टिन’, ढ््याङ्ग्रो, भ¥याङ्, पुतली जस्ता चुनाव चिह्नमा भोट हाल्दै आएका अनुशासनहीन ‘कांग्रेस’ अनुहार पनि कुनै न कुनै गुट वा गिरोहका प्रिय भइरहेकै छन्। कतै ‘नयाँ जोगीको बाक्लो खरानी’ भन्ने उखान चरितार्थ गर्नेखालको चाकरी खेती पनि चलिरहेको छ।

पार्टी सभापति पद, सारा कार्यकर्ताका लागि निष्पक्ष न्यायमूर्ति र भजाउन नहुने सम्पत्ति हुनुपर्ने हो। तर उनले गुटबन्दी र भागबन्डालाई संस्थागत गर्न, एउटा गुटमा सीमित रहन र ‘कोठेशक्ति र ओठेभक्ति’ मै रमाउन खोजेको प्रष्टै भयो। यस्तै अनकौँ आपत्तिजनक कार्यशैलीका कारण देउवाले फेरि सभापति हुने योग्यता र औचित्य गुमाइसकेका छन्। उनका प्रति हिजो जो–जसको उत्साह थियो त्योसमेत आज निराशामा परिणत भएको छ। तर उनी  फेरि पार्टी सभापति ‘निर्वाचित’ भए भने कांग्रेसमा व्यापारी, कालोधनका मालिक, भ्रष्ट, माफिया र तस्करहरूको बोलवाला निर्णायक हुनेछ। निष्ठावान्, इमानदार, विचारवान र जुझारु कार्यकर्ताहरूको नाम–निशान मेटिने अवश्यम्भावी छ।  

अर्कातिर नवोदित नेतृत्व र होनहार भनिएको नयाँ पुस्तामा पनि व्यवहारगत जटिलता र विकृति प्रशस्तै छन्। अहिलेसम्ममा नयाँ पुस्ताले नेतृत्वरूपी चिल्लापात देखाइसकेको हुनुपर्ने हो। मनको कुरा भजाएर वा कोठाको मिटिङ देखाएर पार्टी चलाउन खोज्नु आझैमा निरिहता र विडम्बनाको द्योतक हो। तर नयाँ पुस्ता पनि त्यही निरिहता र विडम्बनाको माखेसाङ्लोमा जेलिन पुगेको छ। हिजो राजतन्त्र रहँदासम्म आफ्ना सबै दोष राजतन्त्रलाई भिराइदिएर नाक जोगाउने उपाय भएको थियो। राजतन्त्र नभएका यी दिनमा चाहिँ कांग्रेसलाई आफ्नो पौरख चलाउन केले छेक्यो ?

गल्तीले बर्बाद भएको मुलुक वा पार्टी सुध्रन्छ तर बेइमानीले जानीजानी बिगारेको मुलुक वा पार्टी सुधँ्रदैन। बासी विचार, ठेगान नभएको बोलीबाट अब कुनै पार्टी सञ्चालन गर्न सकिँदैन। दम्भ र हठ नछाडेर तदर्थवादी ढर्रामा सञ्चालन गर्न खोज्नुबाट पार्टीको खोलभित्र पञ्चायती चरित्रको राजनीतिक कसरतमात्र हुन्छ। कुनै पनि पार्टीले सत्ताका लागि हुरुक्कै भएको आशक्तिलाई नियन्त्रण गरेर जनमुखी विकासका अजेन्डालाई पूरा गर्न ध्यान लगाएको जनतालाई महसुस भएमात्र जनविश्वासको सार्थकता रहनेछ। सुध्रिने मति छैन भने यिनले इज्जतपूर्वक हटिदिनुबाहेक राजनीतिमा अरू विकल्प छैन। त्यसैले कांग्रेस वा कम्युनिस्ट पार्टीहरूमा गुणात्मक सुधार ल्याउन सर्वप्रथम सबै पार्टीका नेताहरूको नियत, आचरण र चिन्तनमा सुधार गर्ने उपचारात्मक कार्यक्रम अत्यन्त जरुरी भएको छ।

प्रकाशित: ३ भाद्र २०७८ ०५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App