६ र ९ अगस्ट सन् १९४५, यी यस्ता दुई दिन हुन् जसले विश्वमा आणविक या परमाणु अस्त्रले विश्वको अस्तित्वमै ल्याएको विनाशको स्मरण गराउँछन्। अमेरिकाले जापानको हिरोसिमामा ६ अगस्ट र नागासाकीमा ९ अगस्टका दिन परमाणु बम खसाएको थियो। बम खसाल्नेबित्तिकै करिब ८०,००० जापानी नागरिकले तुरुन्तै मृत्युवरण गरेका थिए भने लगभग सम्पूर्ण भवन ध्वस्त भएका थिए। अझै पनि हिरोसिमा र नागासाकीका बासिन्दा ७६ वर्षअघि खसालेको परमाणु बमको खाटाहरूबाट मुक्त हुन सकेका छैनन्। तर यी आणविक अस्त्रहरू मानव जातिका लागि घातक हुन् भन्ने जान्दाजान्दै एकअर्कालाई सिध्याउने होडबाजीमा को भन्दा को कम भन्दै विश्व, यसको ठूलो भण्डारणतर्फ अघि बढिरहेको छ।
यसैबीच स्विडेनको स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्ट्च्यिुटले विश्वको परमाणु अस्त्र भण्डारबारे हालै (१४ जुन २०२१) प्रकाशित गरेको प्रतिवेदनले विश्वको ध्यान आकृष्ट भएको छ। प्रतिवेदनअनुसार हाम्रा दुई ठूला छिमेकी चीन र भारतले तीव्ररूपमा परमाणु अस्त्र भण्डार निरन्तर बढाइराखेका छन्। यो वर्षको जनवरीसम्म चीनसँग ३५० र भारतसँग १५६ परमाणु हतियार छन्। यस्तै अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानसँग भारतको भन्दा नौवटा बढी अर्थात १६५ आणविक अस्त्र छ। यी तीन मुलुकसँग सन् २०२० को जनवरीसम्म क्रमशः ३२०, १५० र १६० आणविक अस्त्र थिए। रुस र अमेरिकासँग १३,०८० वैश्विक परमाणु अस्त्रमध्ये ९० प्रतिशत भन्दा धेरै छ। वर्तमानमा भण्डार गरी राखिएका यी आणविक अस्त्रहरू जापानको हिरोसिमा र नागासाकीमा खसालिएका परमाणु बम भन्दा कैयौँ गुना शक्तिशाली र विध्वंसकारी छन्।
यो प्रतिवेदन भन्छ– चीन, पाकिस्तान र भारत आफ्नो परमाणु अस्त्रागारमा निरन्तर विस्तार गरिरहेका छन्। आधिकारिकरूपमा विश्वका नौ देश अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियासँग मात्रै परमाणु अस्त्र छन्। यसबाहेक इरान जस्ता अन्य मुलुकसँग पनि पारमाणविक अस्त्र भएको शंका गरिन्छ।
यो प्रतिवेदनले ठोस र सटिक तथ्याङ्क प्रस्तुत गर्न सक्दैन किनभने कुनै पनि राष्ट्रको सुरक्षासम्बन्धी तथ्याङ्क अत्यन्त गोपनीय हुन्छ र यसलाई उनीहरूले उद्घाटित गर्दैनन्। तापनि यस प्रतिवेदनका माध्यमबाट विश्वमा पारमाणविक अस्त्र भण्डारको आकलन भने अवश्य गर्न सकिन्छ।
हाम्रो यो क्षेत्र पूर्व एसिया तथा दक्षिण एसिया, जहिल्यै पनि पारमाणविक अस्त्र प्रयोग हुने उच्च जोखिममा छ। किनभने यस क्षेत्रका चार राष्ट्र पारमाणविक अस्त्रले सज्जित छन्। पूर्वी एसियामा चीन र उत्तर कोरियासँग पारमाणविक अस्त्र छ भने दक्षिण एसियामा भारत र पाकिस्तानसँग पारमाणविक अस्त्र छन्। चीन र उत्तर कोरियासँग रहेको पारमाणविक अस्त्रबारे पश्चिमा मुलुकहरूले विश्वलाई नै खतरा रहेको भन्ने कुरा उठाउँदै आएका छन्। चीनको भारतसँग सन् १९६२ मा सीमा विवादलाई लिएर युद्ध भएपश्चात् चीन–भारतको सम्बन्ध राम्रो छैन। अहिले पनि चीन–भारतबीच घातक सीमा विवाद जारी छ। अहिले गहिरो सीमा विवाद हुँदाहुँदै चीन–भारत सम्बन्ध राम्रो छ भनेर जुन भनिँदै आएको छ त्यो आर्थिक स्वार्थ र बाध्यताको सम्बन्ध हो।
यस्तै भारत र पाकिस्तानबीच सन् १९४७, १९६५, १९७१ र १९९९ मा साना÷ठूला गरी चार युद्ध भएको छ। १९४७ र १९६५ को युद्ध काश्मीरलाई लिएर भएको थियो। यस्तै १९७१ को युद्धले पाकिस्तानको पूर्वी पाकिस्तान टुक्रिएर बाङ्लादेश नामक नयाँ राष्ट्र उदय भयो। त्यस्तै १९९९ मा सानो स्तरमा भएको युद्धलाई कारगिल युद्ध भनेर जानिन्छ। यो युद्ध कारगिल भन्ने स्थान कब्जालाई लिएर भएको थियो।
भविष्यमा हुन सक्ने भारत–पाकिस्तान युद्धले मानव जातिलाई पुग्ने क्षतिबारे इन्टरनेसनल फिजिसियन्स फर द प्रिवेन्सन अफ न्युक्लियर वार (आइपिपिएनडब्ल्यु) द्वारा जारी एक प्रतिवेदनको ‘परमाणु अकाल: साढे दुई अरब मानिसलाई खतरा’ शीर्षकमा भनिएको छ– भारत–पाकिस्तानबीच फेरि एकचोटि युद्ध भयो भने र त्यसमा परमाणु अस्त्रको प्रयोग भयो भने संभवतः पृथ्वीमा मानव सभ्यताकै अन्त्य हुनेछ। परमाणु युद्धले वैश्विक पर्यावरण र कृषि उत्पादनमा यति नराम्रोसँग प्रभाव पार्नेछ अर्थात् विश्वको एक चौथाइ जनसंख्या अर्थात् अढाइ अरब भन्दा बढी मानवको मृत्यु हुन सक्नेछ। यसले भारत र पाकिस्तानका साथै चीनको पनि सम्पूर्ण मानव खत्तम हुन सक्नेछन्।
पारमाणविक अस्त्र–शस्त्र बनाउन चाहिने कच्चा पदार्थ, युरेनियम तथा प्लुटोनियम हो। नेपालका केही स्थानमा पनि युरेनियम खनिज पाइने तथ्य वैज्ञानिक अध्ययनहरूमा देखिएको छ। खानी तथा भूगर्भ विभागले गरेको प्रारम्भिक अन्वेषणमा मुस्ताङको लोमान्थाङ, मकवानपुरको तीनभँगाले, बैतडी, मनाङ र गोरखाका केही स्थानमा युरेनियम पाइने सङ्केत देखापरेका छन्। आणविक अस्त्र बनाउन, आणविक ऊर्जा उत्पादन गर्न र अत्याधुनिक स्वास्थ्य निदानका लागि यसको प्रयोग गरिने भएकाले युरेनियमलाई ‘रणनीतिक खनिज’ मानिन्छ।
नेपाल संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को सदस्य भएकाले यस्ता खानीको उत्खनन गर्न राष्ट्रसङ्घले तोकेका मापदण्ड पूरा गर्नुपर्छ। युरेनियम उत्खनन र प्रशोधन अत्यन्त जटिल प्रक्रिया हो जुन विशेषज्ञता नेपालसित छैन। तथापि यस्तो हुँदैमा उत्खनन प्रक्रिया रोक्नुहुँदैन किनभने यो अत्यन्त बहुमूल्य खनिज पदार्थ हो। नेपालले प्रशोधित युरेनियम उत्पादन गर्न सक्यो भने त्यसको माध्यमबाट ठूलो मात्रामा विदेशी मुद्रा आर्जन हुनेछ।
विश्वमा अहिले धनबल र सैन्यबलका आधारमा आआफ्नो मूल्य र मान्यता स्थापित गराउन शक्तिराष्ट्रहरूको चर्को होडबाजी छ। यसका लागि उनीहरूले विश्व विनाशक आणविक अस्त्रागार बढाउन कल्पनै गर्न नसकिने स्रोत र साधन खर्च गरिरहेका छन्। शक्तिराष्ट्रहरूले विश्वमा आफ्नो हैकम जमाउन अस्त्रशस्त्रमा खर्च गर्नुको साटो मानव कल्याणका लागि खर्च गरे भने त्यसले एउटा सुन्दर विश्व निर्माण हुनेछ जसमा कुनै पनि मनुष्यले भोकमरीका कारण मृत्यु वरण गर्नुपर्ने छैन र समृद्ध विश्व निर्माण हुनेछ। तसर्थ मानव जातिलाई नै सिध्याउने महाविध्वंसक आणविक अस्त्रशस्त्रको प्रतिस्पर्धा रोकिनैपर्छ।
प्रकाशित: २४ असार २०७८ ०२:४४ बिहीबार