विचार

बाढीको बदलिँदो स्वरूप: चुनौती र अवसर

नेपालमा मनसुनको समयमा बाढी÷पहिरो जानु नौलो विषय होइन। वर्षातको समयमा हरेक वर्ष बाढी÷पहिरोजन्य विपद्ले धनजनको क्षति गरेको पाइन्छ। यो वर्ष पनि मनसुनको सुरुवातमै बाढी/पहिरोले मेलम्ची र महाकाली नदी, मनाङ, मुस्ताङलगायत अन्य क्षेत्रमा धेरै नै क्षति पु¥यायो। तर हालैका वर्षमा बाढीजन्य विपद्मा आएको परिवर्तन र यसले निम्त्याएको अकल्पनीय क्षतिबारे यो लेख केन्द्रित छ।  

जेठ ३०, ३१ र असार १ गते मेलम्चीको जलाधार क्षेत्रमा परेको अविरल वर्षाले मेलम्ची–इन्द्रावती जलाधार क्षेत्रमा धेरै क्षति गर्‍यो। वर्षा ठूलै भए पनि बाढी र यसले निम्त्याएको क्षति हेर्दा त्यस भेगका जनसमुदाय तथा विज्ञहरूसमेत अचम्ममा परेका छन्। मेलम्ची बजार डुबाउने गरी आएको लेदोसहितको बाढी अघिल्लो दिन परेको वर्षाको पानीले मात्रै नभइ उपल्लो क्षेत्रमा गएको पहिरो र पहिरोले थुनेको ताल फुटेर आएको अनुमान प्रारम्भिक अनुसन्धानका आधारमा गरिएको छ। विभिन्न स्थलगत तथा भूउपग्रहीय तस्बिरहरूमा घ्याङ र पेमाथाङ (भर्मेथाङ) मा पहिरो गएको देख्न सकिन्छ। यसरी पहिरोले मेलम्ची खोला करिब ४५ मिनेट रोकिएको र पछि ७ बजे बेलुका (असार १) एक्कासि ठूलो बाढी आएको जल तथा मौसम विज्ञान विभागको अभिलेखबाट पनि देख्न सकिन्छ।

बाढीको स्वरूप परिवर्तन

हालैका वर्षहरूमा बाढीको स्वरूपमा परिवर्तन आएको देख्न सकिन्छ।  सन् २०२१ को फेब्रुअरीमा भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा विशाल चट्टान र हिउँ खस्दा बाढी आइ २०० भन्दा धेरै मानिसको मृत्यु हुनुका साथै विद्युत्लगायतका भौतिक संरचनामा पनि धेरै क्षति भयो। सन् २०१२ मा पोखराको सेती नदीमा आएको बाढी र चमोलीको विपद्मा धेरै समानता देख्न सकिन्छ। त्यसैगरी सन् २०१३ मा उत्तराखण्डमा गएको मुसलधारे वर्षा, बाढी/पहिरो र ताल फुट्दा ६००० भन्दा बढी मानिसको मृत्यु भएको थियो।  हाम्रो हिमालय क्षेत्रमा पनि हालैका वर्षमा बाढीजन्य विपद्को प्रकृतिमा परिवर्तन आएको देख्न सकिन्छ। यी माथि दिइएका विपद्का उदाहरण वर्षाले उत्पन्न गरेको बाढीले मात्र नभइ धेरै प्रकारका प्रकोपको अन्तरसम्बन्धबाट सिर्जित विपद् हो जसलाई शृंखलाबद्ध प्रकोप पनि भनिन्छ। यसमा एउटा जोखिमले अन्य जोखिमलाई बढावा दिनुका साथै पृष्ठपोषणसमेत गर्ने हुँदा सञ्चयी क्षति धेरै गुणाले बढी हुन सक्छ। मेलम्ची, चमोली, सेती र उत्तराखण्डमा आएको बाढी यसैको रूप मान्न सकिन्छ।  

नेपाल जस्तो पहाडी मुलुकमा यस्तो शृंखलाबद्ध प्रकोपको सम्भावना धेरै हुने गर्छ। उपल्लो भेगमा हुने प्रकोपहरू, जस्तै–पहिरो, बाढी, हिमताल विष्फोटन, हिउँ पहिरो आदिले तल्लो भेगमा पनि धनजनको क्षति गर्छ र एउटा प्रकोपले अर्को प्रकोपलाई बढावा दिइ जोखिमको सम्भावना बढाउँछ। जसरी बाढी आउने सम्भावनालाई हामीले आधुनिक प्रविधि प्रयोग गरेर केही समयअगाडि नै अनुमान र पूर्वानुमान गर्न सक्छौँ, यस्तो शृंखलाबद्ध प्रकोपको पूर्वानुमान गर्न धेरै गाह्रो हुन्छ। बर्सेनि आउने बाढीको तुलनामा यस्ता विपद् धेरै वर्षको अन्तरालमा देखिने हुनाले पनि क्षतिको स्वरूप ठूलो हुन्छ। त्यसैगरी मानवनिर्मित संरचनाहरू पनि यस्ता जटिल विपद्लाई ध्यानमा राखेर बनाइएको पाइँदैन।  खोलाको नजिक बाढी संभावित क्षेत्रमा यसको असर अझ बढी देख्न सकिन्छ जुन हामीले मेलम्चीमा टड्कारोरूपमा देख्यौँ। हुन त मेलम्चीका बसिन्दाले यस्तो बाढी पुर्खाहरूले पनि कहिल्यै नदेखेको बताएकाले पनि बाढीको बदलिँदो स्वरूपको पुष्ट्याइँ गर्छ।

अब के  गर्ने ?

बर्सेनि आउने बाढीको पूर्वानुमान गरिए पनि यस्ता शृंखलाबद्ध प्रकोपको पूर्वानुमान गर्ने प्रविधि आइनसकेकाले बाढी सम्भावित क्षेत्रमा भौतिक संरचना बनाउँदा सम्भावित जोखिमलाई ध्यानमा राखेर निर्माण गर्नुको विकल्प छैन। मेलम्ची उपल्लो भेगमा खोला थुनिएको र फुट्ने उच्च जोखिम रहेको कुरा तल्लो भेगलाई समयमै जानकारी गराइएकाले पनि संरचनागत क्षति भए पनि धेरै ज्यान जोगाउन सकिएको मेलम्ची क्षेत्रका बासिन्दाले बताएका छन्। त्यसैले उपल्लो र तल्लो भेगबीच पूर्वचेतावनी प्रणाली, औपचारिक र अनौपचारिक सञ्चार माध्यम पनि प्रभावकारी हुन सक्छन्। जस्तै– असार ४ गते तामाकोशी नदीको तिब्बत उपल्लो क्षेत्रमा पहिरोले नदी थुन्दा तिब्बतबाट नेपाल सरकारलाई समयमै जानकारी गराउँदा सम्भावित क्षति कम गर्न तामाकोसी विद्युत् जलाशयको पानीको सतह केही मिटर घटाइएको थियो तर समयमै तिब्बतमा पहिरो पन्छाइ नदीलाई नियमित बग्न दिँदा कुनै ठूलो अप्रिय घटना हुन पाएन।

भूउपयोग निर्देशिकालाई नजरअन्दाज गरी पहाडी क्षेत्रका संरचना निर्माण गर्ने गरिएकाले पनि यस्ता क्षति भोग्नुपरेको देखिन्छ। अहिले मेलम्चीमा क्षति पुगेका संरचनाहरू पनि बाढी प्रभावित क्षेत्र र नदीको नजिक रहेको स्पष्ट देख्न सक्छौँ।  यसैगरी जथाभावी ग्रामीण सडकहरू बनाउने कार्यले पनि पहिरोको जोखिम बढाएको छ र यसरी बाटो खन्दा थुप्रिएको माटोलाई अव्यवस्थित तरिकाले छाड्ने गर्दा पनि समस्या झन् बढेको अनुमान गर्न सकिन्छ।  

हिमालय क्षेत्रमा जलवायु परिवर्तनका विभिन्न असर देखिइसकेको सन्दर्भमा यस्ता किसिमका विपद् भविष्यमा अझ बढ्न जाने सम्भावना रहेको विभिन्न अध्ययनले देखाइसकेका छन्। जलवायु परिवर्तनले ल्याउने अतिवृष्टि र अनावृष्टि जस्ता परिवर्तनले समस्या अझ बढाउने देखिन्छ। खोला नजिक बाढी संभावित क्षेत्रभित्र संरचना बनाउँदा अल्पकालीनरूपमा आर्थिक फाइदा भए पनि दीर्घकालमा भने धनजनको क्षति बेहोर्नुपर्ने हुन सक्छ। जलवायु परिवर्तन र यसका प्रभावहरूबारे अझै धेरै अनिश्चितता विद्यमान रहेको अवस्थामा अनियोजितरूपमा विकासक्रम अगाडि बढाउनु विनाश निम्त्याउनुसरह हुन सक्छ।  

सन् २०१५ को भूकम्पले छियाछिया परेको पहाडी जमिन र वर्षायाममा हुन सक्ने पहिरो र अन्य विपद्बारे चर्चा चले पनि समयमै जोखिमयुक्त क्षेत्रका बासिन्दालाइै स्थानान्तरण नगर्दा पनि समस्याले विकराल रूप लिएको छ। पूर्वचेतावनी प्रणाली, उपल्लो र तल्लो भेगबीच औपचारिक र अनौपचारिक सञ्चार व्यवस्थाले पनि जोखिम न्यूनीकरणमा सहयोगी भूमिका खेल्छ। त्यसैगरी पूर्वचेतावनी प्रणालीलाई अझ विकसित गरी शृंखलाबद्ध प्रकोप जोखिमको पनि पूर्वसूचना दिन सक्ने गरी विकास गर्नु जरुरी छ।  

हरेक मनसुनले हामीलाई विपद् व्यवस्थापनका केही पाठ सिकाउँछ तर मनसुनपश्चात केही महिना पानी नपरेपछि हामीले ती सिकाइ व्यवहारमा उतार्दैनौँ। फलस्वरूप अर्को मनसुनमा त्यस्तैखाले क्षति बेहोर्नुपर्ने विडम्बनाबाट पाठ सिक्दै जोखिम न्यूनीकरणमा सबै क्षेत्रबाट जिम्मेवार बनौँ। (जलवायु तथा जलविज्ञान समूहका टोली नेता नेपाल र वरिष्ठ जलवायु विशेषज्ञ श्रेष्ठ दुवै इसिमोडसँग आबद्ध छन्।)  

प्रकाशित: २३ असार २०७८ ०४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App