विचार

महामारीमाझ उठ्न लागेको विस्काःजात्रा

संस्कृति

पूर्व वृत्तान्त

लिंगपूजन परम्पराले लौकिक जीवनमा लोकप्रियताको चरम चुली चुम्दै चलेर आएको एक समृद्ध रूपको शैवजात्रा हो विस्काः जात्रा। पुरातत्वका दृष्टिले लिंगपूजन परम्परा आजभन्दा पाँच हजार वर्ष पुरानो रही आएको छ। सैन्धव उत्खननमा फेला परेका शिवलिंग र योगमुद्रामा तल्लीन शिव पशुपतिका सिलछाप उदाहरणस्वरूप छन्। परवर्ती कालमा पुरुष जननेन्द्रीय शिवको प्रतीक रही त्यसमा समन्वित स्त्री जननेन्द्रीय शक्तिको प्रतीक रही लिंगपूजन संस्कृति अझ शिष्ट रूपले विकसित हुदै आएको जानिन्छ। लखनउ संग्रहालयस्थित ईपू दोस्रो शताब्दीको पञ्चमुखलिंग यस कुराको प्रत्यक्ष उदाहरण हो। नेपाल–भारत लगायत दक्षिण पूर्वी एसियाका शैव प्रभावित क्षेत्रमा रहेका जलहरियुक्त शिवलिंगहरू यस कुराका प्रकारान्तर प्रतीक–उदाहरण हुन्। अनि, हजारौँ वर्ष अघिदेखि प्रतीकात्मक ढंगमा साह्रै सफलतापूर्वक लोक दुनियाँले व्यवहारमा समेत उतार्दै आएको एउटा नौलो सांस्कृतिक–प्रयोग लिंगको शीर्षमा एकजोडी ध्वजा फहराएर गरिने विजयोत्सव लिंग–ध्वजोत्थान जात्रा थियो। यो प्रयोग त्यसबखतको लौकिक जीवनमा साह्रै सफल मान्दै अत्यन्त लोकप्रिय रही आयो। यस कुराको उत्कृष्ट उदाहरण भक्तपुरको विस्काःजात्रा हो।  

लिंगपूजन परम्पराको प्रचार–प्रसारको श्रेय लिंगायत मत वा वीरशैव मतका आचार्य एवं तिनका अनुयायीलाई पनि जान्छ। उत्तरप्राचीनकालमा नेपालमा राजकीय संरक्षण समेत पाएर चलेका अनेक स्वतन्त्र शैव सम्प्रदाय, उपसम्प्रदायमध्येको एउटा सम्प्रदाय वीरशैव थियो। यस सम्प्रदायका मुख्य देवता विश्वेश्वर/विश्वनाथ भैरव र उनका शक्ति भद्रकाली एवं वीरवेताल भैरव हुन्। भक्तपुरको टौमढीटोलस्थित विश्वनाथभैरव र भद्रकाली मन्दिर क्षेत्र त्यस कालमा यस सम्प्रदायको पवित्र स्थलका रूपमा रहेको जानिन्छ। भैरवनाथ मन्दिर परिसरमा रहेको उत्तरप्राचीनकालीन जलपात्रमा उत्कीर्ण लिच्छवि अभिलेखमा आएको ‘लडितमहेश्वर’ले पनि यो क्षेत्र त्यस कालदेखि नै शैव क्षेत्रका रूपमा प्रख्यात रही आएको ज्ञात हुन्छ। विस्काः जात्राका मुख्य देवता विश्वनाथ भैरव र भद्रकाली हुन्, जुन यसै क्षेत्रमा छन्। अनि लिंगायतहरूको प्रधान मठ पनि यसै क्षेत्रमा छ, जुन नेपालको एक मात्र प्रधान मठ पनि हो। लिंगजात्रा वा विश्वजात्रा वा विस्काः जात्रा हुने स्थल पनि यसै क्षेत्र अर्थात् भद्रकालीपीठ इलाका (यःसिंख्यः) हो। विश्वमा शैव मतको प्रचार–प्रसार गर्नु वीरशैवहरूको मूल धर्म हो। यसरी वीरशैवले चलाएको शिव सिद्धान्त धर्म एवं लिंगपूजन संस्कृतिको प्रचार–प्रसारको चरम लोकप्रियताको उपज यसै क्षेत्रमा गरिने विस्काः जात्रा पनि थियो। उत्तरप्राचीनकालतिर यो जात्रा चैत्र मसान्तको दिनमा लिंग ध्वजोत्थान गरी वैशाख संक्रान्तिको दिनमा ढाल्ने दुईदिने जात्राको रूपमा विकसित हुन पुगेको दृष्टिगोचर हुन्छ। कान्तिपुरको इन्द्रजात्रा, ललितपुरको मत्स्येन्द्रनाथ र भोटोजात्राले त्यतातिरको सांस्कृतिक पहिचानको रूपमा रूढ रहेजस्तै भक्तपुरको विशिष्ट सांस्कृतिक पहिचान बनेर विस्काः जात्राले लोकजीवनमा स्थान पाउँदै आयो।  

भारतको काशीस्थित विश्वनाथ भैरव र नेपालको भक्तपुर टौमढीस्थित विश्वनाथ भैरव एउटै देवता हुन्। यसैले नेवार सांस्कृतिक जीवन सगौरव यसरी सुनाउ“छन्, ‘काशी विश्वनाथ भैलद्यःया कप मरु, झी भैलद्यःया म्हा मरु।’ अर्थात्, काशी विश्वनाथ भैरवको शिर छैन, हाम्रा विश्वनाथ भैरवको देह छैन। भारत वर्षको सांस्कृतिक शिर नेपाल रहेछ भन्ने कुराको एउटा सुन्दर उदाहरण यो पनि हो।  

अभिलेखीय प्रमाणतिर दृष्टिगत गर्दा आजभन्दा एक हजार चार सय १६ वर्षअघिको लेलेको संवत् ५२६ (वि.सं.६६१) को शिवदेव र अंशुवर्माको अभिलेखमा आएका ‘इन्द्रगोष्ठी’, ‘ध्वजगोष्ठी’ले ध्वजा फहराएर गरिने लिंगजात्रा वा ‘विस्काः’को प्रसंगलाई स्मरण गराउँछ। यो कुरा महत्वपूर्ण छ। भगवान् इन्द्रको ध्वजा ‘इन्द्रध्वजा’ नामले प्रसिद्ध रहेझैँ विश्वनाथ भैरवको लिंगको शीर्षमा फहराइने एकजोडी ध्वजा पनि सोही अनुरूप ‘विश्वध्वजा’ वा ‘विश्वकेतु’ वा ‘वीरध्वजा’ नामले विख्यात रही आएको तथ्य परवर्तीकालका ध्वजाभिलेख प्रमाणका आधारमा समेत जानिन्छ। इन्द्र, सूर्य, आकाश/विश्वनाथ एकै ईश्वरका अनेक नाम हुन्। उदाहरणको रूपमा इन्द्रजात्राको लिंगो वा विस्काः जात्राको लिंगोलाई नै लिउँ, जुन एकै ईश्वरका वा भनौँ इन्द्र वा सूर्य, आकाश वा विश्वनाथकै तन्त्रपरक नाम अवतार हुन्, जसलाई नेवार सांस्कृतिक जीवनले साझा अर्थमा ‘यःसिं’ (यवेसिंश्रयवसिंश्रयःसिं) भनी पुकार्दै आएका छन्। जस्तो, इन्द्रध्वजाको लिंगो ‘इन्द्रध्वजसिं’ उस्तै विश्वध्वजाको लिंगो ‘विश्वध्वजसिं’ विस्काः जात्रामा विश्वनाथ भैरवको लिंग ध्वजोत्थान हुने मूल उत्सव स्थल ‘यसिंख्यः’ नाम त्यसै रहेको होइन। र, कान्तिपुरको नेवारी नाम ‘ये’ पनि इन्द्रध्वजोत्थान हुने स्थलकै आधारमा रहन गएको आभास पनि यसै प्रसंगमा हुन्छ। लेलेको अभिलेखलाई आधार मान्दा तत्समयतिरै इन्द्रजात्रा, विस्काः जात्रा लोकप्रिय भइसकेको ज्ञात हुन्छ। यस तथ्यतिर विचार गर्दा त्यसअघि नै लिच्छविहरूको नेपाल मण्डलमा आगमनसँगै वा उत्तरप्राचीनकालतिरै लिंगध्वजोत्थान उत्सव वा जात्रा विजयोत्सवको प्रतीक रूपले चलिआएको आभास हुन्छ।  

चैत्र मसान्तको दिनमा लिंग ध्वजोत्थान गरी वैशाख संक्रान्तिको दिनमा ढालेर मनाइने दुईदिने विस्काः जात्रामा, मल्लकालतिर आइपुग्दा भक्तपुरका विभिन्न कालका शासक वर्गले अनेक जात्रा उपजात्रा (भैरव, भद्रकालीको रथजात्रा, दुमाजुजात्रा, टोल–टोलका गणेश, अष्टमातृका लगायत स्थानीय देवतालाई सगुनसहित दर्शनपूजन गर्न जाने आदि) थप्दै लगेपछि मल्लकालको अन्त्यसम्म आइपुग्दा आठ रात नौ दिन लामो जात्राको रूपमा समृद्ध हुन पुग्यो। यसो हु“दा स्थानीय लोकजीवनमा यो जात्रा ‘च्याचा गुन्हुया जात्रा’ नामले पनि प्रसिद्ध रहिआएको छ। विश्वमल्ल (१६०४–१६१७ वि.सं.) र उनकी रानी गंगादेवी (गंगा महारानी पनि भनिन्छ, वि.सं. १६०४–१६७० वि.सं.) ले विस्काः जात्रामा केही विधिविधान थपिदिएको देखिन्छ। वंशावली अनुसार जगज्योतिर्मल्ल (वि.सं. १६७०–१६९४) ले भैरव भद्रकालीको रथजात्रा, टोलका गणेश, दुर्गा, अष्टमातृकाको रथारोहण गरी सगुन दिने, थिमी लगायत सात ग्राम प्रदेशमा समेत सोही विस्काः जात्रा चलाएका थिए। त्यसैगरी भूपतीन्द्र मल्ल (१७५३–१७७९) ले भैरवनाथको रथ पहिलेको भन्दा विशाल आकार प्रकारले बनाउन लगाई चलाउन लगाए। नेपालका चलायमान रथ मन्दिरहरूमा नेवार वास्तुकलाको तीन छाने यो एक मात्र विशालकाय रथ मन्दिर हो। वि.सं. १९९० अघिसम्म भैरवनाथको रथ तम्हाह्रीबाट बोलाछेँ टोलको बुलुचासम्म र क्वाछेँ टोलको मय्जु देगःसम्म मात्र चलाउने परम्परागत रीत थियो। भूकम्पपछि बाटो फराकिलो हु“दै गएपछि सो परम्परा पनि लोप हुन पुग्यो, (सत्यनारायण प्रजापति, बिस्केटजात्रा, नेपाली संस्कृति, ०६/१/०४६, पृष्ठ: ३१)।  महामारी र जात्रा

यस्तो प्रतीत हुन्छ, मानौँ महामारी र जात्रा एउटै सिक्काका दुई पाटा हुन्, जसमध्ये सिक्काको पहिलो पाटो महामारी हो भने दोस्रो पाटो जात्रा वा उत्सव हो। मानव सभ्यता र तिनले गर्दै आएका चरम विकाससँगै एक स्थानबाट अर्को स्थान र एक देशबाट अर्को देश वा महादेशमा भइरहने आवतजावत वा त्यस्तो मानव यात्राको ऐतिहासिक पृष्ठभूमिबाट चियाएर हेर्दा अतीतका महामारीको फैलने चरित्र र तिनका विस्तार क्रम पनि उस्तै देखिन्छ। महामारीको मूल संवाहक त स्वयंः मानिस नै हो। विगतका महामारी सोही अनुरूप बस्ती, गाउँ सहर, देश हुँदै महादेशसम्म फैलिएको विदित हुन्छ। विज्ञान र प्रविधिको चरम उत्कर्षकालमा पुगेको आजको मानवसभ्यता र विकासले यो विश्व एक सानो गाउँमा परिणत हुन पुगेको छ। चीनको वुहानबाट सल्केको भनिएको कोभिड–१९ ले पूरै विश्व प्रभावित भएको आजको अवस्था छ। यस संकटपूर्ण क्षणमा विश्वका सबै धर्म सम्प्रदायका मानिसले यसको अन्त्य होस् भनी आ–आफ्नो रीतले दिनरात उच्चतम् देवीदेवतालाई सम्झी पूजा–प्रार्थना गरिरहेका छन्। 

कुरा स्पष्ट छ, यो महामारीको अन्त्य भएपछि मानव जातिले हर्षोल्लासका साथ उत्सव मनाउनेछन्। यो कुरा अतीतका महामारीको सन्दर्भमा पनि उस्तै प्रासंगिक देखिन आउँछ। वर्तमानको यस उदाहरणबाट हामीले सगौरव मनाउँदै, मान्दै आएका जात्रा, चाडपर्व उत्सव हाम्रा पुर्खाले त्यत्तिकै राखेर, चलाएर गएका होइन रहेछन् भन्ने अनुभूति मिल्छ। नेपालमण्डलमा प्राचीनकालदेखि चलिआएका प्रसिद्ध जात्राहरू, जस्तै: इन्द्रजात्रा, मत्स्येन्द्रनाथको जात्रा लगायत विस्काः जात्रा, त्यसैगरी जीवित देवगणका नाचहरू, जस्तै: कान्तिपुरको नरदेवीनाच, ललितपुरको हरसिद्धि नाच र त्यसैगरी भक्तपुरको नवदुर्गा नाच आदि समेत उदाहरणस्वरूप छन्। यी जात्रा, नाचहरू मनाउनुको मूल दर्शन वा साझा अभिप्राय महामारी, दुर्भिक्ष आदिको अन्त्य एवं देशरक्षा र देशवासीको सुस्वास्थ्य, सुख, शान्ति, अमन–चैन, समृद्धि, सहकालको कामना रहिआएको विदित हुन्छ।  

विस्काः जात्रा मनाउँदा के हुन्छ भनी भक्तपुरका जोकोहीलाई सोध्नुहोस्, माथिकै उत्तर प्राप्त हुन आउँछ। यताबाट यो कुरा निश्चितप्रायः छ कि नेपालमण्डलमा विगतमा अनेक महामारी चले, ती महामारीको अन्त्यका लागि देशवासीले देशका उच्चतम् देवदेवीलाई सम्झे, पूजाप्रार्थना गरे, त्यसले उनीहरूको आत्मबल बढायो, महामारीसित लड्ने मनोबल उच्च भयो। र, महामारीको अन्त्य पनि एक विजयोत्सव नै थियो, यसैले उत्सव मनाए, जात्रा चाडपर्वको आरम्भ भयो, जुन परम्पराको रूपमा रही आयो। यस कुराको एक उत्कृष्ट उदाहरण विस्काः जात्रा पनि हो। कोरोनाले आक्रान्त तुल्याइरहेको अहिलेको परिप्रेक्ष्यमा मनोबल उच्च हुँदाको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ भन्ने आधुनिक विज्ञानले मानेको छ। विश्वनाथ भैरवको जात्रा ‘विश्वजात्रा’ हो। विश्वनाथ भैरवको लिंगमा फहराइने एक जोडी ध्वजा स्वयं विश्वनाथ भैरव र उनका शक्ति भद्रकालीका प्रतीक छन्। ती ध्वजा कुशलमंगलका प्रतीक पनि हुन्, जसको दर्शनले महामारी लगायत दुर्भिक्षको अन्त्य भई सहकाल आउँछ, यस लोकमा रहेकालाई सुस्वास्थ, समृद्धि र सुखशान्ति प्रदान गर्दै शत्रुनाश समेत गर्दै परलोकमा रहेका मृतात्माले जन्म र मृत्युको बन्धनबाट मुक्ति पाउँदै मोक्ष प्राप्त होस् भन्ने कामनाले समेत विधान गरी जात्रा मनाइन्छ।  

जात्रा एक, नाम अनेक  

लिंग उठाउने र ढाल्ने दुईदिने जात्रा मध्यकालको पूर्वाद्र्धसम्म चलिरहेको आभास हुन्छ। ने.सं. ५०० को अमरकोषमा ‘विश्वकेतु’ शब्दको पर्याय ‘विसिक’ दिइएको छ। हालसम्मको अन्वेषणमा ‘विश्वजात्रा’को पहिलो उल्लेख टौमढी टोलको यक्षमल्लको ने.सं. ५६१ को अभिलेखमा भेटिएको छ। ने.सं.६४१ को भूमिसम्बन्धी एउटा तमसुक–ताडपत्रमा ‘विसकजात्रा’ व्यवहृत भएको छ। भक्तपुर राजदरबारको ने.सं. ८०८ र ने.सं. ८१८ को जितामित्र मल्ल र भूपतीन्द्र मल्लका अभिलेखमा ‘विस्क्यात’ उल्लेख छन्। सौरमान अनुसारको वर्षको पहिलो संक्रान्ति मेष संक्रान्ति हो। सूर्य विषुवत रेखा (भूमध्यरेखा) माथि रहने पहिलो दिन यो हो। यसैले यो दिन बेग्लै र विशेष महत्वको छ। यसै दिन मनाइने जात्रा हुनाले यस जात्राको नाम विषुवकेतु, विसिक, विषुवकेतु यात्रा, विसिकयात, विसिक्यात हुँदै इतिहासको काल प्रवाहमा विस्काः हुन पुगेको विदित हुन्छ, (श्रेष्ठ, २०६०, भक्तपुरको नवदुर्गा गण, पृष्ठ १०३)। स्थानीय नेवार लोकजीवनमा प्रचलित ‘विस्काः’ शब्दले पनि बेग्लै महत्व भएको जात्रा भन्ने बोध हुन्छ। यसरी वर्तमान नेवार लोकजीवनमा ‘विस्काः’ र नेपाली राष्ट्रिय जीवनमा ‘बिस्केट’ नाम प्रचलित छन्। यताबाट संस्कृत शब्द ‘विश्वकेतु’ (विश्वनाथ भैरवको ध्वजा)कै परवर्तीकालमा चलेका नाम रूप नामान्तर विस्काः रहन गएको कुरा पनि खुल्छ। त्यसैगरी स्थानीय लोकजीवनमा यो जात्रा मेष संक्रान्ति, वैशाख संक्रान्ति, विस्केट संक्रान्ति, खायु सल्हु, ख्वपे सल्हु लगायत च्याचा च्यान्हु नामले पनि प्रचलित रही आएको जानिन्छ, (प्रजापति ०४६, २७–३१)। नेपाली राष्ट्रिय झन्डाको प्रथम आदि रूप–दर्शन पनि हामीलाई विश्वकेतु/विश्वध्वजामै मिल्छ। यसरी विजयोत्सवको प्रतीक पनि हो विश्वध्वजोत्थान गरी मनाइने विस्काः जात्रा !

पूर्वमध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानी नगरको रूपमा रहेका बेला यो राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो। तर, उपत्यकाको राजनीतिक विखण्डन लगायत वि.सं. १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि, भक्तपुरले आफ्नो केन्द्रीय राजनीतिक–प्रशासनिक महत्व गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो। नेपालका विभिन्न स्थानमा लिंग खडा गरी ध्वजा फहराउने संस्कृति आज पनि विद्यमान छ र प्रकारान्तरमा तिनमा निहित मूल सांस्कृतिक ढुकढुकी भक्तपुरको विस्काः जात्रा हो भनी मान्न सकिन्छ। भक्तपुरको विशिष्ट सांस्कृतिक पहिचान विस्काः जात्रा हो। समृद्ध संस्कृति र सभ्यताको प्रतीक पूर्वजले राखेर गएका यी जात्रा पनि हुन्।

 यी हाम्रा राष्ट्रिय निधि हुन्। यी जात्रा छन्, यसैले संस्कृति, समाज, मानिस, परिवार र देवताहरू समेत पनि छन्। र, चाडपर्वहरू पनि चलेका छन्, जसले हामीलाई हजारौँ वर्षदेखि ‘म’ होइन, ‘हामी’ बनाएर एकताको भाव–मालामा उनेर सजाइराखेको छ। भक्तपुर नेपालमण्डलको सांस्कृतिक मूल थलो हो। विस्काः जात्राले पनि यस कुराको पुष्टि मिल्छ। विस्काः जात्राताका तत्कालीन कान्तिपुर र ललितपुर राज्यका मल्ल शासकले आ–आफ्नै राज्यमा विस्काः जात्रा मनाए पनि मूल राजकीय वासस्थान र सांस्कृतिक मूल थलो भक्तपुर नै भएको हुनाले विशेष राजकीय पूजाभाग पठाउने चलन थियो, (धनवज्र वज्राचार्य, ‘वर्षकृत्ति’ एक अप्रकाशित ठ्यासफु) तीनवटै मल्ल राज्यबीच राजनीतिक मेल नरहे पनि सांस्कृतिक मेल भने थियो, जसको मूल थलो भक्तपुर थियो भन्ने यताबाट पनि थाहा पाइन्छ।  

पूर्व होस् वा पश्चिम ! नेवार संस्कृति र सभ्यताले समृृद्ध रहिआएका नेपालका नेवार–बस्तीमा विस्का–संस्कृति आज पनि कुनै न कुनै रूपमा चलेका छन्। र, नेपालमण्डल वा उपत्यकाको प्रसंगमा तत्कालीन केन्द्रीय राज्य भक्तपुर अन्तर्गतका बनेपा सात गाउँ लगायत थिमी, बोडे, चरखण्डी, टोखा, कटुञ्जे, झौखेल, सुडाल, कटुञ्जे आदि प्रदेशमा मात्र नभएर कान्तिपुर एवं ललितपुरका तलेजु, दुमाजु स्थापित मल्लकालीन राजदरबारमा समेत विस्का जात्रा मनाउने, विधिविधान गर्ने संस्कार संस्कृति जीवन्त रही आएको ज्ञात हुन्छ।  

विस्काः र कोभिड १९  

हिजो हाम्रा पुर्खाले विस्केट जात्रा राखेर चलाएर गए, नेवार सांस्कृतिक भण्डारलाई समृद्ध तुल्याए। अब भने विस्काः जात्रालाई पछिसम्म चलाउ“दै हामी पछिका तेस्रो पुस्तालाई सकुशल सुम्पेर जानु हाम्रोे दायित्व हो। केही दशक अघिदेखि यो जात्रामा ढुंगामुढा गर्ने लगायत विकृति देखापरेको छ। यसले हाम्रो शिर निहुराएको छ। यसलाई रोक्न हामीले भक्तपुर नगरपालिका, प्रहरी र प्रशासनको सहारा लिएर मात्र पुग्दैन। यसलाई निर्मूलै पार्न भने हामीले हामी भित्रकै पशुत्ववृत्तिलाई हटाउनुपर्छ। सबैले भित्री मनदेखि ‘यो जात्रा मेरो सांस्कृतिक सान र पहिचान हो, यो जात्रा हरायो भने म पनि हराउनेछु। पुर्खाले सराप्नेछ, सांस्कृतिक पहिचान पनि रहनेछैन !’ भनी यसै वर्षको विस्का जात्रादेखि दृढ अठोटका साथ पालना गर्ने हो भने विस्का जात्रामा भित्रिएको विकृति स्वतः निर्मूल हुनेछ। अघिल्लो वर्ष कोभिड–१९ ले मत्स्येन्द्रनाथको जात्रा, सा“खुको जात्रा, विस्काःजात्रालाई अवरूद्ध पारेको थियो। विस्काः जात्राको इतिहासमा सायद प्रथमपल्ट यसरी अन्य जात्रा लगायत यो जात्रा प्रभावित हुन पुगेको थियो। महामारी फैलन नदिन र रोकथामका लागि पनि हामीले विभिन्न जात्रालाई रोक्नुपर्‍यो।  

ने.सं.७४१ चैत्र शुक्ल पूर्णिमाको दिन (राजा जगज्योतिर्मल्लको पालामा) भैरवनाथको रथजात्रा चलाउने क्रममा क्वाछेँमा सो रथ पल्टिएपछि अनिष्ट हुन नदिन भक्तपुरका सारा जनता र राजा मिलेर क्षमापूजा गरी विस्काः जात्रालाई पुनः चलाएका थिए, (चुन्दा वज्राचार्य, ‘ऐतिहासिक घटनावली’, पृष्ठ २४, पत्र संख्या २)। पोहोरसाल विस्काः जात्राताका देश ‘लकडाउन’मा थियो। यसैले भैरवनाथको रथजात्रा पनि भएन, अन्य जात्रा वा भनौँ तालाक्वटोलमा चैत्र मसान्तको बिहान ल्हा मरु गन्द्यको गणेशध्वजलिंग लगायत यःसिंख्यःको विश्वनाथ भैरवको लिंगो पनि उठेन, वैशाख संक्रान्तिको दिनमा ढल्ने कुरा आएन। तर सम्बद्ध निकाय एवं पुजारी समूहले सबैको मन जित्ने सुझबुझपूर्ण निर्णय गर्‍यो, ‘विस्काः जात्रा’ अवरूद्ध भए पनि ‘विस्काः जात्रा–पूजा कर्म’ भने रोकिएन, प्रतीक एवं भाव अर्थमा, तन्त्रोक्त विधिविधानपूर्वक विस्काः कर्म सुनको लिंगो उठाएर सम्पन्न गरियो।  मनको भाव र मानसपूजा ठूलो कुरा हो। हाम्रो यहा“ नेवार लोकजीवनमा एक लोकोक्ति पनि चली आएको छ: ‘अखुं तीर्थ, कसि काशि’। अर्थात्, मनले माने करुवाको पानी पनि तीर्थ, मनले माने कौसी पनि काशी।  

काठको लिंगो होस् वा सुनको ! मन र भाव अनि सबै लोक दुनियाँले मानेपछि सुनको सानो प्रतिमा पनि त भैरवनाथको लिंगो नै हो। धार्मिक आस्थाभाव अनि लोकजीवनकै एक अंश मानेर विचार गर्दा गत वर्ष ‘हाम्रा देवताहरूको चाहना पनि यस्तै रहेछ’ भनी सोही अनुरूप सांस्कृतिक जीवनले भाव अर्थमा मानस पूजा गरी विस्काः जात्रा मनाए।  

स्मरण रहोस्, अहिले देश लकडाउनमा छैन। विस्काः जात्राको प्रसंगमा यस कुराले विशेष महत्व राख्छ। यसैले महामारीमाझ पनि नागरिक सामाजिक दूरीलाई ध्यानमा राखी सामान्य अवस्थामा फर्किसकेका छन्। पोहोर साल विस्का जात्रा हेर्न, मनाउन नपाएकाहरू यसपालि भने खुसी नै छन्। भैरवनाथको रथमन्दिर निर्माणाधीन थियो, विस्काः जात्राको तयारी भइरहेको थियो। तर, जात्राको ठीक पूर्वसन्ध्यामा जिल्ला प्रशासनले अकस्मात भैरवनाथको रथ तान्ने, लिंगो उठाउने र ढाल्ने जात्रा नगर्न एकतर्फी निर्णय गर्‍यो। यसरी नेवार सभ्यता र संस्कृतिलाई अनुभूत गर्न चुकेको जिल्ला प्रशासनको यस एकतर्फी निर्णयले विशेषगरी यहाँको मात्र नभएर समग्र नेपाल मण्डलका जनताको मन रुवायो, उनीहरू भड्किए। किनभने यहा“को विस्काः जात्रा सर्वत्र मनाइने विस्काः जात्राको ढुकढुकी थियो। यहा“ जात्रा नहु“दा थिमी, बोडे, टोखा लगायत नेवारबस्तीका विस्काः जात्रा प्रत्यक्ष प्रकारान्तरमा प्रभावित हुनु स्वाभाविकै थियो। जिल्ला प्रशासनको निर्णयबाट असन्तुष्ट आन्दोलित जनताहरू विस्काः जात्राको हृदयस्थल टौमढी टोलमा प्रत्येक दिन भेला भएर जात्रा नरोक्न माग गर्दै आवाज उठाउन थाले।  

विषय अदालतमा पुग्यो। सर्वोच्च अदालतले पनि विस्काः जात्रा नरोक्नू भन्ने अन्तरिम आदेश जारी गर्‍यो। जनताले न्याय पाएको अनुभूत गरे, सर्वोच्च अदालतको प्रशंसा गरे। भक्तपुर नगरपालिकाले पनि जनभावनाको कदर गर्दै चैत २५ गते ‘प्रसिद्ध विस्काः जात्रा अन्तर्गतका भैरवनाथको रथ तान्ने, लिंगो उभ्याउने र ढाल्ने, कोभिड १९ रोग संक्रमणको जोखिमलाई ध्यानमा राखी, आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी, सभ्य रूपमा जात्रा सम्पन्न गर्न’ अनुरोध गर्दै विस्काः जात्रा गर्ने निर्णय गर्‍यो। सर्वत्रबाट यसको स्वागत भयो। जनताले राहत महसुस गरे। जात्रा मनाउन पाउने भएकामा अब भने सबै खुसीले फुरुंग छन्। निःसन्देह सर्वोच्च अदालत र भक्तपुर नगरपालिकाका अनुकरणीय आदेश एवं निर्णयले एउटा असहज परिस्थितिको समाधान गर्नुका साथै कुनै पनि बेला हुन सक्ने अप्रिय घटनालाई समेत टारेको छ। यसरी अनेक उतारचढावपश्चात् भक्तपुर नगरपालिकाका नगरप्रमुखले निर्णायक ‘हसे’ गरेसँगै महामारी माझबाट उठेर ‘हैँसे’ भनी भैरवनाथको रथ तान्न आतुर भइरहेको सांस्कृतिक जीवनका साथ नेवार सभ्यताको धरोहर, नेपाली संस्कृतिकोे सान विस्काः जात्रा पुनः उठ्ने र चल्ने भएको छ। यो सबै नेपालीका लागि खुसीको कुरा हो। नव वर्ष २०७८ सालको शुभकामना।

प्रकाशित: २८ चैत्र २०७७ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App