विचार

कुलमानको यत्रो वाहवाही किन?

अहिले देश पूरै कुलमानमय भएको छ भन्दा अत्युक्ति नहोला। सामाजिक सञ्जाल हेर्‍याे भने धेरैजसो कुलमानको समर्थनमा जुलुसका दृश्य तथा उनका पक्षमा विभिन्न व्यक्तिले दिएका अन्तर्वार्ता देखिन्छन्। उनका विपक्षमा बोलिएका एकाध अभिव्यक्तिविरुद्ध तथानाम गाली गरिएकोसमेत भेटिन्छन्। जसबाट कुलमानका विपक्षमा कुरा पनि सुन्न नचाहेको बुझिन्छ। 

कुलमानले कुनै चमत्कार गरेका होइनन्। उनले आफ्नो व्यावसायिक धर्मअनुसार जे गर्नुपर्ने हो त्यत्ति गरेका हुन्। त्यति गर्दा उनले यति धेरै वाहवाही पाउनु र आफ्नो ज्यानको समेत पर्वाह नगरी जनता सडकमा आउनु कति अचम्मलाग्दो कुरा हाे!  

ठूलो संख्यामा नभए पनि देशभर उनका पक्षमा स्वतःस्फूर्त रूपमा जुलुस भइरहेका छन्। यता कुलमान आफैं भने यो कोरोना महामारीका बेला आफ्ना समर्थनमा जुलुस नगरिदिन आग्रह गरिरहेका छन्। यस्तो किन भइरहेको छ? यो समाजशास्त्री तथा राजनीतिशास्त्रीका लागि पक्कै पनि खोज/अनुसन्धानको विषय भएको हुनुपर्छ।

हामी नेपालीले अनेक तन्त्र भोग्यौं, तर ती कुनै पनि तन्त्रले आम जनताको जीवनमा तात्विक भिन्नता ल्याउन नसकेको यथार्थ हो । झन् आधुनिक जीवनको पर्यायका रूपमा रहेको बिजुली लोकतान्त्रिक कालमा तथा १८ घण्टाभन्दा बढी बिजुलीविहिन भएर बस्नुपर्‍याे। यसरी लामो समय लोडसेडिङ हुँदाको कष्ट आम जनताले कुन हदसम्म बेहोर्नपरेको थियो भन्ने कुरा गृहिणीदेखि उच्च ओहोदाका व्यक्तिसम्मले दिएका अभिव्यक्तिबाट स्पष्ट हुन्छ।

कुलमानले कुनै चमत्कार गरेका होइनन्। उनले आफ्नो व्यावसायिक धर्मअनुसार जे गर्नुपर्ने हो त्यत्ति गरेका हुन्। त्यति गर्दा उनले यति धेरै वाहवाही पाउनु र आफ्नो ज्यानको समेत पर्वाह नगरी जनता सडकमा आउनु कति अचम्मलाग्दो कुरा हाे !

०६२/०६३ को जनआन्दोलनताका पनि सुरु सुरुमा दलका जुलुस पनि ससाना  नै हुन्थे। तर पछि त्यसले जनसागरको रूप लिँदा राजतन्त्र नै ढलेको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो।  ओलीतन्त्रले पनि त्यस्तै नियति भोग्नुपर्ला भन्दा अहिले अतिशयोक्ति हुन सक्छ। तर परिस्थिति यस्तै रहिरह्यो र सरकारले ज्ञानेन्द्र तन्त्रले जस्तै आफूलाई सच्याएन भने त्यो नियति पनि भोग्नु नपर्ला भन्न सकिँदैन। आखिर एउटा सहसचिव तहको कर्मचारीका लागि देशमा यस्तो परिस्थिति किन निर्माण भइरहेको छ?

रुसी विद्वान् बखेल्तले भनेका छन्– ‘जुन देशले नायक खोजेको हुन्छ, त्यो देश दुर्भाग्यशाली हुन्छ।’ हामीले पनि कुलमानको अनुहारमा देश हाँक्ने नायक खोजिरहेका त होइनौं? 

हामीमध्ये धेरैले अनिल कपुर अभिनित चलचित्र ‘नायक’ हेरेको हुनुपर्छ। जसमा अनिल कपुरले कसरी एउटा भ्रष्ट राज्यलाई आफ्नो असल नियत र राम्रो कार्यशैली तथा दूरदृष्टिका कारण एउटा समृद्ध बनाउँछन् भन्ने देखाइएको छ। त्यसका लागि उनले खलनायक अमरिश पुरीका कारण आफ्ना बाबुआमासमेत गुमाउँछन्। 

त्यसमा अति भ्रष्ट अमरिशपुरी प्रवृत्तिको अन्त्य हुनैपर्ने सन्देश उनलाई षडयन्त्रपूर्वक मारेर नै पूरा भएको पनि देखाइएको छ। यो त फिल्मी कुरा भयो, मलाई लाग्छ– अहिले धेरै नेपाली तथा देशको हित चाहने आम बुद्धिजीवीले समेत कुलमानमा त्यही बलिउड शैलीको नायकत्व देखेका पाे हुन् कि? 

कुलमानले पनि आफ्नो कार्यकालमा राधा ज्ञवालीको शैली तथा सस्तोमा सिएफएल ल्याम्प जिटुजी प्रक्रियाबाट ल्याएर बिजुली बचाउने अभियान चलाउँदा भ्रष्टाचारको आरोप लागेपछि त्यस्तो प्रमाणित भए टुँडिखेलमा झुन्डिएर मर्छु भन्नेसम्मको अभिव्यक्ति दिनुपरेको थियो। अतः उनले पनि उज्यालो नेपाल बनाउन नायक फिल्ममा अमरिश पुरी शैलीकै कम सास्ती र अवरोध भोग्नुपरेन होला भन्न सकिन्न। त्यसैले पनि उनी वास्तविक जीवनको नायक साबित भइसकेका छन्।

कुलमानको कार्यकालमा ३५ अर्ब घाटामा रहेको विद्युत् प्राधिकरण नाफामा गएको मात्र होइन, हामी उपभोक्ताले चर्काे विद्युत् महसुलको भार पनि खेप्नुपरेन। त्यसबारे निकै कम मात्र चर्चा भएको पाइन्छ। अर्कातर्फ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा पनि आयल निगमले भाउ बढाएको बढायै  छ। उनले प्राध्यापक डाक्टर सुरेन्द्र केसीलाई दिएको अन्तर्वार्तामा भनेका छन्– ‘नेपालमा अब बिजुली महँगो हुने होइन, झन् सस्तो हुँदै जान्छ।’ 

खासगरी निजी क्षेत्रले बनाएका आयोजना ३० वर्षपछि सरकारको स्वामित्वमा आउँछन र त्यसको सञ्चालन खर्च अत्यन्त कम हुनाका साथै प्राधिकरण वा राज्यको सम्पत्ति हुने हुँदा अबको पुस्ताले त सित्तैमा पनि पाउन सक्छन्। त्यति मात्र होइन, भारतसँग इनर्जी बैंकको अवधारणाअनुसार विद्युत् आदानप्रदान गर्ने तथा बंगलादेशलाई बिजुली बेच्ने कुरा पनि उनले सार्वजनिक गरेका छन्।  

भारतको बाटो भएर बंगलादेशलाई बिजुली बेच्नु त्यति सजिलो नहोला। किनभने भारत, नेपालको समृद्धि त्यति देख्न चाहँदैन। तर त्यसमा सरकारले राम्रो नीति लियो र भारत, नेपाल तथा बंगलादेशको संयुक्त उपक्रम भएका कम्पनीमार्फत उत्पादन तथा प्रसारणका परियोजना सञ्चालन गर्न सक्यो भने त्यो बंगलादेशसँगको विद्युत् व्यापार सजिलो हुन सक्छ। तर यसका लागि कुलमानजस्तो इमान्दार तथा दूरदृष्टि भएको प्रशासक आवश्यक हुन्छ। 

कुलमानले कम्तीमा २ कार्यकाल चलाउन पाए भने नेपालको समृद्धिमा विद्युत् प्राधिकरणको मात्रै एकतिहाइभन्दा बढी योगदान हुन सक्छ। बंगलादेशले अबको ४० वर्षमा १० हजार मेगावाट विद्युत् आयात गर्ने भनिसकेको छ। अहिले हाम्रो आफ्नै उत्पादन १३ सय मेगावाट हुँदा त लगभग आत्मनिर्भर हुन थालिसक्यौं भने आगामी ३ वर्षमा उत्पादन हुने ५ हजार मेगावाटमध्ये हजार मेगावाट निर्यात गर्न सक्यौं भने पनि हाम्रो समृद्धिको ढोका खुल्न सक्छ।  

कुलमानलाई सरकारले पुनर्नियुक्तिको ढोका बन्द गरेको छैन भन्ने खबर बाहिर आइरहेको छ। फेरि उनले काम गर्ने मौका पाए भने अहिलेको ओली सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई वास्तविकतामा बदल्न सहयोग त पुग्ने निश्चित छ। तर उनको पुनर्नियुक्ति भएन भने के हुन्छ? यसै भन्न सकिन्न।  

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भगवानसँग नेपालमा एउटा असले नेता पठाइदेऊ भन्ने गीत तथा प्रहसन धेरै पहिले सार्वजनिक गरेका थिए। तिनै मदनकृष्णले स्पष्ट  शब्दमा भनेका छन्– कुलमानले देशका ७७ जिल्लामध्ये जुनसुकै ठाउँबाट उठे पनि चुनाव जित्न सक्छन्। अर्थात् उनले आफ्नो गीतमा खोजेको जस्तो नायकत्व कुलमानमा देखेको हुनुपर्छ। उनले चाहे भने कुनै पनि ठाउँबाट चुनाव जित्न सक्लान्, तर उनी एक्लैले चुनाव जितेर अहिलेको प्रणालीमा तात्विक भिन्नता ल्याउन सक्ने देखिन्न। त्यसका लागि त उनले राजनीतिक दल खोल्नुपर्‍याे वा कुनै दलमा समाहित हुनपर्‍याे।

तर राजनीतिक यात्रा त्यति सजिलो र सहज पक्कै हुँदैन। त्यसका लागि कुलमान स्वंय तयार पनि देखिएको छनक पाइँदैन। जसरी भारतको दिल्लीमा केजरीवालको पार्टीले दोस्रो चुनावमा त्यहाँको ६० सिटमध्ये ५७ सिटमा विजय हासिल गरेर कांग्रेस आई र बिजेपीको पत्तासाफ गरिदिए। तेस्रो चुनावमा समेत स्पष्ट बहुमत ल्याएर सरकार चलाइरहेका छन् र खासगरी बिजुली, खानेपानी तथा सार्वजनिक शिक्षामा देखिनेगरी सुधार ल्याएका छन्। त्यस्तै खालको काम कुलमानले पनि गर्न सक्छन्।  

कुलमानले कम्तीमा २ कार्यकाल चलाउन पाए भने नेपालको समृद्धिमा विद्युत् प्राधिकरणको मात्रै एकतिहाइभन्दा बढी योगदान हुन सक्छ। 

नेपाली जनताले नायकत्व खोजे पनि युरोप–अमेरिकाको जस्तो सुविधा खोजेका छैनन्, जसरी अहिले २४ घण्टा बिजुली आउँदा खुसी छन्, त्यस्तै शिक्षा, स्वास्थ्य तथा रोजगारीको राम्रो वातावरण देशभित्रै बन्दै छ भन्ने अनुभूति मात्रै गर्न पाए पनि जनता रमाउनेछन् र उज्यालो भविष्यको सपना देख्नेछन्।  

प्रकाशित: ७ आश्विन २०७७ ०९:२५ बुधबार

विद्युत प्राधिकरण