तीज नेपालको प्राचीन रैथाने परम्परा हो। तीजको व्रतलाई हरितालिका नामकरण गरिएको छ। उक्त व्रतलाई नेपाली सधवा नारीहरूको सौभाग्यको स्थिरताका लागि गरिने व्रतका रूपमा चित्रित गरिन्छ ।
तीजमा व्रत बस्ने गरिन्छ । यस क्रममा दतिवन पनि प्रयोग गरिन्छ । कुरम कुइनचिङ तरिकाबाट गरिएको अनुसन्धानले दतिवन चपाउँदा दाँत र दाँतका क्याबिटी तथा गिजाहरूमा हुर्केर मानिसलाई दुःख दिने विभिन्नथरीका स्टेपट्रोकोकस नामका ब्याक्टेरिया मार्ने ओलिनोइक एसिड जस्ता ट्राइटरपिन तथा जेनिन ग्लाइकोसाइड हुने हुँदा दाँत सफा बन्छ। दतिवन चपाउँदा दाँतमा पुग्ने झोल कीरा र परजीवी प्रतिरोधी हुने, मुखमा -याल तथा धेरै पानी निकाल्ने तत्व रहने हुँदा सजिलै मुखको भित्री भागसमेत सफा गर्न सहयोगी बन्ने प्रमाणित बनेको छ ।
डिएनए सिक्वेन्सिङ प्रविधिमार्फत अध्ययन गर्दा गोबरमा हुने कार्बन र नाइट्रोजनको अनुपात र गोबरमा हुने ब्याक्टेरोइड्स, फिर्मिकुट्स र प्रोटियोब्याक्टेरिया माटोको लिगानिन, सेलुलोज, चिटिन, जाइलन आदि जस्ता अर्गानिक तत्वहरूलाई सानो सानो पारी टुक्राउन सहयोग गर्छ ।
मानिसको स्वास्थ्यमा नकारात्मक क्षति पु-याउने ब्याक्टेरिया र फङ्गसलाई चैनले बाँच्न नदिने प्रकृतिका बेसिलस र सिउडोमोनस प्रजातिका सहयोगी ब्याक्टेरिया गाईको गोबरमा भेटिन्छ। अपमार्ग लेपन गर्दा लेपनको एक भाग गाईको गोबरले शरीरमा स्यानिटाइजर र डिस्इन्फेक्टेन्टको काम गरिदिन्छ। अर्को भाग माटोले छालाको भित्री भागमा जमेर बस्ने सेबम तेल अथवा कचरा सफा गरी छाला शुद्ध गरी छालाका प्वालहरूलाई पूर्णरूपमा काम गर्न योग्य बनाइदिन्छ ।
जब छाला सफा हुन्छ, स्वस्थ मात्र बन्दैन, शरीर आफैँले आफ्नो स्वोहिलिङ्ग प्रक्रियामार्फत छाला रोगको उपचार सजिलो पारिदिन्छ। फलतः शरीर चिलाउने जस्ता विकृति हटाउन सहयोगी हुने हुँदा धार्मिक र परम्परागत स्नानमा अपमार्ग लेपन प्रचलित हुन गएको देखिन्छ। १५ असारे हिलो मल र माटोको अपमार्ग लेपन रहेकाले हिलो खेल्ने चलन व्यापक बन्नुको चुरो रहस्य बनेको भेटिन्छ ।
पञ्चमीको दिन वशिष्ठ ऋषिकी पत्नी अरून्धती, ब्रह्माका पुत्र कश्यप, वशिष्ठ ऋषि, अत्रि ऋषि, भारद्वाज ऋषि, विश्वमित्र ऋषि, गौतम ऋषि, जमदग्नि ऋषि आदिको पूजा गरी हलोले नजोते खेतमा उब्जिएको अन्नको भात र एक सुइरे कर्कलोको तिहुन खाने चलन छ ।
अरू खेती खासै नहुने अधिक सल्फर, एमोनिया, नाइट्राइट, जिङ्क हुने, सेपिलो ठानिने कृषिका लागि प्रतिकूल मानी फालिएको माटोमा सप्रिदिने कर्कलोको सफल जीवन पार्वतीको जस्तै कठोर तपस्यारूपी सफल जीवनको प्रतीक ठानिएको हुनुपर्छ । वैज्ञानिकरूपमा हेर्दा कर्कलोको तिहुन अति प्रतिकूल प्राकृतिक वातावरण सहेर हालसम्म उपलब्धमध्येको अत्यधिक पोषण तत्वयुक्त तरकारीको विकल्प दिने एकाध हरियोपरियो तिहुन भएको प्रमाणित भएको छ। भातमा कर्कलो अथवा गाभाको झोल हाली खुर्सानी र कागती ठोसी ठोसी खाएर नेपाली खानाको धित मार्ने यो खाना किन पञ्चमीको दिनको तिहुनको विकल्प बन्यो भन्ने प्रस्ट बुझ्न सकिन्छ ।
आयुर्वेदले भन्ने गरेको चामल, दाल, हिमाली नून, फलफूल, जौ वा गहुँ, वर्षाको पानी वा शुद्ध पानी, दूध, घीउ र मह गरी कम्तीमा नौ प्रकारको भोजन आफ्नो दैनिक खानामा समावेश गरी खान जरुरी रहेको कुरा आज वैज्ञानिकरूपमा सिद्ध भएको छ। तीजलगायतका चाडवाडमा हुने खानामा ती सबै कुरा संलग्न रहन्छन् ।
पिरो हरियो खुर्सानी जिरो–क्यालोरी खाना हो। जसले एकल उद्देश्य प्राप्तिमा अडिग पार्वतीको निश्चल मनको प्रतिविम्ब दिन्छ । खुर्सानी खाएको ३ घण्टासम्म शरीरको मेटाबोलिक रेट बढ्छ । डाइटरी फाइबर, आइरन र पोटासियम मनग्ये हुने खुर्सानीले हाम्रो शरीरमा रक्तसञ्चार बढाउँछ। यसले शरीरमा मेटाबोलिक क्षारीयपन दिन र पिसाबलाई एसिडिक हुन नदिन सहयोग गर्छ ।
कर्कलोको पात र पिँडालु दुवै क्षारीय खाना हुनाले हाम्रो रगतलाई क्षारीय राख्न सहयोग गर्छ। कर्कलोको डाँठको रस आयुर्वेद र सिद्ध दुवै विधामा घाउबाट बगिरहेको रगत रोक्ने ओखती र छालामा रक्तसञ्चार नदेखिँदा इरिटेसनमार्फत रक्त नली खोली रातो पार्ने उपचार प्रयोजनमा आउँछ । पिँडालु कर्कलोको उपलब्धि हो ।
परम्परागत उपचारमा पिँडालुको रस कपालमा खोइरो लाग्दा निको गर्न उपयोगमा आउँछ। खाना खाएपछि रगतमा चिनी बढ्ने रोग ठीक गर्न पकाएको कर्कलोको गाभा खान दिइन्छ । पिँडालु आफैँले रगतमा चिनी घटाउन सहयोग गर्ने, पिँडालुको जुसले कपाल झर्न कम गर्ने, पिँडालु र गाभा दुवै पिँधेर बनाएको जुस घाउ हुँदा बगिरहेको रगत रोक्ने, घाउ निको हुँदा बस्ने कालो खत हटाउन सघाउने र आन्तरिक रक्तस्राव जस्तो अवस्थामा उपयोगमा आउँछ। जसलाई मेहनतको फलको नसोचिएको फाइदाका रूपमा चित्रित गर्दा अन्यथा हुने छैन ।
कर्मजीवीहरूका हकमा भने पर्वतराज हिमालयको छोरी भनिएकी पार्वतीको जीवनी कुनै निश्चित उद्देश्य प्राप्तिमा लिन भएर कुनै व्यवसायमा लागि सफल बनेका पेसाकर्मी अथवा उद्यमकर्मीहरूको जीवनको प्रतिनिधि पात्रको कहानी हो। जो आफ्नो उद्देश्य प्राप्तिमा कहिल्यै टसको मस भएनन् । उद्देश्य प्राप्तिका बाटाहरू धेरैपटक परिवर्तन बने, जीवनमा धेरै आरोह÷अवरोह देखिए, कहिलेकाहीँ आफ्नै अघि देखा परेका सानातिना उपलब्धिका सम्भावनाका अवसरहरूले ठूलो उपलब्धि प्राप्तिबाट विचलन ल्याउन सक्ने सम्भावना देखिए । तर जब उनीहरू आफ्नो कर्ममा अडिग रहेर आफन्त र शुभचिन्तकहरूको दरिलो साथले आफ्नो लक्ष्य प्राप्तिको यात्रालाई पूर्णविराम हुन दिएनन्, सफलताको शिखर चुमिछाडे ।
आयुर्वेदले भन्ने गरेको चामल, दाल, हिमाली नून, फलफूल, जौ वा गहुँ, वर्षाको पानी वा शुद्ध पानी, दूध, घीउ र मह गरी कम्तीमा नौ प्रकारको भोजन आफ्नो दैनिक खानामा समावेश गरी खान जरुरी रहेको कुरा आज वैज्ञानिकरूपमा सिद्ध भएको छ। तीजलगायतका चाडवाडमा हुने खानामा ती सबै कुरा संलग्न रहन्छन् ।
उत्कृष्ट खानपान र वैज्ञानिक आचरणका अलावा तीज पर्वमा बसिने व्रतको अहम् वैज्ञानिक महत्व छ । औषधि विज्ञानको हरेक दिन ८ देखि १० ग्लास पानी पिउन दिने सल्लाहका कारण पानीले हाम्रो शरीरका तन्तुहरूलाई ओसिलो राख्ने काम गर्नु हो । प्रकृतिबाट शरीरलाई प्राप्त हुने पानी सिधै पानी पिएर वा अन्य खाना वा हावाबाट मुख वा छाला हुँदै शरीरभित्र पुग्ने गर्छ । दोस्रो पाचनलगायतका विभिन्न क्रममा शरीरभित्रै उत्पन्न मेटाबोलिक पानीबाट शरीरले आफूलाई चाहिने पानी पूर्ति गर्छ ।
शरीरभित्र खानालाई शक्तिमा परिवर्तन गर्दा १०० ग्राम कार्बोहाइड्रेटले ६० ग्राम र १०० ग्राम चिल्लोले १०७ ग्राम मेटाबोलिक पानी उत्पादन गर्छ । पाचनका क्रममा उत्पादन भएको कार्बनडाइअक्साइड रगतमा घुली कर्बोनिक एसिड बनी रगतको पिएच व्यवस्थापन गर्न सहयोग गर्दै अन्ततः श्वास÷प्रश्वास क्रियामार्फत शरीर बाहिर पुग्छ ।
शरीरको आन्तरिक र बाहिरी स्रोतबाट प्राप्त गर्ने पानीमध्ये हरेक ६०० थोपा पानी (जसलाई हाइड्रोजन अक्साइड भनिन्छ) मा एक थोपा सामान्य पानी भन्दा १०.६५ गह्रुङ्गो पानीको अणु मिसिएको पानी भेटिने गर्छ । जसलाई मृत वा हेबी वाटर वा डिउटेरियाम अक्साइड भनिन्छ । जब यो मृत पानी शरीरको कोषिकाभित्र प्रवेश गर्छ तब आफ्नो काम सम्पन्न गरी अन्य सामान्य पानी जस्तो कोषिकाबाट बाहिर निस्कन नसक्ने हुँदा पिसाबबाट शरीर बाहिर फाल्न सकिने अवस्था बन्दैन । कोषिकाभित्र मृत पानी जमेर बसिदिँदा यसले कोषिकाको मेटाबोलिक प्रक्रिया र माइटोसिस प्रक्रियामा अवरोध गरिदिनाले शरीरभित्रबाट रोगी बनिदिन्छ ।
शरीरलाई भित्रबाट दीर्घ रोगी हुनबाट जोगाउन चिल्लोले मृत पानीलाई आफूभित्र कैद गरेर राखी कोषिकाको धेरै क्षति हुनबाट छेकिरहेको हुन्छ। तीजको जस्तो पानीसमेत नपिइ बसिने व्रतमा शरीरमा हुने नियमित पानीको आपूर्ति बन्द हुन्छ । जसले गर्दा कोषिकाभित्रको माइकोकोड्रियामा हुने नियमित कार्बोहाइड्रेट र चिल्लोबाट शक्ति उत्पादन हुने क्रममा बन्ने पानी नै मुख्य पानीको आपूर्तिको स्रोत बनिदिन्छ । यो प्रक्रियामा सेलबाहिरको पानीको अभाव सेलभित्र उत्पादित पानीबाट पूर्ति गर्न जरुरी बन्छ । सेलभित्र उत्पादित पानी कोषिका बाहिर पूर्ति गर्ने क्रममा कोषिकाले पहिला आफूमा अवरोधक झुण्डका रूपमा जमी बसेको मृत पानीलाई रिभर्स असमोसिस प्रक्रियाबाट बाहिर धकेलिन्छ । जसलाई शरीरले रगत हुँदै पिसाबका रूपमा शरीर बाहिर फालिदिन सफल बन्छ । हालसम्म हाम्रो शरीरको कोषिकामा जम्मा हुने मृत पानीले दिने रोगबाट बच्ने उपाय व्रत मात्र रहेको बुझिएको सन्दर्भमा पानीसमेत नपिएर बसिने तीजको व्रत कोषिकाको तहसम्म शरीर शुद्ध गर्न उपयोगी रहेको प्रमाणित बनेको ठानिन्छ ।
समग्रमा भन्दा तीजलगायतका हाम्रा परम्परागत चालचलन एकपछि अर्को गर्दै वास्तवमै उच्च वैज्ञानिक मूल्यको रहेको प्रमाणित हुँदै गएका छन् । विगतमा हामीले विज्ञानका नाममा अर्ध ज्ञानले ग्रसित बनेर निचोड निकाल्ने क्रममा विवेक गुमाउन पुग्दा हाम्रा चालचलनलाई रुढीवादी र कथित अवैज्ञानिकको पगरी भिराएर स्थापित गरेको गलत धारणाहरू आज विज्ञानबाटै गलत रहेको प्रमाणित हुँदै गएका छन् । जुनहामी सबैका लागि सन्तोषको विषय बनेको छ ।
(खाद्य तथा औषधि विज्ञ, क्यानडा)
प्रकाशित: ४ भाद्र २०७७ ०५:२२ बिहीबार