नोवल कोरोना भाइरसले विश्वभर महामारीको रूप लिएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये करिव १० लाख स्वदेश फर्कने भएका छन् । सरकारसँग आधिकारिक तथ्यांक नभए पनि विश्वका विभिन्न मुलुकमा करिव ५० लाख (वैदेशिक रोजगारी र अन्य गरी) को संख्यामा नेपाली रहेका अनुमान छ । विश्वभर आफ्ना शाखा सञ्जाल पुराएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसका कारण करिब १० लाख नेपाली घर फर्कन सक्ने तथ्यांक बाहिर ल्याएको छ । विदेशमा रहेका नेपाली युवायुवतीमध्ये २० प्रतिशत मात्र घर फर्के पनि सरकारका लागि ठूलो चुनौती बन्नेछ । फर्कने युवालाई कहाँ राख्ने भन्ने समस्या सरकारलाई हुने छैन । तर काम गर्ने उमेर समूहको यो जमातलाई कसरी रोजगारी दिने भन्ने ठूलो समस्या भने हुनेछ । यसरी युवा फर्केपछि रेमिटेन्समा आउने कमी सरकारका लागि अर्को टाउको दुखाइ हुनेछ ।
संघले आफू आबद्ध विश्वका ८३ मुलुकबाट प्राप्त सूचनालाई हेरेर नेपालमा र गन्तव्य मुलुकहरूमा जारी लकडाउन खुल्ने र हवाई उडान सुरु हुनेबित्तिकै नेपाली युवायुवती फर्कने बताएको छ । संघका अनुसार कोरोना महामारीले कम्तीमा ३० प्रतिशत नेपालीले जागिर गुमाउन सक्ने सम्भावना देखिएको छ । जागिर गुमाउनेबाहेक कोही त्रसित भएर, कसैको काम गर्ने अवधि सकिएर र कोही पारिश्रमिक कटौती हुँदा स्वदेश फर्कने मनस्थितिमा छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिएर विदेश गएका ४६ लाख नेपालीमध्ये करिब २५–३० लाख अझै विदेशमा छन् । श्रम स्वीकृति लिएकाबाहेक अमेरिका, युरोप, जापान, अस्ट्रेलियालगायतका विकसित मुलुकमा विद्यार्थी, पर्यटक भिसा, उद्योगी, व्यापारी र स्थायी÷अस्थायी बसोबासका रूपमा रहेकाको संख्या ठूलो छ । यस्तै कतिपय नेपाली अवैधानिकरूपमा पनि विदेशमा बसेका छन् । विदेशमा रहेका सबै नेपाली जोड्दा संख्या ५० लाखभन्दा माथि रहेको संघको अनुमान छ ।
कोरोनाका कारण अहिलेसम्म संयुक्त अरब इमिरेट्स, साइप्रस, रोमानिया, पोर्चुगलमा रहेका नेपाली सबभन्दा बढी समस्यामा छन् । अहिलेसम्म विभिन्न मुलुकमा गरी ४९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । संक्रमितको संख्या पनि धेरै छ ।
कोरोना भाइरसका कारण विदेशबाट फर्कने मात्र होइन, विदेश जान नपाउने पनि धेरै छन् । कोरोनाको समस्या नआएका बेला बिदामा नेपाल आएका तर हवाई उडान बन्द भएपछि विदेश जान नपाएका युवा हजारौँको संख्यामा छन् । पछिल्लो समय दैनिक एक हजार हाराहारीको संख्यामा विदेश काम गर्न जाने नेपाली युवामध्ये आधाजसो बिदामा घर फर्केर जाने रहेका थिए । कोरियाबाट मात्र बिदामा आएका ४ सय फर्कन नपाएको अवस्था छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा करिब १० प्रतिशतले रेमिटेन्समा गिरावट आउने प्रक्षेपण गरेको थियो । यस्तै विश्व बैैंकले नेपाल भित्रने रेमिटेन्स १४ प्रतिशतसम्मले गिरावट आउने बताएको छ । गत आर्थिक वर्ष नेपालमा ८ खर्ब ७९ अर्ब रुपियाँ रेमिटेन्स भित्रिएको थियो । यो वर्ष फागुनसम्म ५ खर्ब ९२ अर्ब रुपियाँ रेमिटेन्स आएको छ । रेमिटेन्स आयको कमीलाई पूर्ति गर्न कृषिमा आत्मनिर्भर हुने योजना ल्याउन सकिन्छ । यसबाट कृषिजन्य वस्तु आयातमा गइरहेको वार्षिक १ खर्ब रुपियाँ भन्दा बढी विदेशी मुद्रा बचाउन सकिन्छ । साना तथा मझौला व्यवसायलाई विस्तार गर्न सके पनि यसबाट अर्को अर्बौँ रकम बचाउन सकिन्छ । निर्यात बढाउने, पर्यटक भित्राउने रणनीति ल्याए थप विदेशी मुद्रा आर्जन हुनेछ ।
वैदेशिक रोजगारीबाट फर्केर आउनेलाई सरकारले उद्योग कलकारखाना, सेवा क्षेत्र, विकास आयोजनाहरू र कृषिमा रोजगारी दिन सक्छ । युवा विदेश गएका कारण नेपालको हरेक क्षेत्रमा कामदार अभाव छ । विकास आयोजनाहरूमा दुई छिमेकी मुलुक चीन र भारतबाट आएका कामदारले काम गर्नुपर्ने अवस्था छ । जनशक्ति अभावमा गाउँ घरका खेतबारी बाँझो भएको वर्षौँ भइसकेको छ । अन्न फल्ने खेतबारी अहिले जंगलमा परिणत भएका छन् । आफूलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने र नगदेबाली लगाउने गरे जोकोही पनि आत्मनिर्भर बनी पर्याप्त आम्दानी गर्न सक्ने अवस्था छ । सरकार सहयोगी बन्ने हो र कृषि कर्म गर्दा आफू सानो बनिँदैन भन्ने मानसिकता विकास गर्ने हो भने मासिक २०–३० हजार रुपियाँ कमाउन मुग्लान पस्नुपर्ने अवस्था छैन ।
विदेशमा सिप सिकेर आएका युवालाई सस्तो ब्याजदरमा कर्जा दिएर स्वरोजगार बनाउन सके सबैभन्दा राम्रो हुुनेछ । सरकारले वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा जम्मा भएको रकमलाई पनि यसमा सदुपयोग गर्न सक्छ । कोषमा युवाले वैदेशिक रोजगारीमा जानुअघि एक हजार पाँच सयदेखि दुई हजार पाँच सय (अवधिअनुसार) रुपियाँ जम्मा गर्नुपर्ने नियम छ । कोषमा अहिले करिब सवा पाँच अर्ब रुपियाँ जम्मा भएको छ । यसमा सरकारले केही रकम थपे मात्र पनि सिप सिकेका हजारौँ युवालाई कर्जा दिन पुग्छ । स्वरोजगारमा लागे पनि कोरोना महामारीपछि पनि उनीहरू विदेश जाने छैनन् । अहिले पनि कतिपय युवाले विदेशमा कमाएको धन र सिप प्रयोग गरेर स्वदेशमा उदाहरणीय काम गरेका छन् ।
युवायुवती सामान्य पैसाका लागि पनि विदेश जानुपरेको अर्को मुख्य कारण स्वदेशमा वर्षैभर रोजगारी नपाउनु हो । यहाँ बन्ने आयोजनाहरूमा काम र तलब राम्रै पाइन्छ तर वर्षैभर काम पाइँदैन । अधिकांश विकास आयोजनाले बढीमा ६ महिना मात्र काम दिन्छन् । सरकारले आयोजनाहरूमा वर्षैभर काम गर्ने वातावरण बनाउन सके धेरै युवा यतै रोकिने अवस्था सिर्जना हुनेछ ।
प्रकाशित: १६ वैशाख २०७७ ०४:१८ मंगलबार