कोभिड–२०१९ का कारण संसार आक्रान्त छ। गत डिसेम्बरबाट सुरु भएको यो भाइरसले ७० हजारभन्दा बढीको ज्यान लिइसकेकोछ भने करिव १० लाखभन्दा बढीलाई संक्रमित तुल्याएको छ। संक्रमितमध्ये करिव ३ लाख उपचारपछि घर फर्केका छन। चिकित्सकका अनुसार यस रोगको मृत्यु दर २ प्रतिशतको हाराहारी छ भने संक्रमण सर्ने दर १ जनाबाट २ जनामा छ। संयुक्त राष्ट्र संघका महासचिवका अनुसार मानव संभ्यताका लागि यो दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो महासंकट हो। त्यसैगरी अमेरिकी राष्ट्रपतिका अनुसार यस रोगले ठूलो संख्यामा मानवीय क्षति गर्ने संभावना छ। नेपाललगायत धेरै देश यही कारण लकडाउनमा छन् र यसबाट उन्मुक्ति खोजिरहेका छन्। हामीलाई थाहा छ, यस रोगले विज्ञान र पश्चिमी सामाजिक संस्कारहरूलाई ठाडो चुनौती दिएको छ।
चिकित्सकका अनुसार यो निमोनिया जस्तै देखिने श्वास/प्रश्वाससँग सम्बन्धित रोग हो। सुरुमा निमोनिया जस्तै देखिने र लक्षण देखिए पनि बीचमा ठीक भएको जस्तो हुने अनि फेरि चाप्ने गरेका कारण यो रोग जटिल बन्ने गरेको छ।यो रोग लागेका व्यक्ति प्रत्यक्ष सम्पर्कमा आउँदा सर्ने र सरिसकेपछि समयमा नै थाहा नहुँदा प्रभावकारी उपचार हुन नसक्ने तथा दीर्घ रोगीहरू र रोग प्रतिरोधात्मक क्षमता कम भएका पाका व्यक्तिलाई यस रोगले निकै सताउने गर्दा धरै ठूलो क्षति बेहोर्नु परेको छ।नेपालमा पूर्ण सूचनाको अभाव र व्यापारिक स्वार्थका कारण कतिपय निजी अस्पताल सामान्य रुघा/खोकीलाई ल्याब परीक्षण नगरीकन नै कोरोनाको शंकामा उपचार गर्न अनिच्छुक हुँदा नियमित बिरामीले उपचार पाएका छैनन्। कोरोनाबारे मानिसमा पर्याप्त ज्ञान नहुँदा गाउँघरतिर सामान्य रुघाखोकी लागेका मानिसलाई अस्पताल लाने एम्बुलेन्स र सहयोगी समेत पाउन कठिन भएको छ।यही कारण धेरैले अकालमा ज्यानसमेत गुमाएका छन्।यस्ता घटनाले निजी अस्पतालहरूको औचित्यमाथि प्रश्न उठेको मात्र नभई नेपालमा निजी अस्पतालको आवश्यकतामाथि पनि प्रश्न उठाएको छ।
कोरोनाले सिंगो विश्वलाई तहसनहस पारेको अवस्थामा नेपाल पनि अछूतो छैन। जसको दुष्प्रभाव समग्र सामाजिक तथा आर्थिक प्रणालीमा पर्ने निश्चित छ। यसलाई स्वास्थ्य मन्त्रालयसँग मात्रै सीमित राखेर हेर्नु भुल हुनेछ। यो रोगसँग लड्ने सरकारको मात्रै दायित्व नभई समग्र नेपालीको जिम्मेवारी हो। कोरोनाका कारण अन्तर्राष्ट्रिय, राष्ट्रिय, स्थानीय तह र घर तथा व्यक्तिको जीवनमा नयाँ अवस्था सिर्जना भएको छ। यस अवस्थामा सकारात्मक र नकारात्मक दुवै पक्ष छन्। यस रोगका कारण सिर्जित सकारात्मक पक्ष खोजी गरेर तिनको अनुशरण गर्यौँ भने हामी यो लडाइँ जित्न सक्छौँ। त्यसकारण यस रोगकाकारण सिर्जित सकारात्मक पक्षको सूची नै यस रोगविरुद्ध लड्ने मुख्य हतियार हो। कोरोना भाइरस नयाँ भएका कारण यसको प्रभावकारी उपचार पत्ता लागेको छैन। यसको परीक्षण नै उपचारको प्रमुख आधार हो। त्यसकारण यसका लक्षण देखा पर्नेबित्तिकै प्रयोगशालामा परीक्षण गरेर निश्चित हुनुपर्छ।
यदि समयमा नै रोगको अवस्था पहिचान भएमा उपचार सफल हुने सम्भावना हुन्छ। चीन र अन्य संक्रमित देशमा देखिएको सबैभन्दा प्रभावकारी उपचार विधि भनेको प्रतिरोधात्मक हो। चीनमा यस रोगसँग लड्न सिंगो चिनिया जनताले सरकारसँग हातेमालो गरेर सरकारलाई खुला दिलले सहयोग गरेका थिए। रोग लागि सकेपछि उपचार त छँदैछ, त्यो भन्दा पहिला उच्च सतर्कता अपनाउन सकेमा रोगनै लाग्न नसक्ने अवस्था सिर्जना हुन्छ भन्ने नेपाल, चीन, भियतनाम र सिंगापुरले गरेका प्रयासबाट प्रमाणित भएको छ। रोग लागेपछिको उपचार निकै जटिल हुने कुरा अमेरिका लगायत देशले भोगिरहेका अवस्थाबाट प्रस्ट हुन्छ। छिमेकी देशबाटै उत्पत्ति भएको भए पनि प्रधानमन्त्रीको सही पहलका कारण नेपालमा यो रोगको संक्रमण नगण्यप्रायः नै छ तर औषधि आपूर्ति, सीमामा रहेका जनताको उद्धार र लकडाउन तोडेर घर जानलागेका जनताको उद्धारका क्रममा भने सरकारको शैली क्षमता, दक्षता र नियतमाथि प्रश्न उठेकोछ।
यस रोगका कारण सिर्जित सकारात्मक पक्ष खोजी गरेर तिनको अनुशरण गर्यौँ भने हामी यो लडाइँ जित्न सक्छौँ।
टोल/टोलसम्म सञ्जाल भएका ठूला दलको मौनता गैरजिम्मेवार छ। यिनलेचाहे भने कुन गाउँमा को मान्छे बाहिरबाट आएको छ र कसरी बसेको छ भनेर स्थानीय सरकारलाई सूचना दिन सक्छन्। संक्रमित ८ जना विदेशबाट आएका र तिनैमध्येबाट यहीँकी १ जनामा भएको संक्रमणका कारण नेपाल पनि संक्रमणको जोखिममा छ भन्ने अनुमान गर्न सकिन्छ। तर सबै नेपालीले सरकारले आह्वान गरेअनुसार सकारात्मक भूमिका खेल्ने हो भने नेपालमा कोरोना संक्रमण नियन्त्रण गर्न सक्ने सम्भावना छ। सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा वर्तमानको नकारात्मक अवस्थालाई कहालीलाग्दो तवरले प्रस्तुत गरिँदा समग्र जनमानसमा नकारात्मक सोच र नैराश्यता उत्पन्न भएको छ। कोरोनाको चिकित्सकीय पक्षहरूमा सतर्क हुनुपर्ने कुराहरूलाई पनि सकारात्मक तवरबाट व्याख्या गर्दा जनजीवन सहज हुन्छ।
यसको चिकित्सकीय पक्षहरूमा सरकारले गरेका प्रयासलाई सकारात्मक रूपमा लिएर यसले सिर्जना गरेको नयाँ सामाजिक अवस्थाहरूको सकारात्मक पक्षहरूको सदुपयोग गर्न सबैमा सिर्जनात्मक सोच आवश्यक छ। वर्तमान अवस्थामा सरकारको आलोचना गर्ने पर्याप्त आधार भए पनि यी सबै तयार गर्न हामी जनताको पनि प्रशस्त योगदान छ भन्ने कुरा हामीले बिर्सन हुँदैन। विगतदेखिको विकासको गलत मोडल र गलत प्राथमिकताका कारण आज सामान्य सेवा पनि अकल्पनीय जस्तो भएको छ। सेवामूलक व्यवसायहरूलाई व्यापारीकरण गरेर वर्तमान अवस्था र भविष्यलाई समेत पिँजडामा हालिएको छ। आज हामीले समस्या महसुस गरेका कारण विरोध गर्न मन लागेकोछ तर हिजो निजीकरणका हिमायतीहरू र भ्रष्टाचारी एवम् अक्षम र अदक्षहरूलाई सम्मान गरेका कारण आज यो अवस्था आएको हो।वर्तमान अवस्थामा कतिपय जिम्मेवार निकायहरूले पनि अवस्थालाई समस्याका रूपमा चित्रण गरेर प्रस्तुत गर्दा जनमानसमा नैराश्यता बढेको छ।
वास्तवमा सरकारले लकडाउन थप गरेर अति उत्तम काम गरेको छ। संभावित संक्रमण रोक्न संघीय सरकारले गरेका प्रयासलाई प्रादेशिक र स्थानीय सरकारहरूले गरेका कार्यक्रम निकै सहयोगी र प्रशंसनीय प्रमाण्ति भएका छन् र स्थानीय तहमा जनताले सरकारी सेवाको प्रत्यक्ष अनुभूति गर्न पाएका छन्। नेपाल सरकारको आह्वानमा चिकित्सक, नर्स, प्यारामेडिकल क्षेत्रका कर्मचारी, नेपाल प्रहरी विशेष गरेर सरकारी अस्पताल तथा स्वास्थ्य चौकीमा कार्यरत जनशक्तिले देखाएको तदारुकता र सक्रियता निकै नै प्रशंसनीय छ। यद्यपि कतिपय घर धनी र निजी अस्पतालले गरेका व्यवहारले देशमा मानवीय संवेदना हराएको र समाज दलालीकरणतर्फ उन्मुख त भएको होइन भन्ने प्रश्न पनि उठेको छ। सबै निजी अस्पतालको दर्ता खारेजी गरेर स्वास्थ्य नाफा गर्ने क्षेत्र होइन भन्ने मान्यता प्रमाणित गर्ने चुनौतीसमेत यतिबेला कम्युनिस्ट सरकारसामु थपिएको छ।
वर्तमान अवस्था हाम्रो कावुबाहिर छ। कोरोनाका कारण नयाँ अवस्था सिर्जना भएकोछ जसले हाम्रो दैनिकीमा व्यापक बदलाव ल्याएको छ। हामी यो अवस्था बदल्न सक्दैनौँ तर हामीले सोच्ने र व्यवहार गर्ने तरिका बदल्न सक्यौँ भने यस अवस्थालाई पनि उत्पादनमूलक र सहज तुल्याउन भने सक्छौँ।यो एक विशिष्ट अवस्था हो। त्यसैले यसलाई विशिष्टरूपमा परिभाषित गरेर समुदायका बौद्धिकमार्फत यस रोगका प्रतिरोधात्मक विधिहरूबारे जनचेतना कार्यक्रम सञ्चालन गर्न सकियो भने ग्रामीण भेगका बासिन्दाले पनि सत्यतथ्य बुझेर सुरक्षा प्रणाली अपनाउन सक्छन्। व्यक्तिको सोच र विषयलाई बुझ्ने क्षमताले पनि रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव पार्ने हुँदा उत्साह जगाउने सिर्जनात्मक सोच अभिवृद्धि गर्ने सन्देश प्रवाह गर्नुपर्छ।
व्यक्तिहरूबीच हुने औपचारिक तथा अनौपचारिक छलफल पनि सकारात्मक र सिर्जनशील भए भने सकारात्मक एवम् सिर्जनात्मक सोच विकास हुन्छ। कोरोनाका कारण उत्पन्न अवस्थाको सही, सत्य र तथ्यमूलक सन्देशहरूले कोरोनापछिको अवस्था थाहा हुन्छ र दैनिक कार्य सञ्चालन गर्न सहज हुन्छ। कोरोना व्यक्तिगत सम्पर्कबाट सर्ने भएको हुँदा यदि हाम्रा गाउँघरमा बाहिरी मानिसको आवतजावत छैन भने स्थानीय चिकित्सक र स्थानीय तहहरूको निगारानीमा खेतीपातीका कामगर्न सकिन्छ। यसले गर्दा हाम्रो उत्पादन प्रणालीलाई नियमित गराउँछ। आपूर्ति व्यवस्थालाई सहज बनाउन संक्रमणको जोखिम नभएका क्षेत्र पहिचान गरी स्थानीय तहको सहयोगमा नियमित आपूर्तिको व्यवस्था मिलाउनुपर्छ। यो एक डरलाग्दो महामारी त हो तर बाहिरी व्यक्तिसँग संसर्ग नहुँदा र पर्याप्त मात्रामा सावधानी अपनाउँदा आफ्नो घर र खेतबारीका काम गर्न सकिन्छ।
यसरी बदलिँदो परिस्थितिमा हाम्रा सोच, आनिबानी र व्यवहार परिवर्तन भएनन् भने हामीमा अन्तरद्वन्द्व सिर्जना हुन्छ। अनि हामी नकारात्मक र नैराश्यको सिकार हुनेछौँ। यस्तो संकटपूर्ण अवस्थामा व्यक्तिगत रूपमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने जिम्मेवारी व्यक्ति स्वयम्को हो। त्यसकारण उत्साह, उमंग, सकारात्मकता वृद्धि गर्ने सन्देशहरू प्रवाह गर्न जरुरी हुन्छ। यदि समाजका अधिकांश नागरिककोे दैनिकी निराशा र नैराश्यमा बित्न थाल्छ भने सिंगो समाज र दैश नै नकारात्मकताको सिकार हुन्छ। समाज सामाजिक डिप्रेसनको सिकार हुन्छ तर ठीक यसको विपरीत हाम्रो सोच रूपान्तरण गर्न सक्यौँ र नयाँ परिस्थितिले सिर्जना गरेको अवस्थाका सकारात्मक पक्षहरू हेर्ने सोच सिर्जना गर्न सक्यौँ भने हाम्रो दैनिकी सहज त हुन्छ नै, अवस्थाको सही सदुपयोग गर्ने क्षमता विकास भई सिर्जनात्मक सोच र शैली पनि विकास हुन्छ।
(प्रमुख कार्यकारी अधिकृत, इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्स)
प्रकाशित: २६ चैत्र २०७६ ०६:४१ बुधबार