विचार

नागरिक निराशा

लोकतन्त्रमा सबैभन्दा प्रिय नेता हुन्छन्। तिनले देखाएका सपनाबाट हौसिएर नागरिक आन्दोलनमा लाग्छन्। नेताका पछाडि लाग्नुको अर्थ परिवर्तनप्रतिको उत्कट अभिलाषा हो। हिजोका राजाकै नयाँ अवतार बन्ने हो भने त ती सपना फेरि चैते हुरीले उडाउनेछन्। आफूले सबैभन्दा बढी सम्मान गरेका नेता नराम्ररी बिग्रिएपछि स्वाभाविक रूपमा आम नागरिकमा निराशा पैदा हुन्छ। अचेल सर्वसाधारणले पूर्वराजा ज्ञानेन्द्रलाई भन्दा बढ्ता आफ्नै नेतालाई गाली गरेको सुनिन्छ। किन आम मानिसको धारणा यसरी परिवर्तन भइरहेको छ भन्नेतर्फ नेताहरूको ध्यान पुगेको छैन। आफूलाई जनमतबाट अलग राख्दै केही नभएजस्तो गरी हिँड्नु उचित हुँदैन। राजा÷महाराजाले समेत सर्वसाधारणले आफू र आफूले चलाएको शासनबारे कस्तो धारणा राख्छन् भनी गोप्य रूपमा बुझ्ने गर्थे।

निरंकुशकालमा सीधै सर्वसाधारणले टिप्पणी नगर्ने भएका कारण उनीहरूको धारणा गोप्य रूपमा बुझ्नुपथ्र्यो। तर अहिलेका नागरिक त्यस्ता छैनन्। लोकतन्त्रका नागरिकले खुलेर चित्त नबुझेका विषयमा आफ्नो प्रतिक्रिया राख्छन्। अझ सामाजिक सञ्जालको यो युगमा आफ्ना धारणा राख्न अन्य कुनै मञ्चको प्रतीक्षासमेत गर्नु पर्दैन। आफ्नै हातमा रहेको मोबाइल खोलेर त्यसमा आफ्ना प्रतिक्रिया राख्न सर्वसाधारण यतिबेला सक्षम छन्। सबैले बोल्न पाउने यो बेलामा अनुशासनहीनता बढेको अनुभव पनि हुन सक्छ। हिजो सडकमा आएर विरोध गर्नुपथ्र्यो। आज सीधै सामाजिक सञ्जालबाट विरोध गर्न सकिन्छ।

यसरी सजिलै विरोध गर्न पाइने स्थितिले समेत कहिलेकाहीं अप्रिय मोड लिँदोरहेछ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई आइतबार जुम्लाका युवक रतन तिरुवाले जुत्ता प्रहार गरे। विरोधको यो स्वरूपलाई कुनै अर्थमा पनि उचित मान्न सकिन्न। लोकतन्त्रमा बोले÷लेखेर आफ्ना असन्तुष्टि प्रकट गर्न पाइन्छ। अनि संगठन बनाउन, जनपरिचालन गरी सरकारको विरोध गर्न र आफ्ना विचार फैलाउन लोकतन्त्रमा सहज हुन्छ। दाहाललक्षित जुत्ता प्रहारले लोकतन्त्रको शिष्ट विरोधको शैली उपयोग नगरी अन्य बाटो अपनाउन खोजेको देखाउँछ।

यस्तो तरिका बेठीक हो। तर नेताविरुद्ध यस किसिमको आक्रमण निरन्तर भइरहेको देखिन्छ। यसअघि २०६९ सालमा पूर्वलडाकु पदम कुँवरले पनि अध्यक्ष दाहाललाई थप्पड हानेका थिए। पार्टीले आयोजना गरेको चियापान समारोहमा उनीविरुद्ध आक्रमण भएको थियो। यसपटक पनि पार्टीले राष्ट्रियसभा गृहमा आयोजना गरेको भरतमोहन अधिकारीको पहिलो स्मृति सभाका क्रममा दाहालविरुद्ध जुत्ता प्रहार गरिएको हो। यसअघि कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए। हाल नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई पनि सुनसरीमा देवीप्रसाद रेग्मीले थप्पड हानेका थिए। यी घटनाक्रम हेर्दा के देखिन्छ भने सर्वसाधारणले नेताहरूलाई जति सम्मान गरेका छन्, त्यसभन्दा बढी घृणा पनि गरेका छन्। कहिलेकाहीं नेताहरूले ज्यानले धान्नै नसक्ने मालासमेत पाउँछन्। त्यो बेला कार्यकर्ता र अनुयायी सर्वसाधारण मात्र होइन, चाटुकारहरूले समेत तिनलाई खुसी पार्ने मौका पाउँछन्।

आखिर नेतालाई किन आक्रमण हुन्छ ? जब सबैभन्दा निकट र प्रिय मानिसबाट अपेक्षाअनुसार काम हुँदैन तब सर्वसाधारणलाई निराश बनाउँछ। तिनले आफ्ना निराशा यसरी अस्वाभाविक तरिका अपनाएर पनि प्रकट गर्छन्। कार्यकर्ताले जहिल्यै आफ्ना नेताको छवि उच्च रहेको परिकल्पना गरेका हुन्छन्। तर जब वास्तविकतामा उल्टो पाउँछन्, तब उनीहरू आक्रोशित हुन्छन्। नेतृत्वमा पुगेका व्यक्तिका निम्ति सामान्य लागेका व्यवहारसमेत कार्यकर्ताका निम्ति असामान्य हुन्छन्।

कार्यकर्ता र सर्वसाधारणले यतिबेला सत्तारूढ नेकपाभित्रै शक्ति हत्याउन गरिएका प्रयासलाई नजिकबाट नियालेका छन्। त्यति मात्र होइन, निर्वाचनमा पराजित वामदेव गौतमजस्ता नेतालाई पुनः अर्को निर्वाचनसम्म प्रतीक्षा गराउनेभन्दा पनि तत्कालै सत्तामा पु¥याउने हतारो देखिन्छ। राष्ट्रियसभामा पु¥याएर मात्र पुगेको छैन, अझ संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउनुपर्नेसमेत भएको छ। यी सबै परिस्थिति देख्दा सर्वसाधारणलाई असाध्यै झाेंक चल्छ। मुलुकका विकास–निर्माण र अग्रगमनसम्बन्धी अनेक सवाल छन्। प्राथमिकतामा परेका अनेकन् काम सम्पन्न भएका छैनन्। तर राजनीतिक नेतृत्व वर्गको प्राथमिकता भने अन्यत्रै छ। यी यावत् कारणले आम नागरिकमा निराशा उत्पन्न भएको छ। हिजोका आन्दोलनकालीन आदर्शको विघटन नागरिक निराशाको प्रमुख कारण हो। राजनीतिक नेतृत्वकर्ताले यस्ता विषयमा बेलैमा ध्यान पु¥याउँदा नै आफ्नो सम्मानले निरन्तरता पाउनेछ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App