विचार

साग तयारीमा सरकार

अमेरिकी पूर्व प्रधानन्यायाधीश अर्ल वारेनले खेलको महŒवबारे दिएको अभिव्यक्ति मननयोग्य छ। उनले भनेका छन्, ‘म जहिल्यै खेलपृष्ठ पहिले पल्टाउँछु। खेलपृष्ठमा मानिसका उपलब्धिको अभिलेख हुन्छ तर पहिलो पृष्ठमा मानिसको असफलताबाहेक केही फेला पर्दैन।’ हाम्रो खेल पूर्वाधारका सन्दर्भमा समेत वारेनका यी शब्द स्मरणयोग्य भएका छन्। यतिबेला १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा मुलुक जुटिरहेको छ। त्यसका लागि संरचना निर्माणको काम अन्तिम घडीसम्म पनि चलिरहेको छ। खेलाडीले जसरी मुलुकका लागि सफलता हासिल गरेर गौरवान्वित तुल्याएका छन्, त्यही तहको सफलता राजनीतिक क्षेत्रले प्राप्त गर्न सकेको छैन। खेल संरचनामा भइरहेको अन्तिम तयारीले हाम्रो राजनीतिक क्षेत्रको असफलतालाई उजागर गरेको छ। समयमै यी पूर्वाधार तयार पार्न सकेको भए सागको आयोजना सहज हुन सक्थ्यो। हाम्रो एक मात्र अन्तर्राष्ट्रिय खेल मैदान दशरथ रंगशालामा अन्तिम घडीमा समेत निर्माण कार्य चलिरहेको छ। खेलाडीलाई स्वागत गर्ने बेलासम्म पनि निर्माण कार्य भइरहनुले हाम्रो तयारीको यथार्थ स्थितिलाई देखाएको छ। पोखरा र वीरगन्जका खेल मैदानको निर्माण कार्यसमेत अन्तिम बेलासम्म भइरहेको छ। अहिले भएको यो खेल आयोजनासमेत पटक–पटक समय परिवर्तन गर्दै भएको हो। यसअघि दिइएको समयसीमा निर्माण कार्य समयमा सम्पन्न हुन नसकेकाले दुई पटक सार्नु परेको हो। समयमा निर्माण पूरा नभएको र तयारीको कामसमेत हुन नसक्दा यस्तो स्थिति देखिएको हो।

खेलमन्त्री जगतबहादुर विश्वकर्मा तयारीका लागि केही समयअघि आफै दशरथ रंगशालामा देखिएका थिए। मन्त्री आफै खेल मैदानमा पूर्वाधार तयारीका लागि सक्रिय हुनु सुखद पक्ष हो। तर, यसले हाम्रो सिंगो संयन्त्रको असफलतालाई समेत प्रकट गर्छ। रंगशाला र अन्य भौतिक पूर्वाधार निर्माणका लागि मन्त्री आफै मैदानमा उत्रिनु पर्ने बाध्यता संरचनागत असफलताबाटै सिर्जित भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र उनका मन्त्रीहरूले सार्वजनिक निर्माण कार्य समयमै पूरा गर्न पटक–पटक निर्देशन दिने गरेको देखिन्छ। सरकारको उपल्लो तहबाट निरन्तर निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिँदा पनि काम हुन सक्दैन। वास्तवमा २०७२ को भूकम्पले हाम्रा अन्य संरचनासँगै खेल पूर्वाधारसमेत ध्वस्त पारेको थियो। त्यसको निर्माण नेपाल सरकारको तर्फबाट सम्पन्न हुन सकेन। रंगशालालगायतको निर्माण कार्यमा विदेशी सहयोग प्राप्त भएको छ। चीन सरकारले दशरथ रंगशाला निर्माणमा सहयोग गरेको छ। भूकम्पले ध्वस्त पारेका संरचनाका हिसाबले मात्र होइन, सामान्य बेलामा समेत यस्ता संरचनालाई तयारी अवस्थामा राख्नुपर्छ भन्ने हेक्का सरकारले राखेको देखिँदैन। खेल क्षेत्रमा गरेको लगानी यथार्थमा मुलुकको गौरवका लागि हो भन्ने भावनाको विकास अझै भएको छैन। आफ्ना संरचनाहरूलाई जहिल्यै राम्रो अवस्थामा राख्नुपर्छ भन्ने चेतना वृद्धि नभई अहिलेको अवस्थाबाट मुक्ति पाउन सम्भव छैन। अन्यथा, अन्तिम घडीसम्म काम गरिरहनुपर्ने अवस्था रहन्छ। यसरी हतारमा गरिएको काम लतपत हुने सम्भावना पनि त्यत्तिकै रहन्छ। कतिपय अवस्थामा खेल आयोजनाका लागि गरिएको हतारको निर्माणमा अनियमिततादेखि त्यसको गुणस्तरबारे समेत यसअघि प्रश्न उठेका छन्। आन्तरिक खेल आयोजनाका बेला देखिएको त्यो बेथिति अहिले अन्तर्राष्ट्रिय खेलका क्रममा नदोहोरिएला भन्न सकिन्न।

हाम्रो खेल क्षेत्र जहिल्यै राजनीतिक विवादबाट आक्रान्त छ। खेलसम्बन्धी संघ तथा संस्थाको अवस्था कसैको नजरबाट लुकेको छैन। जहिल्यै सत्तारुढ दलले त्यसमा आफ्नो प्रभाव विस्तार गर्न चाहेको देखिन्छ। खेल क्षेत्रको स्वाभाविक विकास चाहने हो भने यस किसिमको राजनीतीकरण रोकिनु पर्छ। अहिले भौतिक पूर्वाधार निर्माणमा देखिएको अवरोध पनि खेल क्षेत्र अति राजनीतीकरणको सिकार भएकै कारण देखिएको हो। सागको तयारीका लागि धेरै गर्न सक्ने अवस्था छैन। खेलाडीले खेल मैदान समयमै तयार नहुँदा अभ्यास गर्न पाएका छैनन्। पौडीको तयारी गर्नुपर्ने खेलाडीका लागि पनि यही अव्यवस्थाले अलमलमा पारेको छ। साग खेलमा विगतमा नेपालले यथेष्ट सफलता हासिल गर्ने गरेको थियो। तर, अहिले तयारी नपुगेकाले अपेक्षित परिणाम हासिल गर्न सक्ने अवस्था देखिँदैन। विगतमा कराँतेतर्फ नेपालले उल्लेख्य सफलता हासिल गर्दै आएको थियो। नेपालले विगतमा हासिल गरेका उपलब्धिमा अहिले भारतलगायत अन्य दक्षिण एसियाली मुलुकको वर्चश्व देखिन थालेको छ। अन्तिम घडीसम्म अहिले भइरहेको तयारी र निर्माण कार्य भविष्यका लागि पाठ बन्न सक्नुपर्छ। यही गल्ती भविष्यमा पनि देहोरिने हो भने खेल क्षेत्रको उपलब्धि धेरै टाढा हुनेछ। खेलले नेपालीमा गौरव बढाउने काम गरेको छ। राष्ट्रिय भावनालाई समेत यसले उजागर गर्छ। यसकारण पनि भविष्यमा नेपालले खेलमा सफलता हासिल गर्ने हो भने भौतिक पूर्वाधारलाई दुरुस्त राख्ने गरी काम गर्नुपर्छ। साग खेलमा हाम्रा खेलाडीको उपलब्धिको कामना गर्छौं।

प्रकाशित: १२ मंसिर २०७६ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App