सभामुख कृष्णबहादुर महराको चरित्र विचलनको घटना संसदीय इतिहासमा उल्लेख हुनेछ। राज्यका तीन प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका प्रमुख हुने व्यक्तिमा उच्च नैतिक चरित्रको अपेक्षा गरिएको हुन्छ। शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यका यी तीन अंगमा एकले अर्काेलाई सन्तुलन र नियन्त्रणमा राख्छन्। यसो भएमा कुनै एउटा अंग हाबी भई जथाभावी निर्णय हुन पाउँदैन। तर कुनै एउटा अंगको प्रमुखमा नैतिक प्रश्न उठेर पदबाट हट्नुपर्ने अवस्था आउनु आफैंमा त्यो संस्थाका निम्ति पनि घाटा हुने पक्ष हो। उच्च नैतिक चरित्र भएका व्यक्तिहरूबाट मात्र लोकतन्त्रका संस्थाहरूलाई बलियो बनाउने गरी काम गर्ने ल्याकत रहन्छ। मुलुकको राजनीतिमा शालीन र समन्वयकारी व्यक्तिका रूपमा चिनिएका महरामाथि लागेको आरोप र त्यसपछि घटनाक्रमले लिएका घुम्ती र मोडहरूले झनै बढी शंकाको घेरामा राखेका छन्। यसले महरालाई व्यक्तिगत रूपमा मात्रै घाटामा पारेको छैन, लोकतन्त्रको सर्वोच्च संस्था प्रतिनिधिसभालाई समेत प्रभावित गरेको छ। त्यति मात्र होइन, दुई तिहाइ बहुमत रहेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि समेत यसले गम्भीर प्रश्न खडा गरेको छ। विशेषगरी नेकपा अध्यक्ष पुष्पकमल दाहालमाथि अर्को एउटा बज्रपातजस्तै भएको छ। कारण, उनले जसलाई भनेर सधैं कुनै न कुनै महŒवपूर्ण पद सुरक्षित गरेका थिए, तिनैलाई हटाउन आफैंले प्रस्ताव गर्नुपरेको छ।
महराले आफूमाथि छानबिन गरियोस् भनी सभामुखबाट राजीनामा गरी मार्गप्रशस्त गरेका छन्, त्यो प्रशंसनीय छ। उनले आफूमाथिको आरोपको छानबिन गराई सबैलाई विश्वस्त तुल्याउन सक्दा मात्र अहिलेको पद्धतिमाथि घट्दै गएको विश्वास बचाउन सकिन्छ।
वास्तवमा तत्कालीन नेकपा (माओवादी) ले ‘सामाजिक सुधार’का लागि जेहाद छेडेका हो। जाँडरक्सी खानेहरूविरुद्ध माओवादीले गरेको ‘भाटे कारबाही’मा परेकाहरूले अहिले पनि पीडा बिर्सेका छैनन्। तर तिनै कमरेडहरूका निम्ति मदिरा ‘प्रिय पेय’ रहेको देखिएकै छ। त्यसैगरी महिलाको उत्थानका निम्ति तिनलाई ‘जनयुद्ध’मा सरिक गराएको संगठन पनि हो माओवादी। तर अहिले आएर महिलासम्बन्धी विषय उठेर पटकपटक पूर्वमाओवादीलाई आक्रमण गर्ने अवस्था सिर्जना भएको छ। यो कुराले पक्कै त्यो पक्षलाई अप्ठ्यारोमा पारेको छ। वास्तवमा राजनीति गर्ने र उच्च ओहदामा पुग्ने व्यक्तिले जीवनमा धेरै कुरा परित्याग गर्नुपर्ने हुन्छ। जुन गल्ती सर्वसाधारणले गर्दा धेरै ठूलो अर्थ लाग्दैन तर त्यस्तै गति उपल्लो ओहदामा रहेका व्यक्तिमा रहँदा गम्भीर असर पर्छ। यस्ता व्यक्तिले अरूलाई प्रेरणा दिन सक्नुपर्छ। त्यसो हुँदा भविष्यका नेपालीले समेत हाम्रा पूर्वजहरूले यस्तो महान् कार्य गरेका थिए भनी सम्झन सक्छन्। यो प्रकरण भने अन्यका निम्ति पनि एउटा गम्भीर पाठ बन्न पुगेको छ।
यो घटना सार्वजनिक भएपछि जसरी महरा आरोपित भए, सभामुख पदबाट राजीनामा गरे र फेरि उनले त्यसो गरेका थिएनन् भनेर आरोप लगाउने महिलाले आफ्ना अभिव्यक्ति फेरेकी छन्। महराले नखाएको विष लागेको हो भने ठूलो अन्याय हो। तर गल्ती गरिसकेपछि फेरि ढाकछोप गर्न ती महिला र तिनका परिवारमा दबाब दिएर बयान फेरिएको हो भने त्यो झनै अक्षम्य अपराध हो। कानुनतः गल्ती गरिसकेपछि सजायको भागीदार हुन सबैले तयार हुनुपर्छ। सर्वसाधारणले यस्तै प्रकृतिको अपराध गर्दा जेजस्तो कारबाही हुन्छ, उच्च पदस्थ व्यक्ति भएकै आधारमा उन्मुक्ति हुन्छ भने त्यसले पनि न्यायिक समाज निर्माणमा मद्दत पुग्दैन। हामीले बसाउन खोजेको शासन व्यवस्था कानुनको दृष्टिमा सबै बराबर हुन् भन्ने हो। महराले आफूमाथि छानबिन गरियोस् भनी सभामुखबाट राजीनामा गरी मार्गप्रशस्त गरेका छन्, त्यो प्रशंसनीय छ। उनले आफूमाथिको आरोपको छानबिन गराई सबैलाई विश्वस्त तुल्याउन सक्दा मात्र अहिलेको पद्धतिमाथि घट्दै गएको विश्वास बचाउन सकिन्छ। यो तहका उच्च पदस्थ व्यक्तिको यसरी पदच्यूत भएको घटना समकालीन विश्वकै निम्ति ठूलो घटना हो। यसबाट पाठ सिक्दै भविष्यमा यस्ता पदमा पुग्ने र पु¥याइने व्यक्तिको चयनमा गम्भीर हुनुपर्ने देखिएको छ।
प्रकाशित: १६ आश्विन २०७६ ०४:२७ बिहीबार