अहिलेको युगलाई मानवशास्त्रीहरू ‘एनथ्रोपोसेन’ अर्थात् ‘संसारलाई मान्छेले राज्य गरेको समय’ भन्ने गर्छन्। मानवले यन्त्र–उपकरण उपयोग गरी आफ्नो जीवन सहज मात्र तुल्याएको छैन, त्यसैका माध्यमबाट सारा प्राणी र वनस्पति जगत्मा आफ्नो प्रभावसमेत विस्तार गरेको छ। साझा पृथ्वीलाई मानिसले एकलौटी राज्य गरेको अवस्था छ। यससँगै नयाँ किसिमका चुनौती पनि सिर्जना भइरहेका छन्। सबैभन्दा ठूलो चुनौती विश्व तापमानमा भइरहेको वृद्धि हो। मानिसले आफ्ना विकासका निम्ति अत्यधिक कार्बन उत्सर्जन गरिरहेको छ। यसले पृथ्वीको तापमानमा परिवर्तन आइरहेको छ। जलवायुमा आएको परिवर्तनले नयाँ किसिमका चुनौती, प्राकृतिक विपत्ति र रोगको प्रकोप पनि बढ्दै गएका छन्। मानिसले यसअघि कमै अनुभव गरेका रोगबाट प्रभावित हुने अवस्था आएको छ। पहिले पहाडी क्षेत्रमा नभएका रोग र मौसमी प्रतिकूलता भोग्नुपरिरहेको छ। यतिबेला एक विशेष किसिमको लामखुट्टेको टोकाइबाट हुने डेंगीको चर्चा चलिरहेको छ। यसले मानवको रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव पार्छ र कालान्तरमा अन्य रोग लाग्न सक्ने अवस्थामा पु¥याउँछ। विशेषगरी काठमाडौं उपत्यका पहिले चिसो ठाउँ थियो तर अहिले यहाँका बासिन्दाले बढ्तै गर्मी महसुस गर्न थालेका छन्। यसको अर्थ यसअघि यहाँ नभएका कीटपतंग र जीवाणु विकास हुने अवस्था सिर्जना भएको छ। मानिसले आफ्नो विकास क्रममा विभिन्न रोगको सामना गर्नुपरेको थियो। त्यसै क्रममा स्वास्थ्य विज्ञान क्षेत्रमा विभिन्न औषधि, खोप र उपचार विधि विकास भएका हुन्। त्यति हुँदाहुँदै पनि मानिसमा नयाँ–नयाँ रोगको संक्रमण भई चुनौती खडा गरिरहेको छ। डेंगी पनि अहिले त्यस्तै चुनौतकीका रूपमा देखिएको छ। विगतमा एचआइभी/एड्स वा यस्तै अनेकन् चुनौतीसमेत देखिएका हुन्। तर समयक्रममा त्यसमा विजय प्राप्त गर्ने काम औषधि विज्ञानले गरेको छ।
डेंगी हाम्रा निम्ति नयाँ स्वास्थ्य चुनौती बनेर आएको छ। यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने आगामी वर्षहरुमा यसले झन् विकराल रुप लिन सक्छ।
यतिबेला नेपालका ७७ मध्ये ४२ जिल्लामा डेंंगीको प्रभाव देखिएको छ। त्यसमा पनि ५ जिल्लामा भने प्रकोपकै रूप लिएको छ। काठमाडौं उपत्यकाका नयाँवस्ती, खुसिबु, डल्लुलगायत क्षेत्रमा यसको संक्रमण देखिएको छ। अहिलेसम्म उपत्यकामा ७६ जनमा डेंगी प्रमाणित भइसकेको छ। देशभरि २ हजार ४ सय ७६ जनामा यो प्रमाणित भइसकेको छ। यही गतिमा काठमाडौंमा डेंगीको प्रभाव विस्तार हुने हो भने यसले ‘एटम बम’ कै रूप लिन सक्ने खतरासमेत यहाँका चिकित्सकले औंल्याइसकेका छन्। नेपालमा देखिएका ४ प्रकारका डेंगी भाइरसमध्ये ‘टाइप टु’ देखिएको छ। यसबाट एकपटक संक्रमित व्यक्ति अर्कोपटक पनि संक्रमण भएमा जटिल रूप लिई मृत्युसमेत हुन सक्ने अवस्था देखिएको छ। यसबाट बच्न हरेक घरपरिवारले लामखुट्टे नष्ट गर्ने अभियान चलाउनुको विकल्प छैन। डेंगी, लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसको टोकाइबाट विश्व जनसंख्याको आधा भाग मानिसमा संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ ले जनाएको छ। सन् १९७० भन्दाअघि ९ देशमा मात्र डेंगी फैलिएको थियो। अहिले यसको प्रभाव सयभन्दा बढी मुलुकमा छ। एडिस एजिप्टाई लामखुट्टेले डेंगी फैलाएको हो। पोथी लामखुट्टेले मानिसलाई टोकेपछि यसको संक्रमण हुन्छ। यो लामखुट्टे जमेको सफा पानीमा बस्छ र त्यही फुल पार्छ। गमलाका थाली, कुलर, चाउचाउका खोल, सडकका खाल्डाखुल्डीमा जमेको पानीमा यस्ता लामखुट्टेले फुल पार्छन्। यस्ता लामखुट्टे ३० देखि ४६ दिनसम्म बाँच्छन् र आफ्नो जीवनकालमा ९ पटकसम्म अन्डा पार्छन्। एक पटकमा डेढ सयभन्दा बढी अन्डा पार्ने यो लामखुट्टे ७ देखि १० जना मानिसलाई टोकेपछि मात्र अघाउँछ। यसको अन्डा लामो समयसम्म सुक्खा ठाउँमा सुरक्षित रहन सक्छ र पानीसँग सम्पर्क हुनासाथ लामखुट्टेमा परिणत हुन्छ। खासगरी यसले मानिसलाई दिउँसो टोक्छ।
सर्वसाधारणलाई डेंगीबाट जोगाउन जनचेतना अभिवृद्धिमा ध्यान दिनु उचित हुन्छ। यसका लागि नियन्त्रण वा रोकथामका उपाय अत्यावश्यक छन्। लामखुट्टेले अन्डा पार्न सक्ने ठाउँ नष्ट गर्न वातावरण व्यवस्थापनमा ध्यान दिनु पर्छ। वास्तवमा मानव निर्मित वातावरणीय समस्याका कारण डेंगीजस्ता प्रकोपले जनस्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेका छन्। यसका निम्ति स्वास्थ्य मन्त्रालयदेखि स्थानीय सरकारसम्मको ध्यान जानुपर्छ। लामखुट्टे नियन्त्रणका निम्ति उपयुक्त विषादी प्रयोग र घरबाहिर पानी संकलन गरिएका भाँडा व्यवस्थापन गर्न सकिन्छ। पानीमा रहेका लामखुट्टेका लार्भा खान सक्ने माछाका प्रजातिसमेत पाल्न सकिन्छ। घरका झ्यालढोकामा जाली हाल्ने, लामो बाहुला भएका लुगा लगाउने गर्नुपर्छ। डेंगी हाम्रानिम्ति नयाँ स्वास्थ्य चुनौती बनेर आएको छ। यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने आगामी वर्षहरूमा यसले झन् विकराल रूप लिन सक्छ। यसकारण पनि अहिले वातावरणीय सुधारमा ध्यान दिन जरुरी भइसकेको छ। मानव व्यवहारका कारण यस्ता समस्या दोहोरिएर आइरहेका छन्। गर्मी बढ्दो छ। त्यसकारण पनि अहिलेको तापक्रम बढ्न नदिन रणनीतिक हिसाबले सरकारले वातावरण सुधारमा ध्यान दिनुपर्छ। लामखुट्टे नियन्त्रणका निम्ति अहिल्यैदेखि सक्रियता आवश्यक छ। यसमा सरकारले केही गर्न सक्दैन भन्दै गैरजिम्मेवार जवाफ दिएको पनि सुनिन्छ। समस्या सबै ठाउँमा आउँछ। तर, त्यसबाट निस्किने उपाय खोजी गर्नुपर्छ। आखिर मानिसले यो धर्तीमा शासन गरिरहेका छन् भने त्यसमा सम्यक दृष्टि पनि त्यतिकै आवश्यक छ।
प्रकाशित: १९ भाद्र २०७६ ०४:५६ बिहीबार