विचार

बेहुली तस्करी

चेतनाथ आचार्य
 केही दिनअगाडि नेपाली सञ्चार जगत्मा नेपाली बेहुली चीनतिर तस्करी भन्ने समाचार चर्चित बन्यो। काठमाडौंमा खुलेका कथित म्यारिज ब्युरोहरूले चिनियाँसँग मोलतोल गरेर नेपाली चेलीलाई बेहुलीका रूपमा तस्करी गरिरहेको कुरा उक्त समाचारमा उल्लेख थियो।

नेपाली चेलीले चीनमा बिहे गर्ने चलन १४ सय वर्षअगाडि भृकुटीबाट सुरु भएको हो। चीनको स्वायत्त प्रदेश तिब्बतसँग सीमा जोडिएका नेपालका जिल्लाका बासिन्दाले चिनियाँसँग वैवाहिक सम्बन्ध आदानप्रदान गर्दै आएका छन्। यो सामान्य प्रक्रिया भए पनि डेढ दशकदेखि दलालमार्फत चीनमा नेपाली बेहुली तस्करी भइरहेको छ। ६ वर्षदेखि बेइजिङमा बसेर काम गर्दा चीनमा बिहे गरेर बसेका दर्जनौं नेपाली चेलीसँग पंक्तिकारको कुराकानी भएको छ। फेसबुकजस्तै चीनमा लोकप्रिय विच्याटमा उनीहरू स्तम्भकारसँग जोडिएका हुन्। केहीसँग प्रत्यक्ष रूपमा भेट गर्ने मौका पनि मिलेको छ। कुराकानीका क्रममा उनीहरूले चीनमा बिहे गरेर आएको कुरा निकै मार्मिक ढंगले बताउँछन्।

आर्थिक अवस्था कमजोर भएका नेपाली महिलालाई विभिन्न प्रलोभन देखाएर चिनियाँसँग बिहे गराइएको छ। महिनाको लाखौं रुपैयाँ कमाउन पाइन्छ, सजिलैसँग हङकङ गएर काम गर्न पाइन्छ, चिनियाँहरू धेरै धनी हुन्छन्, सुखसयल दिन्छन्, पछि परिवारका अन्य व्यक्तिलाई पनि बोलाउन सकिन्छजस्ता सपना उनीहरूलाई देखाइएको छ। अधिकतर नेपाली महिलाको असमान उमेरका चिनियाँसँग बिहे भएको छ। कुनै चिनियाँको पहिले नै बिहे भएर सम्बन्ध–विच्छेद भएका छन्। चीनमा बिहे गरेर आएकी सोलुखुम्बुकी शेर्पा थरकी महिला बोल्न र कान सुन्न नसक्ने छिन्। उनी अहिले आमा बनिसकेकी छन्।

काठमाडौंमा गलैंचा बुन्ने, विभिन्न रेस्टुरेन्टमा काम गर्ने, ब्युटिपार्लर चलाउने, विदेश जान विभिन्न मेनपावर चहार्नेलगायत काठमाडौं आसपासका महिलालाई दलालले एक ठाउँमा बटुल्ने गर्छन्। चिनियाँले छानेपछि जिल्ला प्रशासन कार्यालयमा लगेर बिहे दर्ता गराइन्छ। बिहे गर्ने चिनियाँले नेपाली दलाललाई एकमुस्ट ७० हजारदेखि १ लाखसम्म युआन(१२ लाखदेखि १६ लाख रुपैयाँसम्म) दिन्छन्।

काठमाडौंमा गलैंचा बुन्ने, विभिन्न रेस्टुरेन्टमा काम गर्ने, ब्युटिपार्लर चलाउने, विदेश जान विभिन्न मेनपावर चहार्नेलगायत काठमाडौं आसपासका महिलालाई दलालले एक ठाउँमा बटुल्ने गर्छन्। तिनलाई चिटिक्क सिँगारेर चिनियाँका अगाडि उभ्याइन्छ। चिनियाँले छानेपछि जिल्ला प्रशासन कार्यालयमा लगेर बिहे दर्ता गराइन्छ। बिहे गर्ने चिनियाँले नेपाली दलाललाई एकमुस्ट ७० हजारदेखि १ लाखसम्म युआन(१२ लाखदेखि १६ लाख रुपैयाँसम्म) बुझाएको नेपाली नारी बिहे गरेका चिनियाँहरू बताउँछन्। दलालले नेपाली महिलाका परिवारलाई दिनुपर्छ भनेर चिनियाँबाट पैसा लिए पनि दिने गरेका छैनन्। चिनियाँसँग बिहे गरेका केही नेपाली महिलामा नेपालमा पहिले नै बिहे गरेर सन्तान जन्माइसकेका पनि छन्।

कुनै महिलाका श्रीमान्ले अर्की बिहे गरेका त छन् भने कसैका श्रीमान्ले छाडेका छन्। केही महिलाले चिनियाँ श्रीमान्लाई नेपालमा आफ्ना छोराछोरी भएको कुरा लुकाएका छैनन्। बेला–बेलामा उनीहरूले नेपालमा आफन्तलाई पैसा पनि पठाउने गरेका छन्। चिनियाँसँग बिहे गर्ने नेपाली महिलामा राई, गुरुङ, तामाङ, लिम्बू, शेर्पा जातिका धेरै छन् भने केही क्षेत्री÷बाहुन तथा दलित समुदायका पनि छन्। केही महिला नेपाल गएर परिवार भेटेर आउँछु भनी चिनियाँ श्रीमानलाई झुक्याएर नेपाल गएर नफर्किएका पनि छन्।

चीनमा बिहे गरेर आएका केही टाठाबाठा नेपाली महिलाले केही वर्षपछि नेपालबाट अन्य महिलालाई चिनियाँसँग बिहे गराउने काम पनि गरिरहेका छन्। चिनियाँबाट पैसा लिएर कसैले आफ्नै दिदी अथवा बहिनी वा आफन्तलाई चिनियाँसँग बिहे गराएका छन्।

 केही वर्ष अगाडिसम्म चिनियाँसँग बिहे गरेका नेपाली महिलाले हिंसा बेहोरेको गुनासा सुनिन्थे। अहिले त्यस्ता गुनासा खासै सुनिँदैनन्। अहिले नेपाली महिला राम्रोसँग चिनियाँ भाषा बोल्न सक्ने भएका छन्। बच्चा जन्माएपछि परिवारका सदस्यले राम्रो व्यवहार गरेको उनीहरूको भनाइ छ। सन् २०१५ को फेब्रुअरी ३ तारिख चीनको सान्तोङ प्रान्तको युन्छन काउन्टीमा बिहे गरेर आएकी काभ्रेकी २१ वर्षीया कल्पना तामाङले आफ्नो श्रीमान् र परिवारले हिंसा गरेको भन्दै उद्धार गरिदिन बेइजिङस्थित नेपाली दूतावासलाई अनुरोध गरिन्। दूतावासले सोधखोज गर्दा कल्पनालाई बिहे गरेर ल्याएका उ फुसिङले काठमाडौंको एक म्यारिज ब्युरो एजेन्सीलाई १ लाख युआन(चिनियाँ रकम) तिरेको कागज देखाए। पैसा तिरेर करार गरी बिहे गर्नु मानव बेचबिखन हुने भएकाले त्यही आधारमा दूतावासले कल्पनालाई उद्धार गरेर नेपाल पठायो। त्यसैगरी सोही वर्षको अगस्ट १ तारिख हैलुङचाङ प्रान्तमा बिहे गरेर आएकी धरानकी २२ वर्षीया रिना राईले चरम हिंसा भोग्नुपरेको भन्दै दूतावास गुहारिन्। उनी घरबाट भागेर प्रहरी कार्यालय पुगिन्।

प्रहरीले दूतावाससम्म पुग्ने वातावरण मिलाइदियो। त्यसपछि दूतावासको समन्वयमा उनी पनि नेपाल फर्किन पाइन्।    चीनबाट फर्किएकी ती महिलाले नेपाल प्रहरीमा उजुरी गरेपछि शेर्पा थरकी एक महिलाले बालुवाटारनजिक चलाएको म्यारिज ब्युरोलाई प्रहरीले कारबाही ग¥यो। म्यारिज ब्युरो बन्द भयो र सञ्चालक शेर्पा महिला थुनामा परिन्। त्यो कारबाहीपछि चीनमा बिहे गरेर आउने चलन केही कम भयो। चीनको हैलुङचाङ प्रान्तका पापा भनिने चिनियाँ दलालले चिनियाँलाई नेपालमा लिएर जाने र नेपालका स्थानीय दलालसँग मिलेर नेपाली महिलाको बिहे गराउने गरेको थाहा पाएपछि नेपाली दूतावासले चिनियाँ प्रशासनलाई पापा भन्ने व्यक्तिविरुद्ध कारबाही गर्न अनुरोध गरेको थियो।    चीनमा बिहे गरेर आएका विदेशी महिलाले काम गर्न पाउँदैनन्।

त्यसका लागि चीनको स्थायी बसोबास प्रमाणपत्र ‘चिनियाँ ग्रिनकार्ड’ लिएको हुनुपर्छ। चिनियाँ कानुनअनुसार चीनमा बिहे गरेर बसेको ५ वर्षमा ग्रिनकार्ड प्राप्त गर्न सकिन्छ। तर व्यवहारतः डेढ दशक बिताइसकेका नेपाली चेली कसैले पनि चिनियाँ ग्रिनकार्ड पाएका छैनन्। चिनियाँ ग्रिनकार्ड पाउन सामाजिक तथा आर्थिक अवस्था उच्च हुनुपर्छ। ठूलो लगानी गर्न सक्ने अथवा वार्षिक ठूलो मात्रामा कर तिरेको व्यक्ति मात्र चिनियाँ ग्रिनकार्डका लागि योग्य हुन्छन्। कानुनी रूपमा चीनमा बिहे गरेर बसेका नेपाली महिलाले ग्रिनकार्ड प्राप्त गर्ने मापदण्ड पूरा गरे पनि चीनले उनीहरूलाई ग्रिनकार्ड दिने सम्भावना न्यून छ।

चिनियाँसँग बिहे गर्ने विदेशी महिलामा सबैभन्दा धेरै भियतनामी छन्। भियतनामी महिला चलाख हुने भएकाले पछिल्लो समय चिनियाँले भियतनामबाहेक नेपाललगायत अन्य देशबाट बेहुली ल्याउन थालेका हुन्। चिनियाँ महिलासँग बिहे गर्ने सामथ्र्य नभएका गरिब चिनियाँ पुरुषहरूले भियतनामबाट बिहे गरेर ल्याउने चलन वर्षौंदेखिको चलन हो। सन् २०१५ जुनमा प्रकाशित युन्नान सूचना दैनिकले प्रकाशन गरेको ‘लिंक टाइम’ मासिक पत्रिकाले भियतनामी बेहुलीबारे ६ पृष्ठको बृहत् सामग्री छापेको थियो।

‘स्वर्गभन्दा नजिक’ शीर्षकमा प्रकाशित उक्त आलेखमा भियतनामी महिलाले चिनियाँसँग बिहे गर्ने प्रचलनबारे समीक्षा गरिएको छ। ‘स्वर्ग धेरै टाढा छ तर चीन नजिकै छ’ उक्ति भियतनाममा निकै लोकप्रिय छ। यो भनाइमा चिनियाँसँग बिहे गरेर चीनमा आउने भियतनामी महिलाको तीव्र इच्छा समेटिएको छ।

चिनियाँसँग बिहे गर्ने भियतनामी महिला चीनको दक्षिणमा पर्ने फुचियान र क्वाङ्सी प्रान्तमा अधिक छन्। यी प्रान्त भियतनामसँग जोडिएका छन्। पहिलेदेखि नै भियतनामी बेहुली चीनमा ल्याउने चलन भए पनि सन् २००२ देखि म्यारिज ब्युरोजस्ता दलाल एजेन्सीले यस्तो बिहे गराउन थालेका हुन्। सन् २०१० सम्ममा ४७ हजार भियतनामी महिलाले चिनियाँसँग बिहे गरिसकेको क्वाङ्सी विश्वविद्यालयका प्रोफेसर लुओ वनछिङलाई उद्धृत गर्दै उक्त म्यागेजिनले जनाएको छ। क्वाङ्सी प्रहरीले सन् २०११ मा ६५ हजार भियतनामी महिला विवाह दर्ता नगरीकन चीनमा बसोबास गरिरहेको बताएको थियो। कतिपय भियतनामी महिला पैसा लिएर चिनियाँसँग बिहे गर्ने र सुटुक्क भागेर आफ्नै देश फर्किने गर्छन्।

भियतनाम र चीनको सांस्कृतिक चलन र रहनसहन मिल्दोजुल्दो हुन्छ। चिनियाँ सीमा क्षेत्रमा बसोबास गर्ने भियतनामी चिनियाँ भाषा राम्रोसँग बोल्न सक्छन्। नेपालीलाई जस्तै झुक्याएर बिहे गरेमा उनीहरू आफ्ना चिनियाँ श्रीमान्को पैसा गुटुमुटु पारेर भियतनामतिरै टाप कस्छन् र अर्कोपटक अर्को चिनियाँसँग बिहे गर्छन्। नेपाली महिलासँग यस्ता कुनै विकल्प रहँदैनन्। नेपाली र चिनियाँको भाषा, संस्कृति, रहनसहन केही मिल्दैन। यसैकारण चिनियाँसँग बिहे गरेका नेपाली महिलाले विभिन्न प्रकारका समस्या झेल्नुपरिरहेको हो।
 (आचार्य चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआई नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।)

प्रकाशित: १९ भाद्र २०७६ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App