विचार

ह्याकर हमला

आधुनिक आर्थिक कारोबारमा सबैभन्दा सुरक्षित विधि बैंकिङ प्रणाली मानिन्छ। त्यही भएर पुराना साहुकारका ठाउँ बैंकले लिएका छन्। बैंकले निक्षेपलाई सुरक्षित राखिदिने मात्र होइन, अचेल यी जीवनको अभिन्न अंग बनेका छन्। तिनले आवश्यकताअनुसार दैनिक कारोबारमा व्यक्तिलाई सहयोग पु¥याउँछन्। आफ्नो सम्पत्तिसमेत बैंकमै राख्न सकिने व्यवस्था छ। व्यक्तिबीचको कारोबारमा पनि बैंकिङमार्फत गरिएको चाहिँ सबैभन्दा भरपर्दो प्रमाणका रूपमा रहन्छ। त्यसमा पनि आधुनिक जीवनशैलीलाई प्लास्टिकका पैसा (भिसा कार्ड)मार्फत सहज बनाइएको छ। त्यसैले नोटको गड्डी बोक्नुभन्दा त्यसलाई सामान्य कार्डका रूपमा लिएर हिँड्न सहज भएको छ। ठूलो लगानीका उद्योगधन्दा चलाउन होस् वा अन्य विकास निर्माणका काम, बैंक नभइनहुने भइसकेको छ। बैंकमा पहिले सीमित मानिसको मात्र पहुँच थियो। तर अहिले करिब ४५ प्रतिशत वयस्क नेपालीसँग बैंक खाता रहेको तथ्यांक छ। यस आधारमा अझै करिब ३ करोड जनसंख्या रहेको मुलुकमा नागरिकको ठूलो हिस्सा बैंकिङ प्रणालीबाट टाढै छ। तर, यसको विस्तार बढ्दो छ। यसले दिने सेवाको गुणस्तर पनि बढ्दै गएको छ। केही वर्ष अघिसम्म बैंकमा रकम राख्न र झिक्न लाग्ने समय र अहिले उपलब्ध सुविधाबीच निकै ठूलो अन्तर छ।

मोबाइल बैंकिङको अवधारणा आइसकेपछि घरमै बसेर कारोबार गर्न सकिने सुविधा छ। डेबिट वा क्रेडिट कार्डका माध्यमबाट आवश्यकता परेका बेला रकम निकाल्न मात्र होइन, सेवा वा वस्तु खरिदसमेत गर्न सकिने भइसकेको छ। यससँगै बैंकिङमा नयाँ किसिमका चुनौती पनि देखिएका छन्। कुनै बेला बैंक लुट्नु वा ठग्नु भनेको निकै गाह्रो काम मानिन्थ्यो। सितिमिति यस्ता घटना हुन पाउँदैनथे। तर, अहिले आधुनिक प्रविधिले बैंकिङ सेवालाई सहज मात्र तुल्याएको छैन, चुनौतीपूर्ण पनि बनाएको छ। उत्तरको छिमेकी देश चीनबाट आएका ह्याकरहरूले काठमाडौंका बैंक एटिएम (अटोमेटेड टेलर मसिन) अर्थात् ‘क्यास मसिन’मा प्रविधि दुरुपयोग गरी रकम निकालेको घटना निकै गम्भीर बनाउने किसिमको छ। र, यो पहिलो घटना पनि होइन। यसरी पटक–पटक हाम्रो बैंकिङ प्रणालीमा आक्रमण गरी रकम निकाल्ने अवस्था आउनु आफैंमा चिन्ताको विषय हो। केही घण्टाकैबीच एटिएमबाट १ करोड २६ लाख २९ हजार रुपैयाँ निकाल्न ह्याकरहरू सफल भएको घटनाबाट यहाँको बैंकिङ प्रणालीमा सुधार गर्नुपर्ने ठाउँ प्रशस्त रहेको देखाउँछ। खासमा यसपटक बैंकिङ क्षेत्रकै व्यक्तिहरूले अस्वाभाविक ढंगले कारोबार भइरहेको संकेत पाएपछि बेलैमा प्रहरी परिचालन हुने अवस्था सिर्जना भएका कारण मात्र यी लुटेरा समातिन सफल भएका हुन्। र, यसमा प्रहरी जति छिटो परिचालन भएर तिनलाई समात्न सक्यो, त्यो आफैंमा ठूलो सफलता हो। अन्यथा, यही घटनाले प्रहरी मात्र होइन, सरकारको समेत निकै आलोचना हुन्थ्यो। धन्य, ती समयमै समातिए ! तर, नसमातिएका भए र यो घटना लामो समयसम्म रहस्यकै रूपमा रहेको भए सर्वसाधारणमा यसले नकारात्मक प्रभाव पार्न सक्थ्यो। त्यति मात्र होइन, बैंकिङ प्रणालीप्रति बढ्दै गएको विश्वास झन् कम भई सर्वसाधारणले आफ्नो रकम झिक्न लाम लाग्ने अवस्था आउन पनि सक्थ्यो। तर, यसबीच राष्ट्र बैंकलगायत सबै बैंकले सर्वसाधारणको रकम सुरक्षित रहेको सन्देश प्रवाह गरेका छन्।

यस घटनाबाट सिक्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाठ भनेको बैंकहरूले आफ्नो प्रणालीलाई बेलाबेला अद्यावधिक गर्न सक्नुपर्छ। यसै पनि हामीकहाँ बैंकहरू राम्रो नाफा कमाउने संस्थाका रूपमा स्थापित छन्। एकातिर, तीन खम्बे आर्थिक नीतिका कारण सहकारीलाई समेत अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रूपमा लिइएको छ। तर, सहकारीमार्फत लगानी सुरक्षित नभएको गुनासोसमेत गर्ने गरिएको छ। यस अर्थमा बैंकतर्फ सर्वसाधारणलाई आकर्षण गराउने सरकारको समेत नीति छ। बैंकमा राखेको सम्पत्ति जसरी पनि सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी गराउँदै यसमै बानी गराउनुपर्ने अवस्था छ। यसो भयो भने अनौपचारिक अर्थतन्त्र औपचारिक रूपमा आई मुलुकको यथार्थ अवस्था जान्न पाउने वातावरण बन्छ। छाया अर्थतन्त्रका कारण औपचारिक अर्थतन्त्रलाई नकारात्मक प्रभावसमेत नपर्ने अवस्था आउँछ। यसकारण बैंकहरूले बेलैमा आफ्नो प्रणाली अद्यावधिक गर्न सक्नुपर्छ। अहिले प्रभु र नबिल बैंकबाट एटिएममार्फत रकम चोरिएको हो। बैंकको रकम अवैध रूपमा विदेशमा स्थानान्तरण गराएको घटना  २०१७ नोभेम्बरमा भएको थियो। त्यतिबेला एनआइसी एसिया बैंकबाट ४४ लाख अमेरिकी डलर अवैध स्थानान्तरण गराइएको थियो। यी घटनाबाट समयमै शिक्षा लिएर आफ्नो कारोबार सुरक्षित गराउन बैंकहरूले ध्यान दिन जरुरी छ। आफ्नो मुलुकमा आउने विदेशी व्यक्तिहरूको उद्देश्य बेलैमा बुझ्ने र विश्लेषण गर्ने क्षमता विकास गर्न पनि उत्तिकै आवश्यक छ। त्यसो हुँदो हो त ह्याकरहरूले सजिलै बैंकिङ प्रणालीमा प्रवेश गरी रकम लुट्न सक्ने अवस्था आउने थिएन। आधुनिक सूचना प्रविधि उपयोग नगरी पनि भएको छैन। तर यसलाई बढीभन्दा बढी सुरक्षित बनाउन र त्यसका निम्ति समर्पित कर्मचारीहरू खटाउन आवश्यक छ। ह्याकरबाट बैंक र सरकारी संरचनामा पटक–पटक आक्रमण भइरहेका छन्। यहाँको प्रणालीमा कस्ता विदेशी सामान र प्रविधि उपयोग भएका छन् ? कर्मचारी कति दक्ष छन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ। नागरिकलाई आफ्नो बचत रकम सुरक्षित भएको सन्देश दिन आवश्यक छ।

प्रकाशित: १८ भाद्र २०७६ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App