विचार

डेंगीका लक्षण र बच्ने उपाय

–डा. केदार कार्की
डेंगी एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगीको भाइरसबाट संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यस्ता लामखुट्टे ग्रामीणभन्दा भन्दा सहरी क्षेत्रमा बढी हुन्छन्।

खासगरी टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानी ट्यांकी आदिमा यसले फूल पार्छ। सहरी क्षेत्रमा यस्ता भाँडा÷वस्तु पर्याप्त मात्रामा हुने भएकाले पनि यो जातका लामखुट्टे सहरमा बढी देखिने गरेका हुन्। एडिस एजिप्टाई र एडिस एल्बोपेक्टस नामका लामखुट्टेले टोकेर हुने तीव्र भाइसल संक्रमण हो– डेंगी। यो भाइरस डेंगी–१, डेंगी–२, डेंगी–३ र डेंगी–४ गरी चार प्रकारका हुन्छन्। एडिस लामखुट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्ला पनि देखिन्छ। यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ। औलो रोग फैलाउने लामखुट्टे फोहोर पानीमा पाइने भए पनि डेंगी सार्ने लामखुट्टेले स्वच्छ पानीमा फूल पार्छ।

डेंगी रोग क्लासिक डेंगी, हेमोरहेजिक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन्। गल्तीले डेंगु भनेर लेखिने डेंगी लामखुट्टेको टोकाइबाट सर्ने र शीतोष्ण र समशीतोष्ण भू–भागमा फैलिने रोग हो। यो रोग डेंगी भाइरसका कारण लाग्ने गर्छ। यो रोग निको हुन २ देखि ७ दिनसम्म लाग्छ। केही बिरामीमा यो रोग डेंगी हेमोरेजिक फिबर बढेर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ।

डेंगीविरुद्ध खोप र खास उपचारसमेत नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो। डेंगीको शंका लाग्नासाथ नजिकैको स्वास्थ्य संस्थामा गइहाल्नुपर्छ।

यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ। त्यस्तै डेंगीको अर्को विकसित रूप हो– डेंगी  सक सिन्ड्रोम। यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ। डेंगी धेरै प्रजातिका लामखुट्टेबाट मानिसमा सर्न सक्छ। यो रोगका भाइरस ५ प्रकारका छन्। तीमध्ये कुनै एकको संक्रमण भएमा हाम्रो शरीरले जीवनभरका लागि त्यस प्रजातिको भाइरसविरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्छ। तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिका भाइरसविरुद्ध छोटो अवधिका लागि मात्र काम गर्छ।

एकपछि अर्को गरी लगातार हुने संक्रमणले गम्भीर खतरा बढाइदिन्छ। डेंगी पहिचान गर्न धेरै परीक्षण उपलब्ध छन्। जसअनुसार बिरामीको रगतमा डेंगी भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टिबडी वा उक्त भाइरसको आरएनए पत्ता लगाउने गरिन्छ। केही देशमा डेंगी संक्रमणबाट बचाउन एउटा खोपलाई मान्यता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन। भर्खरै देखापरेको मन्द वा मध्यम खालको डेंगी छ भने मुखबाट वा नसाबाट तरल पदार्थ दिएर उपचार गरिन्छ। गम्भीर खालको डेंगीको उपचार गर्न बिरामीलाई रगत दिनु आवश्यक हुन्छ। यो रोगका कारण प्रत्येक वर्ष विश्वमा ५ लाख मानिस अस्पताल भर्ना हुने गरेका छन्। डेंगी लागेका बेला इबुप्रोफिनजस्ता ननस्टेरोइडल एन्टी इन्फ्लामेन्टरी औषधि प्रयोग गर्नु हुँदैन।

डेंगी दोस्रो विश्व युद्धदेखि विश्वव्यापी समस्या बनेको हो। हाल यो रोग विश्वका ११० देशमा फैलिएको छ। हरेक वर्ष यो रोगका कारण ५ करोडदेखि ५ करोड २८ लाखसम्म मानिस बिरामी पर्ने गरेका छन्। जसमध्ये करिब १० देखि २० हजारसम्म मानिसको मृत्यु हुने गरेको छ। डेंगीको महामारीबारे सन् १७७५ मा लिखित तथ्य भेटिएको हो। यो रोग भाइरसका कारण लाग्ने र लामखुट्टेबाट सर्ने गरेको तथ्य बीसौं शताब्दीमै पत्ता लागेको थियो। लामखुट्टेलाई निर्मूल पार्न असम्भव भएजस्तै भएकाले सीधै भाइरस नियन्त्रण गर्ने औषधिहरूबारे पनि अध्ययन जारी छ।

लक्षणहरू  
सामान्यतया डेंगी भाइरसको संक्रमण भएका करिब ८० प्रतिशत मानिसमा  कुनै लक्षण देखिँदैन वा देखिए पनि हल्का ज्वरोजस्ता सामान्य लक्षण मात्र देखिन्छन्। संक्रमितमध्ये ५ प्रतिशत मानिसमा गम्भीर प्रकारको डेंगी लाग्ने गर्छ भने तीमध्ये निकै कमको मात्र मृत्यु हुने गर्छ। यो रोग छिप्पन ३ देखि १४ दिनसम्म लाग्ने भए पनि धेरैजसो बिरामीमा यो रोगले ४ देखि ७ दिनसम्ममा  पूर्णता पाउँछ।

त्यसैले यसको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसमा घर पुगेको १४ दिनपछि डेंगी वा अन्य लक्षण देखापर्ने सम्भावना हुँदैन। प्रायः बालबालिकामा डेंगी संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षण देखिने गर्छन्।

बालबालिकामा विभिन्न जटिलता देखापर्ने जोखिम पनि अन्यलाई भन्दा बढी नै हुन्छ। डेंगी पहिचानका लागि मुख्य लक्षणहरू अचानक ज्वरो आउने, टाउको दुख्ने तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन्। यस्ता बिरामीका मांसपेशी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ।

बच्ने उपाय
डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने तथा लामखुट्टेको वृद्धि रोक्ने। पानी जम्न सक्ने भाँडाहरू जस्तै ः गमला फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न नदिने।

पानीका ट्यांकी लामखुट्टे छिर्न नसक्ने छोपेर राख्ने। कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने। फूलदानीमा भएको पानी हप्तामा दुईपटक फेर्ने। लामखुट्टेले दिउँसो टोक्ने हुँदा बाहुला भएका वा शरीर ढाक्ने लुगा लगाउने। सम्भव भएसम्म दिउँसै सुत्दा पनि झुल प्रयोग गर्ने तथा साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउने।

लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ। घरका झ्याल–ढोकामा जाली लगाउनु पनि उपयुक्त हुन्छ। घरवरिपरि सफा राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने। स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गरिन्छ। डेंगी ज्वरोविरुद्धको खोप र खास उपचारसमेत नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो। डेंगीको शंका लाग्नासाथ नजिकैको स्वास्थ्य संस्थामा गइहाल्नुपर्छ।

प्रकाशित: ९ भाद्र २०७६ ०३:४० सोमबार

डेंगी लक्षण उपाय