विचार

महिला मेलामा उद्यमको उज्यालो

मेला भेला मात्र हैन। मेलालाई मनोरञ्जनको अर्थमा मात्र पनि बुझिन हुन्न। यो एकप्रकारको उत्सव अवश्य हो तर उत्सव मात्र पनि हैन। खासमा मेलाले सन्देश दिन सक्नुपर्छ। केका लागि किन आयोजना गरियो र त्यसले दर्शक/अवलोकनकर्ताबीच कस्तो छाप छाड्यो भन्ने सवाल महत्वपूर्ण हुन्छ। यसरी हेर्दा मेलाका बहुआयामिक पक्ष छन् तर मुख्य कुराचाहिँ यसले प्रवाह गर्ने ज्ञान/सिप नै होभन्दा अत्युक्ति हुने छैन।  

मेलाका आयोजक सबैको आआफ्नै उद्देश्य हुन्छ। उद्देश्यबिनाको मेला भीड मात्र सावित हुन्छ जसले न कुनै सन्देश पस्कन सक्छ न त कुनै ज्ञानगुनकै कुरा बाँड्ने हैसियत राख्छ। यसै सन्दर्भमा महिला उद्यमी महासंघ नेपालले पनि प्रत्येक वर्ष मेला आयोजना गर्दै आएको छ। जसको उद्देश्य महिला उद्यमशीलता प्रवर्द्धन गर्नु रहेको छ। महिला सशक्तीकरण महिला उद्यमशीलतामार्फत मात्र सम्भव छ भन्ने मान्यतामा विश्वास गर्ने भएकै कारण महासंघले नौ वर्षदेखि मेला आयोजनालाई प्राथमिकतामा राख्दै आएको हो।  

अर्को अर्थमा मेला मिलन पनि हो। जहाँ देश/विदेशका हजारौँ मानिसको मिलन हुन्छ। मिलन भौतिक उपस्थितिको मात्र हैन, ज्ञानको पनि हुन्छ। बुद्धिको पनि हुन्छ। अनि सिप आदान–प्रदानको पनि हुन्छ। त्यति मात्र हैन, मिलन उद्यमशीलता किन आवश्यक छ भन्ने तर्कमा पनि हुन्छ र सशक्तीकरणका लागि यो जरुरी छ भन्ने मतमा पनि हुन्छ। त्यसैले महिला उद्यम व्यापार मेला त्यस्तो मिलन विन्दु हो जहाँ सबै कुरा उद्यमबाटै सुरु भएर उद्यममै गएर टुंगिन्छ। यस्तो मेलाको नवौँ संस्करणसम्म आइपुग्दा प्राप्त ज्ञानमा आधारित छ यो निष्कर्ष।  

मेला र उद्यमशीलता
महिला उद्यमी महासंघले प्रथमपटक सन् २०१६ मा प्रथम अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गरेको थियो। महासंघमा आबद्ध १८ वटा जिल्ला संघले भाग लिएका यो मेला १० हजारले अवलोकन गरेका थिए। यसरी सुरु भएको मेला बर्सेनि आयोजना हुने क्रममा पाँचौँ मेलाचाहिँ निकै स्मरणीय रह्यो। कोभिड–१९ ले मुलुकलाई ग्रस्त तुल्याएको बेला आयोजित यो मेला अनलाइन प्रदर्शनीमार्फत भएको थियो। यस्तो बेला पनि करिब एक लाख १७ हजार जनाले अवलोकन गरेका मेलामा २४ वटा जिल्ला संघहरूको सहभागिता रहनु चानचुने उपलब्धि थिएन।

सन् २०२२ मा आयोजित छैटौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला पाँच दिनसम्म चलेको थियो। जसमा १०६ वटा स्टल थिए भने करिब ४० हजारले अवलोकन गरेका थिए। अघिल्ला वर्षको मेलाको तुलनामा प्रदर्शनीमा भाग लिने जिल्ला संघहरूको सङ्ख्या बढ्दै गएर यतिबेला ५९ वटा पुगेको थियो। यसैगरी सातौँ मेलामा १०६ वटा स्टल थिए भने अवलोकनकर्ता करिब ५० हजार जना थिए। पाँच दिनसम्म चलेको यो मेलामा ६७ वटा जिल्ला संघले भाग लिएका थिए। २०८१ चैत १४ गते सुरु हुने नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा भने १४४ वटा स्टल रहने र करिब ६० हजार जनाले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा छ।  

मेलाको व्यापार
महिला उद्यमशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको मेलाका बहुआयामिक उद्देश्य छन्। जसमध्ये एउटा महिला उद्यमीका उत्पादनको प्रचारप्रसार र बिक्री वितरण पनि हो। त्यसैले व्यापारलाई पनि मेलाले प्राथमिकतामा राख्दै आएको छ। व्यापारका दृष्टिले मेलाको प्रभावकारिता मापन गर्दा सुरुदेखि नै यो उत्साहजनक छ। जस्तो– सन् २०१६ मा पहिलोपटक आयोजना गरिएको यस्तो मेलामै पाँच लाख रुपैयाँ बराबरको कारोबार हुनुले आयोजक मात्र नभई उत्पादनकर्तालाई पनि हौस्याएको थियो। 

त्यसको पाँच वर्षपछि अर्थात् सन् २०२१ मा आयोजित यस्तो व्यापार मेलामा एक लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। यो निकै कम लाग्छ सक्छ तर कोभिडका बेला भएकाले अनलाइन प्रदर्शनीमा समेत यतिको व्यापार हुनु उत्साहप्रद थियो। त्यसैगरी छैटौँ व्यापार मेलामा ह्वात्तै बढेर एक करोड ५० लाख रुपैयाँको कारोबार हुनुले सहभागी र आयोजक सबैलाई हौस्याएको थियो।  

यसरी नै सातौँ व्यापार मेलामा महिला उद्यमीका उत्पादनले करिब दुई करोड रुपैयाँ कमाउन सफल भएको थियो। यो वर्षको मेलामा भने दुई करोड २५ लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। यसरी हेर्दा प्रत्येक वर्ष व्यापार बढ्दो देखिन्छ। जसले महिला उद्यमीलाई उद्यमशीलतातर्फ लाग्न हौस्याएको छ। प्रत्येक वर्ष प्रदर्शनी तथा मेलामा जिल्ला संघहरूको बढ्दो सहभागिताको मुख्य कारण पनि मान्न सकिन्छ बढ्दो व्यापारलाई। जसले महिला सशक्तीकरणलाई टेवा पुग्ने विश्वास लिन सकिन्छ।

मेलाका विशेषता
महिला उद्यमीले सञ्चालन गर्ने व्यापार मेला मूलतः स्थानीय स्रोत अर्थात् स्थानीय कच्चा पदार्थमा आधारित उत्पादन हुने गर्छ। यस्ता सामग्री वातावरणमैत्री, हरित उद्यममा आधारित, पर्यावरणीय दृष्टिले उपयुक्त र टिकाउखाले हुने गरेका छन्। त्यसबाहेक कृषि, हस्तकला र खाद्य तथा मिथिला आर्ट जस्ता विषयमा आधारित भएकाले यिनले रैथाने संस्कृति, संस्कार र स्थानीयताको जगेर्नामा मुख्य भूमिका निर्वाह गरेका हुन्छन्। फुर्सदमा काम गर्न सकिने र घरमै बसेर परिवार तथा साथीसंगीसँग रमाइलो वातावरणमा बसेर तयार गर्न सकिने भएकाले यो झन्झटिलो पनि हुँदैन। जसले गर्दा यस्ता उत्पादन झारा तिर्नेखालका हुँदैनन्।  

यस्ता मेलामा विदेशी महिला उद्यमीलाई पनि सहभागी गराइँदै आइएको छ। उनीहरूले राखेका स्टलका उत्पादन र उनीहरूले प्रयोग गरेका प्रविधि तथा सिप अवलोकनकर्ताका साथै अन्य स्टलवालाले समेत सिक्न पाउँछन्। त्यसैगरी नेपालीका सिप र ज्ञान उनीहरूले पनि सिक्न पाउँछन्। त्यसैले यो एकअर्काको ज्ञान र बुद्धि बाँडचुँड गर्ने उपयुक्त थलोसमेत बन्न सकेका छन्। विशेषगरी अचार बनाउने, ढक्की बनाउने, खेर जाने प्लास्टिक र अन्य सामग्रीबाट सजावटका आकर्षक चिजबिज बनाउने कला सजिलोसँग धेरैले सिक्न सक्छन्।  

विचार गोष्ठी, कार्यशाला गोष्ठी आदि आयोजना गरिनु यस्ता मेलाको अर्को विशेषता हो। जहाँ महिला उद्यमीले कसरी कुन सिप हासिल गर्न सक्छन् र त्यसलाई व्यवहारमा उतारेर उद्यमी बन्न सक्छन् भन्ने जानकारी उपलब्ध गराइन्छ। त्यति मात्र हैन, सरकारले बनाएका उद्यमसम्बन्धी नीतिहरूलाई महिला उद्यममैत्री कसरी बनाउन सकिन्छ, त्यसका लागि गर्नुपर्ने पहलकदमीहरू के के हुन् तथा सरकारी सुविधालाई कसरी अधिकतम सदुपयोग गर्न सकिन्छ भन्ने पक्षमा समेत थाहा दिइन्छ। यस्ता गोष्ठीमा तहल्का मच्चाइरहेको कृत्रिम बौद्धिकता (एआई) बाट लिन सकिने फाइदादेखि मुलुकमा विद्यमान उद्यम नीतिलाई कसरी महिलामैत्री बनाउन सकिन्छ भन्नेबारेसमेत जानकारी उपलब्ध गराइन्छ। यसरी हेर्दा महिला उद्यमी व्यापार मेला धेरै विशेषताले युक्त छ भन्न हिच्किचाउनु पर्दैन्।

अन्त्यमा,
चैत १४ गतेदेखि सुरु हुने यस वर्षको अन्तर्राष्ट्रिय महिला उद्यमी मेलालाई व्यवस्थित तुल्याउन अमेरिकाको आयोवा स्टेट युनिभर्सिटीका १६ जना विद्यार्थीले सहजीकरण गर्दैछन्। त्यसैगरी दुई जना प्राध्यापकले मेलाको अवलोकन गर्नेछन्। मेलालाई व्यवस्थित गर्न नेपालकै विभिन्न क्याम्पसमा अध्ययन गर्ने १० जना विद्यार्थीले पनि स्वयंसेवकको भूमिकामा रहेर सहजीकरण गर्नेछन्। यसबाट पनि प्रष्टिन्छ कि महिला उद्यमी व्यापार मेला प्रत्येक वर्ष आफ्नो दायरा फराकिलो पार्न सफल हुँदै गएको छ। यो मेलामा बढ्दो स्टल,महिला उद्यमी महासंघका जिल्ला संघहरूको बढ्दो आकर्षण, थपिँदा अवलोकनकर्ता तथा प्रत्येक वर्ष चढ्दो व्यापार यसका प्रत्यक्ष प्रमाण हुन्। जसले महिला व्यापार मेलाको औचित्य पुष्टि गर्न मद्दत पुग्छ।  

प्रकाशित: १४ चैत्र २०८१ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App