विचार

व्रत तथा उपवासको महत्त्व र सावधानी

मानिसले जीवनमा खुसी र सन्तोषले बिताएका हरेक पलहरू कुनै उत्सव भन्दा कम हुँदैनन् । यसमा पनि मानव जीवनमा चाडपर्वको विशेष महत्त्व हुन्छ । नेपाली समाजले त पात्रो अनुसार तमाम चाडपर्व मनाउने गर्छ । जसमध्ये धेरैजसो साउने सक्रान्ती देखि सुरु हुन्छन् ।

उसो त बहु जाती, बहुभाषिक, बहु धार्मिक र बहु सांस्कृतिक रूपमा धनी हाम्रो देशमा वर्षै भरी प्रायः जसो दिनहुँ कुनै न कुनै पर्व तथा उत्सव परिरहन्छन् । जसमा सदियौँदेखि मनाइँदै आएका तिज, दसैँ, तिहार, नेपाल संवत्, छठ, उँधौली– उभौली, इद, बकर इद, बुद्ध जयन्ती मुख्य पर्व मानिन्छन् । 

यस्ता चाडपर्वसँग जोडिएर आउने व्रत तथा उपवास महत्त्वपूर्ण पाटा हुन् । चाडपर्वमा बसिने व्रतका धार्मिक मान्यता हुन्छन् । यसबाहेक पनि विभिन्न धार्मिक आस्था र मान्यताले दिन, बार अथवा तिथिमा पनि व्रत–उपवास बस्ने प्रचलन छ । 

अहिलेको परिवेशमा धार्मिक मान्यताका लागि मात्रै भोक भोकै व्रत–उपवास बसिन्न । शारीरिक सुन्दरता कायम गर्न, तौल घटाउन र स्वस्थ शरीर कायम गर्न पनि व्रत–उपवास बस्ने प्रचलन बढेको छ । 

व्रत–उपवास अर्थ र मान्यता 

भोक भोकै, निराहार र कतिपय अवस्थामा पानीसम्म पनि मुखमा नलिएर भगवान्, अल्लाह, ईश्वरका नाममा पूजा आराधना गर्ने कर्मलाई धार्मिक व्रत भनिन्छ । धार्मिक उद्देश्य प्राप्तिका लागि पूर्णतः निराहार बसिने व्रतलाई उपवास भनिन्छ । व्रत तथा उपवासको अङ्ग्रेजी अनुवाद ‘फास्टिङ’ हुन्छ । 

व्रत–उपवास बस्नु र खान नपुगेको अवस्था वा भोकमरी फरक अवस्था हुन् । व्रत र उपवास कुनै निश्चित उद्देश्य प्रेरित भएर गरिन्छ । आदि कालदेखि धार्मिक उद्देश्य प्रेरित भएर व्रत–उपबास बस्ने प्रचलन एकातिर छ भने, अर्कातिर अहिले शरीरलाई खाना आवश्यक नहुँदा र खाना नखाँदा बढी फाइदा हुने वा स्वस्थ भइने अवस्थामा व्रत–उपबास बस्ने गर्न थालिएको छ । दुवै अवस्था व्यक्तिगत इच्छा र चाहनाले हुन्छ । 

भोकमरीको अवस्था भने अभावले सिर्जना गरेको बाध्यता र विवशता हो । आफूलाई चाहिने खानेकुरा नहुनु, शरीरलाई आवश्यक न्यूनतम पौष्टिक आहारका लागि आवश्यक खुराक पनि शरीरले प्राप्त गर्न सक्ने अवस्था नहुनु पनि भोकमरी हो । 

अब व्रत तथा उपवासकै प्रसङ्गमा फर्किऊ । प्रायजसो सबै धर्ममा व्रत–उपवासको अभ्यास र प्रचलन हुन्छ । हिन्दु, इसाई, इस्लाम, बुद्ध, जैन, सिख सबै धर्ममा कुनै न कुनै स्वरूपमा व्रत तथा उपवास बस्ने गरिन्छ । 

इसाई धर्ममा उपवासको आफ्नै विधि र महत्त्व छ । साताको दुई दिन बुधवार र शुक्रवारलाई उपवासका दिनका रूपमा लिइन्छ । तर कुनै विशेष दिन वा पर्व परेमा अवस्था फरक हुन्छ । शुक्रवार र बुधवार दिनभर उपवास बस्ने साँझ घाम अस्ताएपछि मात्र भोजन गर्ने, ‘ब्ल्याक फास्ट’मा दिनभर पानी र भोजन पूर्ण रूपमा बन्द गरी र साँझ घाम अस्ताएपछि मात्र माछा, मासु, अण्डा, पेय पदार्थ र दूधका परिकार रहित शुद्ध शाकाहारी भोजन गर्ने गरिन्छ । बाइबलमा नै ४० दिन र रातको उपवासका बारेमा उल्लेख गरिएको छ । 

इस्लाम धर्ममा रमजानका महिनामा बसिने व्रतको विशेष महत्त्व छ । बिहान सूर्योदय पूर्व सुहूर खाएपछि सूर्यास्तपछिको इफ्तारसम्म दिनभर निराहार व्रत बसिन्छ । बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तसम्म पानी पनि नखाई व्रत बस्ने गरिन्छ । रमजान व्रतका समयमा दुष्ट विचार, वाणी र कर्म तथा यौन गतिविधि वर्जित हुन्छन् । रमजानको उपवासले आत्मसंयम, ईश्वरीय चेतना र करुणा प्रदान गर्ने मान्यता छ । यसर्थ सामूहिक उपवासलाई प्रोत्साहन गरिन्छ । उपवासको समयमा खराब बोली, खराब विचार र खराब क्रियाकलापबाट टाढा रहनु पर्दछ । त्यसैले यो उपवास पेटको मात्र नभई जिब्रो, दिमाग र हृदयको पनि उपवास हो । 

हिन्दु धर्म र परम्परा सँग जोडिएर आउने धेरै पर्व र तिथिहरूमा नित्यकर्म, स्नान, उपवास, पूजा अर्चनाजस्ता क्रियाकलाप जोडिन्छन् । हरेक वार र तिथिमा विभिन्न देवीदेवताको पूजा अर्चना गर्दै व्रत बस्नुको आफ्नै महत्त्व र अर्थ छ । तीज, दसैँ, तिहार, छठ पर्वहरूमा व्रत तथा उपवास बस्नु धार्मिक आस्थाको एउटा पक्ष हो । हरितालिका तीजमा भगवान् शिव, दसैँमा नौ दिन नवदुर्गाको उपासना, तिहारमा लक्ष्मी पूजा, छठमा सूर्यदेवको व्रत तथा उपवास बस्ने परम्परा छ ।

व्रत–उपवासको महत्त्व

व्रत–उपवासको धार्मिक आस्था सँगसँगै वैज्ञानिक तथ्य पनि छन् । व्रत विधिवत् पूरा गर्दा मन प्रसन्न हुने, पुण्य प्राप्त हुने, ईश्वर प्रसन्न हुने, अपेक्षित लाभ प्राप्त हुने, जीवनमा सुख समृद्धि हासिल हुने, पारिवारिक जीवन सफल हुने,  जानी नजानी गरेका पापबाट मोक्ष पाइने, सजायमुक्त भइने र शारीरिक आरोग्यता प्राप्त हुने धार्मिक विश्वास छ । 

अहिले दैनिकी र जीवनयापनको शैली परिवर्तन भएको छ । ताजा, शुद्ध र पोसिलो आहारलाई विभिन्न रसायनयुक्त बनावटी र तयारी खानाहरूले विस्थापित गरेका छन् । शारीरिक परिश्रम र मेहनतलाई यन्त्रले नियन्त्रण गरेको यो समयमा आहारकै कारण दीर्घकालीन रोग, मोटोपना र शारीरिक अस्वस्थताको जोखिम छ । यस्तो अवस्थामा व्रत–उपवासले ती समस्याको निवारणमा पनि भूमिका खेल्छन् । जुन आफैमा वैज्ञानिक महत्त्व झल्काउने उदाहरण हो । 

यस्तै व्यक्तिमा साहस, विश्वास र आत्मविश्वासको पनि जागरण हुन्छ । हुदाइसा, बुद्ध र प्राचीन ऋषिमुनि सबैले व्रत, उपवास र ध्यानकै माध्यमबाट आफूमा पूर्णता पाएको मान्यता छ । महात्मा गान्धीले पनि व्रत र उपवासबाटै आत्मशोधन र विवेक जागृति भएको बताएका छन् । 

कतिपय जानकार व्रत–उपवास शारीरिक आरोग्यता र मानसिक शुद्धीकरणका लागि प्राचीन उपचार विधि रहेको मान्यता पनि राख्छन् । आध्यात्मिक दृष्टिले व्रत तथा उपवासले आत्मशोधन, विवेक जागृति, मानसिक शुद्धीकरणका काम गर्छन् । यसले व्यक्तिमा नैतिक शक्ति, ज्ञान, बुद्धि–विवेक र प्रेमको अनुभव हुन्छ । यस्तै व्यक्तिमा साहस, विश्वास र आत्मविश्वासको पनि जागरण हुन्छ । हुदाइसा, बुद्ध र प्राचीन ऋषिमुनि सबैले व्रत, उपवास र ध्यानकै माध्यमबाट आफूमा पूर्णता पाएको मान्यता छ । महात्मा गान्धीले पनि व्रत र उपवासबाटै आत्मशोधन र विवेक जागृति भएको बताएका छन् । 

प्राचीन ग्रन्थमा पनि भयानक रोग र दशालाई उपवाससँग जोडेको पाइन्छ । ज्वरो, आउँ, कब्जियत, एपेन्डिसाइटिस जस्ता रोगको उपयुक्त उपचार विधि व्रत तथा उपवास हुने विश्वास गरिन्छ । रुघाखोकी, टाउको दुखाइ, थकान, जिब्रो सफा नहुनु, शरीरमा लागेको घाउ लामो समयसम्म निको नहुनु, वजनको कमीले हुने कमजोरी, पाचन शक्तिमा देखिने खराबी, हृदय रोग, श्वास नलीको रोग, नसा सम्बन्धी रोग उपवासबाट निको हुन्छन् । 

तर व्रत तथा उपवासले सधैँ लाभ मात्र हुन्छ भन्ने हुँदैन । उचित तरिकाको ज्ञानबिना लामो समयसम्म बस्दा हानी पनि हुनसक्छ ।

विधि, अवधि र सावधानी

केही घण्टा वा छोटो समयको लागि गरिने व्रत–उपवास वैज्ञानिक दृष्टिबाट लाभदायक मानिन्छ । धेरै दिन अथवा लामो अवधि बस्दा सजक हुनुपर्छ । 

दर्शन, किताब र कथा पढेर वा कुनै व्यक्तिबाट प्रभावित भएर उपवास बस्नु उचित हुँदैन । अरूको अनुभव नयाँ कामको थालनी गर्दा प्रेरणादायक हुनसक्छ, तर व्रत तथा उपवासका अनुभव फरक व्यक्तिका हकमा हुबहु नमिल्न सक्छन् । आफू व्रत तथा उपवास बस्दा के का लागि बस्दै छु ? मेरो शारीरिक अवस्था के छ ? भन्ने ख्याल राख्नुपर्छ ।

व्रतका बेला प्रशस्त पानी पिउनु फाइदाजनक हुन्छ । तर एकै पटक बढी मात्रामा पिउनु हुँदैन । एक घण्टाको फरकमा मात्रा मिलाएर मनतातो पानी पिउनाले शरीर अझै स्वस्थ र फुर्तिलो हुन्छ ।

यस्तै उपवास पूर्वको खाना स्वस्थ र कब्जरहीत हुनुपर्छ । फलफूल, तरकारी, रोटी खादा राम्रो हुनसक्छ । उपवास पूर्व सकभर कम परिकार खानु उपयुक्त हुन्छ । व्रत–उपवासको अवधिमा सकारात्मक सोच तथा आशावादी चिन्तन राख्नुपर्छ । 

व्रत–उपवास बस्दा सामान्य व्यायामबाहेक शारीरिक तथा मानसिक तनाव हुने वा दबाब सिर्जना हुने काम गर्नुहुँदैन । यो समयमा पर्याप्त आराम, वायु स्नान, जल स्नान गर्ने, गहिरो सास फेर्ने गर्दा शरीर न्यानो र फुर्तिलो हुन्छ ।

व्रत–उपवास सामान्यतः भोक लाग्दा तोड्नुपर्छ भन्ने मान्यता छ । तर शरीरले कमजोर महसुस नगर्दासम्म बस्न सकिन्छ । व्रत–उपवास निराहार वा अल्प हार हुन्छ । अल्प हारमा फलफूल खान सकिन्छ । उपवास अर्थात् निराहारमा बढी भोक लाग्न सक्छ । 

व्रतका बेला प्रशस्त पानी पिउनु फाइदाजनक हुन्छ । तर एकै पटक बढी मात्रामा पिउनु हुँदैन । एक घण्टाको फरकमा मात्रा मिलाएर मनतातो पानी पिउनाले शरीर अझै स्वस्थ र फुर्तिलो हुन्छ ।

लामो निराहार व्रतपछि खानेकुरामा विशेष ध्यान दिनु पर्दछ । लामो समय आहार नलिँदा शरीरको पाचन क्रिया सुस्त भएको हुनसक्छ । त्यसैले सजिलै पचाउन सकिने साधारण कुरा खानुपर्छ । ताजा फलफूलको रस, फलफूल, तरकारी, साधारण खाना खानु उपयुक्त हुन्छ । खानालाई राम्ररी चपाएर खानुपर्दछ । व्रतपछि सुन्तला वा सुन्तलाको रस पिउनु निकै लाभदायक मानिन्छ ।  खाना खादा पहिलो छाकमा एक परिकार मात्र खाने, दोस्रो छाकमा दुई र तेस्रोमा ३ परिकार गर्दै थप्दै जानु पर्दछ । एकै पटकमा धेरै र सबै परिकार खाँदा समस्या हुनसक्छ ।

सामान्यतया व्रत–उपवास बस्दा एक दिनमा एक पाउन्ड तौल कम हुन्छ । तर उपवासपछि मात्रा नमिलाई बढी आहार खाए एक दिनमै १.५ देखि दुई पाउन्ड तौल बढ्न सक्छ । 

उपवास धेरै रोगको प्राकृतिक उपचार भए पनि केही रोग र शारीरिक अवस्थाको भने प्रतिकूल हुन्छ । शरीरको कुनै अंग खराब भई आंशिक वा पूर्ण रूपले काम गर्न छाडेको अवस्थामा, केही छाला वा चर्म रोग भएमा, शरीरमा हर्मोनको असन्तुलन भएको अवस्थामा,  रक्त कोषको कम हुँदा, खनिज वा भिटामिनको कमी भएको अवस्था वा गर्भावस्थामा व्रत–उपवास बस्नु राम्रो हुँदैन । 

प्रकाशित: ३ कार्तिक २०८१ १७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App