विचार

आसन्न चुनाव र नयाँ आशा

जुन ऐतिहासिक परिस्थितिमा हाम्रो देशमा प्रादेशिक र संघीय निर्वाचन हुन गइरहेको छ, यस्तो परिस्थितिमा सामान्यतया जो कोहीले आशा गर्ने कुरा के हो भने यिनले अब देशलाई एउटा बिल्कुलै फरक परिवेशमा र उज्यालो भविष्यतिर लैजानेछन् । तर मतदाताहरूको मानसिकतामा अझै धेरै परिवर्तन नआइसकेको, राजनीतिका नयाँ कर्ताहरू सापेक्षिक रूपमा अझै तरल अवस्थामै रहिरहेको, नयाँ संविधानको कार्यान्वयनमा दृश्य–अदृश्य अनेक कठिनाइ अझै बाँकी रहेको र जनताका आकांक्षा र असन्तुष्टि दुवै नै बेसरी चुलिएको यति बेला हुन गइरहेको निर्वाचनको परिणाम कस्तो हुने हो ? त्यसपछि देशले लिने बाटो के होला ? अड्कल काट्न अझै गाह्रो छ । यी महत्वपूर्ण निर्वाचनहरूलाई प्रभाव पार्न सक्ने अनेक तत्व छन् र तिनको योगले नै राष्ट्रिय तथा प्रादेशिक सरकारहरूको चरित्र निर्धारण गर्नेछ ।

निर्वाचनको प्रक्रियासँग प्रत्यक्ष सम्बन्धित अनेक किसिमका प्रवृत्ति र मानिस देखिन्छन् । एकथरी छन् जो सधैँझैँ परम्परागत वा कर्मकाण्डीय राजनीतिमै लागिरहेका छन् । यिनीहरू निर्वाचनको कर्मकाण्डले माग गरेअनुसार परिवारजनले वा साथीभाइले सधैँ भोट दिने गरेको वा आफ्ना निम्ति फाइदा लिन सकिने पार्टीका निम्ति नै भोट माग्ने, दिने, किन्ने, बेच्ने अनि कि त आफूले भोट दिएर जिताएकाहरूकै आलोचनामा सधैँ लागिरहने कि भने तीबाट कुनै न कुनै किसिमले फाइदा लिइरहने काममा तल्लीन हुने गर्छन् । यिनका निम्ति निर्वाचन अति नै कर्मकाण्डीय हुने गर्छ । 
लोकतन्त्रमा निर्वाचन भनेको त सिंगै देश र समाजको सकारात्मक परिवर्तनका निम्ति सर्वाधिक महत्वपूर्ण साधन हो भन्ने कुराको यिनलाई वास्तवमा कुनै मतलब हुँदैन । फुटबल म्याचमा आफ्नो क्लबले जित्दा खुसी हुने र हार्दा दुःखी हुने दर्शक वा जुवाडेको जस्तो मानसिकता मात्र हुन्छ यिनको । देशका प्रमुख व्याधिका रूपमा देखा परेका भ्रष्टाचार, परनिर्भरताजस्ता कुप्रवृत्तिहरूको यदाकदा कर्मकाण्डीय र औपचारिक विरोध गरे जस्तो गर्छन्, तर आफ्नै पंक्तिका जिम्मेवार मानिसहरूसमेत भ्रष्टाचार र अनैतिकताको दलदलमा फँसिरहँदासमेत केही गर्न सक्दैनन्, बरू व्यावहारिकताका नाममा कुप्रवृत्तिहरूप्रति सहनशीलता देखाउँछन्। 

यथास्थितिलाई निषेध गर्ने र परिवर्तनको चाहना राख्ने अर्का खाले मानिसहरू पनि छन् । यी भित्र पनि तीन फरक फरक प्रवृत्ति देखिन्छन् :

एक, यथास्थितिप्रति प्रशस्त असन्तुष्टि बोकेर बसेका मानिसहरू । यिनलाई के बिग्रेको छ, के चाहिँ भएन भन्ने थाह छ । तर के चाहिएको हो भन्ने चाहिँ थाह छैन । यस्ता मानिसहरू जहिले पनि यथास्थितिप्रति आफ्ना असन्तुष्टि तीतो बोलीमा सुनाइरहन्छन् । तर आफ्नै स्पष्ट दिशा भने हुँदैन । त्यसैले, कि त चुनावप्रति उदासीन हुन्छन्, कि भने चुनावमा होस् वा विभिन्न सामाजिक अभियानमा, अत्यन्तै अप्रत्याशित व्यवहार देखाइदिन्छन् । यिनले के गर्छन् भन्ने अड्कल काट्नै गाह्रो हुन्छ । कसैलाई भोट नहाली बसिदिन पनि सक्छन् । रातारात भावुकतावश कसैका पक्षमा जोडतोडले लागिदिन पनि सक्छन् । 

दुई, निर्वाचनलाई अस्वीकार गर्ने (वा निर्वाचनले अस्वीकार गरेका) कुनै न कुनै प्रकारका एकदलीय शासनका हिमायतीहरू छन् जो देशमा थिति बसाल्न बलियो सरकार चाहिन्छ भन्ने मान्यता राख्छन्, प्राधिकारपूर्ण नेतृत्वको वकालत गर्छन्, आफूले मान्ने गरेको कुनै ‘विचारधारा’लाई करिब करिब धर्मकै रूपमा लिन्छन् (वा आफ्नो धर्मसम्प्रदायलाई नै राजनीतिक विचारका रूपमा लिन्छन्) र तीसँग सम्बन्धित शब्दावलीलाई मन्त्रका रूपमा प्रयोग गर्छन् । यथास्थितिप्रतिको चर्को असन्तुष्टिका कारण आत्मबलिदानको भावना प्रशस्त भएका यिनीहरू चर्को नारा र हिंसापूर्ण आन्दोलनप्रति बढी आकर्षित हुन्छन्, विश्वपरिस्थितिको समग्र विश्लेषण गर्न यिनलाई त्यति रुचि हुँदैन । परिवर्तनकामी शक्ति भए तापनि यिनको हिंसाप्रियता, नकारात्मकता, आदिका कारण यथास्थितिवादलाई नै बल मिलिरहेको हुन्छ र कुनै बेला त मृत विगतको पुनःस्थापना गर्ने लालसा बोकेका पुनःस्थापनावादी नै लाभान्वित भइरहेका हुन्छन्।    

अर्का तेस्रो किसिमका उदयीमान अभियन्ताहरू छन् जो सकारात्मक परिवर्तनको सम्भावना छ, गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्छन् । परम्परागत जडतापूर्ण र कर्मकाण्डीय सोचबाट टाढै रहने र वर्तमानको यथार्थमा विश्वास गर्दै नयाँ बाटो बनाउन चाहने यिनीहरूका अगाडि विभिन्न चुनौती विद्यमान छन् । राजनीतिक शक्तिका रूपमा भर्खरै मात्र चिनिन थालेका यिनीहरू आफ्ना मूल्य मान्यताका कारण चुनावी खेलका प्रचलित अनुचित तिकडमबाजीमा होम्मिन सक्दैनन् । विधि, पारदर्शिता, दक्षताजस्ता आफ्ना मूल्य मान्यताबारे जनताको ठूलो पंक्तिसँग अन्तक्र्रिया गर्न यिनले अझै भ्याएका छैनन् । यिनका प्रतिबद्धताहरूको कार्यान्वयनका विश्वसनीय आधार पनि छन् कि परम्परागत खेलाडीहरूकै जस्तो देखाउने दाँत मात्र हुन् भन्ने जनताको जिज्ञासाको निवारण गर्नु यिनका निम्ति सम्भवतः सबभन्दा ठूलो चुनौती बनेको छ ।
यस्ता तेस्रो श्रेणीमा पर्ने शक्तिका रूपमा पूर्वविवेकशील पार्टी तथा पूर्वसाझा पार्टी सीमित रूपमा स्थानीय चुनावमा सामेल भएका थिए । वाञ्छित सफलता प्राप्त गर्न नसके तापनि परम्परागत पार्टीहरूलाई तिनले झस्काएका थिए । पुराना ठूला पार्टीभित्र उम्मेदवार चयनमा समेत अप्रत्यक्ष प्रभाव परेको थियो । यतिबेला ती दुई पार्टीको एकीकरण भएको छ । जसरी पुराना स्थापित पार्टीहरू कुनै खास कालखण्डको आवश्यकताको उपज थिए, युवा ऊर्जा र विशेषज्ञताको जोडका रूपमा देखापरेको यो नौलो अभियान पनि वर्तमान कालखण्डको उपज हो । जसरी अहिले तीन प्रमुख पार्टीका रूपमा चिनिएका कांग्रेस, एमाले वा माओवादी केन्द्र नपत्याउँदा साना समूहबाट विकसित भए, यो नौलो पार्टीले पनि त्यसै गरी ठूलो आकार लिन सक्ने सम्भावना प्रशस्त छ। 

पुराना पार्टीहरूको जन्मकालको तुलनामा अहिले सूचनाको सहजप्राप्यता, तुलनात्मक हिसाबले धेरै खुला वातावरण, अहिलेसम्मका ‘वाद’मा आधारित विभिन्न आन्दोलनबाट शिक्षा लिने सुविधा, आ–आफ्ना क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूको सहभागिता, देश विदेशका परिवर्तनहरूको अनुभव, मूल्यमान्यता र प्रतिबद्धता जस्ता तत्वहरू हुन्, जसले विवेकशील साझा पार्टीलाई आफूभन्दा जेठा पार्टीहरूको तुलनामा छिटो हुर्किने सम्भावना प्रदान गरेका छन् । त्यसैले, राष्ट्रिय राजनीतिमा महत्वपूर्ण योगदान गर्न सक्ने पार्टीका रूपमा स्थापित हुनसक्ने सम्भावना मात्रै हैन, स्थापित पार्टीहरूभित्र पनि परोक्ष रूपले सकारात्मक असर पार्न यो सक्षम हुन सक्नेछ भनी आशा गर्ने ठाउँ छ।   

के कुरा बिर्सनु हुन्न भने कुनै जमानामा आत्मबलिदान, सौर्य, त्याग, अनुशासन, नैतिकताको स्वर्णिम इतिहास बनाएका पुराना पार्टीहरूभित्र सुसंस्कारको स्खलन भएर आज ती जनताका सामु नराम्ररी बदनाम भएका छन् । तिनका बलिदानका कारण लोकतान्त्रिक संघीय गणतन्त्र पाएका छौँ, तर जनताको दैनिक जीवनमा भने कुनै उल्लेख्य परिवर्तन आउन सकेन । नयाँ पार्टीभित्र पनि सुसंस्कारलाई मलजल गरिरहन नसक्ने हो भने जन्मँदा वा आफ्नो शैशवावस्थामा जतिसुकै पवित्र ध्येय बोकेको पार्टी पनि समय बित्दै जाँदा प्रदूषित हुने सम्भावना रहन्छ । यो कुरामा नयाँ पार्टी सचेत रहनु राम्रो कुरा हो। 

जन्मेको धेरै समय नबित्दै महत्वपूर्ण चुनावमा होम्मिनु परेका कारण पार्टी निर्माणमै मात्र केन्द्रित हुन नसक्नु स्वाभाविक हो । तर पनि राष्ट्रिय स्वार्थप्रतिको समर्पण र अविचलित देशभक्ति, सामाजिक न्यायप्रति अचल प्रतिबद्धता र समता तथा समानुभूतिसहितको समृद्धिको स्पष्ट दिशाबोधका कारण यो नौलो पार्टीमाथि जनताले आशा गर्न सक्ने बलियो आधार छ। 

युवा ऊर्जाशीलतासँग विभिन्न क्षेत्रको विशेषज्ञता तथा अनुभव बटुलेका निष्कलंक व्यक्तिहरूको सम्मिश्रणका कारण पनि यसमा जीवनशक्तिको प्रचुरता छ । वर्तमान कालखण्डको उपजका रूपमा उदाएको यो पार्टीले सामाजिक न्याय तथा जनताबीच समानुभूतिसहितको समृद्धिको बाटो समातेको छ । इतिहासका घटना र विविध सिद्धान्तका शब्द शब्द केलाएर विगतका पात्रभित्र आ–आफ्ना ईष्टदेव खोज्नुको सट्टा वर्तमानमा अवस्थित भएर आमूल परिवर्तनको आफ्नो अहिंसात्मक बाटोमा सचेत भएर लागिरहँदा यसले पक्कै उल्लेख्य योगदान दिनसक्नेछ।
हेरौैँ, यसपालि मतदाताहरूको ब्रह्मले के देख्छ, चुनावी खेलको परिणाम के आउँछ !

प्रकाशित: १७ कार्तिक २०७४ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App