विचार

स्थायी अस्थिरतामा प्रवेश

ब्रिटिस साहित्यकार सेक्सपियरको ‘जुलिअस सिजर’ जिसस क्राइस्टको जन्म हुनुभन्दा पहिलेको ऐतिहासिक घटनालाई लिएर लेखिएको कृति हो । नाटकमा केही क्रुर, निर्दयी र षड्यन्त्रकारी भारदार छन्, ‘मर्चेन्ट अफ भेनिस’को साइलकजस्तै । रोमन साम्राज्यमा सिजरलाई शान्ति र स्वतन्त्रताका घोर विरोधी भन्दै मारिएको प्रसंग आउँछ नाटकमा। सिजरको हत्या–योजनामा प्रयोग गरिएका सम्पूर्ण पात्रहरू मारिन्छन् र उदय हुन्छ अर्को दुर्दमनीय रक्तपिपासु तानाशाहको । त्यसपछि मात्र जनताले पुरानो र नयाँ युगको तुलना गर्न थाल्छन् । पाखण्डको अर्थ खोज्छन् ।
के भयो, के हुँदै छ र भोलि के हुनसक्छ भनेर बुझ्ने तीन दर्जाका जनता जहाँ पनि हुन्छन् । नेपालमा पनि ‘भोलि के हुनसक्छ ?’ भनेर विश्लेषण, मीमांसा र सूक्ष्म अध्ययन गर्नेहरू थोरै छन् । सञ्चारमाध्यमबाट केही सूचना पाए पनि ती कति सत्य छन् भनेर रुजु गर्दा अधिकांश सूचना र खबर बेरुजु, अपुष्ट र बेवारिस भेटिन्छन् । पहिले घटनास्थलमा पुगेर समाचार बनाइन्थ्यो । अचेल दातृ निकाय, विदेशी गुप्तचर, तस्कर, माफिया र राजनीतिका नटवरलालहरूले अधिकांश सञ्चारमाध्यमलाई द्रव्यको दबाई खुवाएर फन्फनी घुमाइरहेका छन् । त्यसैले नेपाली राजनीतिको प्रत्येक कालखण्डमा एउटा सिजर मारिन्छ, हराउँछ र अर्को ‘अक्टाभियस’ पैदा हुन्छ । त्यसैले राजनीतिक स्थायित्व हुनै सक्दैन।

सन् १९१२ मा रसियामा भविष्यवादी समूह (फ्युचरिस्ट) गठन भयो । दश हजारभन्दा थोरै संख्याका बोल्सेभिकहरूले बहुसंख्यक मिन्सेभिकहरूलाई चुनौती दिन थाले । सम्राट् निकोलसको हत्यापछि राष्ट्र नै अस्तव्यस्त भयो । अक्टोबर क्रान्तिका नाममा कम्युनिस्टहरू सन् १९१७ मा सत्तामा आए र झन्डै सत्तरी वर्ष खाए । त्यो क्रान्तिका नाममा अर्को ‘गठेमंगल’जस्तै थियो। 

संसद् र प्रदेशको चुनावले स्थिरता ल्याउने कुनै सम्भावना देखिँदैन । दलहरूको व्यवहार सत्ताकेन्द्रित देखिन्छ । बाहिरी शक्तिको दबाब र प्रभाव प्रायः सबै दलमा देखिएको छ । यो भनेको साम्राज्यवाद र विस्तारवादको स्थायी षड्यन्त्रको निरन्तरता मात्र हो । तसर्थ, अहिलेको राजनीति खरानी बेच्ने होडबाजी मात्र हो। 

सन् १७८९ देखि १७९९ सम्म फ्रान्स अत्यन्त अस्थिर, बेचैन, असुरक्षित र अन्यौलग्रस्त बन्यो । धेरै निर्दोष, योग्य र प्रतिभाशाली मानिस कथित ‘ग्लोरियस्’ (गौरवमय) क्रान्तिको सिकार भए । परिवर्तनका नाममा ठूलो रक्तपात भयो । त्यसपछि उदाए नेपोलियन । राजा लुई (सोह्रौँ) मारिएपछि उत्पन्न भएको विषम परिस्थितिको फाइदा उठाएर जनताका छोरा नेपोलियनले आफूलाई सम्राट् घोषणा गरे । उनले भनेका थिए, “फ्रान्सको राजमुकुट धुलोमा पुरिएको थियो, मैले तरबारले उठाएर शिरोधार्य गरेँ ।”

इतिहास, धर्म, संस्कृति, मौलिकपन, प्राचीन गाथा, पुर्खाले स्थापना गरेका मूल्यमान्यता र राष्ट्रवादप्रति गर्व गर्ने प्रदीप्त चेतना भएका जनता राष्ट्रका शक्ति हुन् । हरेक राष्ट्रको सेनाले पनि त्यस्तै मान्यताको समर्थन गर्छ, गर्नुपर्छ । सरकार चलाउनेहरू राष्ट्रवादका विरोधी हुन सक्छन् । धर्म र संस्कृतिको घृणा गर्ने कपुत हुन सक्छन् । विदेशीका कठपुतली हुन सक्छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका साथै बौद्धिक समुदायलाई स्वर्णमहलमा विराजमान गराएर विदेशीले डि–फ्याक्टो वा डि–जुरे शासन गर्न सक्छन् । त्यस्तो भयावह र कल्पनातीत परिस्थितिमा राष्ट्र बचाउने अन्तिम शक्ति सेना हुन्छ । “हामी त सरकारको आदेश मान्ने आज्ञाकारी मात्रै हौँ र राज्यको आदेशबेगर एक पाइला अघि बढ्दैनौँ” भन्ने सेना कतिपय राष्ट्रमा भोलिपल्टै ‘सिनो’ बनेको पाइन्छ । लाइबेरिया, सुडान, सियरालिओन, कंगोलगायतका उदाहरण धेरै छन् । राष्ट्र धुलिसात् भएपछि मात्र ब्यूँझिएका सेना केही दिनमै मर्सिनरी पनि हुन सक्छन् । 

टर्कीमा गणतन्त्र स्थापना भएको ९४ वर्ष भयो तर अस्थिरता झन् बढ्दै गएको छ । पहिलो महायुद्धपछि धेरै राष्ट्रले राष्ट्रवाद बिर्सेर प्रजातन्त्रको ‘रेसम फिरिरी’ गाउँदा राष्ट्रियता र राष्ट्रिय अस्तित्व नै लोप भएको छ । युरोपका कैयन् राष्ट्रको दासत्वबाट अमलेख भएका अफ्रिकी राष्ट्र साम्राज्यवाद र विस्तारवादका नयाँ स्वर्णपिँजरामा कैद भएका छन् । कथित भूमण्डलीकरण (ग्लोबलाइजेसन) र खुला बजार अर्थतन्त्रको डम्फु बजाउँदै ‘ग्लास्तनोस्त’ र ‘पेरेस्त्रोइका’ रागमा रमाउने मिखायल गोर्बाचोभ ‘धोती न टोपी’ हुन पुगे । बलियो सोभियत संघ पन्ध्र टुक्रामा खण्डित भयो । अखण्ड राष्ट्र खण्डखण्ड हुँदा हिजोको गौरवगाथा रहँदैन । त्यहाँ पनि त्यस्तै भयो । कतिपय रुसी लेखक – पत्रकार भन्छन्, “पश्चिमाको लहैलहैमा लागेर गोर्बाचोभले देश डुबाए ।”

नेपालका बहुसंख्यक राजनीतिक दल र उनीहरूका पृष्ठपोषकहरू इतिहास बिर्सिरहेका छन् । परम्परावादी पृष्ठभूमिबाट उब्जिएका (वास्तवमा उब्जाइएका) राजनीतिज्ञहरू पनि आजको विकारका सिकार बनेका छन् । “संविधानवादसँग कतै मेल नखाने” भनेर संविधानविद्हरूले नै आलोचना गरेको संविधान ‘धरातलीय यथार्थ’ र ‘उत्कृष्ट’ भन्दै तत्कालको नाफाघाटा मात्र हेर्ने हिजोका केही राजतन्त्रवादीले फ्रान्सका दक्षिणपन्थी र रुसका मिन्सेभिकबाट केही सिक्नुपथ्र्यो । सन् १९३० पछि ब्रिटिस पार्लियामेन्टमा एकजना कन्जरभेटिभ सांसदले भनेका थिए, “हो, हामी धर्म र संस्कृतिमा आस्था राख्छौँ । हजारौँ वर्ष पुरानो इतिहासप्रति गर्वोन्मत्त छाँै । हाम्रो राष्ट्रिय एकतालाई राजमुकुटले मात्र एकताबद्ध, संगठित, संरक्षित, सम्पोषित र संवद्र्धित गर्छ भन्ने कुरामा विश्वास गर्छौं । सबैथोक उखेलेर ओलिभर क्रमवेल र उनका समर्थकले राष्ट्रलाई तहसनहस पार्न खोज्दा ब्रिटेनका जनताले रगतका अाँसु झार्नुप¥यो । त्यसैले हामी कन्जरभेटिभ नै हो । हामीलाई यसमा कुनै ग्लानि र लघुताभास छैन ।”

वेद, उपनिषद्, धर्म, परम्परा र संस्कृतिको अपमान गर्दै ईश्वरको अस्तित्व अस्वीकार गरेर पौरत्स्य राज्यव्यवस्थालाई धुलिसात् बनाउन खोज्दा राजा बेनको वध गरिएको प्रसंग आउँछ हाम्रै धर्मशास्त्रमा । बहुजनको हित हुन्छ भने दुष्टजनको हत्या गर्दा पाप लाग्दैन भन्ने शास्त्रीय वचन छ । महाभारतमा अर्जुनलाई सम्झाउँदा भगवान् कृष्णको वाणीको सार यस्तो छ, ‘सत्यको पक्षमा उभिएर असत्यको प्रतिकार गर्नुपर्छ । असत्यका पक्षमा उभिन्छन् भने नातागोता र कुटुम्बलाई पनि क्षमा गर्न सकिँदैन ।’

पाण्डवले मारेका दुस्मन सबै आफन्त नै थिए । सेनाले सलाम ठोक्ने गरेका राष्ट्रघातीहरू राष्ट्रका विभिन्न पदमा वा प्रतिपक्षमा होलान् तर ती राष्ट्रघाती हुन् भन्ने स्पष्ट प्रमाण छ भने माया र सम्मान गर्नुपर्ने कुनै कारण देखिँदैन । किनभने असत्यका पक्षमा उभिने अधिकार कसैलाई पनि छैन । राष्ट्रलाई कमजोर बनाउन खोज्नेहरू सबै राष्ट्रघाती हुन् । उनीहरू सेनाका मात्र होइन, राष्ट्रकै दुस्मन हुन् । 

आफैँ राजा बन्न राजाको हत्या गर्छन् म्याकबेथले । उनी थिए, स्वीडेनका सेनापति । राजा डंकन मारिएपछि डंकनकै छोरा म्यालकमको हातबाट मारिन्छन्, म्याकबेथ । त्यस्ता गद्दारहरू जहाँँ पनि हुन्छन् । कतै राजनीतिज्ञको भेषमा त कतै पत्रकार, कूटनीतिज्ञ, सुरक्षाकर्मी र उच्च तहको कर्मचारीको भेषमा । समयमै सूचना लिने अख्तियारी पाएका सापुर बख्तियारहरू आफैँले टेकेको धर्तीमुनि विदेशीले सुरुङ खनेको चाल पाउँदैनन् । “मेरो कम्मरको खुकुरी कुन हुस्सुले लग्यो” भनेर अरूलाई दोष लगाउँछन् । कतिपय ‘ठूल्ठूला’ पदमा बस्नेहरूले आफूजस्तै विवेकहीनलाई सल्लाहकार बनाएका छन् । यो अवस्था भनेको ‘दरिद्रस्य गृहे दरिद्र ः अभ्यागत’ (अर्थात् दरिद्रका घरमा दरिद्र पाहुना) भने जस्तै हो । राजनीतिको डाडुपन्यु लिनेहरूले कूटनीतिलाई समेत कार्यकर्ता भर्तीकेन्द्र बनाए । कुनै बेला मन्त्री, सचिव, राजदूत, आइजिपी, सांसद आदि पद गरिमामय मानिथ्यो । आज जनता ती शब्द सुन्दा नाक खुम्च्याउँछन् । राष्ट्रिय सुरक्षा, कूटनीति वा प्रशासनबारे कुनै सामान्य ज्ञान नभएका सांसदले संसदीय सुनुवाइका नाममा उच्चपदस्थ र अनुभवीहरूलाई केरकार गर्छन् । “जागिर मात्र खाने” सोच भएका निर्जीवजस्ता बबुरा प्राणीहरू नतमस्तक बन्छन् । मानौँ, ती यन्त्रमानव हुन् ।

२०४७ सालको संविधान मासेपछि दलहरूले संविधानसभाका दुईवटा निर्वाचनमा अर्बौँ रुपियाँ खर्च गरे । त्यसबाट फलेको एकथान संविधानलाई ‘टालाटुली बटुली कति राम्री पुतली’ भन्दै गीत गाइरहेका छन्, राजनीतिक फौबन्जारहरू । घर जलाएर खरानी बेच्ने होडबाजीमा छन् उनीहरू । दश–एघार वर्षसम्म ‘गणतन्त्रात्मक’ पद्धति चलाइए पनि राष्ट्र संक्रमणकालमै छ भन्छन्, राजनीतिज्ञहरू । झोले डाक्टरले बिरामीको रोग बल्झाइरहन चाहन्छन्, तराईका गाउँहरूमा । गानो, गोला, फोडा, फुन्सी, दाद, ग्यास्ट्रिक, क्यान्सर, पाठेघर, पेट, मुुटु, अण्डकोष, घुँडा, गर्दन, कम्मर, किड्नीलगायत पचासवटा रोगको विज्ञ ठान्छ झोले । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको पाचकले दरिद्रता, अशिक्षा, बेरोजगारी, विकृति सबै हट्छ भनेर ढाँटेको बाह्र वर्ष भइसक्यो । प्रश्न गर्नुको सट्टा कैयन् टाठाबाठा र शिक्षितहरू पनि झोले नेताका झोले कार्यकर्ता बनेका छन् । नन्दीभृंगी र बब्रुबाहन बनेर दौडिएका छन् । खरानी बेच्ने होलसेलरका ‘रिटेलर’ बनेका छन्।

सत्कर्म गर्नेहरू निष्क्रिय, उपेक्षित, अपहेलित र मौन बसेपछि दुष्कर्मीहरू सक्रिय बन्छन् । पृथकतावादी, हत्यारा, अपराधी तथा कानुनविरोधीका पक्षमा बोल्दा मात्र मानव अधिकारको रक्षा हुन्छ भनेर त्यसैलाई पेसा बनाउनेहरूले रोग, भोक, अशिक्षा, बेरोजगारी र दरिद्रताले ग्रस्त जनताको मानव अधिकारबारे आवाज उठाएको पाइँदैन । गिठ्ठा–भ्याकुर र ‘भ्यातल’समेत खान नपाउने दुःखी जनताका पक्षमा न राजनीतिकर्मीहरू बोल्छन्, न कथित अधिकारकर्मीहरू । वर्षौंसम्म राष्ट्रलाई रोगी, भयाक्रान्त, असुरक्षित र अस्थिर बनाइरहने प्रणाली नै ‘गणतन्त्र’ हो भने त्यसको के औचित्य ?
निर्वाचनपछि राष्ट्र सिंगापुर, स्वीट्जरल्यान्ड वा जापानजस्तै बनाउँछौँ भनेर ढाट्नेहरूका ढाँटपत्र सार्वजनिक हुँदैछन् । लोहोरो पाकेपछि खान पाइन्छ भनेर पर्खिरहेका छौँ हामी । नयाँ संसद्मा पुनः सुरु हुन्छ सरकार बनाउने र ढाल्ने खेल । सातवटै प्रान्तमा सुरु हुन्छ सत्ताको रुवाबासी । त्यहाँबाट अस्थिरताको नयाँ युग सुुरु हुन्छ । त्यसैले चुनाव हुनेबित्तिकै सबै रोगको उपचार हुन्छ भनेर सोच्नु मूर्खता ठहरिन्छ।

राष्ट्र र जनताका समस्या थपिँदै जाने निश्चित छ । केही वर्ष व्याकुल बनेर हेरिरहन्छौँ हामी । बिरालोले बच्चा च्यापेर गुँड सारेझैँ नेताहरू दल बदल्दै हिँड्छन् र उनीहरूका सुण्ड–मसुण्डहरू पछिपछि पसिना पुछ्दै दौडिन्छन् । प्रहसन जस्तो छ, नयाँ नेपालको तस्बिर । तर हामीले के पायाँै ? किन सोच्दैनौँ हामी ?

संसद् र प्रदेशको चुनावले स्थिरता ल्याउने कुनै सम्भावना देखिँदैन । दलहरूको व्यवहार सत्ताकेन्द्रित देखिन्छ । बाहिरी शक्तिको दबाब र प्रभाव प्रायः सबै दलमा देखिएको छ । यो भनेको साम्राज्यवाद र विस्तारवादको स्थायी षड्यन्त्रको निरन्तरता मात्र हो । तसर्थ, अहिलेको राजनीति खरानी बेच्ने होडबाजी मात्र हो । यसमा कुनै सन्देह छैन । 

 

प्रकाशित: १७ कार्तिक २०७४ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App