विचार

अपरिपक्वताको परिणाम

कर्म समयमै गर्नुपर्छ। कर्म सुरु गर्नुअघि नै दूरदृष्टि लगाउनुपर्छ। न समयले पर्खिन्छ न मृत्युले। त्यसैले केही गर्छु भन्ने सोच हुनेले परिपक्व भएर गर्न जान्नुपर्छ। राज्यको राजनीतिक व्यवस्था र सरकारको अस्थिरता, यसकै फलस्वरूप समाजमा व्यक्तिको व्यक्तिगत जीवनशैलीमा अस्थिरता र जताजतै निराशा एवम् कुण्ठाको जीवन बितिरहेको महसुस हुन्छ। राज्य प्रणालीले चल्छ।

राज्यका घटकहरू प्रणालीअनुसार चल्नुपर्ने हुन्छ र त्यो प्रणालीमा हरेक नागरिकको जीवनशैली निर्धारित हुन्छ। व्यक्ति आफ्नो घरभित्र शान्त, सुखी र सुरक्षित हुन सक्ला तर बाहिर निस्केर समाजको भूमिकामा पनि उसको योगदान र भूमिका हुनुपर्छ। तब न सामाजिक अस्तित्वको मर्म कायम रहन्छ। समग्र विकासको मापनका आधारमा त्यस राज्यको संयन्त्र, उद्योगधन्दा, व्यापार, रोजगारी, सहज जीवनशैली, सुरक्षाको प्रत्याभूति, न्याय र अनुशासन लगायत सबै आयाममा सन्तुलनको जरुरत पर्छ। थाहा हुँदाहुँदै पनि राज्यमा, समाजमा र नागरिकको व्यक्तिगत जीवनमा उदासीनता, वैराग्य, आशाविहीन स्थिति आउनुको कारण के होला? निर्वाचन गरेर राज्यको ढुकुटी खर्चेर, नागरिकले आफ्नो बहुमूल्य मत दिई चुनेर पठाएको व्यक्तिले सरकारलाई स्थिर बनाउन सक्दैन भने नागरिक तहले निभाउनुपर्ने भूमिका के हो त? निर्वाचनपछिको नागरिकको अपेक्षा, आशा, विकास र सुन्दर अनि सहज जीवनशैलीको अपेक्षा नै नागरिक तहको कमजोरी हो? चुनिएर गएकाले आफूले पाएको मतको कदर गर्न नजान्नु, नटेर्नु, नागरिकलाई सम्मान दिन नजान्नु वा आवश्यक नठान्नु? 

यी सबै परिस्थिति यथावत रहनुको मुख्य कारण हो–नेतृत्व तहमा परिपक्वता नआउनु। उमेर हुँदैमा परिपक्व भइन्छ भन्ने जरुरी छैन। परिपक्वता संस्कार, आदत र अनुशासनमा निर्भर हुन्छ। परिपक्वता आन्तरिक गुणवत्ता हो। कुनै विशिष्ट पद हासिल गर्दैमा, चुनाव जित्दैमा व्यक्ति परिपक्व र जिम्मेवार हुन्छ भन्ने छैन र देखिएन पनि। परिपक्व किन हुँदैन? किन कि अपरिपक्वताबाट माथि उठ्न सकेन। सामान्य भाषामा बच्चाहरू समेतले भन्छन्–कस्तो इमेचुअर अर्थात् मेचुअर छैन। जानौं अपरिपक्वताका लक्षण र विशेषताबाट हामी समृद्धि चाहन्छौं र त्यो सम्भव छैन।

अनुभवहिनता– कुनै पनि कार्य सिस्टममा गर्नका लागि या संस्कारयुक्त हुनका लागि अनुभव ज्ञान, अनुभवजन्य अभ्यास र व्यावहारिक अनुभवजन्य क्षमता आवश्यक पर्छ। त्यसैले नेतृत्वमा स्थिरता हुन नसक्नु, राजनीतिक स्थिरता कायम हुन नसक्नु र अराजकता निर्मूल हुन नसक्नुमा कसैले भनेको आधारमा मानेर होइन, सैद्धान्तिक ज्ञानका आधारमा र देखासिकी नगरी अनुभवसिद्ध क्षमता र निर्णय प्रस्तुत गर्न नसक्नु नै प्रमुख कारण हो, अपरिपक्वता हो।

मानसिक चञ्चलता– जो व्यक्ति आफैमा अशान्त, मानसिक रूपमा हडबड, उत्तेजित छ, उसले कुनै नेतृत्वमा रहेर पनि राज्य र समाजलाई आवश्यक योगदान दिन सक्दैन। क्षणक्षणमा विचार बदल्ने, निर्णय बदल्ने, आफ्नो मात्र स्वार्थपूर्ण उद्देश्य हेरेर गठबन्धन परिवर्तन गर्ने, सुझबुझ र दूरदृष्टि राखेर काम गर्न नसक्नेहरूको बाहुल्यताले गर्दा नै आज राज्यको यो अवस्था सिर्जना हुन गएको हो भन्दा अनुपयुक्त नहोला। हडबडमा गडबड भनेझैं उत्तेजित विचार र कार्यबाट प्रेरित हुने वर्ग अपरिपक्व वर्ग हुन् र यिनले स्थायित्वमा जोड दिन सक्दैनन्।

परनिर्भरता– कुनै पनि विचार, निर्णय र योजनामा अरूकै भर पर्नु अपरिपक्वता हो। सके आत्मनिर्भरता नसके परस्परनिर्भरता जरुरी छ तर परनिर्भरता आफूमा क्षमता र साहस नहुनु हो। अरूको विचार र निर्णयले गरेको काममा आफ्नो स्वविवेक र संस्कारको प्रयोग हुन पाउँदैन। त्यसैले पनि प्रत्येक नेतृत्वले आफैमा थाहा पाउनुपर्छ कि आफ्नो खुबी, गुणवत्ता र कर्म गर्ने तरिका आफ्नो जस्तो नै हुनुपर्छ। अरूको पछि लाग्ने स्वभावले आफूमा भएको स्वभाव पनि प्रष्फुटन हुन पाउँदैन। व्यक्तिगत जीवनमा होस् या सामाजिक जीवनमा, आफ्नो जीवन, आफ्नो योगदान, आफ्नो लक्ष्य र आफ्नो सन्तुष्टिका लागि स्वविवेक या परस्परनिर्भरता आवश्यक रहन्छ तर परनिर्भरता होइन। आत्मनिर्भरता र परस्परनिर्भरताका लागि सङ्कल्पवान, शीलवान जीवनशैली विकास हुनु जरुरी रहन्छ। अरूलाई सोधेर गर्ने, अरूकै विचारमा हिँड्ने, अरूकै भनाइ र गराइका आधारमा निर्णय लिनेले कहिल्यै अरूलाई सुख दिन सक्दैन र आफूले पनि सन्तोषपूर्ण कार्य गर्न सक्दैन। यो केवल अपरिपक्व हुनुको परिणाम हो।

निर्णयमा अडिग हुन नसक्नु– परिपक्व व्यक्तिले सोचेर निर्णय लिन्छ, बहुजन हितायको निर्णय लिन्छ। जसले पटक पटक निर्णय बदल्छ, ऊ अपरिपक्व नै हो। सोचेर र सही निर्णय लिनु र निर्णयमा अडिग रहनु परिपक्व व्यक्ति, परिपक्व सरकार र परिपक्व नेतृत्वको गुण हो। पटक पटक अस्थिर सरकार बन्ने, पटक पटक निर्णय परिवर्तन हुने जुन प्रवृत्ति देखिइरहेको छ, त्यसले समृद्धिको आशा कसरी जगाउँछ ? सरकारी स्तरमै कतिपय कार्य गृहकार्यबिना योजना बन्ने, निर्णय हुने र लागु हुने गर्छन् र केही समयपछि ती निर्णय फिर्ता भएका हुन्छन्। कतिपय लागु गर्नुपर्ने निर्णय समयमा भएका हुँदैनन्। व्यक्तिगत जीवनमा होस् वा नागरिक हितमा अपरिपक्व व्यक्तिको अपरिपक्व निर्णयले नै अस्थिरता र अराजकता सिर्जना गरिरहेको हुन्छ।

अहंकारमा बाँच्नु– काम, क्रोध, लोभ, मोह, ईष्र्या र द्वेषलाई जीवनशैली बनाउनु अनि कामनामा बाँच्नु अहंकारी व्यक्ति, अहंकारी नेतृत्वको लक्षण हो। हामी देख्न सक्छौं, सरकारमा हुनेहरूका विगतका इतिहास र अभ्यास, प्रशासनिक क्षेत्रमा हुनेहरूका र पहुँचमा हुनेहरूका नातावाद र कृपावादले सधैं विभेद र खाडलको स्थिति सिर्जना गरेको छ। आफ्नालाई गर्ने कामना, लोभ, मोह र द्वेषमा बाँच्ने, आफूलाई मात्र चाहिने यी सबै अहंकाररूपी स्वभाव अपरिपक्वताका लक्षण हुन्। परिपक्व व्यक्ति या सरकार यस्ता नीच कर्ममा अल्झँदैनन्। युद्ध, हिंसा, झुट, अन्याय सबै अहंकारका परिणाम हुन्। लोभ र स्वार्थकै कारण, धन र मोहको परिणाम नै भ्रष्टाचार हो। वास्तवमै जीवन भित्र आनन्द र बाहिर सम्पन्न होस् भन्ने चाहने हो भने अहंकाररहित भएर परिपक्वताको परिचय दिन सक्नुपर्छ।

परम्परागत संस्कारमा विश्वास गर्नु– नयाँ व्यवस्था र परिवर्तन, नयाँ पुस्तान्तरण र विकेन्द्रीकरण अपनाउन नसक्नु, विगतमा मेरै पुस्ता, मेरै दल नेतृत्वमा थियो, हाम्रै हावी थियो भन्ने परम्परागत संस्कार र व्यवहारले कसैलाई अवसर दिन नखोज्नु अपरिपक्वताको लक्षण हो। परिपक्व व्यक्तिले समयानुकूल परिवर्तन चाहन्छ, समावेशिता चाहन्छ र प्रजातान्त्रीकरणको अभ्यासलाई बढावा दिन्छ। मै खाउँ, मै लाउँ अरू सब मरून् दुर्बलहरू भन्ने कुराको चरितार्थ अपरिपक्व चरित्रले गर्छ। भिडको अनुकरण गर्नु, देखासिकी गर्नु, आफ्नो समझ र सोचले काम लिन नसक्नु, परम्परागत धारणामा बाँच्नु र त्यसअनुसारको व्यवहारमा उत्रिनु हो। यस्तो स्वभावले समृद्धिको दिशामा अग्रसर हुन मद्दत गर्दैन।

उन्माद र कट्टर स्वभावमा रहनु– राजनीति, धर्म, जाति, भूगोल र सम्प्रदायका आधारमा उन्माद र कट्टरतामा रहनु अपरिपक्वताको परिचय हो। एकले अर्कोलाई भड्काउने, शान्ति र स्थिरतामा खलल पु¥याउने, समाजमा विभेद र अन्याय सिर्जना गर्न खोज्ने प्रवृत्तिले कसैको विकास हुँदैन। राजनीतिक उन्माद, कसैको बहकाव, कसैले भड्काएको भरमा सबै व्यवस्था नै तहसनहस हुनेगरी, नागरिकको जीवनयापनमा आँच पुग्नेगरी गरिने सबै व्यवहार र कार्य अपरिपक्व हुनुको परिणाम हो र आफ्नो विवेकको प्रयोग गर्न नजान्नु हो। यसले व्यक्तिगत या सामाजिक जीवनमा समृद्धितर्फ लैजादैन।

अन्धश्रद्धा– नजानीकन, नबुझीकन, परम्परा र संस्कारको नाममा अन्धश्रद्धामा विश्वास गर्नु अपरिपक्वताको परिचय हो। कुनै पनि धार्मिक, सामाजिक या राजनीतिक अभ्यास हुन्, अन्धविश्वास र अन्धश्रद्धामा विश्वास गर्नुले नागरिक समाजलाई नै उल्टो बाटोमा हिँडाउन पुग्छ। हिंसा, पशुबलि, छाउपडी, बालविवाह आदि सामाजिक हानिकारक अभ्यास अनि धर्मको आडमा प्रश्रय पाउनु र न्यूनीकरण हुन नसक्नु अन्धश्रद्धा र अपरिपक्वताको परिचय हो। यस्ता कुरामा कतिपय अवस्थामा नेतृत्व तहबाट प्रश्रय मिल्नुले सामाजिक हानिकारक अभ्यास न्यूनीकरण हुन नसकेका उदाहरण देख्न र सुन्नमा आउँछन्।

अन्धविश्वास– अझै पनि बोक्सीको आरोप, बाटोमा बिरालोले बाटो काट्दा अशुभ हुने, विधवा महिला र रजश्वला भएका महिलालाई सामाजिक र धार्मिक कार्यमा सामेल हुन बर्जित गरिने जस्ता अन्धविश्वासले प्रश्रय पाइरहनु अपरिपक्वताको लक्षण हुन्। राजनीतिक नेतृत्व आज पनि चुनाव अघि मन्दिर जाने, दानदक्षिणा दिने गरेको पाइन्छ। मन्दिर जानु र संस्कार अपनाउनु आपत्तिजनक कुरा होइनन् तर मनलाई मन्दिर बनाउन सक्नुपर्‍यो। कर्मकाण्ड र अन्धविश्वासलाई पोषण गरेर चित्त शुद्धि र पवित्रता विकास हुँदैन। आफ्नो मानसिक सोच परिवर्तन नहुन्जेल अन्धविश्वासका आधारमा जीवनशैली अपनाउने र त्यतातिर प्रेरित गर्नेले समृद्धिको नारा नदिएकै बेस।

त्यसैले परिपक्व भएर व्यक्तिगत र राज्यको विकासमा लाग्ने व्यक्ति र नेतृत्व आवश्यक छ। परिपक्व व्यक्ति र सरकार या नेतृत्वका विशेषता हुन्– आत्मनिर्भरता, आत्मस्वाभिमान, स्वावलम्बन, परस्परनिर्भरता र प्रशंसामा जिउने र त्यसअनुसार कर्ममा प्रेरित गर्ने व्यक्ति या नेतृत्व। यस्ता व्यक्ति या सरकार नागरिक समुदायले पाउने हो भने मात्र शान्त र समृद्ध समाजको परिकल्पना गर्न सकिन्छ।

सन्त कविरको भनाइ अनुसार सबै धनभन्दा सर्वोपरि धन सन्तोष हो र त्यो सन्तोषको धन आफ्नो सत्य कर्मबाट प्राप्त हुन्छ। सरलता, सहजता, दया, सहयोगी भावना, परहितको भावना र अनुशासनमा जिउने व्यक्ति र सरकार मात्र परिपक्व हुन्छ। उसले सबैलाई समान रूपमा हेर्न सक्छ। शील, शिष्टाचार, क्षमाशीलता, संयम र धैर्यजस्ता गुण भएको व्यक्ति मात्र नेतृत्वमा सुहाउँछ र उसले मात्र समृद्धिको आभास दिन सक्छ। यिनै गुणले भरिएका व्यक्ति पाउन सकेको दिन मात्र देशमा र व्यक्तिगत जीवनमा सोचेको जस्तो शान्त, समृद्ध, प्रेमल र आनन्दको अनुभूति गर्न सकिन्छ।  

प्रकाशित: ४ चैत्र २०७९ ००:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App