विचार

अनुकरणीय अध्यापक : संघर्षदेखि सफलतासम्म

दर्शनशास्त्री डा. महादेव साह राजनीति, अर्थशास्त्र, प्राचीन दर्शन विषयमा गहन छलफल र विश्लेषणका लागि मधेस प्रदेशमा चिनिएको नाम हो। लहान सफ्टेक कलेजका संस्थापक उनी बाबुआमाका ६ सन्तानमध्ये कान्छो हुन्। सोनार (सुनचाँदीको गरगहना बनाउने कालिगढ) सुन्दरीबत्ती र सीताराम साहको कान्छो छोराका रूपमा लहानमा जन्मिएका महादेवले स्कुले शिक्षा लहानमै लिए।

बाल्यकालदेखि नै उनमा पढ्ने रहर भए पनि परिवारको कमजोर आर्थिक स्थितिका कारण उनको स्कुले पढाइ नियमित हुन सकेन। आगलागीका कारण घर जलेर खरानी भएपछि उनको पढाइ नै अवरुद्ध हुन पुग्यो। भारतको मधुवनी जिल्ला हरिपुरका शिक्षक जो लहानस्थित पशुपति माविमा पढाउँथे, उनकै सहयोगमा महादेवले कक्षा ९ र १० नियमित पढे। जसकारण उनको स्कुले जीवनमा गणित कमजोर विषय रह्यो। त्यो बेला अहिलेको जस्तो निजी र सरकारी विद्यालय भन्ने थिएन। उनले स्कुले जीवन सम्झे, ‘हाम्रो पालामा हाइस्कुल भन्ने सरकारी विद्यालय मात्र थियो।’ त्यो बेला गरिबीका कारण कलेजको पढाइ धेरैका लागि गाह्रो विषय थियो।

जग्गा हुनेका छोराछोरीलाई पनि कलेजसम्म पढाइको निरन्तरता दिन गाह्रो पथ्र्यो। धेरै साथीले पढाइलाई स्कुलमै रोके। कलेज पढ्न जिल्लाबाहिर राजविराज जानुपर्ने बाध्यता थियो। पढाइप्रति रुचिका कारण महादेव राजविराज हानिए। कलेजको पढाइ खर्च जोहो गर्न उनले स्कुले बालबालिकालाई ट्युसन पढाउँथे। उनले सम्झे, ‘स्कुले पढाइ खर्च बिँडी बनाएर जुटाए, कलेज खर्च ट्युसन पढाएर। एक विद्यार्थीलाई पढाउँदै दिनको चार आना ट्युसन फी पाउँथें।’

पढाइमा लगनशील र जेहेन्दार साहमा साहित्य अध्ययनप्रति बढी नै रुचि थियो। त्यो बेला नेपाली सहित्यका पुस्तकहरू यस भेगमा कमै पाइन्थ्यो। सीमाञ्चलका पुस्तक पसलहरूमा हिन्दी साहित्यका पुस्तकहरू सहज उपलब्ध थिए। हिन्दी साहित्य पढेर साहित्य अध्ययनको भोक मेटाउँथे उनी। त्यो बेला याक चुरोटको खुब नाम थियो। उनले स्कुले जीवन सम्झे, ‘एकजना माडवारी साथीले घरबाट चोरेर ल्याएको याक चुरोट एक सर्को मैले पनि तानें। मेरो जीवनमा त्यो सर्को पहिलो र अन्तिम थियो,’ उनले भने।

स्कुले जीवनका सामान्य विद्यार्थी साह कलेज प्रवेशपछि तेज विद्यार्थीका रूपमा आफूलाई स्थापित गरे। कडा मिहिनेत र लगनका कारण कलेज जीवनमा राम्रो अंक हात पार्न सफल भए। उनले स्कुले जीवनको ४५ प्रतिशत अंकलाई कलेज पुग्दा ६४ प्रतिशतमा पुर्‍याए। इन्टरमिडियटको पढाइ राजविराजमा सकेर उनी स्नातक अध्ययनका लागि वीरगन्ज पुगे। वीरगन्जमा बिएडको पढाइ सकेपछि उनमा शिक्षक बन्ने रहर जाग्यो। उनी शिक्षण पेसाका लागि सिंहदेवी माध्यमिक विद्यालय आमचोक, इलामका लागि छनोट भए। ‘यस विद्यालयमा तीन वर्ष मावि शिक्षकका रूपमा अध्यापन गराउँदा जीवन बुझ्ने अवसर मिल्यो,’ उनले भने। अभाव, सीमितता, संघर्ष, मिहिनेत, धैर्य सबै यहाँका मानिसबाट सिक्ने अवसर मिल्यो। यस विद्यालयमा म अंग्रेजी शिक्षकको पदमा नियुक्त भए पनि सामाजिक शिक्षा, नेपाली, अर्थशास्त्र, पञ्चायत परिचयलगायतका ६ वटा विषय पढाउँथे– उनले सम्झे। उनी यस विद्यालयमा २०३५ सालमा मावि शिक्षकको पदमा भर्ना भएका थिए।

चाहनाले शिक्षण पेसा अँगालेकाले होला, उनमा पढाउने र पढ्ने भोक औधी थियो। पहाडी जिल्ला इलाम। त्यसमा पनि दुर्गम आँपचोकको माध्यमिक विद्यालय। पुस्तक, कापीको अभावका बीच पठनपाठन गर्नु गराउनु कम्ती गाह्रो थिएन। दुर्गममा पढ्नु र पढाउनु दुवै भिर उक्लिनुभन्दा कठिन रहेको उनको सम्झना छ। पाठ्य सामग्री अभावले यहाँका विद्यार्थीहरू राम्रो नतिजा ल्याउन सक्दैनथे। सिंहदेवी माविको एसएलसी परीक्षाफल (रिजल्ट) शून्य थियो। २०३७ सालसम्म हुनुपर्छ, यस विद्यालयको रिजल्ट शून्य थियो। उनले सम्झँदै भने, ‘म गएको दोस्रो वर्ष यस विद्यालयको परीक्षाफल शून्यबाट १०० प्रतिशत पुग्यो। त्यो क्षणलाई मेरो जीवनकै सबैभन्दा आनन्ददायी क्षणका रूपमा सम्झन्छु, सम्झिरहनेछु।’ उनी भावुक भए।

शिक्षकको जागिरमा रहरले प्रवेश गरेका साह बाध्यताले जागिरबाट बाहिरिनुपर्‍यो। उनी इलाममै शिक्षक रहँदा जनमत संग्रह घोषणा भयो। जनमत संग्रहमा बहुदलको पक्षमा वकालत गर्न उनी जागिर छाडेर घर फर्के। जागिर छाडेपछि परिवारमा आर्थिक संकट निम्तियो। परिवारको गुजाराको एक मात्र सहारा आफू जागिर छाडेर बेरोजगार भएपछि परिवारको हातमुख जोड्ने समस्या भएको उनले सम्झे। ‘त्यो बेला पडरियाका बहुदल पक्षीय समाजले आफ्नो परिवारको भरणपोषणको जिम्मा लिएका थिए,’ उनले भने। जसले उनलाई बहुदलको पक्षमा पूर्णकालीन प्रचारक बन्न मद्दत पुग्यो। जनमत संग्रहमा बहुदल पक्ष पराजित भयो। जसले उनलाई केही समय विचलित बनायो। परिवारमा आर्थिक संकट बढ्दै थियो। शिक्षकको जागिर छोडिसकेकाले फेरि जागिरमा फर्कने बाटो थिएन। आर्थिक संकटले उनको छटपटि बढाइरहेको थियो।

शिक्षा सेवा आयोग खुल्यो। उनी फेरि शिक्षक बन्ने निधो गरे। शिक्षा सेवा आयोग भरे। सेवा उत्तीर्ण गरेपछि उनी सिरहाकै इनर्वास्थित हप्र माविमा शिक्षकको जागिरमा पुन: प्रवेश गरे। रुचिका जागिरमा उनी लगनका साथ काम गरेर यस भेगमा असल शिक्षकका रूपमा नाम कमाए। शिक्षण पेसा साहको रुचिको पेसा भए पनि उनी यस पेसामा धेरै समय टिकिराख्न सकेनन्। शिक्षककै जागिरमा रहँदा उनलाई उच्च शिक्षा हासिल गर्ने अवसर जुर्‍यो। उनले १९८३ मा सोभियत संघको मस्कोस्थित जनमैत्री विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न शिक्षकको जागिर छोडे।

विश्वविद्यालयबाट बेला मासिक ९५ रुबल (रुसी रूपैयाँ) पाउँथे। जसबाट ५ रुबल लेबी बुझाएर बाँकी आफ्नो खर्च राखेर ४५ रुबल घर पठाउँथे साह। विश्वविद्यालयमा उनले नौलो अनुभूति के भने मौखिक परीक्षा प्रणाली। जसका कारण बोल्ने शैलीको विकास भएको उनको अनुभूति छ। खारिएका विद्वान् प्राध्यापकहरूको सान्निध्य पाउँदा अध्ययनपद्धतिको नौलो अनुभूति प्राप्त भएको उनी सम्झन्छन्। प्रथम विद्यावारिधिको उपाधिका लागि तयार पारेको शोधपत्रमा नेपालका कम्युनिस्ट र प्रजातन्त्रवादीहरू एक ठाउँमा नउभिएसम्म प्रजातन्त्रको पुनस्र्थापना सम्भव छैन भन्ने शोध निष्कर्ष थियो। उनी भन्छन्, ‘अन्तत: त्यो निष्कर्ष इतिहासले प्रमाणित गरिदियो।’

इतिहासले ज्ञानका सबै जिज्ञासाको उत्तर दिएन। इतिहासको दर्शन के हो ? इतिहास किन आफैंलाई दोहोर्‍याउँछ ? कुन दर्शनबाट इतिहास निर्देशित हुन्छ ? इतिहासको दर्शन र दर्शनको इतिहासमा के सम्बन्ध छ ? भन्नेबारे उनले अर्को शोध सुरु गरे। प्राचीन भारतीय दर्शन, चिनियाँ दर्शन, ग्रीक दर्शनको अध्ययनबाट उनले दोस्रो विद्यावारिधिको शोध प्राचीन भारतीय र चिनियाँ दर्शनमा अहिंसाको दार्शनिक स्रोत तयार पारे। शोध निष्कर्षमा उनले अहिंसाका हजारांै शोधपत्रका विपरीत अहिंसा हिंसाको विरोधमा होइन, अपि तु अहिंसा हिंसा अहिंसाको वृत प्रकृतिमा कामय रहेको तथ्यलाई उपनिसदीय ज्ञान सत्यमेव जयते अर्थात् सत्य असत्य सत्यको सनातन वृत्तले प्रमाणित गर्‍यो। उनले सम्झे।

४० वर्षको उमेरमा साहले पूर्वीय र पाश्चात्य दार्शनिक परम्परामा राजनीतिक सत्ताको दार्शनिक आधार विषयमा महाविद्यावारिधिको शोधपत्र तयार पारेका थिए। उनी जनमैत्री विश्वविद्यालयमा डाक्टर अफ साइन्स इन फिलोसोफीको शोध ग्रन्थ तयार र प्रमाणित गरेका हुन्।

साहसँगै उनकी श्रीमती रेणु पनि मस्कोस्थित जनमैत्री विश्वविद्यालयमा विश्व इतिहास संकायमा अध्ययनरत थिइन्। उनी अध्ययनकै क्रममा मस्कोमा छोरी रेकमा र छोरा अंकुरलाई जन्म दिइन्। त्यस बेला रुसमा नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको उनी सम्झन्छन्। कोही चिकित्सा विज्ञान त कोही इन्जिनियरको पढाइका लागि रुसमा छरिएका थिए। दसैं र तिहारमा नेपालीहरू एक ठाउँ जम्मा हुन्थे। तर, उनीहरूबीच वैचारिक गुटबन्दी थियो। भेलामा वैचारिक मन्थन हुन्थ्यो। समय–समयमा नेपाली दूतावासले नेपाली विद्यार्थीलाई भेला गर्ने अवसर दिन्थ्यो। नेपाली भूमिबाहिर नेपालीपन खुब प्यारो र आदर्श लाग्थ्यो। ‘नेपाली हुनुको गौरव भूमि छोडेपछि पो लाग्दो रहेछ, त्यो मस्कोमा महसुस गरेको थिएँ,’ उनले सम्झे।

रुसको सम्झना

रुसी संस्कृतिको एउटा रोचक पक्ष यादगार छ। त्यो हो विवाह गर्ने र मन नपरेमा महिलाले पुन: पारपाचुके गर्ने। जस्तो कि सुपर मार्केटमा मन परेको वस्तु छनोट गर्ने विकल्पवादी परम्परा। पतिपत्नी छनोट पनि उस्तै। ‘नेपाली त्यसमा पनि मधेसको मान्छे मेरा लागि त्यो संस्कृति टिठलाग्दो थियो। अहिले पनि त्यो परम्परा सम्झँदा छक्क पर्छु, हाँस्छु, चिन्तित हुन्छ,’ उनले भने।

एकपल्ट एक रुसी महिला प्राध्यापकले मलाई आफ्नो जन्मदिनको भोजमा निम्तो गरिन्। त्यहाँ उनले चारजना पुरुषसँग मेरो परिचय गराइन्। जसमध्ये तीन पुरुष उनका पूर्वपति थिए र चौथो वर्तमान पति। तीन जनै पूर्वपतिहरू ती प्राध्यापकका वर्तमान पतिलाई बधाई दिँदै गरेको दृश्यले मलाई अनौठो अनुभूति गराइरह्यो। रोचक त के भने तीनजना पूर्व पतिहरू शुभकामना दिँदै थिए– मलाई त विवाह फापेन, तिमीलाई फापोस्। ‘त्यो क्षण सम्झँदा अहिले पनि मलाई घोत्लिन बाध्य तुल्याउँछ,’ उनले भने। तर, त्यसलाई अर्को पाटोबाट विश्लेषण गर्दा कम्युनिस्ट देशमा यति फराकिलो प्रजातान्त्रिक चिन्तन भएका मानिस ! विश्वेश्वरप्रसाद कोइरालाको ‘तीन घुम्ती’ उपन्यास वा ‘बाबु आमा र छोरा’ उपन्यासमा वर्णित अस्तित्ववादभन्दा पनि फराकिलो प्रजातान्त्रिक चिन्तन।

मस्को बसाइकै क्रममा सन् १९८६ ताका हुनुपर्छ। विश्वविद्यालयमा वार्षिक अंक पत्रिका निकाल्दा उनलाई नेपालको राजनीतिबारे लेख्न भनियो। उनले ‘अ पोलिटिकल पोर्टेट अफ बिपी’ भन्ने शीर्षकमा लेख लेखे। बिपीको गहिरो अध्ययनबिना कम्युनिस्टहरूले उनीमाथि लगाउने गरेका आरोपको विरोधमा तर्क र तथ्य प्रस्तुत गरी रुसी भाषामा लेखिएको त्यो लेखले अर्थपूर्ण प्रतिक्रिया पायो।

त्यो लेख सँगैका कतिपय कम्युनिस्ट साथीलाई मन नपरेको रहेछ। लगत्तै त्यस बेलाका एक पोलिटब्युरो नेता मस्को भ्रमणमा आउँदा केही साथीले त्यो लेख उद्धृत गर्दै उनको खिलाप पोल लगाए। साहलाई अराजक किटान गरियो। अनौठो त के भने साहलाई अराजक किटान गर्ने ती नेता पछि बिपीकै पार्टीमा प्रवेश गरेर राजदूत बने।

सन् १९९६ को सेप्टेम्बरमा जनमैत्री विश्वविद्यालयका रेक्टर प्राध्यापक म्लिमिर स्तानिससँग नेपाल आउँदाको क्षण स्मरणीय छ साहका लागि। राजा वीरेन्द्रलाई जनमैत्री विश्वविद्यालयले मानार्थ डाक्टरको उपाधिले सम्मानित गरिँदै थियो। रुसी विश्वविद्यालयहरूबाट पढेर आएका डिग्री होल्डरलाई डिग्रीको समस्या समाधान गराउनु विश्वविद्यालयको उद्देश्य थियो। त्यो बेला दरबारका सोच र रुसी विश्वविद्यालयको उद्देश्य नजिकबाट बुझ्ने अवसर पाए साहले। साह रुसी प्रतिनिधि मण्डल र राजाबीच दोभासेको भूमिका निर्वाह गर्दै थिए। ‘राजालाई नेपाली भाषामा आफ्ना विचार व्यक्त गर्न निकै अप्ठ्यारो परेको मैले अनुभूति गरें,’ साहले सम्झे।

१९९६ मा मस्कोबाट घर फर्कंदा आमा निकै बिरामी हुनुहुन्थ्यो। उहाँलाई हेरचाह गर्ने कोही थिएन। आमाले मलाई घरमै बस्न धेरै आग्रह गरिन्। मैले आमाको इच्छा मार्न सकिनँ। मैले आमाको इच्छालाई पहिलो प्राथमिकतामा राखें। म लहानमै आमासँग बस्ने निर्णय गरें। शिक्षा क्षेत्रमै जीवनको अधिकांश समय बिताएकाले मैले शिक्षा सेवामै जीवन समर्पित गर्ने अठोट गरें। उनले आफ्नै शिक्षालय सञ्चालन गर्ने सोच बनाए। आफ्नो अनुकूलको स्वतन्त्रता र सेवा अनि प्रयोग गर्न पाइने। मैले सफ्टेक कलेज सञ्चालन गरें। जहाँ एउटा नयाँ प्रयोग गरें– पाँच दिन पढाइ एक दिन परीक्षा। शिक्षा पेसामा समर्पित हुन पाउँदा आनन्द महसुस हुँदै छ।  

अहिलेका व्यक्तिमा पहिलाको जस्तो गहन अध्ययनको अभाव देखिन्छ। नेपाल र मस्कोका विश्वविद्यालयमा पढेका साह भन्छन्, ‘अध्ययन अनुसन्धानमूलक हुनुपर्छ।’

प्रकाशित: १३ फाल्गुन २०७९ ०१:०६ शनिबार

अक्षर