विचार

सुन कारोबार निराशाजनक

काठमाडौं- सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेपछि त्यसको असर सुन बजारमा देखिएको छ। सुनको भाउ बढेपछि लगानीकर्ताले नाफा कमाउन सेयरमा लगानी बढाएपछि चाडपर्वको समयमा पनि सुन किनबेच न्यून रहेको व्यवसायी बताउँछन्।

विगतमा हिन्दु धर्म मान्ने महिलाहरुको चाड तीजमा उच्च हुने सुन कारोबार यो वर्ष आधाभन्दा तल झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनकोे भाउ बढेपछि खस्केको व्यापार अझै माथि उठ्न नसकेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए। 'सुन महँगो भएपछि लगानीकर्ताले सेयरमा लगानी गर्न थाले,' शाक्यले भने, 'तीजमा महिलाहरुले धेरै नकिन्दा पनि कारोबार माथि उठ्न सकेन।' विगतमा पैसा हुनेले सुन किन्ने गरेकोमा अहिले सेयर किन्न थालेका छन्।

शाक्यका अनुसार अहिले दैनिक १७–१८ किलो सुन बिक्री हुन्छ। 'तीजमा पनि सुहाँउदो व्यापार छैन,' उनले भने, 'गत वर्ष भूकम्पपछिको तीजमा दैनिक ४५ किलोसम्म सुन बिक्री भएको थियो।'  महँगो भएको अनुपातमा उपभोक्ताको आयस्रोत नबढेको र दैनिक उपभोग्य वस्तुको मूल्य बढेकोले पनि सुन कारोबार घटेको उनले तर्क छ।

बेलायत युरोपेली युनियन (इयु)बाट अलग्गिने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकाएक अकासिएको थियो। इयुबाट अलग्गिने निर्णयसँगै डलरको भाउ कमजोर भएपछि गत असार १० गते सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ बढेको थियो। डलर कमजोर हुनासाथ लगानीकर्ताले सुनमा लगानी बढाउँदा सुन प्रतितोला ५६ हजारबाट बढेर ५९ हजार पुगेको थियो। त्यसपछि केही थोरै घटे पनि धेरै मूल्य नघट्दा कारोबार प्रभावित भएको छ। बिहीबार सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ।

अघिल्ला महिनाको तुलनामा तीजमा केही सुधार भने भएको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। 'अघिल्लो महिनाको कारोबार हेर्दा केही सुधार त भएको छ,' उनले भने।

सुनको मूल्य वृद्धि, सुनको साटो सेयर बजारमा लगानी, भूकम्पपछि सुन बेचेर पुनर्निर्माण गर्दा कारोबार निकै घटेको उनले बताए। बनाउनुपर्नेले पनि पुराना बेचेर नयाँ डिजाइनका बनाउने गरेका छन्।

बिक्री नहुँदा बैंकमा सुन थुप्रिएको थियो। तीज नजिकिँदै गएपछि सुनको माग बढेको नेपाल बैंकर एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेलले बताए। 'माग बढ्न थालेपछि बैंकहरुले सुन ल्याउने प्रक्रिया सुरु गरेका छन्,' उनले भने, 'व्यापारीलाई दिन अभाव छैन।'

भदौ ५ गतेसम्म बैंकमा ३ सय २२ किलो सुन थियो। अहिले २ सय ४४ किलो सुन बैंकहरुमै रहेको नेपाल बैंकर एसोसिएनका कार्यकारी निर्देशक  केशव अधिकारीले बताए। बैंकमा सुन घटेपछि चार बैंकले २ सय किलो सुन ल्याउन अनुमति लिएको उनले बताए। 'चार बैंकले ५० किलोको दरले अनुमति लिएका छन्,' अधिकारीले भने।

तर, सुन व्यवसायी महासंघले बैंकहरुले सुन सकिएको भन्दै फिर्ता गरेको जनाएको छ। अघिल्लो हप्तासम्म सवा ३ सय किलो सुन छ भनेका बैंकले अहिले व्यवसायीलाई फिर्ता पठाउँदा अचम्म लागेको महासंघको अध्यक्ष शाक्यले बताए।

गत महिना आयात गर्ने अन्तिम तयारीमा रहे पनि किनबेच नभएपछि बैंकले अन्तिम समयमा आएर आयात प्रक्रियासमेत रोकेका थिए। बैंकमा रहेको सुन बिक्री नभएपछि व्यवसायीले आयात कोटा बढाउने मागसमेत स्थगित गरे। केही समयअघि अवैध बाटोबाट व्यापारीले ल्याउँदा बैंकमा सुन थुप्रिएको बैंकरहरुको गुनासो थियो। राष्ट्र बैंकले २३ वटा वाणिज्य बैंकलाई सुन आयात गर्ने अनुमति दिएको छ। सुन आयात गर्ने अनुमति बैंकहरूलाई मात्र छ।

नेपाली बजारमा सुन लगाउने घटे पनि विदेशमा रहेका नेपाली महिलाले मौलिक पहिचानका गहना लगाउन थालेपछि यहाँ गहना बनाएर विदेश पठाउने प्रचलन बढेको सुन व्यवसायी बताउँछन्। विदेशमा रहेका नेपाली महिलाले तीजमा गहना मगाएपछि विदेश लैजाने क्रम बढेको छ। विदेशमा रहेका महिलाको कमाइ राम्रो भएकाले नेपाली मौलिक पहिचानका तिलहरी, कटरगेडी, पाँच गेडी, जन्तर, टाउकोमा लगाउने चन्द्रमा लगायत गहनाको माग बढेको सयपत्री ज्वेलर्सकी जोत्स्ना श्रेष्ठले बताइन्। 'पहिले जस्तो व्यापार छैन,' उनले भनिन्, 'विदेशमा बस्ने दिदीबहिनीमा नेपाली लगाउनु पर्छ भन्ने उत्साह बढेको छ।' विदेश बस्नेलाई आफन्तले गहना पठाउने गरेको उनले बताइन्।

प्रकाशित: २० भाद्र २०७३ ०४:१० सोमबार

सुन कारोबार निराशाजनक