अन्तर्राष्ट्रिय

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

फाइल तस्बिर : बाइडेन

कुकुरसँग खेल्ने क्रममा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको खुट्टा मर्किएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।  

चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको छ र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ।  

उपचारका लागि शनिबार बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा भर्ना गरिएको थियो।  

बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताएका छन्। तर उनको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि उनले जानकारी दिएका छन्।  

बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाई पनि जटिल हुन सक्छ। राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै छन्। उनी अमेरिकाको इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बनेका छन्।  

बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँडेको देखिएको थियो तर वैशाखी वा अन्य कुनै सहायता लिएका थिएनन्।  

राष्ट्रपतिमा निर्वाचित बाइडेनको घरमा २ वटा कुकुर छन्, जसलाई ह्वाइट हाउस लैजाने उनले यसअघि नै बताइसकेका छन्। एपी

प्रकाशित: १५ मंसिर २०७७ ०९:१२ सोमबार

अमेरिका जो बाइडेन