भारतमा कोरोना संक्रमित राखिएको एक होटलमा आइतबार बिहान आगलागी भएको छ ।
बिबिसी हिन्दीका अनुसार आन्ध्र प्रदेशको विजवाडास्थित स्वर्ण प्यालेस नामको होटलमा बिहान ५ बजेतिर आगलागी भएको हो । घटनामा अहिलेसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आन्ध्र प्रदेशका गृह राज्यमन्त्री मेकाथोटी सुचरिताका अनुसार विद्युत चुहावट हुँदा आगलागी भएको हो ।
बिहान ५ बजेर ९ मिनेट जाँदा प्रहरीलाई आगलागीबारे खबर आएको थियो । पाँच मिनेटमै घटनास्थल पुगेको प्रहरी टोलीले आधा घण्टामै आगो नियन्त्रणमा लिएको थियो ।
आन्ध्र प्रदेश सरकारका सल्लाहकार एस राजी कृष्णाले ट्विटमार्फत मुख्यमन्त्रीले आगलागीबाट पीडितलाई उपचारलगायत सहयोग गर्ने वचन दिएको जानकारी दिएका छन् ।
विजयवाडाका प्रहरी कमिस्नर बी श्रीनिवासुले बिबिसीसँग भनेका छन्, ‘यी मानिस कहाँ कहाँबाट आएर उपचार गराइरहेका थिए । आगो लाग्ने बेला होटलमा ३० जनाभन्दा बढी मानिस थिए । तीमध्ये धेरेजसोलाई बचाउन हामी सफल भएका छौं । मृतकको संख्या बढ्न सक्छ।’
आगलागी भएपछि चार जना भवनबाट तलतिर भागेका थिए । तर अहिलेसम्म ती चार जनाको कुनै जानकारी आएको छैन । आगलागीमा घाइते भएकाहरू नजिकैको रमेश हस्पिटलमा भर्ना भएका छन् । सोही हस्पिटलले उपचारका लागि आएका कोरोना संक्रमित राख्न भाडामा लिएर त्यस होटललाई कोरोना केयर सेन्टर बनाएको थियो ।
आन्ध्र प्रदेश सरकारले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन्, जसको नेतृत्व जिल्ला संयोजकले गर्नेछन् ।
प्रकाशित: २५ श्रावण २०७७ ०८:३१ आइतबार