अन्तर्राष्ट्रिय

दुई मुलुकबीच शक्ति संकलन र प्रदर्शनको प्रतिस्पर्धा

भारत–चीन सीमा विवाद

भारत र चीनबीच सीमा क्षेत्र गलवान उपत्यकामा विवादले उग्र रूप लिँदा गत जुन १५ मा चिनियाँ सैनिकको आक्रमणमा परी एक कर्नेल सहित २० भारतीय सैनिकले ज्यान गुमाए।  

दुई मुलुकबीच वार्ता र विवाद समानान्तर रूपमा चलिरहेकै बेला सीमा क्षेत्रमा भएको झडपमा उक्त संख्यामा भारतीय सैनिकले ज्यान गुमाएका हुन्। हिंसात्मक झडपपछि पनि दुई देशकाबीचमा सैन्य तथा कूटनीतिक तहमा वार्ता जारी छन्। तर सीमा क्षेत्रमा दुवै देशले आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउँदै लगेका छन्। मंगलबार मात्रै पनि दुई देशका उच्चस्तरीय सैन्य अधिकारीबीच विवाद कम गर्न वार्ता भएको छ। तर दुई देशबीचमा तत्कालै विवाद थामिने संकेत भने देखिएको छैन। दुई छिमेकी मुलुकबीच सीमा क्षेत्रमा सैन्य उपस्थिति बढाउने मात्र होइन मिडिया वार पनि सँगै चलिरहेको छ। यसबीचमा भारतले आफ्नो शक्ति संकलनका लागि शक्ति मुलुकसँग निरन्तर सम्पर्क गर्ने तथा आवश्यक हात हतियार तथा उपकरण संकलनमा पनि जुटेको छ।  भारतले पुरानो साझेदार रसियाबाट हतियार भित्र्याउने प्रक्रिया तीव्र बनाएको छ।  

दुई देशका सेनाबीच झडप भएको करिब एक सातापछि जुन २१ मा भारतीय रक्षामन्त्री राजनाथ सिंह रुस भ्रमणमा निस्किए। दोस्रो विश्व युद्धका बेला जर्मनमाथि सोभियत संघले विजय गरेको ७५ औं वार्षिक उत्सवमा आयोजित बृहत् सैन्य परेडमा सहभागी हुन उनी त्यहाँ पुगेका थिए। भ्रमणका क्रममा त्यहाँ उनले उच्च सैन्य अधिकारीसँग भेट गरेका छन्। छलफलका क्रममा एक अर्ब अमेरिकी डलरका सैन्य उपकरणमध्येकतिपय महत्वपूर्ण हतियार छिट्टै भारतलाई हस्तान्तरण गर्ने सहमति भएको भारतीय मिडियाले जनाएका छन्।  

भारतमा चिनियाँ उत्पादन बहिष्कारको अभियानसमेत सुरु भएको छ भने सोमबार भारत सरकारले नै चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यसले दुई मुलुकबीच तनाव थप बढ्ने देखिएको छ।

भारतले फ्रान्सबाट ल्याउन लागेको विश्वमै सबैभन्दा लामो दुरीसम्म एयर–टु–एयर मिसाइल प्रहार गर्नसक्ने एयरक्राफ्ट राफल अर्काे महिनासम्म भारत आइपुग्ने बताइएको छ। उक्त लडाकु विमान भारतमा ठूलो प्रतिष्ठाको विषय बनेको छ। बीचमा भ्रष्टाचार भएको आरोपमा राफल खरिदको प्रक्रियामा केही ढिलाइ भएपनि गत वर्ष भारत र पाकिस्तानबीच सीमा क्षेत्र बालाकोटमा एयर स्ट्राइकपछि भारतले राफल भित्र्याउने प्रक्रियालाई महत्वका साथ अघि बढाएको थियो। गत वर्ष इन्डिया टुडे सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरूसँग राफल भएको भए पाकिस्तानलाई उचित जवाफ दिने बताएका थिए।  

त्यस्तै सैन्य सामग्रीको मुख्य निर्यातकर्ता इजरायलबाट भारतले अति आवश्यक हवाई सुरक्षा प्रणाली छिट्टै ल्याउने तयारी गरेको छ।  उक्त प्रणाली सीमा क्षेत्रमा जडान गरिने छ। त्यस्तै अमेरिकाले पनि भारतलाई तोपलगायतका हतियार उपलब्ध गराउने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारत र चीनबीच विवाद बढ्दै गर्दा अमेरिकाले युरोपमा रहेका सैनिकको संख्या कटौती गरेर ती सैनिकलाई एसिया प्यासिफिक क्षेत्रमा तैनाथ गर्ने निर्णयसमेत गरेको छ। दुई एसियाली मुलुकबीच विवाद बढ्दै गर्दा शक्ति मुलुकबीच पनि सक्रियता बढिरहेको छ। भारतले शक्ति संकलनका लागि दौडधुप गरिरहँदा उदाउँदो विश्व शक्ति चीनले समेत आफ्ना सैन्य उपकरणको प्रदर्शन गर्ने तथा सीमा क्षेत्रमा सैन्य गतिविधि बढाउने कामलाई तिव्रता दिइरहेको छ।  

मंगलबारमात्र भारतीय विदेशमन्त्री एस जयसंकर र फान्सेली समकक्षी जिन युभेस ले डारियनबीच वर्तमान सुरक्षा अवस्था र राजनीतिक विषयमा बृहत् छलफल भएको भारतीय अखबार दि हिन्दुले जनाएको छ। दुई देशबीचमा विदेश सचिवस्तरीय छलफल भएपछि विदेशमन्त्रीस्तरीय छलफल भएको हो।  

भारत र चीनबीच विवाद बढ्दै गर्दा अमेरिकाले युरोपमा रहेका सैनिकको संख्या कटौती गरेर ती सैनिकलाई एसिया प्यासिफिक क्षेत्रमा तैनाथ गर्ने निर्णयसमेत गरेको छ। दुई एसियाली मुलुकबीच विवाद बढ्दै गर्दा शक्ति मुलुकबीच पनि सक्रियता बढिरहेको छ। भारतले शक्ति संकलनका लागि दौडधुप गरिरहँदा उदाउँदो विश्व शक्ति चीनले समेत आफ्ना सैन्य उपकरणको प्रदर्शन गर्ने तथा सीमा क्षेत्रमा सैन्य गतिविधि बढाउने कामलाई तिव्रता दिइरहेको छ। सीमा क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै लगेको चीनले सीमा क्षेत्रमा खटिएका सैनिकलाई विशेष मार्सल आर्ट तालिम दिन लागेको समाचारसमेत भारतीय सञ्चार माध्यमले उल्लेख गरिरहेका छन्।  

दुई मुुलुकबीच विवादकै बीच सोमबार मात्र भारतले चर्चित एप टिकटकसहित ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो। भारतले चिनियाँ एप प्रतिबन्ध लगाउने निर्णय गरेको एक दिनपछि मंगलबार चीनले उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। दुई मुलुकबीच सीमा विवादबाट सुरु भएको तनाव व्यापार क्षेत्रमा समेत देखिन थालेको छ। भारतमा चिनियाँ उत्पादन बहिष्कारको अभियानसमेत सुरु भएको छ भने सोमबार भारत सरकारले नै चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यसले दुई मुलुकबीच तनाव थप बढ्ने देखिएको छ। यसबीचमा दुवै मुलुक शक्ति संकलन र शक्ति प्रदर्शनमा समेत केन्द्रित हुन थालेपछि एसियाली क्षेत्रमा संकटका बाछिटा देखिन थालेका छन्।

प्रकाशित: १७ असार २०७७ ०५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App