अन्तर्राष्ट्रिय

दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने

दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ। दक्षिण कोरियाको समाचार समिति, योनहापले सोमबार सो समाचार दिएको छ। योनहाप समाचार समितिले भोली मंगलबारदेखि लागू हुनेगरी दक्षिण कोरियाले यो निर्णय गरेको समाचारमा जनाएको छ।

 तर दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका कूटनीतिक क्षेत्रका कर्मचारीहरुका साथै अत्यावश्यक व्यापारिक प्रयोजनका लागि प्रवेशाज्ञा आवश्यक परेकोमा भने दिने पनि जनाएको छ।  दक्षिण कोरियामा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ। यहाँका अधिकारीहरुले ती संक्रमितहरु पछिल्ला केही दिनमा पाकिस्तान र अफगानिस्तानबाट गएका नागरिकमा देखिएको बताएका छन्।  

सोही कारणले ती देशबाट हुने आवागमनलाई सरकारले रोक्ने जनाएको छ। साथै सरकारले ती देशबाट दक्षिण कोरियामा भइरहेका उडानहरुमध्ये नियमित बाहेकका अरु उडानलाई पनि हालका लागि रोक्ने जनाएको हो।  शनिबारदेखि यहाँ ठूलो संख्यामा नयाँ संक्रमित भेटिएका बताइएको छ। निकै लामो समयपछि यहाँ एकै दिन यतिधेरै मानिस संक्रमित भेटिएका हुन्। यहाँका स्वास्थ्य अधिकारीहरुले गत शनिबारमात्र ६७ जना संक्रमित भेटिएको बताएका थिए। गत मे २८ पछि यहाँ पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्।  

दक्षिण कोरिया कोरोना भाइरसको नियन्त्रणमा सफल देशका रुपमा मानिन्छ। यहाँ पछिल्लो समयमा उक्त प्रकोप नियन्त्रणमा रहेको पाइएको छ। प्राप्त समाचारमा यहाँ गत शनिबारको तथ्यांकमा १२ हजार ३७३ जना संक्रमित छन्। साथै यहाँका २८० जना नागरिकको यो भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ। 

प्रकाशित: ८ असार २०७७ ०७:०७ सोमबार

कोरोना भाइरस दक्षिण कोरिया