अन्तर्राष्ट्रिय

गाजा युद्धविराम आजदेखि, ट्रम्पको नाम लिएर नेतान्याहुले दिए हमासविरुद्ध आक्रमणको चेतावनी

गाजा युद्धविराम आजदेखि कार्यान्वयनमा आएको छ। इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु भएको हो। कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीचको युद्धविराम वार्ता विगत केही महिनादेखि रोकिएको थियो। 

यसमा खासै सफलता होला जस्तो लागेको थिएन। तर पछिल्लो समय युद्धविरामका लागि वार्ता गर्ने सबै पक्ष दोहाको एउटै भवनमा रहेकाले यसले गति लिएको थियो। शनिबार बिहान इजरायलको मन्त्रिपरिषद्ले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको हो।

यसबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्धविराम सफल नभए हमासविरुद्धको युद्ध पुनः सुरु गर्न आफ्नो देश तयार रहेको बताएका छन्। गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको आजको कार्यान्वयन अघि एक टेलिभिजन भाषणमा, नेतान्याहुले युद्धविरामलाई ‘अस्थायी’ भनेका छन्। 

उनले हमासले धोका दिए इजरायलले गाजामा फेरि आक्रमण गर्ने अधिकार राख्ने कुरा पनि उल्लेख गरे। यसका लागि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि आफूसँगै रहेको नेतान्याहुको दाबी छ। हमास नेता याह्या सिनवार मारिएको सन्दर्भ उल्लेख गर्दै उनले विगत १५ महिनामा इजरायली सेनाको सफलताको चर्चा सुनाए। 

इजरायली प्रधानमन्त्रीले भने, ‘हामीले मध्यपूर्व परिवर्तन गरेका छौँ। हमास अब पूर्णतया एक्लो छ।’ नेतान्याहुले यसअघि हमासद्वारा रिहा गर्ने बन्धकहरूको सूची प्राप्त नगरेसम्म इजरायलले सम्झौता कार्यान्वयन नगर्ने भन्दै भनेका थिए, ‘इजरायलले सम्झौताको उल्लंघन सहने छैन।’

हमासले रिहा गर्ने ३३ बन्धकहरूको सूची इजरायली मिडियाले यसअघि नै जारी गरिसकेको भए पनि अधिकारीहरूले पुष्टि गरेका छैनन्। इजरायली अधिकारीहरूले आइतबार रिहा हुने तीन जना बन्धकहरूको नाम अझै प्राप्त नभएको भनेका छन्। उता, हमासले पनि बुधबार युद्धविराम सम्झौता घोषणापछि इजरायलको हवाई आक्रमणमा १२० जनाको ज्यान गएको बताएको छ।

आगामी केही हप्ताहरूमा, इजरायलले ३३ इजरायली बन्धकहरूको सट्टामा एक हजार ८९० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ। सम्झौता अनुसार युद्धविराम तीन चरणमा लागू हुनेछ। पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासद्वारा बन्धक बनाएका इजरायली र विदेशी नागरिकलाई रिहा गरिनेछ। त्यसपछि इजरायली सेना विस्तारै गाजाबाट हट्नेछ र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ।

प्रकाशित: ६ माघ २०८१ ०९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App