अन्तर्राष्ट्रिय

शासकसँग नरम बन्दै दक्षिण अमेरिकी जनता

दक्षिण अमेरिकी जनता त्यहाँका शासकप्रति नरम हुन थालेको एउटा अध्ययनले देखाएको छ। द इकोनमिस्ट पत्रिकाले सन् १९९५ देखि दक्षिण अमेरिकाका १७ देशमा हरेक वर्ष गर्दै आएको सर्भेले त्यहाँका जनता पहिलेको तुलनामा सहनशील हुन थालेको देखाएको छ।  

दक्षिण अमेरिकी देशका जनताले लामो समयदेखि आर्थिक सुस्तता, राजनीतिक अस्थिरता, संगठित अपराधको आतंकमा पनि तुलनात्मक रूपमा शासकप्रति क्रोध देखाउन छाडेका छन्।

दक्षिण अमेरिकी देशका जनताले आश्चर्यजनक रूपमा मतदानलाई ठुलो विश्वास गरिरहेका छन्। चुनावबाटै आएका अर्जेन्टिनाका झाबियर माइली र मेक्सिकोकी क्लाउडिया शिनबम अझै पनि लोकप्रिय छन्। त्यसो त बोलिभिया र पेरुजस्ता देशमा सत्ता उथलपुथलका घटना नभएका होइनन् तर पनि सन् २०२३ मा इक्वेडर, ग्वाटेमाला र पनामामा आम निर्वाचन कुनै तनावबिना सम्पन्न भएकाले त्यहाँका जनताको मतदानप्रतिको विश्वास देख्न सकिन्छ।

द इकोनमिस्टले गरेको सर्भेमा उच्चवर्गीय परिवारमध्ये ६१ प्रतिशतले देशको समस्या समाधान गर्छन् भने अप्रजातान्त्रिक शासकले सत्ता चलाए पनि हुन्छ भन्ने धारणा व्यक्त गरेका छन्। लामो समयदेखि अस्थिरताबाट दिक्क भएका सर्वसाधारणमा यस किसिमको धारणा आउनु लोकतन्त्रका लागि खतरा हुने विज्ञहरू बताउँछन्।

दक्षिण अमेरिकाका १० जनामध्ये चारजनाले संसद्बिना पनि देश चल्ने धारणा व्यक्त गरेका थिए। यसको अर्थ ६० प्रतिशतले भने अझै पनि आवधिक चुनाव र लोकतन्त्रमा विश्वास देखाएका छन्। यहाँका जनतालाई सबैभन्दा तर्साउने विषय भनेको बढ्दो आर्थिक विषमता हो। ७२ प्रतिशत सर्वसाधारणले शक्तिशाली समूहले आफ्नो स्वार्थका लागि सरकारलाई प्रभावित तुल्याएर सारा स्रोत र साधन कुम्ल्याइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। तर यस्तो चिन्ता सन् २०१८ को सर्भेमा ७९ प्रतिशत थियो।

यसैगरी एल साल्भाडोर र मेक्सिकोका जनता सरकारप्रति तुलनात्मक रूपमा निकै सकारात्मक देखिएका छन्। एल साल्भाडोरका ६२ प्रतिशत र मेक्सिकोका ४७ प्रतिशत जनता सरकारप्रति सन्तुष्ट देखिएका छन्। तर सरकारले जनतालाई दिनुपर्ने सुविधामा भने ध्यान नदिएकोमा उनीहरूको गुनासो छ। यस्तो गुनासो व्यक्त गर्नेमा चिलीका ८९ प्रतिशत र भेनेजुएलाका ८५ प्रतिशत जनता छन्।

कोभिड महामारीभन्दा अघि दक्षिण अमेरिकाका धेरै देशमा लुटपाट, हिंसा र सडक प्रदर्शनी निकै हुन्थे। अहिले भने त्यहाँका जनता तुलनात्मक रूपमा सहनशील हुन थालेका छन्। यसअघि आफ्नो देशमा आनका तान परिवर्तन हुनुपर्छ भन्नेहरू ३० प्रतिशत थिए भने अहिले त्यो संख्या घटेर २६ प्रतिशतमा आएको छ। तर देश अहिलेकै अवस्थामा हुनुपर्छ भन्नेमा कोही पनि सहमत देखिएका छैनन्।

पछिल्लो समय सरकारी संस्थाहरूमा ती देशका जनातको अलि विश्वास पलाउन थालेको पनि अध्ययनले देखाएको छ। प्रहरी संगठनप्रति पहिलेको तुलनामा बढी विश्वास देखिएको छ। त्यहाँका जनताले सबैभन्दा ठुलो समस्या सुरक्षाभन्दा पनि आर्थिक पक्ष रहेको प्रतिक्रिया दिएका छन्।

दक्षिण अमेरिकाका देशमा समग्रमा आर्थिक वृद्धि सामान्य छ। तर पनि विगत १० वर्षमा ६० प्रतिशतले देशले क्रमशः आर्थिक स्थायित्व प्राप्त गर्न थालेको भन्दै सन्तुष्टि व्यक्त गरेका छन्। अघिल्लो वर्ष ४१ प्रतिशतले आफ्नो अवस्था मध्यमवर्गीय भएको प्रतिक्रिया दिएका थिए भने यस्तो भन्ने २०२३ मा ४८ प्रतिशत पुगेका छन्।

सन् २०२० मा ३२ प्रतिशतले मात्र आफूहरू मध्यमवर्गीय भएको बताएका थिए। यस्तै दक्षिण अमेरिकी देशका २५ प्रतिशत जनताले पर्याप्त खान्कीको अभाव झेलिरहेको बताएका छन्। यस्तो भन्दाभन्दै पनि ९२ प्रतिशत जनताले मोबाइल सेवा प्रयोग गरिरहेका छन्। तीमध्ये ६९ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने र ३५ प्रतिशतले कार चढ्ने हैसियत बनाएका छन्।

यस्तै बजार अर्थतन्त्र क्रमशः सुधार भइरहेको अध्ययनले देखाएको छ। सन् २००७ मा बजार अर्थतन्त्र सुधार भएको मान्ने ४७ प्रतिशत थिए भने अहिले यो संख्या बढेर ६६ प्रतिशत पुगेको छ। यसले दक्षिण अमेरिकाका जनता राजनीतिप्रति थोरैधेरै सन्तुष्ट रहेको देखाउने द इकोनमिस्टको विश्लेषण छ।

रोचक त के छ भने पहिले अमेरिकालाई आफ्नो सबैभन्दा मन पर्ने देश बताउने उनीहरूले राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयसँगै मनपर्ने वैश्विक नेतामा सि जिनपिङ रहेको बताएका छन्। पछिल्लो समय चीनले व्यापक रूपमा दक्षिण अमेरिकामा लगानी गरिरहेको छ। अमेरिका भनेपछि हुरुक्क हुने दक्षिण अमेरिका जनताप्रति उसकोे लगानी घट्दै जान थालेको छ।

प्रकाशित: २५ पुस २०८१ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App