अन्तर्राष्ट्रिय

बाइडेनद्वारा करिब १५ सय अपराधीलाई क्षमादान

कार्यकाल सकिन लागेका राष्ट्रपति जो बाइडेनले बिहीबार करिब १ हजार ५ सय व्यक्तिको सजाय कम गरेका छन् भने ३९ जनालाई अहिंसात्मक अपराधका लागि माफी दिएका छन्। यस कदमलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा एकै दिनमा गरिएको सबैभन्दा ठूलो क्षमादानको कार्य भनेको छ।

‘अमेरिका सम्भावना र दोस्रो अवसरको प्रतिज्ञामा आधारित देश हो,’ बाइडेनले भने, ‘र राष्ट्रपतिको हैसियतले पश्चाताप र पुनःस्थापना देखाएका व्यक्तिहरूप्रति दया विस्तार गर्न पाउनु मेरो ठूलो विशेषाधिकार हो।’

बाइडेनका अनुसार अहिंसात्मक अपराधमा माफी पाएका ३९ जनाले ‘सफल पुनःस्थापना देखाएका छन् र आफ्ना समुदायलाई सुरक्षित र बलियो बनाउने प्रतिबद्धता देखाएका छन्।’

ह्वाइट हाउसले जनाएको छ, "माफी पाएका करिब १ हजार ५ सय व्यक्तिहरूले ‘कोभिड महामारीका क्रममा घरमै सजाय भोगिरहेका थिए र कम्तीमा एक वर्षसम्म सफलतापूर्वक परिवार तथा समुदायमा पुनःस्थापित भएका छन्।’

‘यी व्यक्तिहरूले आफ्नो परिवार र समुदायमा फिर्ता भएर सफलतापूर्वक जीवन बिताउँदै दोस्रो अवसरको योग्य भएको प्रमाणित गरेका छन्,’ बाइडेनले थपे।

तर यसै महिना राष्ट्रपति बाइडेनले आफ्नो छोराको कानूनी समस्यामा हस्तक्षेप नगर्ने वाचा गरेका भए पनि छोरा हन्टरलाई बन्दुक र कर मुद्दामा दोषी ठहरिएपछि आधिकारिक माफी दिँदा आलोचना खेप्नुपरेको छ।

हन्टर बाइडेनले सेप्टेम्बरमा कर छली मुद्दामा दोषी स्वीकार गरेका थिए। उनी १७ वर्षसम्मको जेल सजायको सामना गरिरहेका थिए भने बन्दुक मुद्दाका लागि २५ वर्षको सजाय हुने सम्भावना थियो।

ह्वाइट हाउसका अनुसार बिहीबार माफी पाउने व्यक्तिहरूमा ‘एक उच्च सम्मानित सैन्य अधिकारी तथा पाइलट’ पनि छन्, जसले चर्चका सदस्यहरूलाई सहयोग गर्न धेरै समय खर्च गर्छन्।

त्यसैगरी, प्राकृतिक प्रकोपमा आपतकालीन उद्धारको नेतृत्व गर्ने एक नर्स र नशा परामर्शदाता, जसले आफ्नो समय स्वयंसेवाका लागि खर्च गर्छन्, उनीहरूलाई पनि माफी दिइएको छ।

‘यी कार्यहरूले अपराध न्याय सुधारका क्षेत्रमा राष्ट्रपतिको योगदानलाई अझ मजबुत बनाउँदै परिवारलाई पुनर्मिलन गराउने, समुदायलाई बलियो बनाउने र व्यक्तिहरूलाई समाजमा पुनःस्थापित गराउने लक्ष्य राखेको छ,’ ह्वाइट हाउसले बताएको छ।

राष्ट्रपतिको पदमा रहँदा यस बिन्दुसम्म बाइडेनले आफ्ना अघिल्ला राष्ट्रपतिहरूको तुलनामा धेरै सजाय माफी दिएको तथ्य पनि ह्वाइट हाउसले जोड दिएको छ।

प्रकाशित: २७ मंसिर २०८१ २०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App