अन्तर्राष्ट्रिय

अफगानिस्तानका १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध

तालिबान सरकारले १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको छ।

बिहीवार संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले तालिबान सरकारले जानाजान महिलाहरूलाई शिक्षामा प्रतिबन्ध लगाएको बताएको हो।

अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश रहेको पनि युनेस्कोले जनाएको छ।

सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले आफ्नो शरिया वा इस्लामिक कानूनको उल्लङ्घन भएको भन्दै छैटौँ कक्षाभन्दा माथिका महिलालाई शिक्षामा रोक लगाएको थियो। तालिवान सरकारले पुरुषको शिक्षामा भने रोक लगाएको छैन।

तालिबान सरकारले सत्ता कब्जा गरेदेखि कम्तिमा १४ लाख केटीहरूलाई जानाजानी माध्यमिक शिक्षाको पहुँचबाट बञ्चित गरेको युनेस्कोले बताएको छ। यो सङख्या सन् २०२३ को तथ्याङ्कभन्दा तीन लाखले बढी हो।

‘यदि हामीले प्रतिबन्ध लागू हुनुअघि नै शिक्षाको पहुँच नभएका महिलाहरूलाई जोड्ने हो भने अब देशमा लगभग २५ लाख महिला शिक्षाको अधिकारबाट बञ्चित छन्। यो तथ्याङ्कले ८० प्रतिशत विद्यालय जाने उमेरका युवतीहरूको प्रतिनिधित्व गर्दछ’, युनेस्कोले भनेको छ।

तालिवानले महिला तथा बालिकामाथि लगाएको प्रतिबन्धले बाल श्रम र बाल विवाहमा वृद्धि भएको राष्ट्रसङ्घले जनाएको छ। रासस

प्रकाशित: ३२ श्रावण २०८१ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App