अन्तर्राष्ट्रिय

टेस्लाको चार हजार गाडीमा खराबी आएपछि एलन मस्कको भारत भ्रमण स्थगित

अर्बपति एलन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेका छन्। विद्युतीय कार कम्पनी टेस्लाले एक्सिलेरेसन पेडलमा खराबीका कारण करिब चार हजार साइबरट्रक सवारीलाई फिर्ता बोलाउने भएपछि उनले आफ्नो भारत भ्रमण स्थगित गरेका हुन्।

आजदेखि उनको २ दिने भारत भ्रमणको कार्यक्रम तय गरिएको थियो। तर, टेस्लाको साइबरट्रकमा खराबी आएपछि ४ हजारभन्दा बढी सवारी फिर्ता बोलाउनुपर्ने भएकाले भ्रमण रद्द गरेको बताइएको छ।

भ्रमणका क्रममा मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो।  

गत महिना सरकारले विश्वव्यापी सवारी निर्माताहरूका लागि विद्युतीय सवारीमा आयातमा कर कटौती गरेपछि टेस्लाले भारतमा कारखाना स्थापना गर्ने तयारी गरिरहेको छ। कम्पनीले ५० करोड डलर लगानी गर्ने र तीन वर्षभित्र स्थानीय उत्पादन सुरु गर्ने प्रतिबद्धता जनाएको थियो।

सरकारको उक्त नीतिले प्रत्येक वर्ष ३५ हजार डलर वा त्योभन्दा धेरै मूल्य भएका आठ हजार विद्युतीय सवारीको आयातमा शुल्क घटाएको छ। रासस

प्रकाशित: ९ वैशाख २०८१ ११:१८ आइतबार

एलन मस्क भारत भ्रमण स्थगित टेस्ला एक्सिलेरेसन पेडलमा खराबी