कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पताललाई भेन्टिलेटरसहितको सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ। मेयर किरण सिंह र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादव र मेसु किशोर बन्जाडेलाई क वर्गामा पर्ने एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन्।
गत माघ १८ गते नगरपालिकाले ७२ लाख २१ हजार १९३ मूल्यको सो एम्बुलेन्स खरिद गरी ल्याएको थियो। नगरपालिकाले जटिल खालको बिरामीलाई लक्षित गरी फोर्स कम्पनीको एम्बुलेन्स ल्याएको थियो। कोरोनाका सिकिस्त बिरामी र जटिल खालका बिरामीको उपचारमा सहजता ल्याउनका लागि आफूहरुले सो एम्बुलेन्स किनेर ल्याएको मेयर सिंहले बताए। उनले हस्तान्तरण गरिएको एम्बुलेन्सलाई अस्पतालले सही तरिकाले संचालन गर्नु पर्ने बताए। उनले अस्पतालका लागि चाहिने अरु कुराहरु पनि सहयोग गरिने बताए।
काठमाडौको प्राईम अटो टेक्स प्रालीले भारतबाट खरिद गरी सुनौली नाका हुँदै नगरपालिकालाई उपलब्ध गराएको थियो। यति सुविधा सम्पन्न एम्बुलेन्स लुम्बिनी प्रदेश कै पहिलो भएको भन्दै मेसु बन्जाडेले अस्पतालमा बिरामीको उपचारमा सहजता ल्याएको बताए। रिफर गर्नु पर्ने जटिल खालका बिरामीको उपचारका लागि यो उपयोगी हुने उनले बताए। एम्बुलेन्समा आईसियु, भेन्टिलेटरसहित जटिल खालका बिरामीलाई भित्रै उपचार गर्ने सेवा उपलब्ध रहेको उनले बताए। ‘जटिल खालका बिरामीलाई ल्याउन र लैजान यो एम्बुलेन्समा आवश्यक सबै सेवा उपलब्ध छ,’ उनले भने।
एम्बुलेन्समा जीपिएस सिस्टम समेत रहेको उनले बताए। भेन्टिलेटरसहितको सुविधा सम्पन्न एम्बुलेन्स लुम्बिनी प्रदेश कै यो पहिलो रहेको खरिद समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले दाबी गरे। यस्तो खाले एम्बुलेन्स गौतमबुद्ध मुटु अस्पताल बुटवलसंग मात्र रहेको उनले बताए।
जिल्ला मै पहिलोपटक भेन्टिलेटरसहितको एम्बुलेन्स आएपछि नगरवासी खुसी भएका छन्। उनले एम्बुलेन्स संचालनका बिषयमा समितिको निर्णय गरी कार्यान्वयमा ल्याउने बताए।
प्रकाशित: २० चैत्र २०७८ १४:२८ आइतबार