स्वास्थ्य

कोभिड अस्पतालमा बालमैत्री उपचारको पहल

इलामको सूर्याेदय नगरपालिकाको कोभिड अस्पताललाई बालमैत्री उपचारका लागि सामग्री प्रदान गरिँदै। तस्बिर: भीम/नागरिक

कोभिड–१९ सङ्क्रमितको उपचार बालमैत्री बनाउने प्रयास थालिएको छ। कोभिड अस्पताललाई बालमैत्री बनाउन र ती अस्पतालमा बालबालिकालाई आवश्यक सामग्री व्यवस्थापन गर्न थालिएको हो।  

जिल्लाका ७ सहित प्रदेश नम्बर १ का विभिन्न स्थानीय तहका कोभिड अस्पतालमा उपचाररत सङ्क्रमित बालबालिकालाई उपचार र खेलौनाजस्ता सामग्री प्रदान गरिँदैछ। सदरमुकामस्थित मानवअधिकार मञ्च नेपालले ती अस्पताल बालमैत्री बनाउने प्रयासमा सामग्री वितरण गरिरहेको छ।  

अहिलेसम्म जिल्लाका चुलाचुली गाउँपालिका, सूर्याेदय नगरपालिकासहित विभिन्न स्थानीय तहका कोभिड अस्पताललाई सामग्री वितरण गरिसकेको मञ्चले जनाएको छ। अन्य स्थानीय तहमा समेत सामग्री प्रदान गरिँदैछ। अस्पतालमा रहने बालबालिकालाई औषधि–उपचारका सामान र खेलौनासमेत प्रदान गरिएको छ। ‘उपचारमा रहने बालबालिकाका लागि मास्क, सेनिटाइजर, साबुन, औषधि, अक्सिमिटर, डाइपर, डस्टबिन, प्याडलगायत प्रदान गरिएको छ,’ मञ्चका बाल हेल्पलाइन प्रमुख भक्त थामीले भने, ‘अस्पतालमा उपचाररत बालबालिकालाई उपयोगी सामग्रीहरू चेस, खेलौना, बल, कलर पेन्सिल, ड्रइङ पेपर, कथाका पुस्तक, कापी, क्यारिमबोर्डलगायत पनि दिएका छौं।’ मञ्चले एउटा पालिकालाई ६० देखि ८८ हजार रुपैयाँसम्मको सामान प्रदान गरिरहेको जनाएको छ।  

सूर्याेदय नगरपालिकामा आयोजित कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले ७३ हजार ५ रुपैयाँबराबरको सामग्री मेयर रणबहादुर राईलाई हस्तान्तरण गरे। त्यस अवसरमा मेयर राईले नगरलाई बालमैत्री घोषणा गर्न यो सहयोगले पनि राहत दिने बताए। ‘हामी नगरलाई बालमैत्री घोषणा गर्ने तयारीमा छौं,’ उनले भने, ‘त्यसका लागि यो सहयोगले राहत दिनेछ। नगरलाई बालमैत्री बनाउने प्रयासमा हामीलाई जाँगर मिलेको छ।’  

कार्यकारी निर्देशक विश्वकर्माले आफूहरूले दिएको सहयोगको आकार ठूलो नभएपनि त्यसले बालमैत्री व्यवहार निर्माणमा उत्साह प्रदान गर्ने बताए। ‘हामीले पालिकाका कोभिड अस्पतालमा बालबालिकाको उपचार सहज होस्, अस्पताललाई बालमैत्री बनाउन ध्यान पुगोस् भनेर सहयोग गरेका हौं,’ उनले भने, ‘हामीले दिएको सामग्री धेरै होइन तर त्यसले बालमैत्री व्यवहार निर्माण गर्न सबैलाई झकझक्याओस् भन्ने उद्देश्य हो।’ उनले पालिकाका कोभिड अस्पतालमा बालबालिका उपचारका लागि आएमा उनीहरूलाई सहज हुने संरचना, उपचारप्रणाली र बालमैत्री व्यवहार नितान्त आवश्यक हुने पनि बताए।

मञ्चले किन्नरमिसनरेक जर्मनीको सहयोगमा बाल हेल्पलाइन–१०९८ सञ्चालन गरिरहेको छ। कहींकतै बालबालिका अलपत्र भएको, अभर परेको भए यो नम्बरमा फोन गरी आवश्यक सहयोग लिने सुविधा सबैलाई रहेको प्रमुख थामीले बताए। ‘परियोजना चलिरहेकै थियो, यसबीचमा कोभिडको तेस्रो लहर सुरु भएपछि कोभिड अस्पताललाई सहयोग गर्न थालिएको हो,’ उनले भने, ‘यसअघि बाढी–पहिरोबाट प्रभावित इलाम, पाँचथर, ताप्लेजुङ र तेह«थुमका बालबालिकालाई पनि विभिन्न राहतका सामग्री सहयोग गरेका थियौं।’

प्रकाशित: २५ माघ २०७८ ०४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App