स्वास्थ्य

कुन उमेरका महिलाहरूमा पिसिओएस जोखिम बढी?

नेपालमा पछिल्लो समय १४ देखि ४७ वर्षसम्मका प्रजनन उमेर समूहका महिलाहरूमा पिसिओएस अर्थात् पोलिसिस्टिक ओभरी सिन्ड्रोम बढी देखा पर्न थालेको छ। महिलाहरूमा हर्मोन गडबडीबाट हुने यो रोगले महिनावारी अनियमित हुन्छ, भने लामो समयपछि महिनावारी भयो भने सामान्य अवस्थामा भन्दा बढी रक्तश्राव हुने गर्दछ। दीर्घकालीन रुपमा यसले निःसन्तानको समस्या पनि निम्त्याउँछ।

महिलाको शरीरमा (एन्ड्रोजेन) अर्थात् पुरुष हर्मोन वृद्धि हुनुलाई नै पिसिओएस को मुख्य कारण मानिन्छ। शरीरमा एन्ड्रोजेनको स्तर बढेसँगै प्रजनन स्वास्थ्यमा अति आवश्यक हर्मोनहरूको स्तर घट्दै जान्छ र महिलाहरुमा मोटोपनाको समस्या देखा पर्न थाल्छ।

पोषणविद् अञ्जली गोयलका अनुसार मोटोपना भएका महिलाहरुलाई पिसिओएसको समस्या बढी देखिन्छ। पिसिओएसको समस्या भएका महिलाहरुलाई महिनावारी ढिला हुनुका साथै अनुहार, छाती तथा पेटमा रौं पलाउन थाल्छ भने अनुहार तथा ढाँडमा डण्डिफोर आउने, कपाल झर्ने यसका लक्षण हुन्। पिसिओएस महिलाहरुको तौलसंग सम्बन्धित भएकाले आफ्नो तौललाई स्तिर राख्न सक्यो भने यो समस्याबाट सजिलै छुट्कारा पाउन सकिन्छ। तर चिकित्सकको सल्लाह विना तौल घटाउने गलत तरिका अपनाइयो भने यसले झन बिकराल रुप लिन सक्छ, पोषणविद् गोयलको भनाइ थियो। 

मेटोपना भएका ९९ प्रतिशत महिलाहरुलाई पिसिओएस हुने सम्भावना हुन्छ भने तौल निकै कम भएका २० देखि ३० प्रतिशत महिलाहरुलाई यो समस्या देखा पर्न सक्छ। दुब्ला महिलाहरुलाई थाईरोईडको समस्या छ, भने पिसिओएस हुने सम्भावना बढी हुन्छ।

पोषणविद् अञ्जली गोयलका अनुसार पिसिओएसको मुख्य उपचार भनेकै आफ्नो दैनिकी सुधार गर्नु हो। दैनिक रुपमा हल्का किसिमका शारीरिक व्यायाम गर्ने, खानपिनमा ध्यान दिने हो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ। साथै मानसिक तनाव नलिने, जुम्बा, स्विमिङ्ग, ब्याडमिन्टन, बास्केटबल लगायतका खेलबाट पनि तौल घाटाउन सकिने उनको सुझाव छ।

पछिल्लो समय प्रविधिको विकास भएसंगै बालबालिकाहरु प्रविधिमै बढी घुलमिल हुने गरेका छन्। जसले गर्दा उनीहरुले शारीरिक कृयाकलाप गर्न सक्दैनन्। साथै अत्याधिक मात्रामा जंग फुडको सेवन गर्ने, मानसिक तनाव बढी लिने जस्ता कारणहरुले गर्दा महिनावारीमा समस्या देखा पर्दछ। यस्तो हुन नदिनको लागि बालबालिकाहरुलाई शारीरिक कृयाकलापमा बढी समावेश गराउने, स्वस्थकर खानाको सेवन गर्ने काम गराउनु पर्छ। यसो गर्नाले धेरै हदसम्म पिसिओएसको समस्याबाट छुट्कारा पाउन सकिने पोषणविद् गोयलको सुझाव छ।

प्रकाशित: २८ मंसिर २०७८ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App