स्वास्थ्य

हातमा पासपोर्ट, पाखुरामा खोप

उदयपुरका रमेश विकलाई  खोप लगाउन त्यति सजिलो भएन।  

भक्तपुरको च्याम्हासिँहस्थित ख्वप अस्पतालले मंगलबार कोभिड विरुद्धको खोपमध्ये ‘जोन्सन एण्ड जोन्सन’ दिने खबर पाएसँगै उनी सोमबारै भक्तपुर पुगे ।  

आफन्तकोमा रात बिताएपछि उनी मंगलबार विहान ८ बजेतिर अस्पताल परिसर पुगे। विहान ९ बजेसम्म अस्पताल बाहिर लाइन लागेपछि बल्ल उनले टोकन पाए। एक घन्टा  लाइन लागेपछि बल्ल उनको पालो आयो, रजिष्टरमा नाम लेखाउने। सोही क्रममा उनले आफूसँगै बोकेको पासपोर्ट देखाउँदै  उनले नाम टिपाए।  

‘बल्ल पालो आयो,  अब भने विदेश उड्न पाइने भयो।’ नाम लेखाएपछि आफूले खोप पाइने निश्चित देखिएका उनले भने। त्यसपछि पनि लाइन लाग्नुपर्ने उनले केही क्षणलाई बिर्से। विदेश जानेहरूलाई एक डोजले पुग्ने जोन्सन एन्ड जोन्सनको खोप ‘अनिवार्य’ गरेपछि उनले आफ्नै घरआँगन छेउमा आएको खोप नलगाएको बताए।

‘विदेश जानका लागि अरु खोप लगाएर हुन्न, जोन्सन एण्ड जोन्सन खोप नै लगाउनुपर्छ भनेकोले यही खोप कुरेँ, यहाँ दिने भएपछि त्यहाँदेखि भए पनि आएँ।’ उनले भने। रमेशजस्तै धेरै युवाहरु सो खोपका लागि भक्तपुरको ख्वप अस्पतालमा लाइनवद्द भएका छन्। लाइन मिलाउनका लागि अस्पतालका कर्मचारीमात्र नभएर अस्पतालका डाक्टर रत्नसुन्दर लासिवासमेतलाई गाह्रो भयो।  

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अनुसार चीनको भेरोसेलको खोपलाई धेरैजसो श्रम गन्तव्य मुलुकले मान्यता नदिएको कारण वैदेशिक रोजगारमा जाने युवाहरु जोन्सन एण्ड जोन्सन खोप कुरेर बसेका हुन्।

दुई शक्ति राष्ट्र (चीन र अमेरिका) को फरकफरक नीतिका कारण आफूहरुले दुःख पाएको लाइनवद्द युवाहरु आक्रोश पोखिरहेका थिए। ‘खोप पाउनका लागि पनि पासपोर्ट देखाउनुपर्ने अवस्था छ। यसबारे सरकारले केही पहल गर्दिए त हुने थियो नि’ एक युवा भनिरहेका थिए। सो अस्पतालमा मौज्दात रहेको ४ सय खोपको मात्रा दिनका लागि मंगलबारको दिन निर्धारण गरिएको अस्पताका डा. लासिवाले बताए।

प्रकाशित: १२ आश्विन २०७८ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App