स्वास्थ्य

के हो पार्किन्सन रोग ?

पार्किन्सन स्नायु प्रणालीसँग सम्बन्धित रोग हो। हाल संसारमा करिब एक करोड मानिस पार्किन्सन रोगसँग जुधिरहेको अनुमान गरिएको छ। तर कतिपय व्यक्ति लज्जा, हीनताबोध र सामाजिक तिरष्कारका कारण यो समस्या लुकाउँछन्। यस रोगका कारण शरीरका विभिन्न भाग लुगलुग काम्ने भएकाले उपयुक्त ज्ञानको अभाव र अन्धविश्वासले गर्दा पार्किन्सन रोग लागेका व्यक्तिलाई देवता चढेको वा भूत लागेको भन्ने गलत धारणा हाम्रो समाजका विभिन्न तप्कामा अहिले पनि व्याप्त छ। यस रोग विश्वकै लागि चुनौतीका रूपमा खडा भएकाले हजारौँ वैज्ञानिक यस रोगको प्रभावकारी निदान र दीर्घकालीन उपचारका उपाय पत्ता लगाउन अहोरात्र अनुसन्धानमा खटिरहेका छन्।

यस रोग लाग्नुको कारण अझै पनि यकिन हुन सकेको छैन। यद्यपि यस रोग लागेका व्यक्तिमा मांसपेशीका चाल नियन्त्रण गर्न अत्यावश्यक रहेको डोपामिन नामक रसायन बनाउने स्नायुकोष क्रमिक रूपमा क्षय हुँदै जान्छन्। फलस्वरूप पार्किन्सन लागेका व्यक्तिको मस्तिष्कमा डोपामिनको मात्र ज्यादै न्यून हुन गई चाल नियन्त्रण गर्ने स्नायुकोषहरूको कार्य क्षमतामा ह्रास आउने र चाल प्रक्रियामा असन्तुलन पैदा हुने गर्छ। शरीर लर्बराउने, जिउ कडा हुने वा चल्न गाह्रो हुनेजस्ता समस्याका कारण दैनिक जीवनयापनमा समेत असहजता पैदा हुन्छ। हाम्रो मस्तिष्कमा प्रेरणाको अनुभूति पनि डोपामिनले नै गराउने भएकाले पार्किन्सन भएका कतिपय व्यक्तिको अनुहार निरसजस्तो देखिन्छ।

यस रोगलाई सरल रूपमा तीन चरणमा वर्गीकरण गर्न सकिन्छ। पहिलो चरण अर्थात् ‘प्रिक्लिनिकल फेज’मा स्नायुकोष मर्ने प्रक्रियाको थालनी हुन्छ। तर यस चरणमा रहेका व्यक्ति बाहिरबाट हेर्दा स्वस्थ र तन्दुरुस्त देखिने हुनाले उनीहरूलाई पार्किन्सन लागेको छ वा छैन भनी शंका गर्न समेत मुस्किल हुन्छ। दोस्रो चरणलाई ‘प्रोड्रोमल फेज’ भनिन्छ, जसमा केही प्रारम्भिक लक्षण देखिने तर पार्किन्सन नै हो भनेर किटान गर्न गाह्रो हुने गर्छ। कुनै पनि व्यक्तिमा पार्किन्सनको यकिन पहिचान भने तेस्रो चरण अर्थात् ‘क्लिनिकल फेज’मा मात्रै हुने गर्छ। यस चरणमा रहेका व्यक्तिको असामान्य चाल प्रक्रिया कतिपय अवस्थामा सहजै कुनै प्रविधिको सहायताबिना नांगो आँखाले समेत ठम्याउन सकिन्छ। विडम्बना, तेस्रो चरणमा आइपुग्दासम्म मस्तिष्कको ‘सब्सटान्सिया नायग्रा’ भन्ने भागमा अवस्थित लगभग ६० प्रतिशत स्नायुकोष नष्ट भइसकेका हुन्छन्।  

यस रोग लागेका व्यक्तिमा मांसपेशीका चाल नियन्त्रण गर्न अत्यावश्यक रहेको डोपामिन नामक रसायन बनाउने स्नायुकोष क्रमिक रूपमा क्षय हुँदै जान्छन्। फलस्वरूप पार्किन्सन लागेका व्यक्तिको मस्तिष्कमा डोपामिनको मात्र ज्यादै न्यून हुन गई चाल नियन्त्रण गर्ने स्नायुकोषहरूको कार्य क्षमतामा ह्रास आउने र चाल प्रक्रियामा असन्तुलन पैदा हुने गर्छ।  

हाल पार्किन्सन रोगको उपचारका लागि विश्वमा प्रचलित ‘लेभोडोपा’ नामक औषधि साथै ‘डिप ब्रेन स्टिमुलेसन’ अर्थात् डिबिएस प्रविधि अधिकांश बिरामीलाई वरदान साबित भएको छ। तर ‘न धुँदा जाने न रुँदा जाने’ भनेजस्तै यस रोगलाई पूर्ण रूपमा निर्मूल पार्ने विधि हामी माझ अझै उपलब्ध छैन। लेभोडोपा र डिबिएसले न त बाँकी भएका कोषलाई नष्ट हुनबाट जोगाउन सक्छन्, न त गुमेको कोषको सट्टामा नयाँ कोष जन्माउन नै। यद्यपि नष्ट भएपछि बाँकी भएका कोषको कृत्रिम रूपमा कार्यक्षमता वृद्धि गर्न भने लेभोडोपा र डिबिएस प्रभावकारी मानिन्छन्।  

लेभोडोपाले मस्तिष्कमा घट्दो मात्रामा रहेको डोपामिनलाई कृत्रिम रूपमा परिपूर्ति गर्छ भने डिबिएस प्रविधिले मस्तिष्कमा विद्युतीय तार जडान गरेर विद्युतीय तरंगको माध्यमद्वारा कृत्रिम किसिमले स्नायुकोषको गतिविधिलाई सामान्य अवस्थामा ल्याउने गर्छ।

रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु जाति भन्ने नै चिकित्सा अनुसन्धानको मूल मन्त्र हो। रोगको पहिचान छिटो हुँदा धेरै मात्रामा स्नायुकोष नष्ट हुनबाट जोगाउन सकिन्छ। वैज्ञानिक अनुसन्धानले चाल प्रक्रियासम्बन्धी समस्या हुनुअगावै पार्किन्सन रोगको विभिन्न प्रारम्भिक लक्षण हुन सक्ने सम्भावना उजागर गरेका छन्। जस्तोः चाल प्रक्रियासम्बन्धी समस्या हुनुअगावै कतिपय व्यक्तिमा निद्रासम्बन्धी समस्या देखिने गर्छ।  

वैज्ञानिकले निद्रालाई दुई चरणमा विभाजन गरेका छन्– ‘रेम स्लिप’ र ‘नन रेम स्लिप’। हामीले सपना ‘रेम स्लिप’को चरणमा देख्ने गर्छौं। यस चरणमा हाम्रो मांसपेशी अस्थायी रूपमा पक्षाघातको अवस्था अर्थात् हलचल गर्न नसक्ने अवस्थामा हुन्छन्। यसै कारण हामीले कुनै एउटा मन पर्ने संगीतमा नाचिरहेको सपना देखे पनि यथार्थमा हाम्रो हात–गोडा सपनामा संगीतको तालमा हल्लिँदैनन्, चलबलाउँदैनन्। तर रेम स्लिप चरणमा समस्या हुने व्यक्ति आफूले जस्तो सपना देख्यो त्यहीबमोजिम मांसपेशी चलाइरहेका हुन्छन्। व्यायाम गरिरहेको सपना देखेका बेला आफू सुतेको कोठाको भित्तामा मुक्का हान्ने वा जोशका साथ खुट्टा चलाउने समेत गर्न सक्छन्। कतिपय अवस्थामा त यस्ता व्यक्तिले आफैँलाई अथवा आफूसँगै ओछ्यानमा सुतेको व्यक्तिलाई चोटपटक समेत लगाउने सम्भावना रहन्छ। यस्ता व्यक्तिमा पछि गएर पार्किन्सन हुने सम्भावना धेरै रहेको अनुसन्धानले देखाएका छन्।

पार्किन्सन रोगका बिरामीको स्नायुकोषमा अल्फा साइन्युक्लिन नामक प्रोटिन अत्यधिक रहेको हुन्छ। यस प्रोटिन डोपामिन बनाउने स्नायुकोषहरूमा देखिनुभन्दा धेरै वर्षपहिले नै सँुघ्ने प्रकिया र पाचन प्रक्रिया (पेट) सँग सरोकार राख्ने स्नायुकोषमा जम्मा भएको हुन्छ। डेनमार्कमा मोर्तेन स्टकहोमले गरेको एक अध्ययनले त पार्किन्सन रोगको लक्षण देखिनुभन्दा २० वर्षपहिले नै पेटमा अल्फा साइन्युक्लिन जम्मा हुने तथ्य पत्ता लगाएको थियो। यसै कारण कतिपय पार्किन्सन भएका व्यक्तिमा प्रारम्भिक लक्षणको रूपमा सँुघ्न सक्ने शक्तिमा ह्रास आउनुका साथै कब्जियत समेत हुन्छ। अमेरिकी वैज्ञानिक निकोलस बोनेनको एक अध्ययनले पार्किन्सन भएका व्यक्तिले केरा, अचार आदिको गन्ध स्पष्ट रूपमा पहिचान गर्न नसक्ने तथ्य देखाएको थियो।

गन्धहरू सुँघ्न सक्ने असाधारण क्षमता भएकी जोय मिल्नेलाई म्यानचेस्टर विश्वविद्यालयका वैज्ञानिकले अनुसन्धानका लागि ६ पार्किन्सन रोगका बिरामी र ६ स्वस्थ व्यक्तिले लगाएको १२ वटा गन्जी सुँघ्न दिए। अचम्म नै मान्नुपर्छ, मिल्नेले सही तरिकाले कुन गन्जी स्वस्थ व्यक्तिले र कुन पार्किन्सन रोगीले लगाएको हो भनेर छुट्ट्याइदिइन्। अझै रोचक त एक स्वस्थ व्यक्तिले लगाएको गन्जी समेत पार्किन्सनका बिरामीले लगाएको भनेर जिकिर गरिन्। आश्चर्य, प्रयोगको बखत स्वस्थ भनिएका ती व्यक्तिलाई केही महिनापछि चिकित्सकले जाँच गर्दा पार्किन्सन भएको ठम्याएका थिए। मिल्नेले पार्किन्सनको लक्षण देखिनुपूर्व नै ती व्यक्तिमा कुन रसायनको गन्ध सुँघेको हो भनेर पहिचान गर्न त गाह्रो छ, यद्यपि पसिनाजस्तै छालाबाट शरीरबाहिर निस्कने ‘सिबम’ भन्ने चिल्लो पदार्थमा रहेको कुनै तत्वलाई मिल्नेले सुँघेको हुन सक्ने तर्क वैज्ञानिकको छ। वास्तवमै पार्किन्सनका बिरामीको सिबमलाई प्रयोगशालामा परीक्षण गर्दा स्वस्थ व्यक्तिको तुलनामा केही फरक रसायन पाइएको थियो।  

भविष्यमा रगत परीक्षणद्वारा पनि पार्किन्सन रोगको प्रारम्भिक चरणमै पहिचान हुन सक्ने सम्भावना देखिन्छ। यस पंक्तिकार कार्यरत जुन्तेन्दो विश्वविद्यालयका वैज्ञानिकको समूहले ४५ स्वस्थ व्यक्ति र एक सय ४५ पार्किन्सनका बिरामीको रगत परीक्षण गर्दा पार्किन्सनका बिरामीमा ‘स्पेर्मिडिन’ नामक पोलिअमिनको मात्रा ज्यादा रहेको पाइएको थियो।  

पार्किन्सन रोगको प्रारम्भिक चरणमै पहिचान गर्न सकिने केही संकेत वैज्ञानिकले पत्ता लगाए पनि पार्किन्सन रोगको उपचारका लागि यो उपलब्धि नै सफलताको अन्तिम खुड्किलो भने होइन। महत्वपूर्ण त पहिलो र दोस्रो चरणमा धेरै स्नायुकोष जीवित नै रहे पनि स्नायुकोषका आकृति र संरचना केही असामान्य हुने तथ्य यस पंक्तिकार लगायत अन्य वैज्ञानिकको अनुसन्धानले देखाएका छन्। तसर्थ सुरुकै चरणमा पार्किन्सन रोगको पहिचान भए यस रोगलाई पूर्णरूपमा उपचार गर्न स्नायुकोषमा आएको खराबीलाई मर्मत गर्दै पूर्णरूपमा स्वस्थ अवस्थामा फर्काउन सक्ने प्रविधि पत्ता लगाउनुपर्ने हुन्छ। तर, जुनै पनि बिग्रेको, भत्केको तत्वलाई सुरुकै अवस्थामा ल्याउन त निश्चय नै गाह्रो हुन्छ। तसर्थ हाल वैज्ञानिकहरू खराब स्नायुकोषलाई मर्मत गर्नभन्दा पनि पूर्णरूपमा मस्तिष्कमा नयाँ स्वस्थ कोष नै पैदा गर्न सकिन्छ कि भन्ने खोजमा जुटेका छन्। वयस्क मस्तिष्कमा नयाँ स्नायु कोष प्राकृतिक रूपमा पैदा हुन नसक्ने भएकाले पनि नयाँ स्वस्थ स्नायु कोष मस्तिष्कमा पैदा गर्न हाल भइरहेको अनुसन्धानलाई वैज्ञानिक जगत्ले रुचिका साथ लिएको छ।

जापानी नोबेल पुरस्कार विजेता सिन्या यामानाकाले पत्ता लगाएको आइपिएस नामक स्टेम सेल प्रविधि अनुसार हाम्रो शरीरको जुनै पनि अंगका कोष प्रयोगशालामै बनाउन सकिन्छ। जापानी वैज्ञानिक जुन ताकाहासीको समूहले सन् २०१७ मा विश्वप्रसिद्ध जर्नल नेचरमा प्रकाशित गरेको एक अनुसन्धानले आइपिएस प्रविधि पार्किन्सन रोगको उपचारका लागि एउटा महत्वपूर्ण कोशेढुंगा साबित हुने तथ्य देखाएको थियो। ताकाहासीले आइपियस प्रविधिको प्रयोगमार्फत बाँदरहरूको चाल प्रक्रियामा सुधारको राम्रो संकेत देखाएका थिए। बाँदरमा प्राप्त गरेको सफलतापछि ताकाहासीको समूहले मानवमा पार्किन्सन रोगका उपचारका लागि आइपियस प्रविधि कुन हदसम्म उपयोगी सिद्ध हुन सक्छ भनेर अगस्ट २०१८ मा २४ लाख आइपिएस कोष एक पार्किन्सन बिरामीको मस्तिष्कमा प्रदान गरेको थियो। ताकाहासीको यस अनुसन्धान जारी रहेकाले यसबाट प्राप्त हुने नतिजाले निकट भविष्यमै आइपिएस प्रविधिद्वारा पार्किन्सन बिरामीमा स्वस्थ नयाँ कोष उत्पादन गर्न वैज्ञानिक के कति मात्रामा सफल हुनेछन् भन्ने जानकारी प्राप्त हुनेछ।

बेलायती चिकित्सक जेम्स पार्किन्सनले पार्किन्सन रोगको पहिचान गरेको दुई सय वर्षपछि पनि सब्सटान्सिया नायग्राका कोष नष्ट हुने कारण र यसलाई पूर्णरूपमा रोकथाम गर्ने उपाय पत्ता नलाग्नु निश्चय नै वैज्ञानिकका लागि एउटा चिन्ताको विषय हो। हुन् त चिकित्सा अनुसन्धान र औषधि विकास जटिल र संवेदनशील विषय हो। आशावादी बनौँ, हाम्रै जीवनकालमा यस रोग लाग्नुको यकिन कारण र पूर्णरूपमा उपचार हुने विधि पत्ता लाग्नेछ। त्यसपछि पार्किन्सनका बिरामीले नैराश्यताको महसुस गर्नुपर्ने दिनको अन्त्य हुनेछ।
(लेखक टोक्योस्थित जुन्तेन्दो विश्वविद्यालयमा स्नायु विज्ञान विषयका उप–प्राध्यापक हुन्।)

प्रकाशित: ६ भाद्र २०७७ ०४:३० शनिबार

पार्किन्सन