स्वास्थ्य

वाग्मती प्रदेशमा १० संक्रमित उपचाररत

वाग्मती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएका १७ जनामध्ये १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने एक महिलाको मृत्यु भएको छ । 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले वाग्मती प्रदेशभित्र कोरोना संक्रमित सबैभन्दा बढी काठमाडौंमा सात जना पुष्टि भएकोमा चार जना उपचाररत रहेको र तीनजना निको भई घर फर्केको जानकारी दिए । दोस्रो स्थानमा रहेको चितवनमा तीन संक्रमितमध्ये एकजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने एकै घरका दुई जना निको भएर घर फर्किसकेका छन् । धादिङका कुल दुई संक्रमितमध्ये एकजनाको उपचार भइरहेको र एकजना निको भएर घर फर्केको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये भक्तपुरमा दुई, मकवानपुरमा एक र काभ्रेमा एकजनाको उपचार भइरहेको छ । सिन्धुपाल्चोक जिल्लामा शनिबार कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । २९ वर्षीया ती महिलाको मृत्यु नेपालमा कोरोना संक्रमणबाट पहिलो हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा चार हजार दुई सय ३१ पिसिआर परीक्षण भएकोमा १२ जनाको नतिजा पोजिटिभ देखिएको थियो । संक्रमितमध्ये अन्य पाँचजनाको वाग्मती प्रदेशबाहिर पिसिआर परीक्षण भई पोजिटिभ नतिजा प्राप्त भएको हो । वाग्मती प्रदेशभित्र भएको कूल ११ हजार नौ सय २३ आरडिटी परीक्षणको नतिजामा ६३ जनाको पोजिटिभ देखिएको थियो । वाग्मती प्रदेशभित्र दुई सय ६५ जना क्वारेन्टिनमा र ४६ जना आइसोलेसनमा बसेका छन् ।

प्रकाशित: ५ जेष्ठ २०७७ २०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App