स्वास्थ्य

कोरोना कहर : सुनसान ठमेल

काठमाडौं – चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामरी विश्वभर फैलिएको छ। कोरोनाका कारण नेपालमा पनि त्रास व्याप्त छ। अहिलेसम्म नेपालमा एक जनामा कोरोना देखिए पनि यसको त्रासले सबै क्षेत्रमा प्रभाव परेको छ। यसको प्रत्यक्ष असर काठमाडौंको पर्यटकीय स्थलमा देखिएको हो। पर्यटकहरूको आउजाउले गुल्जार हुने ठमेल अर्थात राजधानीको प्रमुख पर्यटकीय जमघट केन्द्र अहिले सुनसान छ।

एक महिना यता ठमेलको कथा फेरिएको हो। स्वादेशी मात्रै होइन, विदेशी पर्यटकको भिडभाडले पनि ठमेलको रौनक बैग्लै देखिन्थ्यो। तर, अहिले ठमेल सुनशान प्राय: बनेको छ। दिउँसो मात्रै होइन, रातिसमेत निकै चहलपहल हुने ठमेलमा विदेशी पर्यटक निकै कम संख्यामा देखिन्छन।

ठमेल आसपासका होटल, रेस्टुरेन्ट, डान्स बार र क्लबमा पर्यटकको बाक्लो चहलपहल हुने स्थान सुनसान बनेको व्यवसायी बताउँछन्। मुस्किलले खुट्टा राख्न सक्ने न्युरोड, ठमेल, असनका गल्लीहरु यतिखेर सुनसान छन्।

भाइरसको त्रासले कम पर्यटक आएकाले ठमेलमा छोटो समय बिताउँदा होटल, रेस्टुरेन्टलगायत व्यवसायमा प्रत्यक्ष असर परेको होटल व्यवसायीहरूको भनाई छ।

होटल व्यवसायी मात्रै होइन अन्य व्यापारीहरुको पनि उस्तै अवस्था छ। पर्यटकको उपस्थिति पातलो भएसँगै व्यापारीहरू फुर्सदिला बनेका छन्। चिया खाने फुर्सद समेत नहुने अहिले बाहिर निस्किएर एक अर्कासँग गफ गर्नेसम्मको फूर्सद मिलेको व्यवसायीहरू बताउँछन्।

ठमेलमा २० वर्ष देखि पस्मिना व्यावसाय सञ्चाल गर्दै आएका नविन अर्याल अहिले चिया खाने र गफ गर्ने मात्रै काम भइरहेको सुनाउँछन्।

झण्डै एक महिनादेखि विदेशी पर्यटकको आगमन कम भएको उनी बताउँछन्। वि.सं.२०७२ सालको भूकम्पको उदाहरण दिदै अर्याल भन्छन्– ‘भूकम्पमा सुनसान थियो, तर यति लामो समयसम्म सुनसान भएको थिएन। कोरानाले सबैलाई धपाउला जस्तो भएको छ। ’

कोरोनाको त्रासले गर्दा नै यहाँको चहलपहल कम भएको उनको ठम्याई छ। ‘मेरो मात्रै होइन ठमेलमा अधिकाशं व्यपार व्यवसाय चौपट भएको छ। पसल बन्द गरेर घरमा बस्नु पर्ने अवस्था नआउला भन्न सकिँदैन’, उनले भने।

१५ वर्षदेखि आर्ट (ग्यालरी) पसल सञ्चालन गर्दै आएका रूपश कंसाकारको ग्यालरीमा १० हजार देखि ८ लाख सम्मको आर्ट छन्। तर अहिले एउटा पनि आर्ट बिक्री नभएको उनी बताउँछन्।

‘हाम्रोमा  आउने अधिकाशं ग्राहक विदेशी नै हुन्छन्। तर अहिले विदेशी एक जना पनि छिर्दैनन्। विदेशी ग्राहकलाई लक्षित गरेर कलाकारहरुलाई माग गरिन्छ, तर बिक्री हुदैँन।’

काभ्रे स्थायी घर भएका हरिबहादुर थापा ठमेल, न्युरोड, असन इन्द्रचोक आसपासका क्षेत्रमा रिक्सामा पर्यटक ओसारपसार गर्छन्। तर एक महिनायता उनको दैनिकी घाम तापेर वित्छ। कोरोनाको त्रासले स्वादेशी तथा विदेशी पर्यटकको आगमन कम भएको उनी बताउँछन्।

२५ वर्ष लामो आफ्नो अनुभव बाँड्दै उनी भन्छन्– ‘यस्तो सुख्खा कहिल्यै भएको थिएन। भूकम्पमा बरू फट्टाफुट्टा कमाई हुन्थ्यो। दिनमा बोहनी हुन पनि मुस्किल हुन्छ।’ विदेशी पर्यटक झण्डै डेढ महिना अघिबाटै पातलिएको उनको भनाई छ।

त्यस्तै नुवाकोटका बीरबहादुर तामाङको पनि कथा उस्तै छ। १५ वर्षदेखि ठमेलमा रिक्सा चालउँदै आएका तामाङको बिहीबार दिउँसो सुतेर वित्यो। मुस्किलले एक टिपमा छ सय रुपायौँ कमाएको उनी बताउँछन्।

‘कोरोना भन्दा पनि बढी त हल्ला भएको हो। त्यहि हल्लाले पनि अहिले स्वादेशी पर्यटकको पनि आवातजात पातलिएको छ’, उनले भने।

रामेछापका रमेश थापामगरले दिनको ३ हजार कमाउँथे। अहिले मुस्किलले बोहोनी मात्रै हुने उनी बताउँछन्।

ठमेल, न्युरोड, असन इन्द्रचोकमा किनमेल गर्न आउने नेपालीहरुको संख्या पनि कम भएको उनले सुनाए।

उनी भन्छन्– ‘विदेशी पर्यटकलाई बन्देज गरे पनि नेपालका हल्ला कम गरेर यसको रोकथाम गर्नु राम्रो हो, तर बढी हल्ला गरेर मान्छेहरुलाई त्रास फैलिएको छ। यसलाई कम गरेर राम्रो हाम्रो कमाईमा असर पर्दैनथ्यो।’

कोरोना भन्दा पनि हल्ला फैलाएर सबैलाई त्रास पैदा गरेको र आफूहरूको कमाइलाई नै प्रत्यक्ष असर परेको उनको गुनासो छ।  रिक्सा चालक मात्रै होइन ठमेलमा अन्य व्यवसायीहरु पनि मारमा परेको बताउँछन्।

ठमेल एक उदाहरण मात्रै हो। राजधानीका अधिकाशं तारे होटलमा मात्रै नभएर कोरोनाको त्रासले ठमेललगायत पाटन दरबार क्षेत्र, झम्सीखेल, भक्तपुर दरबार क्षेत्रका होटल, बौद्धका रेस्टुरेन्टमा समेत पर्यटकको अभाव देखिएको व्यवसायीको भनाइ छ।

केहि दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई उच्च जोखिमको सूचीमा राखेको छ। कोरानाकै कारण घुम्नका लागि नेपाल आउन अनलाइन बुकिङ गरेका पर्यटकहरुले बुकिङ रद्ध गरिरहेका छन्। सरकारले उत्साहका साथ २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर भ्रमण वर्ष– २०२० घोषणा गरेको थियो। तर, कोरोना संकटका कारण सरकारले भ्रमण वर्ष लक्षित सबै कार्यक्रम रद्ध गर्ने घोषणा गरिसकेको छ।

 

 

 

प्रकाशित: २३ फाल्गुन २०७६ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App