स्वास्थ्य

उराव समुदायका महिलाको स्वास्थ्यमा परिवर्तन हुँदै

बर्जु गाउँपालिका वडा नं. ६ को ऋषिदेव बस्तीका महिलाहरूलाई स्वास्थ्य सचेतना फैलाउँदै । तस्बिर: नागरिक

अल्पसंख्यक झाँगड (उराव) समुदाय गरिबी र अशिक्षाका कारण विगतमा जाँडरक्सी खाएर रमाउने र सिकार खेल्न हिँड्ने समूहका रूपमा चिनिन्थ्यो । अझ महिलाहरूमा त स्वास्थ्यको अवस्था टिठ लाग्दो थियो ।  स्वास्थ्य अवस्थाको चेतनाको स्तरको मापक के लाई मान्ने ?तीन वर्ष अघिसम्म उनीहरु न सुत्केरी गराउने चलन थियो न त नियमित गर्भ जाँच नै गराउँथे । प्रायः अधिकतरले घरमै बच्चा जन्माउँथे । बच्चा जन्माएपछि खासै केयर गर्दैनथे । स्थानीय स्वास्थ्य स्वयंसेविकालाई उनीहरु सबै भन्दा ठूलो डाक्टर मान्थे ।

पछिल्लो समय यो अवस्थामा परिवर्तन आएको छ । २०७९ साउन १ गतेदेखि आमा समूह गठन गरेर नियमित आमा समूहको बैठक बस्न थालेपछि स्वास्थ्य सम्बन्धी चेतना स्तर बढेको छ । अब यहाँका महिला गर्भ बसेदेखि नियमित स्वास्थ्य संस्था गएर चेकजाँच गराउँछन् भने स्वास्थ्य केन्द्रमै गएर सुरक्षित सुत्केरी गराउने गरेका छन् ।

यस ठाउँका महिलालाई कुपोषण र कुष्ठरोगसँगै बालबालिकाकालाई कसरी सधैँभरि स्वास्थ्य राख्ने भनेर छलफल हुने गरेको स्थानीय रञ्जु उरावले बताइन् । उनको पहिलो छोरा ५ वर्ष पुगेर मात्र अहिले दोस्रो सन्तान हुन लागेको छ ।

उनले स्वास्थ्यलाई ध्यानमा राखेर खेतीपातीको काम गर्न छाडेकी छन् । हुन त अल्पसंख्यक, आदिवासी समुदायको उरावको जीवनयापन सधैँ कष्टकर छ । तर, स्वास्थ्य सचेतनाले गर्दा  उनीहरू श्रीमान्ले पनि अब गर्भ बसेदेखि नै श्रीमतीलाई हेरचाह गर्न थालेका छन् ।

अर्काको बनिबुतो गरेर जीवनयापन गर्ने उराव समुदायमा बच्चा जन्मेपछि उनीहरुलाई कुपोषण हुन नदिनका लागि पनि बेलैदेखि राम्रो पोषिलो खानेकुरा खुवाउने गरेका छन् । केही वर्षअघि दुई जना बालबालिकामा कुपोषणको समस्या देखियो । त्यसपछि आमा समूह बैठक नै बसेर आफ्ना सन्तानलाई राम्रो पोषिलो खानेकुरा खुवाउने निर्णय नै भएको सेभ द अर्थ संस्था देवानगञ्जकी सामुदायिक स्वास्थ्य परिचालिका रञ्जु मेहताले बताइन् ।

यसैगरी, बर्जु गाउँपालिका वडा नं. ६ को ऋषिदेव बस्तीमा पनि जागृत आमा समूह गठन गरिएको छ । दैनिक ज्याला मजदुरी गरेर परिवारको गर्जो टार्ने ऋषिदेव समुदायका महिला हुन् या पुरुष जहिल्यै श्रममै व्यस्त रहने गर्छन् । तर, आमा समूह गठन गरेपछि महिलाहरु भने तोकिएको समयमा भेला हुने गर्छन् ।

यसरी भेला भएका महिलाले स्वास्थ्य सचेतनासँगै कुनै संवेदनशील विषयमा वडामै रहेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी डाकेर आवश्यक ज्ञान लिने काम गर्छन् । ‘सबै खाले रोगको बारेमा गाउँमै आएर डाक्टरले भनी दिनुहुन्छ,’ ऋषिदेव बस्तीमा गठन भएको जागृत आमा समूहकी जगीयादेवीले भनिन् ।

स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीसहित आमा समूह गठन गरेर स्वास्थ्य सचेतना कार्यक्रम नै गर्दै आएको सेभ द अर्थ सुनसरीका प्रतिनिधिले ऋषिदेव महिलालाई विभिन्न खाले रोगबारे सचेतना फैलाउने गरेका छन् । उनीहरूबाहेक बस्तीका महिलालाई स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले पनि नियमित आवश्यक सल्लाह दिने गरेकी छिन् ।

ऋषिदेव समुदायका महिलालाई जीवनशैली, खानपान र रहनसहनबारे सचेत गराउने गरिएको छ । महिलाहरूलाई विभिन्न रोगका प्रकार, लक्षण र बच्ने उपायबारे जानकारी दिने गरिएको चिमडी स्वास्थ्य चौकीकी अनमी निसा राजवंशीले बताइन् । स्वास्थ्यकर्मीहरुले समुदायमा गएर टोल भेला, गाउँघर क्लिनिक, आमा समूहको बैठक वा स्वास्थ्यका हरेक समस्याबारे छलफल गर्ने गरेका छन् । बर्जु वडा नं. ६ का ऋषिदेव बस्तीमा ५६ घर परिवार छन् । 

प्रकाशित: २४ पुस २०८१ १७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App