स्वास्थ्य

करिब ४ हजार बालबालिकाको मुटुको परीक्षण हुने

बालबालिकाको मुटुको भल्भमा हुने संक्रमणको पहिचान गर्न ताप्लेजुङको फुङलिङका करिब ४ हजार जना बालबालिकाको मुटुको परीक्षण गरिने भएको छ।

नेपाल ह्रृदयरोग निवारण प्रतिष्ठानमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो। नेपाल ह्रृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङ शाखाका अध्यक्ष कमलप्रसाद भट्टराईका अनुसार पुस १६ गते फुङलिङ नगरपालिकाका कम्तीमा तीन वटा केन्द्रमार्फत मुटुको परीक्षण कार्यक्रम सञ्चालन गरिने छ।

बालबालिकाको मुटुको परीक्षण गर्ने, बालबालिकाको मुटुको इको(मुटुको भिडियो एक्स–रे)परीक्षण गरिने र निःशुल्क औषधि समेत वितरण गर्ने कार्य योजना तयार गरिएको भट्टराईले जानकारी दिए। उनका अनुसार सुरुमा बालबालिकाको मुटुको परीक्षण गरिने छ भने ३ सय ५० भन्दा बढीको मुटुको इको गरिने भएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थी र अन्य बालबालिकालाई अपेक्षित परीक्षणको सूचीमा राखिएको छ। मुटु रोगको पहिचान,रोकथाम र उपचारमा सहयोग पुग्ने हिसाबबाट उक्त कार्यक्रम अघि बढाउन नेपाल ह्रृदयरोग निवारण प्रतिष्ठान र फुङलिङ नगरपालिकाबिच समन्वयात्मक सहमति पत्रमा हस्ताक्षर समेत भएको छ। 

प्रतिष्ठानका तर्फबाट कार्यक्रम निर्देशक डाक्टर प्रकाशराज रेग्मी र फुङलिङ नगरपालिकाकोतर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले हस्ताक्षर गरेका छन्। कार्यक्रमका लागि ३ हजार १५० अमेरिकी डलर अर्थात् झण्डै ४ लाख १९ हजार ८ सय ९५ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। यो लागत नेपाल ह्रृदयरोग निवारण प्रतिष्ठानमार्फत नै व्यवस्थापन हुन लागेको हो। विज्ञ,चिकित्सक र प्राविधिक गरी करिब २० जनाको टोली ताप्लेजुङ आउन लागेको समेत नेपाल ह्रृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङ शाखाले जनाएको छ। मुटुको इको गर्ने उपकरण समेत प्रतिष्ठानमार्फत ताप्लेजुङ ल्याइने भएको छ।

मुटु रोगको परीक्षणका लागि इको,ईसीजी,एन्जियोग्राम,टीएमटी जस्ता परीक्षण विधि प्रयोग गरिन्छन्। ईसीजीमा नतिजा स्पष्ट नदेखिएको खण्डमा इलेक्टो कार्डियोग्राम गरिन्छ। यस परीक्षणमा मुटुको ध्वनि तरङ्गहरू हेरेर मुटुको कार्य संरचना जाँच गर्न प्रयोग गरिन्छ। मुटु र मुटुको भल्बमार्फत रगतको प्रवाहको जानकारी यस परीक्षणबाट पाउन सकिन्छ। इको कार्डियोग्रामले मुटुको भल्बमा वा मुटुको पम्प गर्ने क्षमतामा कुनै खराबी छ कि छैन भनेर पहिचान गर्छ।

जसबाट भल्बहरु सुन्निएको, साँघुरिएको र पम्पको अनियमितता भएको पत्ता लगाई यसको लागि आवश्यक उपचारको सङ्केत गर्छ। हृदयाघातपछि देखिन सक्ने जटिलता पनि यसले देखाउँछ। नेपाल ह्रृदयरोग निवारण प्रतिष्ठानले संक्रमित बालबालिकाको उपचार गराउने,बाथ मुटुरोगबाट हुने मृत्यु दरलाई घटाउन सहयोग गर्ने,मुटु रोगीहरूलाई उपचारमा सहयोग गर्ने तथा स्वास्थ्यकर्मीलाई तालिम दिने जस्ता कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ। 

प्रकाशित: ३० मंसिर २०८१ १८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App